आजदेखि ‘सुश्री सम्पत्ती’ र ‘डोली’ प्रदर्शनमा

डिसी नेपाल
२८ मंसिर २०७५ ७:३७

फ्राइडे रिलिजअन्तर्गत आजदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । सुब्रतराज आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ र राजबहादुर साने निर्देशित चलचित्र ‘डोली’ आजबाट अल नेपाल प्रदर्शनमा आएका चलचित्रहरु हुन् ।यस्तै, अघिल्लो साताबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशितचलचित्र ‘प्रसाद’ ले पनि दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ । चलचित्रले नेपालसँगै विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको बताइएको छ । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘सुश्री सम्पत्ति’को तुलनामा ‘डोली’ प्रचार प्रसारमा पनि केही पछाडि देखिएको छ । यस चलचित्रले ‘सुश्री सम्पत्ति’को तुलनामा हल पनि थोरै मात्र पाएको बताइएको छ । चलचित्र ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण गरिएको छ । यो चलचित्रका लागि पनि विदेशमा डिमान्ड बढीरहेको निर्माता बताउँछन् ।

चलचित्रमा समावेश उत्कृष्ट गीत संगीतलाई दर्शकको सकारात्मक टिप्पणी आइरहेकाले पनि चलचित्रको अन्तर्राट्रिय डिमाण्ड बढेको बताइएको छ । नेपालमा प्रदर्शन हुनु अगाडि नै जापान, दक्षिण कोरिया र युरोपमा चलचित्र बिक्री भइसकेका निर्माता रमेश त्वयनाले बताए । अन्य देशमा पनि चलचित्रको प्रदर्शनका लागि कुरा भइरहेको निर्माता त्वयनाको भनाई छ । अबको केही दिनभित्रमा युरोपका विभिन्न सहर तथा जापान र कोरियामा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

चलचित्र ‘सुश्री सम्पत्ति’ सुव्रत आचार्यको निर्देशनमा तयार भएको हो उनको यो दोश्रो चलचित्र निर्देशन हो यस अघि उनले नेपाली चलचित्र अधकट्टि निर्देशन गरेका थिए । अधकट्टि अपेक्षा गरेजस्तो चल्न सकेन तर चलचित्र ‘सुश्री सम्पत्ति’लाई भने दर्शकले माया गर्नेमा आफू ढुक्क रहेको निर्देशक आचार्यको भनाइ छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आचार्य आफैँले लेखेका हुन् । चलचित्रको सम्पादन भरत रेग्मीले गरेका छन् ।चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेललगायतको अभिनय रहेको छ भने नायिका प्रियंका कार्कीलाई पनि विशेष भूमिकामा देख्न सकिने छ । यस्तै आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘डोली’ सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ । चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजी सर्टिफिकेट पाएसँगै चलचित्र डोली हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ जानु पर्नेछ ।

यस अघि नेपाली चलचित्र बृन्दावन निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् । किरण नेपालीले गरेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयमले लेखेका हुन् । चलचित्र ‘डोली’मा बबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रीलगायतको अभिनय रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *