सुमनले छाडे नेपाल पुलिस क्लब
काठमाडौं। फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन्। नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए।
‘क्लबमा पाँच वर्ष बिताएँ। राम्रो भयो। अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले भने। ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए।
फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर्दै मैदानमा ९३१ मिनेट (इन्जुरी समयबाहेक) बिताएका सुमन लिग जारी रहँदा विवाह बन्धनमा समेत बाँधिएका थिए । पुलिस छाडेलगत्तै उनलाई मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीलगायत टोलीले मोफसल प्रतियोगिता खेल्न प्रस्ताव गरे पनि केही समय विश्राम लिएर बस्ने सोच बनाएका बताएका छन्।
दोस्रो संस्करणको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का लागि भने सुमन साविक विजेता काठमाडौं रेजर्समा खरिद भएका छन्। अक्सनमा बिक्री नभएका ए श्रेणीका सुमनलाई काठमाडौंले विस लिष्टमा खरिद गरेको हो । पहिलो संस्करणमा भने सुमनले बुटवल लुम्बिनीको प्रतिनिधित्व गरेका थिए।
सुमनले राष्ट्रिय टोलीबाट भने २२ क्याप जितेका छन् । सन् २०१६ मा सुमनले बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यु गरेका थिए।
Facebook Comment