‘टेम्पो ड्राईभर’ स्वस्तिमा खड्का
काठमाडौं । स्वस्तिमा खडकालाई टेम्पो ड्राईभरको भुमिकामा अभिनय गराएर चर्चामा आएको चलचित्र बुलबुलको टिजर युट्युव मार्फत सार्वजनिक भएको छ। ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ।
चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भुमिकामा देखिदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ। साथै देखिएका नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजर मार्फत चरित्र चित्रण र चलचित्रको स्वाद कस्तो छ भनेर छनक दिन खोजेको देखिन्छ।
छोटो दृश्यमै दुवै कलाकारले फरक फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफनो अभिनय कौशल देखाउन सफल भएका छन्। टिजर हेर्दा चलचित्रमा केही न केही खँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ। यस अघि हेर्दै आईएको अन्य चलचित्रका टिजरमा जस्तो धेरै कुरा देखाउन खोज्ने भन्दा पनि एकै दृश्यबाट धेरै आयाम प्रस्तुत गर्न खोजेको देखिन्छ।
आगामी फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत पनि यतिखेर बजारमा दिनप्रतिदिन लोकप्रिय हुँदैगएको छ। चलचित्रका निर्देशक विनोद पोडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र चलचित्र उद्योगले एक सशक्त नवनायक पनि पाउने दावी गर्दै आएका छन्। नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन्।
चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश सार्वजनिक हुँदै जाने र चलचित्रमा रहेको अर्को एक दमदार गीत पनि छिटै सार्वजनिक गरिने बताए। बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायाँकन सुसन प्रजापतिले गरेका छन्।
चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।
निर्माण टोलीले अझैपनि बुलबुल शव्दको अर्थ कसरी लगाईएको छ भन्ने कुरा रहस्यमै राखेको छ। टिजरमा देखिएको अभिनयको गहिराई हेर्दा चलचित्र बुलबुल धेरैको लागि प्रतिक्षारत चलचित्र नहोला भन्न सकिन्न।
Facebook Comment