१२ वर्षमा बन्दुक समाएकी शाेभा भन्छिन्, माओवादीले देखाएको सपना आफ्नै जस्ताे लाग्थ्यो

डिसी नेपाल
२ चैत २०७८ ६:४१

काठमाडौं । कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौवन चढिसकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो ।

माओवादी जनयुद्ध उत्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निसानामा राख्थे । त्यही निसानामा परिन् काभ्रे दोलालघाटकी शोभा पराजुली । र, १२ वर्षकै उमेरमा कापीकलम बोक्ने हातमा एलएमजी हतियार ।

कापीकलमबाहेक केही नदेखेकी शोभाको हातमा भारी हतियार थमाइयो । माओवादीले देखाएको सपना उनलाई आफ्नै सपना लाग्थ्यो । त्यही भएर उनले आफ्नो यौवनलाई नै धरापमा राखेर युद्धमा होमिइन् ।

‘त्यो बेला त माओवादी के हो ? जनयुद्ध के हो ? भन्ने केही पनि थाहा थिइन् । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले न्युज कारखानासँग भनिन् ।

२०६० सालमा उनी पहिलोपटक माओवादीमा लागेकी थिइन् । युद्ध लड्नका लागि कसरी हतियार चलाउने ? दुश्मनको अगाडि अगाडि कसरी प्रस्तुत हुने ? जस्ता विषयमा उनलाई १९ दिन मात्र तालिम दिइयो । त्यसपछि उनी जनमुक्ति सेनाको पूर्णकालीन लडाकू भइन् ।

घरपरिवार, आमाबुबाको काखमा हुर्किनुपर्ने उमेरमा उनी गरिबी, असमानता, बेरोजगारी अन्त्य गर्ने भन्दै अग्रपंक्तिमा उभिएर लड्ने अठोट लिइन् । उनलाई त्यो बेला जोश–जाँगर पनि खुबै चल्थ्यो ।

‘हामीलाई त्यस्तै तरिकाले तालिम दिइन्थ्यो । युद्धमा होमिएपछि त अरूलाई सिध्याउनुपर्छ भन्नेबाहेक केही हुन्नथ्यो,’ शोभाले त्यसबेलाको अवस्था स्मरण गर्दै भनिन् ।

माओवादी नेतृत्वले तालिम दिँदा उनलाई लाग्थ्यो, म एक्लैले संसार जित्छु । हुन पनि किन नहोस् युद्ध लड्ने हतियारले मात्र सम्भव हुँदैन । त्यसका लागि सबैभन्दा ठूलो कुरा हिम्मत र साहस चाहिन्छ । जुन उनीहरूलाई कमान्डरबाट पाउने निर्देशन काफी हुन्थ्यो । देशका लागि केही गर्नुपर्छ भनेर भनिन्थ्यो ।

उनले पाँचवटा लडाइँ लडिन् । पहिलो लडाइँ उनले मकवानपुरको जुरजुरेमा लड्ने मौका पाइन् । लड्नुअघि उनलाई खुबै डर थियो । जब गनबाट फायर खोलिन्, त्यसपछि एकाएक साहस जाग्यो । र, लडाइँ नसकिँदासम्म अग्रपंक्तिमा खटिइरहिन् ।

‘लड्ने बेला त आफू मर्छु होला भन्ने पनि मनमा सोच नआउँदो रहेछ । हुन त या मरिन्छ या त अरूलाई मारिन्छ भनेर नै लडाइँमा जाने हो,’ शोभाले भनिन् ।

लड्ने क्रममा उनी कैयौपटक मृत्युको मुखबाट जोगिइन् । तत्कालीन शाही सेनाको कब्जाबाट कैयौपटक भाग्न सफल भइन् । आफूसँगै साथीहरू गोली लागेर ढलेको देख्दा त आफ्नो पनि जीवन सकियो जस्तै लाग्थ्यो । थुप्रै आरोह–अवरोह गर्दै अगाडि बढिरहिन् ।

२०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । उनले बल्ल मुक्तिको श्वास फेर्न पाइन् । र, अब क्रान्ति पूरा भएको भान भयो । तर, अहिले आएर उनलाई युद्ध किन लडेको भनेर पछुतो हुन्छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *