शीर्ष गोलकर्ता सूचीको पहिलो स्थानमा उक्लन रोनाल्डोलाई मौका !
इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा आज पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसले टोरिनोसँग खेल्दैछ । नेपाली समयअनुसार राति १ः१५ देखि सुरू हुने सो खेल टोरिनोको मैदान स्टेडियो ओलिम्पिको ग्राण्डे टोरिनोमा हुँदैछ ।
जारी लिगको १६ औं साताका खेलअन्तर्गत भिड्न लागेको युभेन्टस हालसम्म अपराजित रहेको छ । उसले जारी लिगमा १४ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ४३ अंक बनाएको छ । यस्तै आज युभेन्टससँग मैदानमा उत्रिन लागेको टोरिनोसँग २२ अंक रहेको छ । टोरिनोले ५ खेलमा जित ७ खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ ।
आजको खेलमा युभेन्टसको लक्ष्य भनेको घरेलु टोलीलाई हराउँदै अपराजित यात्रा कायम राख्नु हो भने घरेलु टोली टोरिनोको लक्ष्य भनेको युभेन्टसलाई हारको स्वाद चखाउनु हो ।
आजको खेल युभेन्टसका लागि मौका खेल बन्न सक्छ । किनभने, युभेन्टसले गत बिहीबार च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा कमजोर टोली मानिने योङ बोइजविरुद्ध पराजय भोगेको थियो । र, त्यसै २–१ को हारसँगै युभेन्टस केही कमजोर लयमा जाँदै गरेको भनेर आँकलन गरिएको छ । यसैले आजको खेलमा पनि उसले जित निकाल्नै पर्ने देखिएको छ ।
फेरि अपराजित यात्रामा रहेको युभेन्टसले आजको खेल जित्दा उसको अपरातिज यात्रा पनि कायमै हुनेछ । युभेन्टस जारी लिगको दोस्रो स्थानमा रहेको नापोलीभन्दा ८ अंकले अघि रहेको छ । नापोलीसँग ३५ अंक रहेको छ ।
यस्तै आजको खेल रोनाल्डोलाई पनि मौका बन्न सक्छ । उनी आजको खेलमा गोल गर्न सफल भएमा शीर्ष गोलकर्ता सूचीको पहिलो स्थानमा उक्लने छन् । उनले जारी लिगमा १० गोल गरेका छन् ।
उक्त सूचीमा तेस्रो स्थानमा रहेका रोनाल्डोभन्दा माथि १० गोलका साथ लाजियोका किरो इम्मोबाइल रहेका छन् भने उनीभन्दा माथि ११ गोल गरेका जिरोनाका क्रिज्स्टोफ पाइटेक रहेका छन् ।
Facebook Comment