कथा : कलंकी चोकमा तातोतातो चिया

डिसी नेपाल
५ चैत २०७८ ८:३९

सेताम्मे तुषारो। जाडोले हातहरू कठाङ्ग्रिएको अवस्था। मेरो एक साथीलाई बस बिसौनीसम्म पुर्‍याउनु पर्ने झन्झट आइलागेको छ मलाई। तर पटक्कै बिछ्यौना छाड्न मन छैन। केदार आग्रह गर्छ–‘मलाई भरेसम्ममा झापा नपुगी भएको छैन। उठ् न महेश। म तँलाई हात जोरेर बिन्ती गर्छु।’

म उसले तल सारेको सिरकलाई तानेर सिरकभित्रैबाट बोल्छु–‘तँ पनि हर्दै गर्छस् यार। यस्तो जाडो छ। मसँग पन्जा पनि छैन। म त मर्छु नि यार।’ जे भए पनि ‘लङ्गौटी यार’ हो। पुर्‍याइदिनै पर्‍यो नि। म नचाही नचाही उठ्छु र लुगा थप्न थाल्छु। त्यही बेला मेरी प्रेमिका उदीपाको कल आउँछ। मलाई कल उठाउन मन लाग्दैन।

केदार जान्ने पल्टेर ‘कल रिसिभ’ गर्न लाग्दै थियो। मैले टाउकोमा खौँ हानेर रोकेँ। उसको मन खिन्न भयो। नहोस् पनि किन? फोनबाट ‘लङ्गौटी यार’ की ‘गर्लफ्रेण्ड’ लाई गिज्याउन नपाएपछि।

केदार र म मेरो डेराघरबाट निस्किन्छौँ। ओहो..हो..! मरिहालेँ नि म त। एक किलोमिटरजति गुडाउँदैमा हात त बरफजस्ता भइहाले। म बाइक रोक्छु र केदारको गलबन्दी खोसेर लिन्छु । दुवै हात ढाकिनेगरी बाँधेपछि थोरै राहतको महसुस गर्छु।

केदारले अघिको मेरो खौँको बदलामा मेरो पेटमा चिमोट्दै गाली गर्‍यो-‘तँ सालेले गरेर मेरा कान नै झर्लान्जस्ता भए! पन्जा लगाउने हातमा गलबन्दी बाँधेर मरिस् साले।’
बाइक रोक्न पाएको मात्र हुन्छु। पुनः उदीपाको फोन आउँछ। हे भगवान्! के बिग्न ठिराएको हात। केदारले मौकाको फाइदा उठाउँदै मेरो मोबाइल लिएर सासै नफेरिकन कुरा गर्न थाल्यो-‘शुभ प्रभात है मेरी हुनेवाली भाउजू। हामी अहिले कलंकी चोकमा छौँ। आज महेशकी एक साथी इलामतिर जान लागेकी छिन् रे । त्यै भएर यो सालेले मलाई यस्तो जाडोमा यहाँ ल्याएर…।’

भो त अब ! उसले त नभएको कुरा लगाइदियो। तर मैले स्पष्टीकरण दिनै पाइनँ। ‘मोबाइल—ब्याट्री डाउन’ भइहाल्यो। मलाई यति रिस उठ्यो, हात नठिराएको भए उसको गालामा हत्केलाको डाम बसाइदिन्थेँ । जिस्किने पनि एउटा सीमा हुन्छ नि!

मैले केदारको मोबाइल मागेँ। तर उसले त सुको पनि बाँकी राखेको रहेनछ! कस्तो माग्नेको चाल! एक पटक सापटी लिएर पनि ‘रि–चार्ज’ नगरी बसेको। पसलहरू ड्यामडुम बन्द रहेछन्। सडकभन्दा बाहिर कालो पोतिएको नेताको अनुहारजस्तो देखिएको छ।

कलंकी चोक क्रमशः भीडभाडमा रूपान्तरित हुँदै गइरहेको छ। सानाठूला गाडीहरू पश्चिम दिशातिर लाग्दैछन्। ‘ट्राफिक—पुलिस’ को सिठी एकोतार बजिरहेको छ। सह—चालकहरू चिच्याई चिच्याई विज्ञापन गरिरहेका छन्। त्यस्तैमा चालक र ट्राफिकबीच विवाद हुन्छ । गलत ठाउँमा रोकेको भनेर प्रहरी ‘ब्लू बुक’ माग्ने । चालकचाहिँ दिन नमान्ने।

मेरो बाइक सडक-किनारामै छ। त्रासमा छु म। एकाबिहानै ‘फुटपाथ’ भरिएको छ। चिया–पसलेहरूको ‘रजगज’ हेर्न लायकको छ। पसलेहरूमा महिलाहरूकै सङ्ख्या बढी देखिन्छ।

हामीलाई एक साहुनीले चिया दिइन्।

मैले ठट्टावश भनें-‘के हो साहुनी? यस्तो जाडोमा पनि यस्तो भाँडोमा चिया? उमेर बाईस—चौबीसकै हाराहारीमा भएर त हैन?’

-‘कस्तो कुरा गर्नुहुन्छ हो दाइ पनि!’ उनी एक्कासि तातिहालिन्–‘मैले भात पकाउने भाँडोमा चिया दिएको छुइनँ क्यारे। फेरि यो चिया खाने कप र मेरो उमेरसँग के सम्बन्ध छ दाजु?’

केदार साँखिलो बन्दै भन्छ–‘तिमी भन्देऊ न सानी। शिशाको गिलास माझ्ने मान्छे छैन भनेर।’

अघि उदीपालाई उल्टो कुरा लगाइदियो। फेरि अहिले चिया बेच्ने केटीलाई उचाल्न थाल्यो। अतः मैले केदारलाई दुई खौँ बजाइदिएँ। त्यस्तैमा झापातिर जाने बस देखियो। ट्राफिक प्रहरीले उक्त बसलाई सिठी बजाएर तलतिर खेदे। केदारले खल्तीको टिकेट झिकेर नम्बर रुजू गर्न खोज्दाखोज्दै बस त धेरै तल पुगिहाल्यो नि। तब केदार झोला टिपेर बसलाई पछ्याउँदै कुद्यो।

रको वचनले मेरो मुटुमा च्वास्स घोच्यो। म फर्किनै लागेको थिएँ। उद्योगपति म्यामले मलाई रोकिन् र उपाय सुझाइन्–‘यसो गर न त शैलन्द्र। म अहिले तिमीलाई एक लाखको चेक दिइराख्छु। यी भाइलाई भरे साँझ मेरो घरमा पठाइदिनू।’

मैले चिच्याएर ‘शुभ यात्रा’ भनेँ। तर उसलाई फर्केर हेर्ने फुर्सद कहाँ थियो र। उज्यालो झर्न अझै केही समय बाँकी थियो। मैले फेरि हेलमेट लगाएँ। दुवै हात कठाङ्ग्रिएका छन्। त्यही भएर शिशाको गिलास भएको चिया पसल खोज्न थालेँ।

तर घरभित्रका कुनै पनि पसलहरू खुलेका थिएनन्। ती पसलहरू खुल्नुभन्दा पहिल्यै चिया–खाजाको ‘हाटबजार’ उठाउनु पर्ने रहेछ। वर्षौँदेखिको नियम यही हो।
म पुनः सानीकै पसलमा पुगेँ। अरू पाँच–सातजना ग्राहकहरू थपिएछन्। उनीहरू सानीलाई केके भनेर जिस्क्याउँदै थिए। मैले पनि चिया मागेँ। उनले भकभकी उम्लिँदै गरेको चिया खन्याएर दिइन्। मैले उनको मोबाइल मागेँ।

मैले भनेँ–‘उदीपा। मेरो कुरा सुन न। उदी…।’

-‘के सन्नु अब?’ उदीपा मेरो वाक्य पूरै नभई उड्किन थालिन्–‘भनेपछि फोन पनि ‘नयाँ गर्लफ्रेण्ड’ कै ‘युज’ गर्न थाल्यौ हैन? तिमी मलाई भरे नै भेट्न आऊ त। मेरै घरमा।’
लाइन काटियो। केटाहरूले हाँसेर मेरो खिसी गरे। त्यस्तैमा एक अधबैँसे पुरुषले सानीलाई ‘पोखरा घुम्न जाऊँ’ भन्यो। सानीले केही जवाफ दिइनन्। तर मलाई रिस उठ्यो र भनेँ–‘अर्काको कमजोरीमाथि खिल्ली उडाउनु राम्रो होइन दाजु।’

सानीले भनिन्–‘यिनीहरू सधैँ यस्तै हुन् दाजु। मैले पचाइसकेँ। रिसाएर पनि के गर्नु। आफ्नो ग्राहक भनेका यिनै ‘ड्राइभर’ र ‘खलाँसी’ नै त हुन्।’
-‘खलाँसीचाहिँ नभन है सानी।’ एक किशोर वयको केटोले आलोचना ग¥यो–‘अब हामीलाई त्यसो भन्न पाइन्नँ सानी। गाडी नचलाए पनि म त ‘असिस्टेन्ट ड्राइभर’ हुँ नि। ‘लाइसेन्स’ नभएर पो त। नत्र म पनि बस कुदाइसक्थेँ।’

म सानीको शरीरलाई नियाल्दै थिएँ। त्यस्तैमा एक अधबैँसे मानिस आइपुगे। स्टुलमा बस्दै अलि नमिठो भाषामा उनले भने–‘ए सानी। मान्छेको भीड मात्रै जम्मा गरेकी छस् कि? बेपार पनि भएको छ? खै ले पैसा।’ तिनले सबै पैसा मुठ्याए।

एक ग्राहकले जवाफ दियो–‘कल्ले खान्छ सित्तैँमा तिम्रो पसलको चिया? उधारो पनि खान परेको छैन। हेप्ने पनि एउटा सीमा हुन्छ नि यार।’

त्यस्तैमा एक ट्राफिक प्रहरी आएर मेरो ‘लाइसेन्स’ मागिहाले। मैले पत्रकारको परिचय–पत्र देखाइदिएँ र कारवाहीबाट बचेँ। मैले बाइकलाई एकातिर तह लगाएर आएँ।
मैले सोधेँ-‘अघिको बुढोमान्छे को हो सानी?’

सानीले छोटो उत्तर दिइन्–‘तिनी मेरा जेठाजु हुन्। हामी एकै घरको डेरामा बस्दै आएका छौँ।’

सानीको मुखबाट रहस्यात्मक घटनाहरूको पर्दाफास हुन सक्थ्यो। मैले अरू कुराहरू पनि बुझ्नु थियो। कलंकी चोकमा तातोतातो चिया सुक्र्याउँदै समाचार लेख्नुको मजा नै छुट्टै हुन्छ। तर उनका जेठाजु आएर बुहारी त मैँसँग सल्किन लागिन्जस्तो गरी बेसरी हप्काए।

त्यसै बखत सानीको मोबाइलमा ‘कल’ आयो। उनको जेठाजुले हत्त न पत्त फोन खोसेर कुरा गर्न लागे। सुरूमै झर्केर सोधे। उताबाट महिलाको स्वर आएको सुनेपछि अलि नम्र भए। उताबाट सोधनी भएछ। सानीको जेठाजुले मोबाइल मलाई दिए। उदीपाले झपारिहालिन्—‘के हो महाशय? अभैm छाड्न सकेका छैनौ त्यो सडक—छाप केटीलाई?’

म रिसाइदिएँ-‘एउटा पत्रकारमाथि जथाभावी शब्द प्रहार गर्न लाज लाग्दैन तिमीलाई? म यहाँ ‘रिपोर्टिङ्ग’ गर्न आएको हुँ।’
उदीपाले फेरि छासिन्-‘मलाई थाहा छ नि। पत्रकार बनेर जानुभएको हो कि प्रेमीकार। अहिलेसम्म त चार-पाँच ‘ट्रिप’ नै गैसक्यो होला हैन? तातो–तातो चिया भनेकी मैले। तन पनि उतै तताऊ। मन पनि उतै तताऊ। मलाई भेट्न पर्दैन।’

म हिँड्नै लागेको थिएँ। कलंकी चोकनेरै एउटा ‘एक्सिडेन्ट’ हुन पुग्यो। वास्तवमा घाइते मानिस ‘पाकेटमारा’ रहेछ। एक वृद्ध मानिस बसको झ्यालबाट आधा जीउ बाहिर निकालेर कुरा गर्दै रहेछन्। अनि त पाकेटमाराले मोबाइल खोसेर भागेछ। भाग्दाभाग्दै ट्रकमा ठोक्किएर त्यस्तो ‘लफडा’ हुन पुग्यो।

एकदिनको कुरा हो। म ‘मिडिया हाउस’ को समाचार कक्षमा समाचार संयोजन गर्दै थिएँ। अचानक उदीपाको उदय भयो। उनलाई देख्नासाथ म झसङ्ग भएँ। मैले भित्तेघडीमा नजर बिछ्याएँ । उदीपाको अफिस छुट्ने बेला भएकै थिएन।

उदीपा छेउको मेचमा बस्दै गुनासो सुनाउन लागिन्-‘यहीँ मेच खाली हुँदाहुँदै पनि ‘बस’ पनि भन्दैनौ हगि? तिमीलाई त कलंकी चोकको तातोतातो चियाले मोहनी नै लगायोजस्तो छ महेश।’

म ङिच्च दाँत देखाउँदै भन्छु–‘तिम्रो यो पहिलो आगमन त हैन नि उदीपा । त्यही भएर तिमीप्रति नाटकीय औपचारिकता देखाउन मन लागेन। आज ‘सेक्सी ड्रेस’ मा तिमी साह्रै ‘स्मार्ट’ देखिएकी छौ!’

मैले त उनको जन्मदिन नै भुलेको रहेछु। म ‘चियर म्यान सर’ को क्याविनतिर लागेँ । म त्यहाँ पुग्दा सर एक महिला उद्योगपतिसँग गफ गरिरहेको पाएँ।
सरले मेरो अनुहारको भाव पढेर अड्कल काटिहाले-‘के हो महेश? फेरि पैसा चाहियो होला हैन? ए बाबा, म तिमीहरूलाई कति पटक भनूँ कि अहिले ‘मिडिया हाउस’ घाटामा चलिराखेको छ भनेर। तलब लिएको सत्र दिन नाघेको छैन। फेरि पैसा चाहिइसक्यो ? छैन, छैन । जाऊ तिमी।’

सरको वचनले मेरो मुटुमा च्वास्स घोच्यो। म फर्किनै लागेको थिएँ। उद्योगपति म्यामले मलाई रोकिन् र उपाय सुझाइन्–‘यसो गर न त शैलन्द्र। म अहिले तिमीलाई एक लाखको चेक दिइराख्छु। यी भाइलाई भरे साँझ मेरो घरमा पठाइदिनू।’

उदीपाको जन्मदिनको कार्यक्रम उनकै घरमा मनाइयो। मेरो ‘गिफ्ट’ देखेर उदीपाको काकाको छोराले नमिठो वचन लगायो–‘के हो सम्भावित भेना? मेरी दिदीलाई बिहेमा पनि नक्कली गहना नै दिने विचार छ कि? हाहाहा…। हेहेहे…।’

मलाई नरमाइलो लाग्यो। उद्योगपति म्यामले तीन–चार पटक फोन गरिसकेकी थिइन्। मलाई जान हतार भैसकेको थियो। तर बिहेको कुरा चलेकोले निस्किहाल्न सकिनँ।
उदीपाका बाबाले मुख फोरे–‘मैले महेश बाबूलाई पहिले पनि भनेकै हुँ। फेरि पनि भन्छु कि काठमाण्डुमा एउटा घर बनाएर बस्नोस्। कि भने विदेश जाने आँट गर्नोस्। उदीपालाई माग्न आउनेहरू यस्सै यस्सै छन्। मैले त बाबूको ‘एकाडेमिक क्वालिफिकेसन्स’ हेरेरे मात्रै छोरीलाई अड्काएर राखेको हुँ।’

मैले हत्केला माड्दै भनेँ-‘काठमाडौँमा घर नभएकाले पनि त घरजम गरेका छन् नि अङ्कल। तिनले पनि परिवार पालेका छन्। उदीपाको र मेरो कमाइ मिसाएपछि घर—जग्गा जोडिहालिन्छ नि अङ्कल। फेरि यिनले मेरो सम्पत्तिको आँकलन गरेर मसँग माया लाएकी पनि त…।’

-‘यो घरको आँगन नपोलीकन र झ्याइँझ्याइँ बाजा नबजाइकन त मेरी दिदीलाई मरीगए पनि दिन्नौँ हामी।’ मेरो कुरालाई बीचैमा काटेर उही केटो बरबरायो–‘उदीपा दिदीका लागि एकसे एक सरकारी अफिसरहरू लाइन लागेका छन् सम्भावित भेना। दिदी सरकारी अफिसर भएपछि मेरो भेना पनि त…।’

-‘ए भाइ। तँ धेरै नबोल् त।’ बल्ल उदीपाको ओठ खुल्यो–‘खुकुरीभन्दा कर्द बढी धारिलो हुँदैमा त्यसले ठूलो काम गर्दैन बुझिस्? सानो मान्छेले ठूला मान्छेको कुरा काट्नु राम्रो सँस्कार होइन।’

बिहेको दवाव झेल्दै म उदीपाको घरबाट उम्किँदै थिएँ। म नेपथ्यमा भएको बेला उदीपाकी ममीले छोरीलाई झपारिन्–‘आज पनि उसले निधो दिएन। कहिले कलंकी चोककी चियावालीको कुरा सुन्नु परेको छ। कहिले रत्नपार्ककी ‘कर्लगर्ल’ को कुरा सुन्नु परेको छ। यो पत्रकारको भर छैन है छोरी। आउँदो महिनासम्म मात्र पर्खिन्छौँ हामी। त्यसपछि….।’

मेरो मन खिन्न भयो । तर फर्केर आई केही भन्ने हिम्मत भएन। बाटो लागेँ।

एक शनिबार एकाएक मेरो नाम चर्चामा आयो। मलाई के थाहा, म्यामको कम्पनी सरकारको ‘कालो सूची’ मा परेको छ भनेर। मैले मेरो प्रधान सम्पादकजीसँग सवाल गरे–‘यो सब के हो सर ? हजुरले नै मलाई त्यो म्यामको उच्च प्रशंसा गर्न लगाएर ‘इन्टरभ्यु’ छपाउन प्रोत्साहित गर्नुभयो। तर बजारिया पत्रिकाहरूले मेरो वदनाम गरेका छन्। तर अहिले खण्डन छपाउनका लागि वास्तै गर्नुहुन्न। किन सर ?’

‘यो ‘किन’ को उत्तर मसँग छैन महेशजी। चियर म्यान सरसँग सोध्नूस् ।’
प्रधान सम्पादकजीले ठाडो जवाफ दिए। मलाई झनक्क रिस उठ्यो। चियर म्यान सरकहाँ जान सम्भव भएन। उनी विदेश गएका थिए। उपाय एउटै थियो। मैले लामै छुट्टी लिइदिएँ।

मैले मोबाइलको सिम नै थुतेर राखेँ। कसैसँग पनि सम्पर्कमा रहिनँ। काठमाडौँबाट जाडो हट्दै गइसकेको थियो। दिनहरू पनि लम्बिँदै थिए। त्यस्तैमा भारी वर्षा भयो। एक्कासि काठमाडौँमा जाडो बढ्यो। त्यही पृष्ठभूमिमा म फेरि कलंकी चोक पुग्छु।

त्यो बिहान पनि सिमसिमे पानी परिरहेको थियो। सानीले तातो-तातो चिया दिँदै मसँग अप्रत्यासित प्रश्न गरिन्–‘तपाईँको बिहे भो उदीपा म्यामसँग?’
म सानीको सौन्दर्यमा लट्ठ परेको थिएँ। अनि त अकमकिएछु–‘म..मेरो बि..बिहे ! छैन, छैन।’

धेरै पटकको कोसिसको वावजुध पनि सानीले उनको ‘रामकहानी’ बताउन मानेकी थिइनन्। त्यही भएर त्यो पल पनि म आतुर थिएँ। उनको मेरो कुराकानी भइरहेको बेला सानीका जेठाजु देखा परे। तर तिनी मा.प.से.गरेर आएका रहेछन्। मौसमले ‘च्यालेन्ज’ गरेर होला। हिहिहि…!

उनी एक्कासि मुख छोड्न थाल्छन्-‘तँ ह्याँ यो मान्छेसँग किन गफ फाँडेर बस्छेस् हँ? तेरो ‘लवर’ हो कि क्या हो, तारन्तार आइरहनलाई? पोइल जान आँटेकी तँ? ए, अलपत्रकार। खबरदार! मेरो आम्दानीको सोरोतलाई लग्यौ भने म पुलिस बोलाउँछु नि। होश गर।’

-‘तेरो मुखाँ कीरा परोस्!’ सानी मुख छाड्न वाध्य भइन्। यस्तैमा प्रहरीको भ्यानको आवाज आयो। त्यो सुनेर सानीका जेठाजू ढुनमुनिदै भागे।

एकैछिनपछि भ्यानबाट ओर्लिएर इन्स्पेक्टरले फुर्ती देखाउन थाले। सानीको चिया पकाउने भाँडोमा छडीले ट्वाङ-ट्वाङ पार्दै मुख छाडे-‘कहाँ लुकाइस् तेरो नाठोलाई?’
-‘मैले लुकाउनु पर्छ र?’ सानीले नीडर भएर भन्दिइन्-‘तपैँहरू तस्कर, ज्यानमारालाई केही गर्न सक्नु हुन्न। मेरो सोझो जेठाजुलाई चाहिँ धरपकड गरिरहनुहुन्छ हैन? सियो हो

र पोल्टामा लकाउनलाई? कोठामा सुतिराखेका होलान् नि। उतै गएर समाते भैगयो त।’
हाकिमलाई मुख छाडेकी भनेर एक प्रहरीले अपशब्द बोले- ‘साप, यो चियावाली बढी भैछे! लाने हो यसैलाई पक्रेर? यसलाई लग्यौँ भने त यसको नाठो हामीकहाँ आइहाल्छ नि।’

इन्सपेक्टरले सानीका भाँडाकुँडामा छडी बजार्न थाले। उनलाई बेसरी तर्साए। उनले सानीलाई उनका जेठाजुलाई लुकाएकी आरोपमा गिरफ्तार गर्ने धम्की पनि दिए। अति भएपछि मैले आपत्ति जनाएँ। मैले आफ्नो खास परिचय पनि दिएँ।

उनीहरू रित्तै फर्किए। अब पूरै उज्यालो भैसकेको छ। मैले अर्को कप चिया थपेको छु। सानीले मेरो लागि मात्र शिशाको गिलासको बन्दोबस्त गरिदिएकी थिइन्।
म सानीको जीवन–कथा खोतल्न खोजिरहेको छु। उनले सारांशमा बताएकी छिन्। उनी एकल महिला रहिछन्। बिहे गरेको वर्ष दिन नपुग्दै उनका पति रूखबाट लडेर स्वर्गीय भएका रहेछन्। जेठाजुले जेठानीलाई कुटेर माइत लखेटिदिएका रहेछन्। त्यसपछि सानीलाई ललाई-फकाई काठमाडौँ ल्याएका रहेछन्।

सानी यता आएपछि गाउँतिर हल्लाफैलिएछ, सानी जेठाजुसँग भागी रे। अब त्यसलाई गाउँमा फर्किन दिनु् हुन्न। आदि। उनका जेठाजुलाई प्रहरीले पक्रिन आएको किन त? किनभने तिनले एक दिन एउटा ट्याक्सीमाथि ढुङ्गा प्रहार गरी नोक्सान पुर्‍याइदिएका रहेछन्।

अन्ततः मलाई ठूलो घात भयो । डेराको कोठाभित्र पस्न पाएको हुन्न, घरपतिकी नातिनीले बिहेको एउटा कार्ड थमाएर गइन्। खाटमा टुसक्क बस्दै कार्ड हेर्नासाथ मुटु फुट्लाझैं भैहाल्यो नि। हो, त्यो कार्ड उदीपाकै बिहेको थियो।

त्यसै साँझ म सानीको डेरामा पुग्छु। मलाई देख्नासाथ उनको ओठमा मुस्कानी फूल फक्रियो। हिलोमा कमल फुलेझैं देखिन्थिन् तिनी। तर तिनी घाइते रहिछन्। जेठाजुले तातो चियाले पोलिदिएका रहेछन्। जेठाजु कतै भट्टीमा मा.प.से.गर्दै थिए।

सानी खाना पकाइरहेकी छिन्। मचाहिँ उनको जीवनबारे समीक्षा गर्न थालेको छु। गुण्डाहरू पनि सानीलाई नै ताक्ने। सवारी चालक, सह–चालकहरू पनि उनैलाई घुमाउन लान खोज्ने। सानीकै भनाइअनुसार एक–दुई पटक उनी बसमा गएकी पनि रहिछन्। तर पछि उनलाई थाहा भएछ र जान छाडिछन्।

सानीका जेठाजु त झनै खराब। सानीलाई दासीजस्तै बनाएर राखेका थिए। त्यस्ताले बुहारीको सतित्व लुट्न पनि के बेर। उसै पनि अरूको नजरमा उनीहरू पति–पत्नी रहेछन्। डेरा पाउन मुश्किल परेर रे। सानी त अघोषित श्रीमती पो रहिछन्, जँड्याहा जेठाजुकी!

सानीले ज्यादै मार्मिक कुरा भनिन्–‘त्यो रूखबाट लडेर त मै मर्नु पथ्र्यो महेश सर। तर उनी मरेर गए। उनी भएका भए अर्की श्रीमती बिहे गरेर घरजम गर्न पाउँथे। तर म…।’
बोल्दाबोल्दै सानीको गला अवरुद्घ भयो। आँसुले गह भिजे। मैले उनको आँसु पुछिदिन पनि सकिनँ। हेरिरहन पनि मनले मानेन। त्यही दुविधाग्रस्त मनःस्थितिमा गुज्रिरहेको बेलामा मेरो मोबाइल ‘भाइब्रेट’ भयो। यसो हेरेँ । उदीपाको नम्बर रहेछ।

मैले बिन्ती बिसाएँ-‘मैले तिम्रो बिहेको निम्तो पाएको छु। म आउँछु। चिन्तै गर्न पर्दैन उदीपा। विश्वास र अविश्वासको कुरा नगर। तिम्रो विवाहमा आए भएन? ल अहिले राखेँ।’
लाइन काटेपछि मैले खुइय गरेर सास फेरेँ। सानीले मेरो मुख ताकिरहिन्। म दोधारमा थिएँ। उनीसामु मेरो मनको चाहना खोलूँ कि नखोलूँ भैरह्यो। साउने भेलले सुकुमबासी बस्ती उजाडेैं मेरी प्रेमिकाले मेरो जीवनलाई तहस-नहस पारिदिइन्। करिब तीन वर्षको प्रेमसम्बन्ध खत्तम भयो!

मैले सानीसँग तत्कालै ‘कोर्ट म्यारिज’ गर्ने निधो गरेँ। किन कि उदीपालाई मेरो घरजम भएको जानकारी दिनु थियो। आफ्नो जोडी देखाउनु थियो। त्यही भएर मैले सानीसँग प्रस्ताव राखेँ। अहँ, उनले पत्याइनन्। मैले कसम खाएँ। उनले जेठाजुसँग कुरा राख्न आग्रह गरिन्।

मेरो दुर्भाग्य ! भोलिपल्टै म एक हप्ताको लागि पोखरा जानुपर्ने भयो। गएँ। पोखरा पुगेको पाँचौँ दिन बिहानको कुरा हो। मलाई आफ्नो कुलदेवताको दर्शन गर्न मन लाग्यो। हे भगवान्! के देख्नु परेको मैले! विन्धवासिनी मन्दिरको प्राङ्गणमै सानीसँग जम्काभेट भयो।

मेरा आँखा उनको सिउँदोको सिन्दूरमा पुगेर अड्केको अड्क्यै भए! म झस्किँएँ। त्यसपछि त म टोलाएको टोलायै भएछु।

-‘पत्रकारज्यू, कता हराउनुभयो मलाई देखेर?’ एक्कासि नवविवाहिता सानीको घचघच्याइबाट म वास्तविक धरातलमा उत्रिएँ। मेरो रक्तचाप उच्च भएछ क्यार। गाला पोल्न थाले। मलाई रिङ्गटा लाग्ला लाग्लाजस्तो भयो । म त्यहीँको बेन्चीमा बस्न पुगेँ।

सानीले हात जोर्दै भनिन्–‘मलाई माफ गर्नोस् सर। म एउटी गरीब र दुःखी केटी। हजुरकी अधाङ्गिनी हुन सुहाउन्नँजस्तो लाग्यो। त्यही भएर मैले पोखराकै केटासँग बिहे गरेँ। ऊ पहिले पहिले बसको खलासी थियो। एक महिनादेखि माइक्रो बसको ड्राइभर भएको छ।’

सानीको वयान सुनेर मेरो शिर लाजले झुक्यो। मैले उदीपालाई देखाउन खोजेको थिएँ । उल्टै उनले नै देखाइदिने भइन्।

म केके सोच्दै थिएँ । सानी त गइसकिछन्। त्यसपछि म आफ्नो कुलदेवताको शरणमा पर्दै बिन्ती बिसाउँछु-‘हे भवानी माता। मेरो कल्याण गर। मेरो रक्षा गर माते। आजबाट मैले उदीपाको अनुहार देख्न नपरोस्। उनको सिउँदोको सिन्दूर हेर्न नपरोस्।’

त्यसपछि म गह्रौँ पाइलाहरू चाल्दै चाल्दै मन्दिरको प्राङ्गणबाट निस्किएर सडकमा आइपुग्छु।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *