नेपाल आइडल-४ विजेता भूपेन्द्र को हुन्, कसरी सफल भए ?

डिसी नेपाल
६ चैत २०७८ १२:४१

भैरहवा। भूपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बनेका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि जितेका उनी भैरहवाका स्थायी बासिन्दा हुन्। पढाइका साथसाथै संगीतलाई एउटै रथको दुई पांग्रा जस्तै लगेका उनी तेस्राे प्रयासमा च्याम्पियन बनेका छन्।

रुपन्देहीको सिद्धार्थनगर- ३ दरखसवामा बस्दै आएका थापा पूर्वभारतीय सैनिक सेरु थापा मगर र रत्ना थापा मगरका कान्छा छोरा हुन्। बुआ, आमा, दिदीसहित बस्दै आएका थापाले भैरहवाकै सनसाइन आवासीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे। हाल उनी भैरहवा बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छन्।

पढाइसँगै खेलमा पनि रुचि राख्ने उनले सांगीतिक यात्रालाई पनि जारी राखे । भैरहवामा सञ्चालित भैरहवा कलाकेन्द्रमा विगत ६ वर्षदेखि उनी साधकको रूपमा पनि छन्। कलाकेन्द्र हुँदा नै उनी यसअघिका दुईवटा नेपाल आइडलमा पनि प्रतिस्पर्धीको रूपमा थिए । दुवैपटक पराजित भएका उनले तेस्रोपटक अवार्ड नै चुमेका छन्।

शानिबार राति ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा चार प्रतिस्पर्धीलाई उछिन्दै उनले अवार्ड चुमेका हुन्। झापाका नामगेल तामाङ, रामेछापका रञ्जित नेपाली पनि टप ३ मा परेका थिए । यस्तै चौथो र पाँचौ स्थानमा झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल परेकी छन्।

थापा आइडलमा तेस्रोपटक सहभागी हुन खोजेका थिएनन्, कला केन्द्रकै दिपक विश्वकर्माले अडिसनका लागि पुनः प्रेरित गरेका थिए । थापालाई सफल गराउन कलाकेन्द्रका गुरुहरू, साधक, स्थानीय र परिवारको पनि पूर्ण सहयोग छ।

गुरु किशोर विश्वकर्माका साथै कलाकेन्द्रका साधक दिपक विश्वकर्मा, समाजसेवी ओमकुमार श्रेष्ठ, दिपेन्द्र प्रधान, दिपेन्द्रमान श्रेष्ठ, रुप माया पुनलगायत उनलाई विजयी गराउन भैरहवामा अभियान नै चलाएका थिए।

अन्नपूर्ण मीडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले उनलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । र, साथै ट्रफी प्राप्त गरे। भुपेन्द्र नेपाल आइडल सिजन ४ का विजेता भएकोमा आफूहरू गौरवान्वित भएको समाजसेवी ओमकुमार श्रेष्ठले बताए। भैरहवावासीका लागि याे ऐतिहासिक बनेको बताए।

आइडलकाे चौथो संस्करणमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायक थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *