कथा : मेरो धनी साथी

जोहेब मानन्धर
१२ चैत २०७८ ७:३२

जीवनको अर्थ वास्तवमै फरक फरक हुने रहेछ। जस्तो जस्तो भोगाई, त्यस्तै त्यस्तै सोचाइ। तर एउटा विषय चाहिँ पक्कै हो, जीवन त्याग्ने बेलामा लिने अन्तिम श्वासमा कुनै कुराको पछुतो नरहोस्। मैले जीवनलाई राम्रोसँग जिएँ, पूरा खेल खेलेँ, जित हार अर्को कुरा हो।

स्वयम्भू पछाडिको आनन्द कुटी विद्यापिठ नजिक साँझ परेपछि धेरै मानिस आउँछन्। केही कसरत गर्न आउँछन् त कोही प्रेम जोडी प्रेमालापमा हुन्छन्। सबै जना व्यस्त।
भगवान बुद्धको स्थानले भएका कारण उक्त ठाउँ सधैं शान्त, शितल र आनन्द प्रदान गर्छ।

एक दिन साँझको ६ बजेको छ। एउटा महंगो कार त्यही ठाउँमा आएर रोकिन्छ। करिव ६५ वर्ष उमेरको एक जना मानिस सो कारबाट ओर्लिन्छन्। उनको साथमा सवारी चालक र एक जना काम गर्ने मानिस पनि थिए। उनको लवाइ खुवाइबाट उनी धनाढ्य भएको अनुमान लगाउन कठिन थिएन।

रत्नवीर, शहरको एक प्रतिष्ठित धनाढ्य व्यक्ति।

उनी कारबाट झरेपछि चालक त्यहीँ बस्छन्। ती काम गर्ने व्यक्तिले उनलाई स्वयम्भूको दर्शन गराउन थाल्छन्। दर्शन गरेपछि उनी थाकेका छन्। उनी सुस्केरा हालेर बस्दै गर्दा सवारी चालकले केही फलफूल र चियाको साथमा सँगै खानु पर्ने औषधि ल्याएर उनलाई दिन्छन्। चिया पिइसकेपछि उनी यताउती नजर दौडाउँछन्।

रत्नवीरले टाढाबाट एउटा सानो केटोलाई समाउँदै एक जना वृद्ध व्यक्ति त्यतै आइरहेको देखे। शायद ती नाति र हजुरबुवा हुनुपर्छ। नजिकै आउँदा ती व्यक्तिलाई चिनेकै जस्तै लाग्यो रत्नवीरलाई।

मैलो कपला लगाएको, हेर्दा मध्यम वर्गीय र अलि दरिद्र पनि देखिने त्यो मान्छे हेर्दा आफ्नै उमेरको जस्तो तर अनुहारमा एकदम चमक थियो। नातिलाई साइकल चढाउन सिकाउँदै गर्दा निकै खुशी देखिन्थ्यो। झन् नजिक आइपुग्दा ठ्यम्मै चिन्यो यसले, स्कुले साथी कपिल। ‘ओह हो! आज वर्षौंपछि भेट्घाट!’ कपिलले पनि देख्यो चिन्न मुश्किल भएन। स्कुलको सोझो र पढन्ते साथी रत्नवीर।

दुवै जना निकै हर्षित भए। हात मिलाए। वर्षौंपछिको भेट्घाट, त्यो पनि यो उमेरमा रमाइलो त लाग्नै नै भयो। भएकाहरु सबै छुट्टिँदै जाने उमेर मा आफ्नो पुरानो साथीसँगको आकस्मिक भेट, आहा!

तर किन यस्तो बिचरा कपिल? स्कुल जीवनदेखि केही मतलब नगर्ने, भबिश्यको वास्ता नगर्ने खालको थियो। सायद अहिले दुख होला, रत्नवीरलाई लाग्यो।
रत्नवीरले नातिलाई आफ्नो काम गर्ने केटोसँग साइकल चढाउन पठाए। र ड्राइभरलाई चिया ल्याउने संकेत गरे।

अनि दुवै चिया पिउँदै गफगाफमा मस्त हुन थाले। कुरा गर्दै चिया पिउँदै गर्दा कपिलले गोजीबाट एउटा चुरोट निकालेर सल्काए। रत्नवीरलाई पनि दिए। तर रत्नवीरले जिन्दगीमा चुरोट, रक्सी कहिले छोएको पनि थिएन। त्यसैले उसले लिने कुरै भएन।

“अनि सुनाउ रत्नवीर जिन्दगी कसरी चल्दैछ! निकै सम्पती कमायौ जस्तो छ त? सानै देखि तिमी महत्वकांक्षी मान्छे। आफूलाई जिन्दगीमा पछि गएर के गर्नु पर्छ सब थाहा थियो तिमीलाई है?’ हाँस्दै भन्यो कपिलले।

‘के हुनु साथी? यस्तै त हो जिन्दगीमा। जसरी जे सोचेर अघि बढेको थिएँ त्यसरी नै चल्यो जिन्न्दगी! सानैदेखि पढाइ, त्यसपछि कलेज। अनि काम सुरु गरेँ २४ वर्षमा विहे गरेँ, आमा बुवाले रोजिदिएको केटीसँग। त्यसपछि जिन्दगी एउटा रफ्तारमा यसरी दौडियो कि थामिने नाम लिएन। २४ बाट ६५ कसरी पुगेँ म आफैंलाई थाहा छैन। बस, काम पैसा, काम पैसा, धेरै काम गरियो, निकै पैसा नि कमाइयो’ भन्दै गर्दा कता कता घमण्ड पनि मिसियो रत्नवीरको स्वरमा।

आज दुईचार वटा बिल्डिङ र इण्डस्ट्री छ काठमाडौंमा। दुई छोरा भए। सानैदेखि महंगो बोर्डिङमा पढाएँ। के गर्नु हामीले त त्यति बेला बोर्डिङ स्कुल पढ्न पाएन। उनीहरुलाई पढाए। त्यसपछि बिदेशमा पढाइ। एउटा छोरा अमेरिकामा डाक्टर अर्को अष्ट्रेलियामा छ। दुवै बिहे गरिसके। नाता नातिहरु पनि उतै छन्।

निकै चाख मान्दै सुन्दै थिए कपिल।

‘अनि यहाँ भाउजु र तिमी मात्र?’

एकछिन अघिसम्म त्यो घमड मिश्रित अनुहारमा एकाएक उदाशी देखियो। हैन! भाउजु त बितिसक्यो। यहाँ म एक्लै छु। दुई जना काम गर्ने छन्, अनि ड्राइभर छ भनेर अनुहार मलिन बनायो। छोराहरुले उता नै जाउँ भन्छन्।तर मलाइ जान मन छैन। उनीहरु यता बस्न मान्दैनन्। कहिले म जान्छु एक दुई महिना बस्छु, कहिले उनीहरु यता आउन्छ्न ।ठिकै छ सन्तान को खुशी नै आफ्नै खुशी हो।प्रश्स्त सम्पती छोडिदिएको छु पछि को लागि भन्दै चिया को सुर्को लाउन्छ।

तर अफसोच! एउटै कुरा को छ साथी कि, जिन्दगीमा पैसा कमाउने होडमा आफ्नो लागि कहिले समय निकाल्न पाएन। आफूले चाहेको कुराहरु गर्छु भन्दा भन्दै जीवनमा आफ्नो सपना, चाहना चाहिँ कहिले पूरा गर्न पाइन। जीवन मा स्कुले जीवनदेखि गिटार सिक्ने, संगीतको ठूलो सोख थियो तर कहिले पूरा भएन। त्यस्तै जीवनमा धेरै कुराहरु थिए, जवानीका दिन, मन पराएका प्रेमिका, र अरु पनि थुप्रै सपनाहरु। तर जहिलेपछि गरौंला पहिले कमाउनु पर्छ भन्ने सोचले सब छुट्टियो।

आफ्नो लागि समय निकालौंला भन्दा भन्दै जीवन कहिले ओराली लाग्यो पत्तो नै पाएन। “आफूले नसोचेको, नखोजेको सुख धेरै पाए जीवनमा तर त्यसको खासै अर्थ नरहने रैछ। खुशी त त्यहाँ हुने रैछ। जुन आफूले सोचेको सानो मात्र पनि सपना पूरा गर्न पाइयोस! भन्दै रत्नवीर आफ्नो रसाएको आँखा पुच्छन्। आज जीवनमा सबथोक छ, तर जीवनमा सम्झन लायक क्षण छैन। खुशी छ तर त्यसलाई ब्यक्त गर्न हाँसो छैन। यसैको नाम जीवन होला सोचेर चित्त बुझाएको छु। अब त रोगहरु पनि अनेक लागिसकेको छन्। औषधि नै सब भन्दा नजिक को साथी हो। अरुसँग छुट्न सकिन्छ तर यस्बाट सकिन्न भन्दै मन्द मुस्कान छर्छ।

कपिल एकटक उसको कुरा सुनिरहन्छ। अघिसम्म निकै धनाढ्य लागेको साथी अहिले कता कता अलि दुखी र लाचारी पनि लाग्यो उसलाई।
‘अनि तिम्रो सुनाउ कपिल? कस्तो छ जिन्दगी? तिमी त स्कुल जीवनदेखि बिन्दास मान्छे है? आफ्नो इच्छा भएको कुरा गरि नै छोड्ने’ भन्दै ब्यङ्य्ग गर्दै रत्नवीरले अर्को चिया थप्यो।

‘मेरो त यार! जिन्दगीमा सब थोक गरियाे। तर यो सम्पत्ति चाहिँ कहिले कमाउन सकिन’ भन्दै जोडले हाँस्यो। रत्नवीरलाई कता कता घोचे जस्तो लाग्यो र कपिलले आफैं माथि ब्यङ्य प्रहार गरेको भान भयो।

‘साच्चै! भनेको साथी जिन्दग मा मोज मस्ती र आफ्नो सपना पूरा गर्ने सुर यस्तो चढ्यो कि पैसा कमाउन कहिले सकिन। तर आफ्नो सपना चाहिँ सब पूरा गरे है।’
जिन्दगीमा आफूले चाहेको नै गरेँ, उमेर छँदा नै सानैदेखि फुट्बल खेल्न मन थियो। एउटा खेलाडी बन्ने सपना साच्थेँ। त्यो पूरा गरेँ।

थुप्रै खेलियो तर एउटा राष्ट्रिय खेलाडी बनेर देशको लागि खेल्ने मौका चाँहि पाइन। तर पनि खुशी नै छु। त्यो लहडमा पैसा कमाउने तिर खासै ध्यान गएन। बिहे गरेँ, आफ्नो मन परेको केटीसँग नै। आमा बुबाले नचाहँदा पनि। केही दिनमा परिवारसँग अलग्गिएँ।

दुख थियो तर आफूले जानेको यही सीप नै काम आयो। स्कुलमा गेम टिचरको जागिर खाएँ। म ,एउटा छोरा र बुढीको गुजारा चल्यो नै। छोरालाई यतै आफ्नै देशमा पढाएँ। राम्रै पढ्यो। अहिले छोरा बुहारी दुबै जागिरे छन्। एउटा सानो घर बनाएको छु, हामी छ जनालाई पुग्छ। म र बुढी चाहिँ नाति हेर्ने भाका छौं भन्दै फेरि हाँस्छ। र अर्को चुरोट निकालेर सर्को तान्छ।

रत्नवीर! यो संसारमा जन्मेर धेरै मान्छेले आफ्नो सपना पूरा गर्न पाउँदैनन्। म अहिले सोच्छु म साच्ची कै भाग्यमानी रैछु,, जसले आफ्नो सपनाहरु पूरा गर्न पाएँ। अब त्यस्तो केही इच्छा आकांक्ष खासै बाँकी छैन, सबै पूरा गरेँ। मर्ने बेला गुनासो लिएर मर्नु हुन्न भन्छन्,!

जीवन मा सन्तुष्टि भन्दा ठूलो केही छ जस्तो मलाइ लाग्दैन। “धेरैले सोच्छन् पहिले कमाउँछु अनि जीवनमा सन्तुष्टि आइहाल्छ नि। तर सन्तुष्टि पहिले नै भए जीवनमा सम्पत्ति आओस न आओस केही फरक पर्दैन।

एकबारको जीवन जसरी पनि कट्छ नै ।बस आफूले चाहेको आफ्नो सपना पूरा गर्न पाउनु पर्यो। आफ्नो लागि बाँच्न पाए पो अरुको लागि पनि केही गर्न मजा आउँछ! आफू तृप्त नभै अरुलाई तृप्त कसरी बनाउने?

यही हो साथी आफ्नो जिन्दगी को कथा त, सानोसानो कुरामा खुशी खोज्छु। खुशी आफैं ठूलो बनी दिन्छ। दिन भरीको समय बिहान नातिलाई स्कुल पुराएदेखि सुरु हुन्छ। खाना खायो एकछिन घाममा बस्यो, किताब पढ्यो। यस्सो सुत्यो। फेरि नातिलाई स्कुलमा लिन गयो। यसरी नै ब्यस्त हुन्छु। बेलुका सबै परिवारसँगै बसेर हाँसी खुखी मिठो नमिठो जे छ खाँदै, नातिसँग खेल्दै, उसलाई कथा सुनाउँदै समय बित्छ। राति पनि हामीसँगै सुत्छ यो त। बाजेबज्यै भने पछि हुरुक्क हुन्छ।

साँच्ची! यो बुढेसकालमा हाम्रो नजिक को साथी भनेको यही नाति नै हुने पो रैछ। त्यही भएर पनि यो सन्तान जन्माउने, परिवार बनाउने प्रक्रिया बनाइराखेको होला सायद प्रकुतिले।

कपिलको कुराले रत्नवीरलाई आफू निकै गरिब भएको महसुस भयो। अघिसम्म झुत्रो, दरिद्र देखेको साथी अहिले उसलाई आफू भन्दा कैयौं गुना धनी भान हुन थाल्यो।
साच्ची! कपिलले भने जस्तै जीवन के नै रैछ त! आखिर जन्मेर आएर आफ्नो सपना इच्छा आकांक्षा पूरा नगरी के फेरि अर्को जन्मको लागि राख्ने? अर्को जन्म हुन्छ कि हुन्न त्यो पनि थाहा छैन। यो जीवनलाई जति सरल लिन सक्यो, त्यति नै सजिलो हुँदो रहेछ। आफूले त जीवनलाई एउटा बाजी जस्तै सोचेर जित्ने होडमा हिँडियो।

“जीवनमा बाहिरबाट धनी देख्दैमा सबै धनी हुँदैन। धनीको मूल्यांकन त जीवनको उतराद्र्धमा पो हुने रहेछ। आज उसलाइ कताकता एक पटक फेरि जीवन सुरुबाट जिउने रहर चल्यो। तर आफ्नो जिन्दगी कपिलको जिन्दगीसँग साटेर।

नाति र ड्राईभर आयो। कपिलले रत्नवीरसँग बिदा लियो र नातिसँग खेल्दै हाँस्दै बिस्तारै टाढियो। रत्नवीरलाई आउँदा टाढाबाट दरिद्र देखेको ब्यक्ति अहिले फर्किँदा निकै धनवान् भएर टाढिँदै गएको भान भयो।

मनमनै साथीको जीवनसँग गौरब पनि लाग्यो र इर्ष्या। पनि। अनि ड्राइभर र केटोलाई देखाउँदै भन्यो– उ हेर! जान्दै छ मेरो धनी साथी!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *