केदारनाथको शिर ‘डोलेश्वर महादेव’ {फोटोफिचर}

भक्तपुर । भक्तपुरको दक्षिण–पूर्वीमा अवस्थित सिपाडोल गाउँमा डोलेश्वर महादेवको मन्दिर रहेको छ । यस मन्दिरलाई केदारनाथको शिर पनि भनिन्छ । डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साढेंको टाउको (शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ ।
शिवलिङ्गको उत्पत्ति द्वापर युगको अन्त र कलियुगको प्रारम्भ कालमा भएको हुँदा र पाण्डवहरुले समेत तीर्थाटन गरिएको यस शिवलिङ्गको नाउ श्री केदारनाथजीको नाउँसँग मिलेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
कालान्तरमा यहीं शिवालयको नाउँ “डोलेश्वर रहेको कुराको प्रमाण छ यसै मन्दिर परिसरमा रहेको विकम सम्वत १६२९ को राजा भूपतीन्द्र मल्लले स्थापित गरेको शिलालेखमा उल्लेख छ । त्यस समयभन्दा पहिले देखिन “डोलेश्वर” को नाउँले चिनिने रहेछ भन्ने कुरा यसले प्रमाणित गर्दछ ।
बाह्र ज्योतिर्लिङ्गमध्ये भारत उत्तराखण्डमा अवस्थित चारधाम, गंगोत्री, यमुनोत्री, बद्रीनाथसहित केदारनाथको महत्व परापूर्वकालदेखि नै विशिष्ट रहेका र उनै केदारनाथ महादेवको शिरोभाग पाशुपत क्षेत्र काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुर जिल्लाको सिपाडोलमा डोलेश्वर महादेवको रूपमा रहेका छन् ।
मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा शिलाको बसाहा (नन्दी) को मूर्ति स्थापित छ। मन्दिरको दक्षिणपूर्व कुनो अर्थात् शिलाको त्रिशूल अगाडि दीप प्रज्ज्वलनका लागि वरिपरि दियोको स्थान रहेको छ भने रङ्गीचङ्गी टायल लगाइएको बिमलादेवीको सानो चिटिक्क परेको मन्दिर छ।
यहाँ महाभारतसंग जोडिएको कथन पनि सुन्न पाइन्छ । यात्राकै क्रममा पाण्डवहरूले आशुतोष भगवान् केदारनाथको दर्शन गर्ने इच्छा गर्दा ती स्वजन हत्या गरी आएका पापी पाण्डवहरूलाई दर्शन नदिने निर्णय गरी केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विहारमा रहनुभएको थियो ।
पाण्डवहरूले ध्यान दृष्टिले विचार गर्दा केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विचरण गरेको थाहा पाएपछि सोही रूपको पनि दर्शन गर्छौं भनी पाण्डवहरू पछि लागेर पुच्छर समाएर तान्न खोज्दा भगवानले आफ्नो शिर भाग लुकाई पृथ्वीतर्फ धसिँदै आफ्नो शरीरलाई तीन टुक्रा बनाई अलप भए ।
शिर, ढाड र पुच्छर तीन टुक्रामध्ये ढाड सोही ठाउँमा रहेको र भीमसेनको हातमा रहेको पुच्छरसमेत अन्य स्थानमा पछारिन पुगेको थियो ।यस्तो अनर्थपछि पाण्डवहरू भयभीत भएर भगवानको आराधना गर्न थालेका थिए ।
यसै बीच एउटा आकाशवाणी हुन्छ । साँच्चै तिमीहरूले मेरो दर्शन गर्न आएका हौ भने नेपालमा दर्शन गर्न जाऊ भनि भनिन्छ । त्यस पछि पाण्डवहरू पूर्व तर्फको यात्रा गर्ने निश्चय गर्दछन् । उक्त कुरा शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पष्ट रूपले उल्लेख गरेको पाइन्छ।
यहाँ वर्षको ३ पटक वैशाख, जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
यहाँ अन्तरिक तथा बाह्य पर्यटकहरु पनि दर्शन गर्न आउने गर्दछन् । मन्दिरमा भजन कृतन गर्नुका साथै स्थानीय समुदायको बाजागाजाका सहितका झाँकीसहित महादेवको दर्शका निम्ती पुग्ने गर्दछन् ।
Facebook Comment