कथा : केइको सेनसेइ

डिसी नेपाल
१९ चैत २०७८ ७:०६

उनी हस्याङ फस्याङ गर्दै हामी छेउ आइपुगिन् र भनिन्–उमेदेतो गोजाईमास। मसँगै उभिरहेकी मेरी श्रीमतीले पनि निहुरिँदै भनिन्, उमेदतो गोजार्ईमास। म पनि अभिवादन गर्न तयारीका साथ उभिरहेको थिएँ। तिनी मतिर मुखारित भइन्।

मैले पनि निहुरिँदै भने–आकेमासिते उमेदेतो गोजाईमास, कोरोसिमो डाजो युरिसिको ओनेगोजाईसिमास।’  मेरो साथसाथै तिनीले पनि निहुरिँदै भनिन्। जब अभिवादन भन्न सकियो तिनी आश्चर्यचकित हुँदै मलाई हेर्दै भनिन्-ज्याँसु।’ यसको अर्थ हो धेरै जान्ने भएछ। मैले पनि खुशी हुँदै ‘डोयो आरिगातो’ भनिदिएँ। जापानी भाषामा धन्यवाद भन्नलाई डोयो भनिन्छ। त्यसपछि हामी कुरा गर्दै तिनको घरतर्फ लाग्यौं।

वास्तवमा उनी मेरी जापानी भाषा सिकाउने शिक्षिका केइको कोकुरियो थिइन्।  म जापान आएको करिब दुई हप्ता पछि माकीले टोकियोको नाका मेगुरो भन्ने शहरको एउटा भाषास्कुल (जहाँ जापानिज भोलेन्टिएरहरुले विदेशीहरुलाई जापानी भाषामा कुरा गर्न सिकाउँछ) लगेकी थिइन्।

सायद माकीले पहिले नै फोनबाट मेरो नाम लेखाई सकेकी थिइन्। त्यसैले जानासाथ उनीहरुले दुईजना टिचरहरुसँगै मलाई बसाई दिए। किनकी मलाई जापानिज भाषा त्यति आउँदैनथ्यो। काठमाडौं छँदा तिनचार महिना क्लास लिएको थिएँ। त्यसैले अलिअलि बोल्न चाहिँ सक्थेँ। सबै जना छक्क पर्थे कि जापानीज भाषा नआइकन पनि कसरी एउटी जापानीज केटीसँग बिबाह हुन पुग्यो भनेर।

तर हामीलाई अंग्रेजी भाषाले धेरै सहयोग गरेको थियो। बिहे पनि नेपालमै नेपाली परम्परा अनुसार गरेको थिए। बिहे पछिमात्र मैले जापानिज भाषा सिक्न शुरु गरेको थिएँ। नेपालमै परिचय भएर धेरै लामो समय पछि मात्र मैले बिहेको निर्णय गरेको थिएँ। माकीको नेपालप्रतिको मोह र मप्रतिको गहिरो मायालाई मैले नर्कान सकिन। सायद प्रेममा भूगोलको परिधिले छेक्न सकिँदैन रहेछ।

जापानिजहरू पढ्नमा साह्रै रुची राख्छन् र यी कुराले मलाई साह्रै प्रभाव पारेको थियो। ट्रेनमा पनि पढिरहेका हुन्छन्। रेष्टुरेन्टान पनि पढिरहेका नै हुन्छन्। अनि आफ्नो देश सम्झन्छु जहाँ कुनै लेखकले सित्तैमा किताब बाँड्दा पनि पढ्न त्यति रुचाउँदैनन्। त्यही भएर होला हजार ओटा किताब निकाल्दा पनि बर्ष दिनमा बिक्न मुस्किल पर्छ।

नत्र कहाँको विकासको चरम सीमामा पुगेको देश जापानको अति ब्यस्त शहर टोकियोको युवती, म कहाँको अल्प विकसित गरिव देश नेपालको युवकसँग बिहे गरि नेपालमै बस्ने अठोट लिएर बिहेको निर्णयमा पुगेकी एउटी जापानी युवती। तर बिहे पछि एक वर्षमा बस्न नसकी जापान फर्केकी थिइन्।

त्यसैले ति दुई टिचरसँग मैले शुरुमा आफ्नो नाम भनेँ। त्यसपछि जापान आएको यति हप्ता भयो भने। ती दुई टिचर मध्ये एउटी चाहिँ भर्खरै २९ वर्षमात्र पुगेकी रहिछन्, तर हेर्दा लाग्थिन् भर्खर २०–२२ कि जस्ती सुकोेमल मुहार। नम्र बोली गोरी चिटिक्क परेकी।

अर्की साठी नाघिसकेकी सौभ्य मुहारकी प्रौढ थिइन्। मैले जापानी भाषामा उनीहरुको नाम सोधेँ। प्र्रौढको नाम रेइको हिराचुका र युवतीको नाम केइको कोकोरियो रहेछ। तिनीहरु साह्रै नम्र रहेछन्। एक घण्टा २० मिनेटको क्लास रमाइलोसँग बित्यो। मैले तिनीहरुलाई धेरै हसाइ दिएँ। तिनीहरु पनि मलाई पढाउन पाउदाँ साह्रै खुशी देखिन्थे। सायद मबाट निकै प्रभावित भए। केइको सेनसेइले त भनिहालिन्-याकासाई कि यस्तो रमाइलो विद्यार्थी पहिलो चोटी भेट्दैछु।’

त्यही बेला उनीहरुले अर्को हप्ता हुने क्रिस्मस पार्टीमा इनभाइट गरिहाले हामी दुबै जनालाई। अर्को हप्ता पार्टीमा गएका थियौं माकी र म। त्यहाँ धेरै देशका नागरिकहरु आएका रहेछन्। धेरै चहलपहल थियो क्रिसमस पार्टीको। जानासाथ सबैलाई कोनिचिवा भनेर अभिवादन गरें। जापनीजहरु एक अर्कोमा भेट हुँदा आभिवादन गर्ने शब्द कोनिचिवा हो, हाम्रोमा नमस्ते भने जस्तै।

केइको सेनसेइ हामीलाई देख्ने वित्तिकै खुवै खुशी भइन्। मैले पनि निहुरिँदै अभिवादन गरें  ओहायो गोजाईमास। तिनले पनि ओहायो गोजाईमास भन्दै (शुभप्रभात) भन्दै नजिकैको मेचमा बस्ने आग्रह गरिन्। जापानीजहरु वास्तवमै निकै नम्र हुन्छन्। यदि विहानै एक अर्कोसँग भेट भएमा निहुरिँदै ओहायो गोजाईमास भन्छन् भने दिउँसो चाहिँ कोनिचिवा र साझँपख भेट भएमा कोनवानवा भन्छन्।

हामी हुन्छ भन्दै एकछिन त्यही अभिरहेका थियौं। म चारैतिर चहलपहल हेर्दै थियौं। सबै जना आपसमा कुराकानीमा ब्यस्त थियो। तर हल्ला धेरै थिएन। किनकी जापानीहरु साह्रै शान्ति प्रिय भएर होला उँचो स्वरमा कुरासम्म गर्दैनन्। ट्रेनमा सफर गर्दा पनि मैले यो कुराको नोट गरेको थिएँ। सबै चुपचाप लागेर बस्थे। कोही किताब पढिरहन्थे।

यदि मोवाइलमा आएको फोनसमेत मसिनो स्वरले म ट्रेनमा छु पछि कुरा गर्छु भनेर बन्द गर्थे। अरुलाई डिस्र्टभ हुन्छ भन्ने कुरामा निकै सर्तक हुन्छन्। यिनीहरु पढ्नमा साह्रै रुची राख्छन् र यी कुराले मलाई साह्रै प्रभाव पारेको थियो। ट्रेनमा पनि पढिरहेका हुन्छन्। रेष्टुरेन्टान पनि पढिरहेका नै हुन्छन्। अनि आफ्नो देश सम्झन्छु जहाँ कुनै लेखकले सित्तैमा किताब बाँड्दा पनि पढ्न त्यति रुचाउँदैनन्। त्यही भएर होला हजार ओटा किताब निकाल्दा पनि बर्ष दिनमा बिक्न मुस्किल पर्छ।

एकै छिनमा हस्साङफस्याङ गर्दै एउटी युवती हामी छेऊ आइपुगिन म तिनलाई नियालेर हेर्छु। नेपालीझैं लाग्छ र सोधिहाल्छु तपाईं नेपाली हो? तिनी मुस्कुराउँदै हो भन्छिन्। मलाई साह्रै खुशी लाग्छ। एकदमै नजिकको कोही आफ्नै नातेदार भेटेझैं लाग्छ। वास्तवमा विदेशमा बसेपछि अलि बढि नै राष्ट्रियता, जाति, भाषा प्यारो हुँदो रहेछ। उनको नाम गौरी रहेछ, चिनापर्ची भयो।

मैले माकीसँग पनि परिचय गराइदिएँ। माकी पनि धेरै खुशी भइन्। हामीसँगै गएर कुर्सीमा बस्यौं। मेरोसँगै एउटी जापानीज पौढ बसेकी थिइने। तिनी मतर्फ मुखारित भै कुरा गर्न थालिन्। जापानीप भाषामा धेरै कुरा गरिन्। म अलमल्ल परें, र मैले माकीलाई कोट्याई सोधेँ। उनले ती पौढलाई जापानीज भाषा त्यति जान्दैन भनिदिइन्।

मलाई चाहिँ तिनको कपालले आर्कषित गरिरहेको थियो। रातो कपाल गुलाफ फूलेझैँ शायद तिनी ७० नाघेकी हुनुपर्छ। तर पनि राम्री बन्न कोसिस गर्दा रहेछन्। मैले लोग्ने मान्छेको तुलनामा जापानिज महिला साह्रै राम्रा चिटिक्क परेका हुँदा रहेछन् भन्ने कुराको अनुभव गरें। मैले ट्रेनको सफर गर्दा, बजार जाँदा पनि यो कुराको नोट गरेको थिएँ।

अनि तिनले मलाई अंग्रेजीमा सोधिन् माकीलाई मैले कहाँ भेटेको भनेर। मैले भने आठ बर्ष अगाडि नेपालमा भेटेको भनेँ। तिनी अचम्म मान्दै सोधिन्– कहिले बिहे गरेको? मैले भने-एक बर्ष अगाडि। तिनी मलाई अझ अरु पनि सोध्न चाहन्थिन् तर त्यतिकैमा एक महिला आएर बोलाएपछि अर्कोतिर लगिन्। मैले गौरीलाई हेर्दै भने–यिनले त मेरो इन्टरभ्यू नै लिइन्।’

हाँसिन माकी। अनि मैले उनीहरुको हाँसोमा हाँसो थपिदिएँ। सबैजना आ-आफ्नो सिटमा बसिसकेका थिए। एउटी जापानीज टिचरले उठेर भनिन्–अब सबैले पालैपालो आ–आफ्नो देशको गीत गाउने।’ सबैले तरर ताली बजाए। मैले गौरीलाई भने हामीले पनि नेपालको गीत गाउने है। उनले स्वीकृति जनाइन्। तर पछि भनिन्-के गाउने? मलाई त गीत गाउनै आउँदैन।’

मैले हाँसेर भने- मलाई पनि कहाँ आउँछ र? एक टुक्रा गुनगुनाउने त हो नि! यहाँका सबैले नेपाली भाषा पनि त सुनुन्। पहिलोचोटी तीन जना फ्रेन्च केटाहरु आए, उनीहरुले फ्रेन्च भाषामा गीत गाए। सबैले ताली बजाएर स्वागत गरे। त्यस पछि तीन जना चाइनिज केटीहरु आए, उनीहरुले पनि आफ्नै भाषामा गीत गाए। त्यसपछि पालैपालो सिंगापुर, ओमान र त्यसपछि उजेस्किस्थान, नाइजेरियन गरि करिब दश ओटा राष्ट्रका नागरिकहरुले आ-आफ्नो देशको गीत गाए।

त्यसपछि हाम्रो पालो आयो। मैले पहिले नै हामी दुई ओटा गीत गाउँछौं, एउटा नेपाली र अर्को जापानिज भनेको थिएँ। यो कुरा जापानिज टिचरले एनाउन्स गरिदिइन्। सबै जनाले अचम्म मान्दै तरर ताली बजाइदिए। गौरीचाहिँ मलाई त आउँदैन जापानीज गाना भन्दै थिइन्। मैले भने-तपाई मेरो फलोमात्र गर्नुस न भनेँ।’

वास्तवमा मैले जापानिज गाना मेरी सासु (माकीकी मम)सँग सिकेको थिएँ, दुई–दिन अगाडि मात्र। जुन गीत क्रिसमससँग सम्बन्धित थियो। त्यही भएर मैले दुई लाइन भए पनि गाइदिने निर्णय गरेको थिएँ। मैले गाउन सुरु गरेँ-गीतको अर्थ तारासँग सम्बन्धित थियो। किनकी जापानिजहरु हामी नेपालीझैँ प्रकृति पुजक पृथ्वी, चन्द्र, सूर्य, तारा, पर्वत, रुख सबैलाई देवता मान्दा रहेछन्।

हामीले देवता भनेझैं उनीहरुले सामा भन्दा रहेछन्। त्यस गीतको अर्थ पनि तारा देव चमचम गरेर चम्किन्छन्। गीतको बोल यसप्रकार थियो–ओ हासी सामा पिकारी, पीका पीका पिकारी। आचिराना सोरा दे, कोचिरानो सोरा दे ओ होसी सामा पिकारी, पीका पीका पिकारी।’

सबैले तरर ताली बजाएर स्वागत गरे। मलाई साह्रै खुशी लाग्यो। त्यस पछि हामीले फेरि नेपाली गीत गायौं। खुवै चलेको नेपाली चलचित्र अल्लारेको गीत रातो टिका निधारमा टलक्क टल्कियो, छातीभित्र मायाको आगो सल्कियो, ऐ विजुलीको तार तार तार फुर्सद भए हे हजूर भेटौ शनिबाार।

फेरि एकचोटी सवैले तररर ताली बजाए। साह्रै रमाइलो भयो। आफ्नो देशको गीत विदेशी भूमिमा त्यो पनि विदेशीहरुको माझँमा गाउन पाउँदा मन प्रफुल्ल भएको थियो। त्यस पछि हामीले लन्च लियौं। विभिन्न परिकारहरुले सजाएको थियो टेबुल तर प्रायः जसो सिफुडहरु धेरै थिए।

केइको सेनसईले हामीलाई लन्चको लागि आग्रह गरिन्। मलाई कहाँबाट शुरु गर्ने भन्ने थाहा थिएन। तर पनि अरुहरुको सिको गर्न थालें। सबै परिकार अलि अलि प्लेटमा राखें। रातो रातो ड्राई मिट देखेँ। त्यो पनि एक पिस राखेँ प्लेटमा। तर यसो मुखमा राखेको त स्वाद कस्तो कस्तो लाग्यो मैले माकीलाई सोधें–यो बफ हो?’ तर उनले भनिन्–जापानमा बफ हुँदैन। खाली बिफमात्र हुन्छ।’

मलाई सिकसिक लाग्यो हामीहरु गाईलाई पूजा गर्छौं, माता ठान्छौं। त्यो संस्कारमा हुर्किएका छौं। कसरी खान सक्छौं गाईको मासु। मैले गौरीलाई पनि भने–थाहा नपाएर झण्डै गाईकाृ मासु पो खान पुगेछु। उनी हाँस्दै भनिन्–हो भन्या खुब याद गर्नुपर्दो रहेछ मासु खाँदा।’

केइको सेनसेई हामी नगिचै आएर कुरा गर्न थालिन्। मैले जापानिज गीत गाएकोमा प्रशंसा गरिन् र गौरीलाई भनिन् म साह्रै रमाइलो मान्छे लाग्यो रे। पहिलो क्लासबाट नै उनी निकै प्रभावित भएकी रहिछन्। मलाई पनि खुशी लाग्यो मैले उनीहरुलाई प्रभाव पार्न सकेँ। त्यसपछि हामीले फोटोहरु खिच्यौं। यसरी त्यो पार्टी साह्रै नै अविस्मरणीय भएको थियो। माकी हत्तपत्त गौरीको फोन नम्बर लिन अगाडि बढिन्। मलाई अचम्म लाग्छ तिनी कोही नेपाली देख्नासाथ साह्रै खुशी हुन्छिन्। शायद श्रीमान नेपाली भएर होला कि नेपालीसँगको लगाव बढेको। नेपालप्रतिको आर्कषण निकै छ।

र भनिन्- गौरीलाई अलि अलि जानेको नेपाली भाषामा मलाई पनि तपाईंलाई भेटेर खुशी लाग्यो।’ गौरीले अचम्म मान्दै भनिन्–हरिशदाई भाउजूलाई त पूरा नेपाली सिकाउनु भएको रहेछ।’ मैले पनि नाक फुलाउँदै भने– अब नेपाली बुहारी भएपछि त जान्ने पर्यो नि नेपाली भाषा कसो?’ त्यो क्षणिक भेटमा पनि मलाई त गौरी आफ्नै बहिनीझैं लाग्यो।

मैले पनि सोधें-जापान आउनुको कारण कतै म जस्तै जापानिजसँग बिहे गरेर त होइन?’ उनले हाँस्दै भनिन्–हैन हैन दाजू मेरो त श्रीमान नेपाली नै हो। उहाँ अहिले विश्वविद्यालयमा हुनुहुन्छ टोकियो मै। म पनि भर्खर दुई महिनामात्रै भयो जापान आएको।’

हामीसँगै फर्कियौं। बाटोमा मैले भने–अझसम्म मैले एउटै नेपाली भेटेको छैन। आज तपाईंलाई नेपालीमा कुरा गर्न पाएकोमा म धेरै खुशी छु।’ उनले भनिन्-मलाई पनि यहाँ आएर एक दुई महिना त त्यस्तै लागेको थियो। तर पछि मैले धेरै नेपालीहरु भेटेँ। शुरुशुरुमा यस्तै हुन्छ। पछि विस्तारै सबै बुझ्दै गएपछि सजिलो हुन्छ।’

अर्को हप्ता पनि म क्लास लिन पुगेँ। सायद सबैले मलाई चिनेछन क्यारे जापानिज गाना गाएको भएर। ओहायो गोजाईमास भन्दै अभिवादन गरे। अस्ति पार्टीमा खिचेका फोटोहरु एउटा टिचरले मेरो नाम लिँदै आएर दिइन्। मलाई अत्यन्त खुशी लाग्यो कि सबैले मलाई नेपाली विद्यार्थी भनेर चिनिसकेका छन्। हाम्रो क्लास शुरु भयो, दुई ओटी टिचर भएर मलाई सिकाउन थाले।

अर्को जापानिज गीत, यो गीत खुबै प्रख्यात रहेछ। नयाँ वर्ष संवन्धित गीत भएर होला गीतको अर्थ पनि अथ्र्याउन थालिन्। जापानिजहरु नयाँ वर्षलाई खुबै हर्ष उल्लासकासाथ मनाउँदा रहेछन्। बजारभरि भिड हुँदो रहेछ। मानिसहरुको चहलपहल र बजारमा किनमेल गर्नेको भिडले निकै रमाइलो हुँदो रहेछ। नेपालमा दशैंको बेला खसी, बोका किन्नेको भिडझैं।

तर अचाक्ली महंगो रहेछ। किनकी नयाँ वर्षको एकदिन अगाडि म पनि माकीसँग बजार गएको थिएँ। खुबै उत्सुक भएँ मानिसहरुको चहलपहल देखेर। सडकको एक छेउमा एउटा पसल रहेछ। पसल त के भनौं फलफूलहरु सजाएर राखेको। सायद चाडवाड भएर होला सरकारले सडकपेटीमा पनि राख्न अनुमति दिएको।

त्यहाँ एउटा मुलाको सय येन म त छक्कै परें। एउटा स्याउको दुई सय येन। एक पाउ जति होला, एक पाकेट अदुवाको तिनसय पचास येन। हुन त हामीलाई धेरै महंगो लागेको हुनसक्छ। तर यहाँ सय येन भनेको दश रुपैयाँ जतिमात्रै रहेछ।

मैले कुरै कुरामा उनीहरुको धर्मको बारेमा सोधेँ। उनीहरुले बौद्ध धर्म मान्ने बताए।  मैले पनि गर्वकासाथ भने थाहा छ बुद्ध हाम्रो देशमा जन्मेका हुन् नि। बुद्धको जन्मस्थान लुम्बिनी हो, जुन हाम्रै देशमा पर्छ। उनीहरु तिन छक्क परे। किनकी धेरै जापानिजहरु बुद्ध इन्डियामा जन्मेको भनेर ठान्दा रहेछन्।

मैले उनीहरुलाई राम्रैसँग सम्झाएँ बुद्ध हाम्रो देशको गौरव हो। त्यसपछि उनीहरु झनै खुशी भए। मैले पनि बुद्धको बाबुआमाको नाम भनिदिएँ। उनीहरु हत्तपत्त नोटबुक निकाली लेख्दै भने शायद हामीहरु इतिहासमा कमजोर रहेछौं।

तिमी पो त हाम्रो टिचर भयौ त। मलाई खुवै हाँसो उठ्यो, म मजाले हाँसी दिएँ। हुनतः मेरै सासु ससुरालाई थाहा छैन कि बुद्ध नेपालमा जन्मेको भनेर। सबैले भारतमा भनेर बुझ्दा रहेछन्। मैले जब नेपालको भन्दा ससुराले भनेका थिए कि धेरै जापानिजहरु भारतको भनेर ठान्छन्, यो त अचम्मै भयो।

उनीहरुले मलाई परिवार कति छ भनेर नेपाली भाषामा कसरी सोध्ने भने। मैले पनि तुरुन्तै केइको सेनसेईलाई सोधें। तपाईंको परिवार कति छ? केइकोले मुस्कुराउँदै जवाफ दिइन्–बाजे बजै बुबा आमा दाजु र म।’ मैले सोधें-बाजे बजैको उमेर?’ बाजे ९७ वर्षको अनि बज्जै ९३ वर्षको।

मलाई अचम्म लाग्यो त्यत्रो उमेरको मान्छे हिँड्डुल गर्न सक्दैनन् होला।’ उनले हाँस्दै भनिन्–हैन हैन मेरो बाजे बजै त एकदन तगडा हुनुहुन्छ। मलाई केइको सेनसेईको बाजेबजैप्रति उत्सुकता जागेर आयो र भनिहालेँ–म उहाँहरुलाई भेट्न चाहन्छु।’ केइको सेनसेईले खुशी हुँदै भनिन्-नयाँ वर्षमा घरमा लन्चको लागि बोलाउँछु र त्यही बेला मेरो बाजेबजैसँग भेट्नु।’ मलाई साह्रै खुशी लाग्यो। केइको सेनसेईको सरल तथा आत्मिय व्यवहारबाट म निकै नै उत्साहित भएको थिएँ।

त्यसको केही दिनपछि केइकोे सेनसेईले फोनबाट मलाई र माकीलाई नयाँ वर्ष जनवरी ३ तारीखको दिन लन्चको लागि आमन्त्रणा गरेकी थिइन्। माकी अचम्म परेकी थिइन्। त्यसरी घरैमा दुई दिन चिनेको विदेशीलाई आमन्त्रण गरेकोमा। किनकी जापानिजहरु हत्तपत्त कसैलाई पनि घरमा बोलाउँदैनन्। ‘ऊ त्यही हो मेरो घर।’ केइको सेनसेईको यो आवाजले म झस्केको थिएँ। माकी पनि अचम्मै परिन्।

किनकी केइको सेनसेईको घर नजिकै एउटा पुस्तकालय थियो। जहाँ माकी अक्सर किताब लिन आउँथिन। माकीसँग म पनि दुइतिन चोटी आइसकेको थिएँ। हामी उनको घरको बाटो भएर धेरै चोटी ओहोरदोहोर गरिसकेका थियौं। माकीले खुशी हुँदै भनिन्- ए त्यो घर त मैलै जहिले पनि याद गर्छु। यही बाटो भएर मलाई पुस्तकालय जानुपर्छ।’ घर तीन तल्लाको बाटोमै रहेछ। केइको सेनसेईले माथि जान आग्रह गरिन्।

हामी सिँढी चढेर माथि पुग्यौं। ढोकैमा केइको सेनसेईकी आमा उभिरहेकी थिइन्, हामीलाई स्वागत गर्न। केइकोले चिनापर्ची गराइदिइन्। माकीले अभिवादन गरिन्। मैले पनि अघिकै वाक्य दोहोर्याइदिएँ। आगेमासितो ओमेदेतो गोजाईमास, कोटोसियो डोजो यूरोसिको ओनेगाईसी मास। केइको सेनसेईको आमा दंग पर्दे भनिन्-ज्यैसु देराने।’ वास्तवमा यसको अर्थ रहेछ-नयाँ वर्षको शुभकामना। हामी पनि नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं साथीभाइ, नातेदारहरुलाई त्यस्तै रहेछ।

कोइको सेनसेईको आमाले हामीलाई स्वागत गरिन, हामी भित्र गर्यौं। वास्तवमै केइको सेनसेईको आमा साह्रै नै रमाइलो हुनुहुँदो रहेछ। केइकोको बाजे हामी भएको ठाँउमा आइपुगे। बुढा त साँच्चिकै रुष्टपुष्ट नै रहेछन्।

कान चाहिँ अलिक नसुन्ने। ९७ वर्षको बृद्ध भन्न नसुहाउने। हुनपनि जापानको स्वच्छ वातावरण, पौष्टिक आहारले त्यति रोगव्याधीसँग लड्नु पर्दैन। जापानमा जन्मदर साह्रै न्यून छ, प्रायः दम्पतिहरु बच्चा जन्माउन त्यति रुचि राख्दैनन्। सायद ब्यस्त जीवन भएर होला। बच्चा जन्माएर स्याहार गर्न निकै नै गाह्रो हुन्छ । अझ त्यसमाथि बिहे गर्नै नचाहने युवायुवतीको जमात बृद्धि भैरहेको छ।

व्यस्त जीवन सबैलाई कामदेखि बाहेक सोच्ने फुर्सद नै छैन। नातागोता, इष्टमित्र छरछिमेक, दाजुभाइ, दिदीबहिनी यी सबै अब नाममात्रको भएर गएका छन्। मानिसहरु मेसिन बन्नु पर्दो रहेछ।  एकदिन मैले जिस्किदै ससुरासँग भनेको थिएँ-जापानमा मानिसहरु अबको पचास बर्ष पछि रोबोटमा परिणत हुनेछन्।’

ससुराले हाँस्दै भनेका थिए–त्यसै भएर त यो देश यति विकसित भएको छ नत्र त नेपाल जस्तै हुन्थ्यो नि।’ म निरुत्तर भएँ। हुन पनि यहाँ कुराभन्दा काम बढि हुन्छ। कुनै पनि कामलाई हेयको दृष्टिले हेरिँदैन। सबलाई समान व्यवहार गरिन्छ। कामलाई नै पूजा गर्छन्। हामीहरु जस्तो मन्दिर मन्दिर धाउँदैनन्, आर्शीवाद लिन।

एकै छिनमा केइको सेनसेईको हजुरआमा आइन्। उनी पनि तन्दुरिष्टनै रहिछन् तर आँखा राम्रोसँग देख्न नसक्ने भएकी रहेछिन्। हामीसँग परिचय गराइन केइको साँच्चिकै सौभ्य र सरल रहिछिन्। ती बृद्धा माकीसँग कुरा गर्न थालिन्।

मैले पनि आफूले ल्याएको कोसेलीहरु एकएक गरि उनीहरुको आगाडि राखीदिएँ। केइको सेनसेईको बाजेलाई मैले एउटा चम्किलो बुद्धको पोष्टर दिएँ। उनी साह्रै खुशी भए। एकदम अमुल्य उपहार भन्दै केइको सेनसेईको बज्जैलाई देखाउन थालें। बज्जै ती फोटो हेर्न थालिन्। र एक्कासी उत्तेजित हुँदै भनिन्-मियोमासिता।’ यसको मतलव देखें। सबैजना अचम्म परें। सायद बज्जैले ती चम्किला बुद्धको फोटोको रंगहरु देखिन् होला। सबैले बुद्धको फोटोको प्रशंसा गरे  र मप्रति अनुग्रहित हुँदै मलाई आरिगातो गोजाईमास (धन्यवाद) भने। शान्तिको प्रतिक त्यो बुद्धको फोटोले सबैको अनुहारमा आभा फैलाई दिएको थियो।

त्यसपछि हामी सबै मिलेर लन्च गर्यौं। सबै सिफूडहरु रहेछन्। माछा माछाका अण्डा सबै जापानिज परिकारहरु। मैले विफ नखाने भएकोले राखेको रहेनछ। सबै भिन्नाभिन्नै स्वादको साह्रै मिठा। केइको सेनसेई परिकारको नाम भन्नमा व्यस्त थिइन्। लन्च गरिसकेपछि हामी केइको सेनसेईको परिवारसँग विदा भयौं। सबै परिवार अत्यन्तै हर्षित थिए।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *