खोटाङको दिक्तेल बजारमा प्रशोधित पानी वितरण सुरु

डिसी नेपाल
२३ चैत २०७८ १९:२५

खोटाङ । खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले प्रशोधित पानी वितरण सुरु गरेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ ९भ्याट सहित० रुपैयाँको लागतमा पुरा भएको आयोजनाले उपभोक्तालाई शुद्ध एवं मापदण्ड अनुसारको पानी वितरण सुरु गरेको हो ।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराइएको रम्बाखोला माझखोला सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो ।

बढ्दो सहरीकरण र जनसंख्य वृद्धिका कारण दिक्तेलबजारमा पानीको समस्या निम्तिने खतरालाई मध्यनजर गर्दै दिक्तेलबजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर मापदण्ड अनुसारको गुणस्तरीय पानी वितरण गर्ने लक्ष्यकासाथ आयोजनाको काम थालिएको थियो । खानेपानी आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा आगलागीकाबेला उपयोग गर्नेगरी फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । आशिष् निर्माण सेवा प्रालिले आयोजनाको ठेक्का लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *