नयाँ बर्षको दिनमात्र फुल्ने फूल

विजयप्रसाद मिश्र
२७ चैत २०७८ २२:३३

लहान । बैशाख १ गतेमात्र फूल फुल्ने सलहेश फूलबारीको नाम सुन्नु भएको छ ? छैन भने बैशाख १ र २ गते सिरहा जिल्लाका राजा सलहेशको गाथासँग जोडिएका स्थलहरूको भ्रमण गर्नुहोस् । लहान बजारबाट पाँच किलोमिटर पश्चिम राजमार्गदेखि दक्षिण तर्फ रहेको सलहेश फूलबारीमा नयाँ बर्षको दिनमात्र फूल फुल्ने गरेको किम्बदन्ती छ । यो फूल हेर्न नेपाल र भारतबाट हजारौं भक्तजनहरु आउने गरेका छन् ।

राजा सलहेशको गाथासँग जोडिएको सिरहा र उदयपुर जिल्ला भित्रमात्र आधा दर्जन स्थानहरु छन् । सिरहा सदरमुकामको महिसौथा, लहान नगरपालिका क्षेत्रमा पर्ने मानिकदह, सलहेश फूलबारी र पकडियागढ तथा धनगढीमाई नगरपालिकामा पर्ने सलहेश डाँडा र उदयपुरको बेलकागढी मुख्य रूपमा रहेका छन् ।

दुसाध जातिको इष्ट देवताका रूपमा चिनिएका राजा सलहेशलाई सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी जिल्ला लगायत भारतको मिथिला क्षेत्रमा एक प्रतापी राजाको रूपमा चित्रित गरिन्छ ।

राजा सलहेश प्रजाको हीतमा दिनरात तल्लिन रहने प्रतापी राजाका रूपमा रहेका थिए भन्ने उदाहरणहरू मैथलीभाषामा रहेका ‘लोरी’, गीत, नाटकहरूबाट प्रमाणित हुन्छ । उनी बलवान थिए, कुस्ती खेल्न सिपालु थिए र बिहान उठेदेखि दरवारबाट स्नानगर्न मानिकदह जाने त्यहाँबाट उनको इष्टदेवताको दर्शन गर्न पकडियागढ पुग्ने र प्रेमिकालाई भेट्न फूलबारी धाम जाने गरेको प्रसङ्गले राजा सलहेश चलाएमान रहेको पुष्टी हुन्छ ।

उनी दुसाध जातिको भएकाले नै धार्मिक ग्रन्धहरूमा उनको प्रशस्ती पाइदैन । तर मैथिल साहित्यमा अनेक रूपमा राजा सलहेशको बारेमा व्याख्या विश्लेषण गरेर प्रशस्ती गाएका प्रमाणहरू भेटिन्छन् ।

लोकगाथामा सलहेश महिसौथाका राजकुमार थिए । उनको विवाह बिराटपुरका राजा बिराटकी छोरी सत्यवतीसँग भएको थियो । तर सिरहा जिल्लामा पर्ने तरेगानागढका राजा महेश्वर भण्डारीका चारवटा छोरीहरूमध्ये दोना र मालिनले सलहेशलाई पाउनका लागि प्रतिज्ञा नै गरेका थिए । सलहेशलाई नपाएसम्म विवाह नै गर्दैनौ भनेर बसेका थिए ।

राजा सलहेशको विवाह भएको थाहा पाएपछि तरेगानागढका राजाका पाँचबटै छोरीहरूले मिलेर सलहेशलाई हात्तीमा बस्नेबेलामा सुगा बनाएर कोहवर घरमा बेहुलीसँग सुत्नेबेलामा लुकाएर लगे भन्ने प्रसङ्ग लोकगाथामा रमाइलो पाराले व्याख्या गरिएको छ । बिराट राजाको छोरी जसको विवाह सलहेशसँग भएको थियो उनी समेत जादुमन्त्र जान्ने भएकीले सलहेशको प्रेमिका र विवाहित सत्यवतीसंग घमासान प्रतिस्पर्धा भएको थियो ।

अन्त्यमा सत्यवती मालिनीहरूसँग हारेर आफ्नो पति र पिताको इज्जतको लागि केही समयको लागि सलहेश मलाई दिनु भनेर माग्छिन् । दुरागमन पछि पतिलाई पठाइ दिन्छु भनेकी हुन्छिन् । त्यसैले राजा सलहेशले ती मालिनीहरूको डरले कहिले यता त कहिले उता गरेर दिन कटाई रहन्थे । जसलाई लोकगाथामा यसरी भनिएको छः
‘खन् खन् रही छी बेलका पहाडमे ,
खन् रही छी सडर बागमे,
मानिकदह हम स्नान करैछी,
गढ। पकडिया मैया सुमरैछी,
भागैछि त एहि मालिनियाँ खातिर ।’

यसको अर्थ ‘कुनै बेला बेलका पहाडतिर हुन्छु, कुनैबेला सरर बगर तिर जान्छु,। मानिकदहमा नुहाउँछु, र त्यसपछि पकडियागढमा देवीको पूजा गर्छु, तर यी मलिनीहरूदेखि भागिरहन्छु । यिनीहरु मलाई छाड्न तयार छैनन् भन्ने हो ।

पराक्रमी राजा सलहेसको गाथासँग जोडिएको हुनाले सलहेस फूलबारीसँगै सिरहा सदरमुकामस्थित महिसैेथागढ, लहान नगरपालिका–१८ स्थित पकडियागढ, लहान नगरपालिकाकै वडा नं. २४ स्थित मानिकदह र लक्ष्मीपुरपतारी गाउँपालिकास्थित पतारी पोखरीमा सँगसँगै मेला आयोजना हुने गरेको छ । ती स्थानहरूमा राजा सलहेसलगायत उनको गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सवार मूर्तिहरू मन्दिरहरूमा देख्न पाइन्छ ।

राजा सलहेशलाई मिथिलाका राजर्षी राजा जनकपछि मिथिलामा प्रार्दुभाव भएको दोश्रो व्यक्तित्वको रुपमा चिनिन्छ । उनी प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणले भरिपूर्ण थिए । उनको प्रसङ्ग सँगै लोकगाथामा रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसरको नाम पनि आउने गरेको छ ।

ऐतिहासिक पृष्ठभूमिः
राजा सलहेशको ऐतिहासिकता केलाउँदा उनको बारेमा सबैभन्दा पहिले चर्चामा ल्याउने विद्वान डा. जर्ज अब्राहम ग्रियर्सन हुन् । उनले सन् १८८१ मा पहिलो पटक ‘यान इन्ट्रोडक्सन टु द मैथिली लिटरेचर अफ नर्थ इण्डिया, क्रिस्टोमैथी एण्ड भोकावुलरी’ नामक पुस्तकमा राजा सलहेशको लोकगाथालाई लिपिवद्ध गरेपछि भारतीय विद्वानहरूले चर्चा गर्न थालेका हुन् ।

मिथिला लोकसाहित्यमा उल्लेख भए अनुसार किराती राजा साङ्लाङ्कै समयमा तिर्जुगा दुन क्षेत्रमा राजा सलहेसको शासन रहेको देखिन्छ । सलहेश लोकगाथाका अनुसार त्यतिखेर उदयपुरका तराई तथा दुन क्षेत्रमा राजा सलहेस (जयबद्र्धन\शैलश) को शासन थियो । यो भनाईबाट के प्रमाणित हुन्छ भने राजा सलहेशलाई नै जयबद्र्धन समेत भनिन्थ्यो । र, मानिकदहको सभामा जयबद्र्धन विराजमान थिए भन्ने प्रसङ्गले पनि जयबर्द्धन भनेर राजा सलहेशलाई सम्बोधन गरेको पुष्टी हुन्छ । यी राजा सलहेशलाई अहिले पनि मिथिलाञ्चल क्षेत्रमा देवताको रूपमा पुँजीदै आएको पाइन्छ ।

राजा सलहेशको गाथासंग जोडिएका स्थानहरूमा पाइएका ५\६ सय बर्ष पहिलेको इटाको टुक्राहरूलाई आधार मान्ने हो भने काठमाडौंका राजा यक्ष मल्लको आक्रमण ताका तिर्जुगा दुनमा राजा सलहेसको शासन गरेको हुनुपर्दछ । सलहेशको लोकगाथामा उल्लेख भए अनुसार सिरहाको महिसौथामा शीतकालीन र उदयपुरको बेलका गढ (पहाड वा कोट) मा गृष्मकालीन राजधानी थियो । बेलकागढमा अहिले पनि त्यसबेलाका रङ्गमहल लगायतका भग्नावेशषहरू पाइएका छन् ।

हरिकान्त लाल दासले आफ्नो पुस्तकमा राजा सलहेशको समय पूर्वमध्यकाल जस्तो लाग्दछ भनेर लेखेका छन् । यो समयलाई सिम्रौनगढका कर्णाटवंशी राजाहरूको उदयभन्दा पूर्वको समय हो । त्यसैगरी अब्राहम ग्रियर्सनले आफ्नो पुस्तक दि सर्भे अफ इनडन ल्याङ्ग्वेज इन विहार, फोकस अन मैथिली नामक पुस्तकको पृष्ठ २३० मा राजा सलहेशको गाथाको समय पूर्वमध्यकालको थियो भनी किटानी गरिएको छ । सलहेशको उपन्यास लेख्ने एक भारतीय विद्वानले १९५८ ई.सं. मा लेखेको सलहेश नामक उपन्यासमा लेखक पण्डित मणिले उनको समय आठौं वा नबौं शताब्दी लेखेका छन् ।

राजा सलहेशको लोकगाथामा आधारित रहेर धेरै विद्वानहरूले कलम चलाएका छन् । तीमध्ये डा. ब्रजकिशोर बर्मा ‘मणिपद्म’, डा. प्रफुल्लकुमार सिंह मौन, डा. जयकान्त मिश्र, डा. योगानन्द झा, प्रो. राधाकृष्ण चौधरी, डा. पुर्णानन्द दास, डा. तेजनारायणलाल, डा. रामदेव झा, डा. मोतीलाल यादव प्रमुख थिए भनेर जनकपुरका मैथिल साहित्यका विद्वान कापरले आफ्नो ब्लगमा हालेका छन् ।

राजा सलहेशको समय कुन बेला हो भन्नेमा सबैको एक मत पाइएको छैन । उनको बारेमा गाइने लोकगाथाको सम्बन्धमा डा. ‘मणिपद्म’ले तत्कालीन सामाजिक अवस्था, जादु–टोना, विधिव्यवस्था र तत्कालीन भौगोलिक अवस्थालाई मध्यनजर गर्दै पाँचौ र छैठौं शताब्दीमा यसको शुरूवात भएको मानेका छन् । तर पछि डा। मोतीलाल यादवले राजा सलहेसको लोकगाथालाई आधार बनाएर गरेको शोधकार्यमा भने राजा सलहेशको लोकगाथाको समय १५ ÷ १६ औं शताब्दी भनेर किटान गरेका छन् ।

फुलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीले बताए अनुसार वि.स. १३२५ ताकाका प्रतापी राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झना स्वरूप यहाँका बासिन्दाहरूले बैशाख १ गते परम्परागत रूपमा मेला आयोजना गर्दै आइरहेका छन् ।

विभिन्न धार्मिक स्थलहरूः
राजा सलहेशको गाथासंग जोडिएको सिरहा जिल्लामा पर्ने मुख्य स्थानहरूमा सलहेश फुलवारी, महिसौथा, मानिकदह, पकडियागढ हुन् । यी स्थलहरूको छुट्टाछुट्टै व्याख्या गरिएको छ ।

सलहेश फूलबारी
सिरहा जिल्लाको प्रमुख व्यापारिक केन्द्र लहानदेखि पाँच किलोमिटर पश्चिममा सलहेश फूलबारी छ । नौ बिगाहाको क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय बन नै सलहेश फूलबारी हो । यहाँ सयौ वर्ष पुराना रूखहरू छन् । उक्त बनलाई नेपाल सरकारले धार्मिक बनको रूपमा संरक्षित गरेको छ । सलहेश फूलबारीको मध्यभागमा जहाँको दुईवटा हारमको रूखमा प्रत्येक वर्षको पहिलो दिन माला आकारका सेतो रङ्गका फूलहरू फूल्दछन् । यो सुनाखरीको एक प्रजाति भएको विज्ञहरूले बताएका छन् ।

उक्त फूल राजा सलहेशलाई उनकी प्रेमिका मालिनीले लगाइदिने माला हो भन्ने जनविश्वास छ । सलहेसको बारेमा बनेका लोकगाथामा राजा सलहेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसौथाबाट मानिकदहमा स्नान गरी फुलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग बनविहार गर्न आउने गर्दथे भन्ने गरिएको छ । सलहेशले एकै दिनमा मानिक दहमा नुहाउने, फुलबारीमा फुल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने, पकडियागढमा कुलदेवीको पूजा गर्ने र प्रजाका पीरमार्का सुन्ने गरेको किम्वदन्ती छ । वि. स. १३२५ मा महिसौथा राज्यका राजा सलहेश र उनकी प्रियसी मालिनीबीच बिहेपछि उक्त फूलबारी नै सलहेशका नामले प्रसिद्ध भएको भनिन्छ । सलहेश फूलबारीमा प्रेम विवाह गर्दा जीवन सफल हुन्छ भन्ने जनविश्वास रहेको छ ।

राजा सलहेश र मालिनीबीचको साँचो प्रेम भएकोले प्रत्येक वर्षको वैशाख १ गते मालिनीको मन्दिर (गहबर) छेउको रूखमा फूल्ने फूलका मालाहरू दुबैबीचको मायाको प्रतीक हो भन्ने लोकगाथामा उल्लेख भएको पाइन्छ । माला आकारको फूल फूल्ने रूखमुनि रहेको मन्दिर (गहबर) भित्र हात्तीमा चढेका सलहेश र उनका प्रेमिका दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि कहिल्यै नसुक्ने दलदले खोला छ जसलाई सीमसार क्षेत्रको रूपमा संरक्षण गर्ने प्रयास गरिएको छ ।

एक अर्को जनविश्वास अनुसार मालिनीको गहबर छेऊको एउटै जराबाट निस्केको दुईवटा हरामको रूखमा देखिने माला आकारको फूललाई सलहेस र मालिनीको प्रतीकको रूपमा हेर्ने गरिएको छ । मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन भाकल गरेर बोका, कुखुरा, हाँस, अण्डा, झाँप (कागजको छाता) चढाउने गर्दछन् । निसन्तानहरू सन्तान प्राप्तिका लागि, दीर्घरोगीहरू सुस्वास्थ्यको लागि सलहेशको पूजा गर्दछन् । फुलबारीमा राजा सलहेस र मालिनीलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ । फूलबारीमा राजा सलहेशका तीन प्रेमिकाहरु रेशमा, कुशमा र दौना (फुल्वा) को मुर्ति राखिएको छ । जसलाई भक्तजनहरू प्रेमको प्रतीकको रूपमा पूजाआजा गर्दछन् ।

वनस्पति विभागले गरेको अनुसन्धानका अनुसार मालिनीको मालाको रूपमा पूmल्ने पूmल चाँदीगाभा सुनाखरी प्रजातिअन्तर्गतको हो, जुन एक हजार पाँच सय मिटरसम्मको उँचाईमा पाइन्छ भनिएको छ । तर, समुद्र सतहदेखि १११ किलोमिटर उचाईंमा रहेको यस क्षेत्रमा पूmल्ने गरेको उक्त पूmल अपवादको रूपमा देखापरेको बनविज्ञको राय छ । यो दैवी चमत्कारलाई अहिलेसम्म भौतिकवादीहरूले चुनौति दिन सकेको पाइदैन ।

महिसौथा:
राजा सलहेशको जन्म स्थल र राजधानी भएको स्थान महिसौथा हो । यो सिरहा जिल्लाको सदरमुकाम सिरहामा पर्दछ । सिरहा बजारबाट एक किलोमिटर उत्तर पश्चिममा राजा सलहेशको दरवारको असशेषहरू रहेको ढिस्को छ । यसको उत्खनन् हुन बाँकी छ । त्यसैगरी सिरहा बजारमा एउटा ढिस्कोमाथी राजा सलहेशको मन्दिर छ, जसमा हात्तीमा चढेको अवस्थाको सलहेशको मुर्ति राखिएको छ । जसको दायाँपट्टी डिहवारनीको मुर्ति छ भने बाँयापट्टी महारानी कुश्मा र अन्य देवगणको प्रतिमा राखिएको छ । मन्दिरको पूर्वपट्टी ठूलो पोखरी छ । सिरहा नगरपालिकाको महिसौथा बस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा ढिस्को छ भने यसै ढिस्को अघिल्तिर करीब २ विघा ९ कठ्ठाको ठूलो पोखरी छ ।

राजा सलहेशको दरबार भएको स्थल भएकोले यसको बारेमा लोकगाथाहरूमा उल्लेख गरिएको पाइन्छ । स्थानीय बासिन्दाले उक्त मन्दिर ५\७ सय बर्ष अघिको रहेको अनुमान गरेका छन् । मन्दिर भित्र करीब १० फिट अग्लो हात्तीमाथी ‘हौदा’ बनाई सलहेसको मुर्ति राखिएको छ । हात्तीको एकापट्टी दिना मालिनी फूलको डाली लई उभिएकी छिन् ।

५\७ सय बर्षअघि त्यहाँ सलहेश नामका प्रतापी राजाले राज्य गर्दथे र यो स्थान उनले नै स्थापना गरेको हो । सलहेशले आफ्नो बाहुवलले यो इलाकाबाट उदयपुरको बेलका गढसमेत जितेर राजधानी बनाएका थिए । पुरातात्विक दृष्टिले यो स्थान महत्वपूर्ण रहेको छ । अहिले ठूलो दरवार आकारको मन्दिर बनाइसकिएको छ । जहाँ प्रत्येक बर्ष बैशाख २ गते मेला लाग्ने गरेको छ । यो बर्ष सिरहाली सेवा समाज नेपालले सिरहा सलहेश महोत्सव मनाउने भएको छ ।

मानिकदह:
सिरहा जिल्लाको लहान नगरपालिकाको वडा नं. २४ मा मानिक दह अवस्थित छ । यो अहिलेको लहान बजारबाट १२ किलोमिटर उत्तर तर्फ रहेको छ । यहाँ सलहेशको मन्दिर छ । मन्दिरको अगाडी पूर्वतर्फ ठूलो पानीको दह छ । यो दहमा कहिल्यै पानी सुक्दैन । राजा सलहेश प्रत्येक दिन स्नान गर्न आउने स्थानको रूपमा मानिकदहलाई लिइन्छ । मानिकदहमा नयाँ बर्षको पहिलो दिन बैशाख १ गते विहानै ठूलो मेला लाग्ने गरेको छ ।

मानिक दह ऐतिहासिक भएपनि यसलाई साँस्कृतिक थलोको रूपमा लिइन्छ । दहको ऐतिहासिकताको बारेमा दुईबटा भनाईहरू राख्ने गरिएको छ । कसैले यो दह सेन बंशी राजा मानिक सेनले बनाएकोले यसको नाम मानिकदह रहन गयो भन्ने गरिएको छ भने कसैले यो दह राजा सलहेशले नुहाउने स्थान कै रूपमै रही आएकोले मानिक सेनले पछिबाट जीर्णोद्वार मात्र गरेका हुन् भन्ने गरिन्छ । राजा सलहेशको गाथासंग जोडिएको मैथिल लोकगाथाहरूमा उनी स्नान गर्न (नुहाउन ) आउने स्थानको रूपमा मानिकदहको उल्लेख भएकोले यो मानिस सेन राजाभन्दा पहिलेदेखि अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।

मानिक दहको ऐतिहासिकताको बारेमा खोजविन गर्दा अनेकथरी किम्बदन्तीहरू पाइन्छ । सलहेश गाथामै मानिक दहलाई ‘मानिक दह लग राज सभामे श्री जयबर्द्धन रहथि विराजल’ भनेर मैथिलमा उल्लेख पाइन्छ । यसको अर्थ मानिकदह नजिक राजसभामा श्री जयबद्र्धन बसेका हुन्थे हो । यसले राजा सलहेशको अर्को नाम जयबद्र्धन पनि रहेको देखिन्छ । त्यसैगरी मानिकदह राजा सलहेश स्वयंले आफ्नी प्रेमिका मालिनीको लागि खनाइदिएका थिए । जसले गर्दा पहिले पहिले यस दहलाई मालिनी दह समेत भन्ने गरेको किम्बदन्ति छ ।

पकडियागढ
पकडियागढ सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १८ मा पर्दछ । यो लहान बजारदेखि १० किलोमिटर उत्तरमा पर्दछ । पकडिया गढमा करिब १५०० फिटको एउटा अग्लो ढिस्को छ । यो ढिस्को हेर्दा प्राचीन समयमा कुनै राजाको गढ थियो भन्ने अनुमान लगाउन सकिन्छ । स्थानीय जनविश्वास र लोकगाथामा गरिएको वर्णन अनुसार त्यहाँ राजा कुलेश्वरको दरबार थियो । गढको वरिपरि इँटाको भंग्नावेशहरू यत्रतत्र छरिएर रहेको छ । त्यहाँ स्थानीय बासिन्दाहरूले १० इञ्च लामो र २ इँञ्च मोटाइको केही इँटहरू भेटाएका थिए ।

पकडिया गढको ढिस्कोदेखि उत्तरमा पोखरी र सोही पोखरीको पूर्वतर्फको मुहारमा एउटा मन्दिर छ जहाँ घोडामा सवार राजा कुलेश्वरको मुर्ति राखिएको छ । यहाँ प्रत्येक नयाँ बर्षको दोस्रो दिन अर्थात बैशाख २ गते मेला लाग्दछ । मानिसले यहाँ भागल गरेर आफ्नो मनकामना पुरा हुन्छ भन्ने विश्वास छ । विशेष गरेर शरिरमा मुसा हुने मानिसले आफ्नो मुसा छुट्यो भने एक भार भान्टा चढाउँछु भनेर भाकल गर्ने र मुसा छुटेपछि उक्त भाकल पुरा गर्न एकभार भाण्डा अर्थात कुनै काठ वा बाँसको कर्चिमा दुबै तर्फ एक–एकवटा भाण्टा घोचेर काँधमा बोकेर उक्त मन्दिरमा लगेर चढाउने गरेका छन् ।

पकडिया गढमा ‘सिन’ ( घर भित्र पस्न भित्ताको तलको माटो खनेर बनाइएको दुलो वा ओडार ) खनेर चोरी गरेको प्रसङ्ग भएकोले अहिले ढिस्कोमा स्थानीय पकडियागढलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न बनाएको समितिले गढमा ओडार बनाइ दिएको छ । यो ओडार पहिले राजाको दरवारमा चोरी गर्न खनेको ‘सीन’को प्रतीकको रूपमा लिइने गरेको छ ।

पकडिया गढको गाथासंग राजा सलहेशको प्रसङ्ग जोडिएकोले यसको ऐतिहासिक महत्व रहेको छ । राजा सलहेस पकडिया गढको राजा कुलेश्वरको ठूलो फुलबारीमा आएर विश्राम गरिरहेका थिए । त्यत्तिकैमा राजा कुलेश्वरकी छोरी राजकुमारी चन्द्रावती फूल लिनका लागि फुलबारीमा आउँछन् । चन्द्रावतीले राजा सलहेशलाई मन पराएकोले मोहित भएर प्रेम प्रस्ताव राख्दछन् ।

तर सलहेशले प्रस्ताव स्वीकार नगरेपछि राजकुमारीले क्रोधित भएर आफ्नो बुबालाई झुठो आरोप लगाएर सलहेशलाई पक्राऊ गर्न लगाउँछन् । सलहेशलाई थुनामा नराखी आफ्नै सुरक्षा हेर्ने व्यक्तिको रूपमा राख्न लगाउँछिन् । राजा सलहेशलाई आफ्नो गार्ड राखेपछि पहिलेदेखि उनको गार्ड रहेको चुहरमललाई हटाइ दिन्छिन् भनेर लोकगाथामा उल्लेख छ लामो समयदेखि कामगर्दै आएका चुहडमललाई हटाएकोले उनले आफूलाई अपमान भएको महशुस गरी दुर्गामाताको सहायताले गंगालाई खुशी पारेर पकडियागढका राजाको दरवार भित्रको राजकुमारी सुत्ने कोठासम्म लामो सिन खनेर सबै गहनाहरू चोरेर लगेको र त्यसको दोष बाहिर सुरक्षामा बसेको सलहेशलाई लगाएकाले उनलाई राजा कुलेश्वरले बन्दी बनाएका थिए भन्ने प्रसङ्ग लोकगाथामा पाइन्छ ।

एउटा अर्को प्रसङ्गमा चुहरमल जो चोर हुन्छ वा खराब प्रबृत्तिको हुन्छ । उसले राजाकोमा चोरी गर्न आएको बेला राजकुमारी चन्द्रावतीको कोठामा पुगि उनको सतीत्व हरण गर्न खोज्दछ । राजकुमारीले आफ्नो इज्जत जोगाउन पस्तर बनेको जनविश्वास छ ।

यसरी आफ्नो प्रेमी सलहेशलाई राजा कुलेश्वरले बन्दी बनाएको खबर पाएपछि मालिनीहरू कुलेश्वर राजाको दरवारमा आएर औठा छाप लगाएर चोरी भएको बराबरको समान फिर्ता गराएर चुहरमललाई समेत पक्राऊ गराएर राजा सलहेशलाई छुटाएर लगेको प्रसङ्ग लोकगाथामा उल्लेख छ । त्यो बेलाको गाथामा अरबी, फारसी शब्दहरुको प्रयोग भएको पाइएकोले यसलाई १५\ १६ औं शताब्दी तिरकै घटनाका रुपमा लिने गरेको पाइन्छ । चुहरमलले सेन (घर भित्र पस्नका लागि कसैको घरको भित्तामा बनाइएको दुलो) बनाएको अवशेष अहिले पनि उक्त स्थानमा भएकोले यो गढी पूर्वकर्णाटकालीन ठहरिन्छ ।

सलहेशको गाथासंग जोडिएका माथीका स्थानहरु बाहेक सलहेश डाँडा र उदयपुरको बेलकागढीसमेत महत्वपूर्ण स्थान हो । राजा सलहेशका ऐतिहासिकताको बारेमा विभिन्न विद्वानहरूको मतमा एकरूपता छैन । उनको इतिहासलाई बुझ्न लोकगाथामा नै भर पर्नु पर्ने हुन्छ । लोकगाथा जनबोलीकै रूपमा पुस्तौंपुस्ता सर्दै आएकोमा मैथिली भाषाका संरक्षकहरुले त्यसलाई अनुसन्धान गरेर लिपिबद्ध गरिदिएपछि र डा। मोतिलाल यादवले राजा सलहेशकै लोकगाथामा आधारित रहेर विद्यावारिधि गरेपछि यसले ऐतिहासिक प्रमाणिकता पाउन थालेको हो ।

राजा सलहेशको गाथासंग जोडिएको महत्वपूर्ण स्थानहरूमा उनको जन्म भएको र दरबार भएको महिसौथा, ‘स्नान’ गर्न जाने मानिकदह, कूल देवताको पूजा गर्न जाने पकडियागढ, प्रेमिकालाई भेट्न आउने लभ प्वाइन्टको रूपमा रहेको सलहेश फूलबारी धाम प्रमुख रूपमा देखिन्छ । उनको गर्मीको मौसममा बस्ने उदयपुर जिल्लाको बेलका गढको राजधानी पनि उत्तिकै महत्वपूर्ण स्थलको रूपमा रहेको छ ।

राजा सलहेश कै नामबाट रहेको सलहेश डाँडा सलहेश फूलबारीबाट करिब १५ किलो मिटर उत्तर पश्चिममा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ को चुरे पहाडमाथी पर्दछ । उक्त डाँडाबाट भारतको बिहारका धेरैजसो भागहरू देखिन्छ । यो सामरिक महत्वका लागि राजा सलहेशको महत्वपूर्ण स्थलको रूपमा रहेको थियो भन्न सकिन्छ । राजा सलहेशको राज्यको सीमाना पूर्वमा सप्तकोशी नदीसम्म रहेको भन्ने गरिएकोले उनको गाथासंग जोडिएको डिहिवारनी थानहरू सप्तरीका गाउँगाउँमा पाइन्छ ।

त्यसैले समग्रमा सिरहा, सप्तरी र उदयपुर जिल्लाका केही स्थानहरू र भारतको मिथिलाञ्चल क्षेत्रमा राजा सलहेशको गाथासंग जोडिएका प्रसंगहरू पाइएको छ । नेपाल सरकारले समेत ‘सलहेश क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति’ गठन गरेर त्यसले सिरहा, सप्तरी र उदयपुरको पर्यटकीय स्थलहरूको प्रसारप्रसार, संरक्षण र प्रबद्र्धन गर्ने जिम्मेवारी लिएको छ । उक्त समितिले त्यसक्षेत्रको राजा सलहेशको गाथासंग जोडिएको स्थलहरूको पुर्ननिर्माण गर्ने, संरक्षण गर्ने र भएका जानकारीहरूको पुस्तक प्रकाशन गर्ने तथा बेला बेलामा गोष्ठी सेमिनारहरू गर्दै आएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले राजा सलहेशको सम्बन्धमा गोष्ठीहरू गरेर प्राप्त कार्यपत्र र लेखहरूको दुईबटा सङ्गालो प्रकाशित गरिसकेको छ । बेला बखत पुरातत्व विभागले राजा सलहेशको गाथासंग जोडिएको स्थलहरूको पुरातात्विक दृष्टिकोणले सर्वे गर्ने काम गरिरहेको छ । तर पनि राजा सलहेशको दरवार भएको स्थान भनिएको ढिस्को कसैको नीजि लालपुर्जा भएको जग्गा भएको छ ।

त्यसभित्रको उत्खनन् गर्न कसैले चाँसो लिएको देखिदैन । फूलबारी धामको जङ्गलको संरक्षण गर्नका लागि चारैतिरबाट तारबार गरिएता पनि दिगो देखिएको छैन । फूलबारी धामभित्र सीमसार क्षेत्र पनि भएकोले ऐतिहासिक, धार्मिक र पर्यटकीय तीन तिरबाटै राजा सलहेशको गाथासंग जोडिएको स्थानहरूको प्रचार प्रसार गर्न आवश्यक छ । सलहेश डाँडामा केबलकार लगाउन पाइएमा यसको पर्यटकीय महत्त्व झनै बढ्ने छ ।

बैशाख १ र २ गते लाग्ने मेलाको व्यवस्थापनका लागि भौतिक पूर्वाधारको व्यवस्था, धार्मिक पर्यटकहरूको लागि धर्मशालाको व्यवस्था गर्ने हो भने बर्षभरी नियमित रूपमा राजा सलहेशको दर्शन र रमणीय स्थानहरूको अलोकन गर्न आन्तरिक र बाह्यि पर्यटकहरू आउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *