खै नेपालको विकास ?
विकास समाजको सभ्यता हो जहाँ समाजको हरेक विषयको प्रगति निहीत हुन्छ। विकासले नै समाजलाई उच्च बिन्दुमा पुर्याउँदछ। मध्ययुगको इतिहास हेर्ने हो भने आजसम्म आइपुग्दा विकासको श्रृंखलाले हजारौं पटक संसारमा फड्को मारिसकेको छ।
कहाँ थियो मानिसको दूरावस्था र आज कहाँ आइपुग्यो भन्ने कुरा संसारलाई साढे पाँच फन्को मारी संसारका देशहरुको साइकलबाट भ्रमण गर्ने नेपालका विश्व सइकल यात्री पुस्कर शाहलाई सोधे राम्ररी थाहा हुनेछ।
विश्वको विकास हेर्ने र देख्ने आँखा हाम्रै नेपालमा छन्। ती पुस्कर शाह हाम्रो देशका अत्यन्त गर्वशाली बिषय र पात्र हुन्। विश्वलाई देख्ने आँखा र घुम्ने शरीर, मन र हातखुट्टाहरु कम महत्वका छैनन्।
तर यही विश्वलाई देख्ने र विश्व भ्रमण गर्ने व्यक्तित्व पुस्कर शाह आज ओझेलमा परेका छन्। विश्वमा तेह्रौं/चौधौं शताब्दीमा पनि विकास नभएका होइनन्। अनेकौं पुरातात्विक भीमकाय र पूर्ण कलाकारिताले सजिएका संरचनाहरु यो संसारमा जीबन्त भइरहेका छन्।
ठूलाठूला बिशाल दरबारहरु इसाई, हिन्दु, मुसलमान र जैन धर्मका मठ मन्दिर कम महत्वका छैनन्। ग्रीसको सभ्यता र इजिप्टको पिरामिड, युरोपको भेटिकन दरबार र सहर, युरोपका ठाउँ ठाउँमा रहेका इसाई चर्चहरुका दरबारहरु र मुस्लिम देशहरुमा रहेको जामेमस्जिद, मक्का मदिना, भारत दिल्लीको ताज महल, लालकिल्ला, फतेहपुर शिकरी, लखनउको भुलभुलैया इरानको जामे मस्जिद, चीनको ग्रेटवाल र हिन्दुहरुको काशी विश्वनाथ मन्दिर, भारत गुजरातको सोमनाथ मन्दिर र अन्य भारतका अजन्ता इलोरा, खाजुराओ मन्दिर, मदुराइको रामेश्वर मन्दिर, बद्रीनाथ मन्दिर, बनारसका असंख्य मठ मन्दिरहरु र नेपालका विभिन्न मठ मन्दिर र देवालयहरु सबै सभ्यताको विकासका प्रतिबिम्बहरू हुन्।
नेपालमा पनि पहिलेको समयमा विकास प्रशस्तै भएका थिए। सयौं दरबार, हजारौं मठ मन्दिरहरुको निर्माणहरु विकासका प्रतिबिम्बहरू नै हुन्। संसारमा विकासको संरचनाले सीमा पार गरिसकेको छ। चन्द्रमामा बस्ती बसाल्ने जस्ता बिकासका काममा आज संसार लागेको छ।
मरुभूमि देशमा सुन्दर महल, सडक संजाल र सम्पूर्ण देशको झिलिमिलीको निर्माण हेर्दा र देख्दा यो पृथ्वी कहीँ स्वर्ग जस्तो त छैन? भन्ने भान हुन्छ। तर नेपाल विश्वकै उत्कृष्ट प्रकृतिको धनी सुन्दर देश भएर पनि आजसम्म विकास भने हुन सकेन।
आज हरेक क्षेत्रको दिगो विकास बृहत्तर रुपमा हुनु पर्नेमा आज कुनै क्षेत्रमा विकास हुन सकेन। सन् १९८३ मा युएनओद्वारा गठित ब्रुटलेन्ड कमिसनले ल्याएको दिगो विकास र हाम्रो साझा विकासको अवधारणा कहाँ गयो? खै पर्यावरणमा विकास? खै सामाजिक संरचनामा विकास? खै आर्थिक उन्नतिमा विकास? खै जनताका आधारभूत आवश्यकताको विकास?
यी सब विकासका योजनाहरु काहाँ गए? दिउँसै लाल्टिन बालेर यी विकास खोज्नु पर्ने बेला किन आयो? यो कसको गैरजिम्मेवारी हो? यो कसको अदुरदर्शिताको परिणाम हो भन्ने कुराको मूल्यांकन भोलिका पिढीहरुले अबश्य गर्ने नै छन्। यसमा कसैको दुइमत छैन।
विश्वको सानो देश भएर पनि यहाँ प्रकृतिले अनमोल रत्नहरु ठाउँ ठाउँमा लुकाइदिएकी छिन्। हिमालमा हिउँ, पाहाडमा जंगल, जीव, जडिबुटी र खनिजहरु र तराइका समथर मैदानमा बाह्रै महिना लहलहाउँदा धान, मकै र गहुँलगायत अनाज बालीहरु।
उर्जा र खेतीबाली सिंचाइको लागि अविरल रुपमा बगिरहने मेची, कोसी, गण्डकी, कर्णाली, महाकाली र तिनका अनेकैं सहायक नदीहरुले ढकमक्क ढाकिएको देश भैकन पनि यहाँ कुनै कुरामा विकासले अझै फड्को मार्न सकेको छैन।
हाल विश्वमा प्रतिसेकेन्ड तीन जनाको दरले जनसंख्या वृद्धि हुँदापनि जनसंख्या वृद्धिको हिसाबले यहाँ उत्पादनमा वृद्धि, खानेपानीको ब्यबस्था, उद्योग ब्यबसायको बिकास, शिक्षा स्वास्थ्य र पर्याबरणको विकास अझै हुन सकेको छैन।
समयको दौरानमा लाखौंले पढे होलान्। लाखौंले बिदेसमा आँखा लगाए होलान, संसार हेरे देखे होलान्। तर पनि नेपाल जस्ताको तस्तै छ। यहाँका जनताहरुको आधारभूत आवश्यकताहरु जस्ताको तस्तै पहाडजस्तै ठडिएका छन्।
यतिसम्म कि ५० सौं बर्षदेखि चलिआएको राजनीतिको पनि बिकास हुन सकेको छैन। राजनीतिमा यहाँ सिद्धान्त बेचिएको छ। को कांग्रेस? को कम्युनिस्ट? को पन्च? को तटस्थ ? छुट्याउनै गाह्रो भएको छ। राष्ट्र राष्ट्रियता, धर्म र संस्कृतिको बिचलन भएको छ। यो के भएको हो?
बिकासको नाममा सदियौंदेखि अन्धाधुन्ध लुटको खेतीको बिकास भने अत्यधिक मात्रामा भएको छ। सयौं राजनीतिक दलहरु भृकुटी मण्डपको जुत्ता चप्पलको पसल जस्तो खोलिएका छन्। घरघरमा पार्टी कार्यालयहरु खोलिएका छन्। रात दिन कार्यकर्ताहरु घरको दालभात खाई पार्टी कार्यालयमा आफ्ना अमूल्य समय बिताउँछन्।
२/४ बर्षमै कुन्नि कसरी हो भव्य महल बनाउँछन्, मोटर चढी हिँड्दछन्। कुनै पनि बिकासका परियोजनाहरु कुनैपनि ब्यबस्था र प्रधानमन्त्रीको समयमा पुरा नभई त्यसमाथि सधैं लुटको खेती बन्दै जानु र बिकासका आयोजनाहरु बिदेशीको इच्छामा बन्न जानु, ठेकेदारीको मनपरी, परियोजना प्रमुखहरुको फितलोपना, नियमको भद्दापन, कमिसन र घुसको जगजगीको कारण नेपालमा बिकासको गतिमा ह्रास आयो। थोरै व्यक्तिहरुले मात्र मोज गरी करोडौं जनताहरु अभावमै बाँचिरहेका छन्।
समस्त राजनैतिक ब्यबस्था बहुला कुकुर जस्तै टोक्दै हिँड्ने भएको छ। देशका नेताहरु एकले अर्कालाई बिहानदेखि बेलुकासम्म सत्तो सराप गरी दिन बिताइरहेका छन्। समष्टिगत रुपमा नेपालको बिकास गर्ने खुबी, योग्यता, कलाकारिता र कुशलता कसैमा पनि रहेन। सारा नेताहरु सिद्धान्त बेची आफूमात्र ठूलो बनी हिँडिरहेका छन्।
सारा नेताहरु टिठ लाग्दो व्यक्तित्व, अनुहार र बोली बोकी हिँडेका छन्। कार्यान्वयनभन्दा चर्को भाषणमा नै आफ्नो सारा जीबन र समय बिताइरहेका छन्। चुनाबको बेला फेरिपनि गरिब जनताहरुलाई झुक्याउन कांग्रेस र माओबादी दुई फरक राजनीतिक पार्टीहरु मिली चुनाबी मैदानमा उत्रिने जस्ता घिनलाग्दा तयारी भइरहेका छन्।
चुनाबमा करोडौं रुपियाँ खर्च गरि भिड्ने दाउमा सबै छन् भने के यो बिकासको संकेत हो त? देशमा अर्थतन्त्रको हाहाकार हुँदापनि राजनीतिक नेताहरु देशैभरी सत्र अरब बराबरको रकम भ्यूटावर निर्माणमा खर्चिएको बिषय सुन्दा एउटा अर्थविदले यसलाई सहजै पचाउन सक्तैन। देशको ढुकुटीको दोहन गरी आफ्नो जीबनशैलीलाई मोज मज्जा र मदिरापानको उत्कर्षमा पुर्याउने टाठाबाठाहरुबाट देशको दीगो बिकास हुनै सक्तैन।
सारा सहर फोहर, धुलाम्मे र सम्पूर्ण कुराको अभाब हुँदा पनि नेताहरु, कार्यकर्ताहरु र रास्ट्र सेवकहरु रोमका नेरोले जस्तै बाँसुरी बजाइरहेको देख्दा नेपाल र नेपालीले अझ कति दुख पाउनु पर्ने हो यो कुरा बिकास बिज्ञ र बिद्वानहरुको दिमागमा घुसोस् नत्र भोलिका सन्ततिहरुले सत्तोसराप दिनेछन र गम्भीर रुपमा प्रकट नभएमा नेपालको दीगो बिकासमा अझ गहिरो खाडल बनी संसारले गिज्याउने प्रस्ट छ।
संसारका अविकसित देशहरु आज धेरै बिकसित भैसकेका छन्, आत्म निर्भर बनेका छन्। विकासले ब्यापक फड्को मारिसकेको छ तर नेपाल नै त्यस्तो एउटा देश छ जहाँ कहिले कुनै बिषयको दीगो विकास भएन। खाल्डो खन्ने र त्यही खाल्डो फेरि पुर्ने काम मात्र भएको छ। नयाँ रुप र नयाँपनको विकास यहाँ कुनैपनि देखिँदैन।
उत्पादनमा ह्रास, उद्योगहरुको बिस्थापन, निकासी ५% र पैठारी ९५% हुनु यो नेपालको लागि घातक हो। यो आर्थिक हिसाबले अत्यन्त डरलाग्दो कुरा हो। के यहि बिकासको सुरुवात हो त ? अबस्य होइन।
अनि खै त नेपालको बिकास? खै त बिकासका समस्याहरुको निकास र समाधानका परिसूचक? खै डा.बाबुराम भट्टराईले पढेको देश बिकास बारेको प्रयोग? खै पुष्पकमल दाहालले बुनेको बिकासको जालो? खै खड्गप्रसाद ओलीले कल्पना गरेका बिकास?
खै झलनाथ खनालले बोकेको एमसीसी बारेको दृढ संकल्प? खै माधवकुमार नेपालको घमण्ड, उद्बेग, बुद्धि, बिबेक र बिदेश भ्रमणको बिकासको अनुभव? अनि खै पाँच पटक दोहोर्याइ प्रधानन्यायाधीशको कृपाबाट प्रधानमन्त्री भई संसार भ्रमण गरेका शेरबहादुर देउवाको बिकासको रुपरेखा? आज सबै बिकासको अन्योलमा फसेका छन्।
अकुत सम्पत्तिमा फसेका छन्। राम्रा हैन आफ्ना मान्छेमा फसेका छन्। जनतालाई ओझेलमा पारी आफू आलिशान बंगलामा बसेका छन्। खै नेपालको दीगो विकास। प्रत्येक चुनाबमा गठबन्धन गर्ने, करोडौं अरबौंकोको खर्च गर्ने तर देश जस्ताको त्यस्तै हुने यो कस्तो बिकास? संसार हसाउने बिकास अब यो देशले सहन सक्तैन।
तसर्थ बेलैमा आजका देस हाँक्ने नेताहरुले अब हाम्रा मान्छे नभनी राम्रा र योग्य मान्छेहरुको सेवा देशले नलिने हो भने यो देसको बिकास अब अर्को १०० बर्षमा पनि नहुने निश्चित छ।
तसर्थ इमानको जग बसाली नैतिकताको पाठ सिकाई पुस्कर शाह जस्ताको इच्छा शक्तिलाई अबलम्बन गरि राष्ट्र, राष्ट्रियता, धर्म र संस्कर्तिमा ठोस बिकास गर्न सम्पूर्ण पार्टी, कार्यकर्ता, नागरिक समाज उद्योगी ब्यबसायी र रास्ट्र सेवकहरुलाई अपिल गर्दछु।
Facebook Comment