के मेरो योगदान मनपरीतन्त्रलाई थियो ?
मेरो मातृभूमि नेपालमा यतिबेला विस्तारै स्थानीय तहको चुनावको रन्को बढ्दै गएको छ। विभिन्न कारणले २०७८ सालमा म पटक पटक स्वदेशको भ्रमण गर्ने अवसर पाएँ। सगरमाथाको फेदीदेखि पहाड र तराइमा विभिन्न ठाउँहरुमा स्थलगत अध्ययन गर्ने मौका जुर्यो मलाई।
किशोर र युवा उमेरमा नेपालको राजनीतिमा निकै सक्रिय रहेको एउटा पात्रको हैसियतले अहिले परदेशमा रहे पनि नेपालको राजनीतिमा मेरो चासो र चिन्ता रहिरहन्छ। देशमा एकदलीय व्यवस्था हुँदा गणेशमान, किशुनजी र गिरिजाबाबुजस्ता नेताहरुको सम्पर्कमा रहेर प्रजातन्त्रको स्थापनाको लागि सक्दो योगदान गरेको थिएँ।
नेकाले आह्वान गरेको २०४२ सालको सत्याग्रहमा १६ बर्षकै उमेरमा जेल पनि परेँ र २०४६ सालको आन्दोलनमा पटक पटक पक्राउ र टाउको फुट्ने गरी घाइते समेत भएँ, जसको कारणले चोट लागेको टाउकोको त्यो भागमा कहिल्यै पनि रौं पलाएन।
पछि माओवादीको दादागिरी कालमा डरलाग्दो आक्रमणमा परी लामो समय अस्पतालमा बस्नुका साथै र पटक पटक शरीरका बिभिन्न भागको शल्यक्रिया समेत गर्नुपर्यो मलाई। ६ बर्षसम्म ह्वील चियरमा निर्भर हुनुपर्यो। हाल नेपालको राजनीतिमा लागेका नेताहरु र कतिपय व्यक्तिहरुको प्रवृत्तिले स्वभाविकरुपमा केही संवेदनशील प्रश्नहरु जन्माएकाले मैले माथिको पृष्ठभूमि उल्लेख गरेर प्रसंगको उठान गरेको हुँ।
प्रधानमन्त्री, मन्त्री,सांसद, मेयर,सभापति वा पदाधिकारी भएका वा छानिएका नेताका घरमा ठूलो भीड देखिने गर्छ। कार्यकर्ताहरु जम्मा भएका देखिन्छन्। उनीहरु किन जान्छन् के काम लिएर जान्छन्, उनीहरुले लगेको काम हुन्छ कि हुँदैन? यी प्रश्नको उत्तर नेताका घर धाउनेहरुले नै जानुन्।
२०४६ सालपछि नेताकहाँ जाने र भेट्ने प्रयास कहिल्यै पनि मैंले गरिनँ । त्यसका पछाडि एउटा महत्वपूर्ण कारण छ, तर त्यो के हो भन्ने कुरा पढ्दै जाँदा तल कतै भेटिने नै छ। २०४३ सालको एस एल सी वालिङ्गको पूर्णामृत भवानीवाट सकेपछि पढ्नको लागि म पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पुगेँ।
त्यहाँ चन्द्र भण्डारीले नेबि संघको नेतृत्व गरिरहनु भएको थियो। पहिलेदेखि नै बिद्यार्थी राजनीतिमा सक्रिय म पुनः कलेजको बिद्यार्थी राजनीतिमा सजिलै मिसिए । सर्वप्रथम म नेबि संघ पाल्पा स्याङ्गजा सम्पर्क समितिको अध्यक्ष बनेँ।
त्यसपछि स्ववियुको निर्वाचनमा चन्द्र भण्डारी नेतृत्वको नेबि संघबाट म पनि उमेदवार भएँ तर हामीहरुले चुनाव कहिल्यै जितेनौं। २०३६ सालमा नारायण कोइरालाले स्ववियु अध्यक्षको निर्वाचन जितेपछि नेबि संघले चुनाव जितेको थिएन। हाम्रो पालामा पनि अनेरास्ववियुका घनश्याम भुसालले चुनाव जित्नुहुन्थ्यो।
त्यसको एउटै कारण के थियो भने उहाँको भाषण गर्ने शैली साँच्चिकै गज्जवको थियो, जुन शैलीको स्वाद उहाँ पार्टी नेतृत्वमा गएपछिका उहाँका भाषणहरुमा पाउन सकिन मैले। शायद बढी जिम्मेवार भएर बोल्नुपरेकोले हुनुपर्छ।
२०४८ सालको संसदीय निर्वाचनमा म नेका स्याङ्गजाको क्षेत्र नम्बर ३ को निर्वाचन प्रचार प्रसार समितिको युवा समितिको अध्यक्ष थिएँ। उक्त क्षेत्रको उमेद्वार दिनबन्धु अर्याल हुनुहुन्थ्यो जसलाई भाग्यवस उमेदवारको टिकट प्राप्त भएको थियो। त्यसैले उहाँ निर्वाचनमा खासै खट्नुहुँदैनथ्यो।
हामीहरु नै दौडिनुपर्थ्यो। उक्त क्षेत्रका नेका अध्यक्ष स्वतन्त्रता सेनानी स्व. पिमबहादुर गुरुङ हुनुहुन्थ्यो तर स्वास्थ्यको कारणले उहाँ धेरै दौडधुप गर्न सक्नुहुन्नथ्यो। त्यसैले क्षेत्रीय सचिब भोजराज अर्याल, नेकाका नेता जीवलाल काफ्ले, लामो समय पार्टीमा लागेर निकै दुख भोग्नुभएका स्व. सुर्यप्रसाद रेग्मी र युवा नेताको रुपमा म त्यो निर्वाचन परिचालन टिममा थियौं। शेखाम र साँखर गाउँपालिकामा त म नै प्रमुख अतिथि बनेर चुनाव केन्द्रित आमसभामा भाषण गरेको थिएँ।
अन्ततः त्यो बेला स्याङ्गजाका चारवटै निर्वाचन क्षेत्रमा नेकाले चुनाव जितेको थियो। त्यसपछि बनेको सरकारमा स्याङ्गजाबाट गोपालमान श्रेष्ठ मन्त्री हुनुभएको थियो र अलिक पछि दिनबन्धु अर्याल सहायक मन्त्री बन्नुभयो। २०४८ को निर्वाचनमा नेकाले बहुमत ल्याएर चुनाव जित्यो र एकमना सरकार पनि बनायो।सबैजसो चिनेकै नेताहरुको मन्त्रिमण्डल बन्यो।
साथीहरुले नेता र मन्त्रीहरुलाई भेट्न जाऊ भन्थे तर मैले भन्थे, “नेता र मन्त्रीहरुलाई हामीहरुले भेट्न गएर उनीहरुको काममा बाधा हाल्नु हुँदैन। देशले मुहार फेर्नुछ र उनीहरुमा ठूलो दायित्व पनि छ।हामीले परिवर्तनका लागि लड्यौं अब त्यसलाई व्यवहारमा उतार्ने रुपरेखा तय गर्न अहिलेको सरकारको काँधमा ठूलो जिम्मेवारी छ। त्यसैले जरुरी काम भएमा बाहेक उनीहरुलाई भेट्न जाने र उनीहरुको काममा अल्मल्याउने काम हामीहरुले गर्नुहुँदैन। उनीहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिऊँ, प्रजातान्त्रिक प्रणालीको मध्यमबाट एउटा सुसंस्कृत र कानुनी राज्य स्थापित गर्ने एउटा संरचनाको विकास गर्न र त्यसलाई व्यवस्थित गर्न उनीहरुलाई सहयोग गरौं।“
२०४८ सालको संसदीय निर्वाचन ताकाको हो, जतिवेला किशुनजी पार्टी अध्यक्ष भए पनि प्रधानमन्त्रीको ठूलो जिम्मेवारी भएकोले उहाँ पार्टीको निर्वाचनमा दौडिन भ्याउनु भएको थिएन।
मेरा यी सवै प्रयास र योगदानहरु प्रजातन्त्र प्राप्तिको लागि थिए। तर दुर्भाग्य आजको अवस्था देख्दा मेरो योगदान प्रजातन्त्रका लागि नभएर मनपरीतन्त्रका लागि हुनपुगेको अनुभूति हुँदा साह्रै नमज्जा लागेको छ।
Facebook Comment