व्यंग्य : नगदमा चर्ने, आफ्नै भुँडी भर्ने
देशमा भएका र यसभन्दा अगाडि सम्पन्न भएर गएका सबै चुनावहरु मध्ये यसपालिको स्थानीय तहको चुनाव सबैभन्दा रमाइलो रोचक अनि अलिअलि घोचक हुने हो कि जस्तो देखेर जनता दंग परेका छन्।
सत्तापक्षीय पँचतत्वको एउटा गठबन्धन, प्रमुख प्रतिपक्षको अरु बाँकी रहेका दलहरुसित गठबन्धन, अरु बाँकी रहेकाहरुको पनि एकअर्कासित गठबन्धन, यतै गठबन्धन उतै गठबन्धन आदि भएपछि कुन पक्षबाट को उठेको हो र कुन पक्षलाई कुन चिन्हमा छाप लगाएर जिताउने अनि कसलाई के कसरी बिताउने भनेर जनतालाई बुझाउने प्रयास गर्दागर्दै चुनाव सकिएर नतिजा आउने र त्यसपछि मात्रै गठबन्धनको फाइदा सबैले थाहा पाउने अबस्था पो देखिन्छ।
गठबन्धन बारे केन्द्रले गरेको निर्णय स्थानीय स्तरमा अमान्य हुने र गठबन्धन गर्दापनि सोचेजस्तो सफलता नपाएमा कोको रुने भन्ने अहिले थाहा हुने कुरा आएन। चुनाव आउन धेरै कम समयमात्रै बाँकी हुँदा समेत कसले कोसित कसरि गठबन्धन गर्ने र कोसित कसले भर पर्ने अनि कसको सहयोगले कसको अस्तित्व जोगाउनेसम्मको समस्या टर्ने, कसको सकसलाई दया गरेर कसले हर्ने र चुनावको नतिजा नआउन्जेसम्म छटपटाएर कोको मर्ने भन्ने टुंगो लाग्न त्यतिबेलासम्म कुर्न पर्ने निश्चित छ।
सबैले आफ्नो लागि नभएर अर्को दलको लागि गठबन्धन गरिदिएको र अर्को अलि कमजोर भएकोले दया गरेर चुनावमा आत्मबिश्वास भरिदिएको भनेको सुन्दा खाँटी कुरा के होला भनेर जनताले पनि बुझ्ने कोशिस गर्दै गरेको देखिन्छ। शिर्ष लगायतका नेताहरु समेत यसमा अलमलिएको देख्दादेख्दै जनता अलमलिनुलाई कसैलेपनि खासै नौलो ठानेका र यसमा अचम्म मानेका छैनन्।
शिर्षलगायतका नेतादेखि कार्यकर्ताहरुसम्मका कुरा सुन्दा र त्यसलाई मनमा राम्ररी गुन्दा सबैदलहरु एक्लाएक्लै चुनाव लडेर सबैलाई पछार्ने र मुखले भने जसरी नै कामपनि लछार्ने अबस्थामा रहेका देखिन्छन्।
साना ठूला झिनामसिना सबैखाले दलहरुले एक्लै बहुमत ल्याएर देखाउने र चुनावमा इतिहास नै लेखाउने दाबी गरेको सुन्दा जनता ज्यादै उत्साहित भएका छन्। जहाँबाट जुन उम्मेदवार उठाए पनि खसेको भोट जति आफैंले पाउने र आफ्ना सबै प्रतिस्पर्धीहरु राजनीति छोडेर सन्यासतिर धाउने उद्घोष गर्दै हिँडेका शिर्ष भनिएका अनि आफैंद्वारा अति नै लोकप्रियमा गनिएका नेताहरुको बर्षौँसम्मको एउटै गफ सुनेर समय बिताएका जनताले उनीहरुलाई चुनेर पठाएकोमा सधैं र्ग गर्ने गरेका छन्।
आफ्नो औकात र हैसियतभन्दा ठूला कुरा गरेर सबैलाई उल्लु बनाउँदा बनाउँदा आफैं उल्लु भइसकेको र देशको राजनीति आफ्नो हातबाट टाढा गइसकेको पो हो कि भन्ने महसुस हुनु पनि नौलो होइन। सबै ठाउँमा भागबण्डा र अंशबण्डा गरेर आफू र आफ्नालाई पुर्याउने चलन भएपछि कसैलाई जलन हुने कुरै भएन।
यसपालि त झन् अचम्मको चुनाव हुने र त्यसले जनताको सबै समस्यालाई निर्मुल नै पार्ने गरि छुने पक्का सम्झेका छन्। यसपाली को कसको पक्षबाट चुनाव लड्ने,को कतातिर अड्ने र को चुनाव हारेर कता पुगेर सड्ने टुंगो नभएर जनता कसरि अगाडि बढ्ने भन्नेमा अन्योल भएको हो कि भन्ने केही मुर्खहरुलाई नेताहरुको कुरा रामीिर सुन्न र जसले बढी गफ दिन्छ उसैलाई भोट दिएर चुन्न सजिलो हुने देखिन्छ।
किनभने चुनाव आइसक्नै लागिसक्दापनि नेताहरु आफू सबैभन्दा राम्रो, सबैभन्दा गणतान्त्रिक, सबैभन्दा प्रजातान्त्रिक, सबैभन्दा लोकतान्त्रिक, सबैभन्दा जनमुखी, सबैभन्दा क्षमतावान, सबैभन्दा राष्ट्रवादी, सबैभन्दा भ्रष्टाचार बिरोधी, सबैभन्दा नियम कानुन मान्ने, सबैभन्दा अग्रगामी र आफ्नो बिरोधी चाहिँ सबैभन्दा चोर फटाहा, ढोंगी, भ्रष्टाचारी, अत्याचारी, दूराचारी, गणतन्त्र बिरोधी, जनता बिरोधी, देशद्रोही, जनहितमा काम नै नगर्ने आदि आदि भन्दै ठूलोठूलो स्वरमा कराउने र उसैसित एक्लै चुनावी प्रतिस्पर्धा गर्न चाहिँ डराउने अनि जनताको पक्षमा बोल्न पर्याे भने लन्ठ्याङ मन्ठ्याङ गरेर हराउने गर्दै आएको देख्दा जनताले खुबै मनोरन्जन गर्न पाएका छन्।
चुनाव आइसक्नै लाग्दापनि अहिलेसम्म कुनै पनि दलहरुले एउटा घोषणापत्र छापेर जनतालाई बाँड्ने कामसमेत थाँती राखेर एकअर्काको योजना भाँड्ने कामलाई प्राथमिकता दिएको देख्दा चुनावमा घोषणापत्रको केही काम रहेनछ भन्ने सबैले बुझेका छन्।
हुन त घोषणापत्र छापेपनि र त्यसले यस्तो गरिन्छ उस्तो गरिन्छ भनेर जेसुकै नापे पनि वा घोषणापत्र बेगर चुनावमा दुबै हात जोडेर दयाको भिखसहित पोल्टो थापेपनि चुनाव सकिएपछि त्यसको कुनै काम हुँदैन भन्ने नेताहरुलाई पनि थाहा छ र जनतालाई त झन् राम्रोसित थाहा छ।
कसैले छापेर ल्याइहालेमा वा त्यस्तो काम गर्न भ्याइहालेमा नयाँ बन्ने होइन उही पुरानोलाई साबिक अनुसार कट् पेस्ट गरेर तिथिमिति मात्रै फरक पारेर काम चलाउने हुनाले कर्मकाण्ड पूरा गर्ने बाहेक यसबाट अरु कुनै कुरा हुने होइन भन्ने सबैले राम्रोसित चाल पाएकै बिषय हुनाले यसबाट कसैलाई गाल परेर चुनावको ताल बिग्रने सम्भावना अबलाई छँद ैछैन भने पनि हुन्छ।
पहिलेपहिले निकै महत्वकासाथ छापेर बुझे पनि नबुझे पनि सबै नेताहरुले बोक्ने र त्यसैको आधारमा जनताको पक्षमा भाषण ठोक्ने अबस्था अहिलेलाई छैन। अहिले त सकेसम्म र जानेसम्म अर्को पक्षकोलाई गालि बकेर जनताको ताली खाने बाहेक अरु केही गर्नै पर्दैन।
त्यस हिसाबले हेर्दा पहिले भन्दा अहिले धेरै सजिलोपनि भएको छ। जनताको पक्षमा कामको लागि केही बाचा गरेर बाँधिन र नगर्ने कामको झुटो अठोट देखाएर साँधिन पनि परेन।
बिरोधीलाई गाली गर्न जेजति नराम्रा शब्दहरु मुखमा आयो घोक्रो फुलाएर त्यही बोलेर भोटको धोक्रो भरिनेमा ढुक्क भएपछि नचाहिँदो खाले खोक्रो आश्वासन दिइराख्न पनि परेन। जनतालाई पनि शिर्षलगायतका नेताले यो यो नेतालाई गाली गर्ने र आफ्नो भाषण सम्झेर आफैं मख्ख पर्ने बाहेक अरु काम गर्दैनन् भन्ने पहिल्यै राम्ररी थाहा भइसकेको हुन्छ।
यसपालिको चुनावी सभामा शिर्ष नेताहरु जाँदा त्यस भेग वा प्रदेशका अन्य दलका प्रभावशाली फलाना नेता यति जना कार्यकर्ताहरुका साथ उ दलमा प्रवेश गरे भन्ने सुनिन्छ र भोलिपल्टै पुरानै दलमा फर्किए भनेको दिनदिनै जस्तो सुन्न पाउँदा यिनीहरुले नयाँ पुरानो दुबैतिरबाट गतिलै शुभलाभ गरेको र यही तरिकाबाट यिनीहरुको गर्जो मजाले टरेको हो कि भन्ने शंकालुहरुको कुरा सुन्न र पत्याउन हुँदैन।
यो त माथिदेखि तलसम्म शानदार तरिकाबाट हुने खेल भएकोले यसमा कुनै किसिमको झेल देखेमा राजनीतिमा फेल हुन सकिने हुनाले नेता कार्यकर्ताहरुले यसमा धेरै दिमाग खर्च गर्न नखोजेर आफूसित हुँदै नभएको चिज जोगाउनु नै बुद्धिमानी ठहर्छ।
यसपालीको स्थानीय चुनावमा पहिले पहिलेको भन्दा आकाँक्षीहरुको संख्यामा अत्यधिक बृद्धि भएको हुनाले नेताहरुलाई निकै सकस भएको छ रे भनेको पनि सही होइन भन्दाभन्दै र आकाँक्षीको संख्या गन्दागन्दै अनि यसलाई मिलाउन नेताहरुले बल लगाएर कन्दाकन्दै मनोनयन गर्ने बेलासम्मपनि उम्मेदवारको टुंगो लगाउन हम्मेहम्मे पर्ने पो होकि भनेर हल्ला गर्दै हिँड्नेहरुलाई नेताहरुले अन्तिम अबस्थामा जिल्ल पारिदिनेमा उनिहरु ढुक्क छन्।
जति धेरै आकाँक्षी भयो उति धेरै लिलाम बढाबढ गरेर नगद कुम्ल्याउन पाइने र तल्लो तहबाटै टिकट बेचेर मजाले खाइने हुनाले यो पनि शिर्ष नेताहरुको लागि निकै राम्रो अबसर हो भनेर बुझ्न ढिला गर्न हुँदैन।
यसपालीको चुनावको अझ रमाइलो पक्ष भनेको दलहरु एक्लाएक्लै दक्ष अदक्ष नहेरिकन गठबन्धनको नाममा लपक्क टाँसिएका र बिचार सिद्धान्त मतदाता आदि सबैलाई चटक्क बिर्सेर चुनावसम्मलाई मात्रै गाँसिएका परजिबिहरुलाई भोट हाल्ने जनताले गर्ने मनोरन्जन हो।
रुखको समर्थकले हँसिया हतौडामा, हँसिया हतौडावालाले रुखमा, रुखवालाले कलममा, कलमवालाले हँसिया हतौडा र रुखमा, सूर्यवालाले अर्कोमा,अर्कोवालाले सूर्यमा, मादलवालाले ढोलकमा, रेडियोवालाले घडीमा, साइकलवालाले हवाइ जहाजमा, हवाइ जहाजवालाले पानी जहाजमा, मेचवालाले टेलिभिजनमा अथवा सबैजसो समर्थक र मतदाताहरुले आफूले साबिकमा छाप लगाइ आएको र त्यसैमा मत दिन्छु भनेर कसम खाएको चुनाव चिन्हभन्दा अर्कोमा छाप लगाएर मतदान गर्न पर्दा कम्ति रमाइलो होला र? यो सम्झँदापनि मतदाताहरु रोमान्चित भएका र मतदानको लागि हतारिँदै गएका छन्।
गठबन्धन पक्का गरेर स्थानीय तहमा राम्रै सुराक लगाएर त्यहाँका भारेभुरे नेता कार्यकर्ताहरुलाई पनि राम्रै खुराक खुवाइ पिलाई गरेपछि बल्ल कहाँ को उठ्ने तय भइसकेपछि बागीको भय कम भएपछिमात्रै ढुक्कसँग यो चिन्हमा छाप लगाउनु भन्ने उर्दी जारी हुने देखिन्छ।
देश र जनताको भलाइको लागि गठबन्धन नगरी नहुने बाध्यात्मक ब्यबस्था भनेपनि यो तालमेल आफू र आफन्तलाई जिताउन गरिएको जालझेल बाहेक केही होइन भनेर हल्ला फिँजाउने मुर्खहरुले दलहरुको आन्तरिक अबस्थालाई बुझिदिन पर्छ। त्यो बुझ्यो भने गठबन्धनको सबै रहस्य छर्लङ भएर यो नभए कोको बर्लङ लड्ने रहेछन् भनेर राम्ररी बुझिन्छ।
अहिले भइरहेकालाई दोहोर्याउने ठूलो रहर भएकोले यसपालिपनि आफैंले टिकट पाउन पर्ने उनीहरुको ठहर छ। सधैं तिनलाईमात्रै खान दिन हुँदैन हामीले पनि मौका पाउन र यथेष्ट कमाएर सबैतिर छाउन पनि चुनाव जितेर अगाडि आउन पर्छ भन्ने अन्य आकाँक्षीहरुकोे भनाइलाई पनि गलत भन्न मिल्दैन। शिर्षहरुले आउँदो चुनावमा मौका दिन्छौँ भनेर कति नाजायज फाइदा लिइरहेका र यसैको आशमा ज्यान दिइरहेका धेरै नैै होलान्।
मौका नपाउँदा बागी वा करौँती उम्मेदवार उठाएर वा उठी दिएर पारिने हैरानीले हारिने डर उत्तिक रहन्छ। नेताहरुका गफ पत्याउँदै र सही उम्मेदवारलाई लत्याउँदै आएका जनतालाई यसपाली छाप हान्ने चुनाव चिन्ह पत्ता लगाउन नै चुनावभन्दा गाह्रो काम हुने हो कि जस्तोपनि देखिन्छ। निर्बाचन आयोगले झण्डै अरब भन्दा माथिको बजेट सिध्याएर महिनौँ मतदाता शिक्षा कार्यक्रम संचालन गर्दा त प्रशस्त मत बदर भएपनि त्यो शिक्षाको ठूलो कदर भएर बजेट खर्च सदर भइरहेको सबैलाई थाहा भएकै कुरा हो।
यसपालि त मुखले लाखार लुखुर पार्दै आतेपाते जवाफ दिएर आफूलाई मन नलागेको चिन्हमा छाप हान्दा र करकापले मात्रै नेताहरुको स्वार्थी बचन मान्दाको फल सहजै अनुमान गर्न सकिन्छ होला। त्यही भएर नेताहरुले साबिक तरिकाले यसरी नै गर्दै आएको मतदाताको कदरलाई जनतालेपनि सहजै सदर गर्ने सोच बनाएका छन् रे भन्ने सुनिन्छ।
यसरी एक्लै चुनावमा जान नसकेर रोइ कराइ गर्दै डराइ डराइ उम्मेद्वारी दिएर संसारभरि तमाशा देखाउनु र यो पुस्ताका नेताहरुलाई नै असक्षम भनेर इतिहासमा लेखाउनु भन्दा बरु यसै भएन उसै भएन पहिलेको गाउँफर्के तरिका अपनाएर उम्मेद्वार होइन कि जनप्रतिनिधि नै छान्ने ब्यबस्था गर्न सके राम्रो हुन्थ्यो होला भन्ने उच्च बिचार शिर्षलगायतका नेताहरुको दिमागमा पनि नआएको चाहिँ होइन रे।
आफ्नो औकात र हैसियतभन्दा ठूला कुरा गरेर सबैलाई उल्लु बनाउँदा बनाउँदा आफैं उल्लु भइसकेको र देशको राजनीति आफ्नो हातबाट टाढा गइसकेको पो हो कि भन्ने महसुस हुनु पनि नौलो होइन। सबै ठाउँमा भागबण्डा र अंशबण्डा गरेर आफू र आफ्नालाई पुर्याउने चलन भएपछि कसैलाई जलन हुने कुरै भएन। उम्मेद्वारीदेखि लिएर चुनाव सकिँदासम्म सबैतिरबाट हुने खर्च जोड्ने हो भने त्यसको खासै औचित्य देखिन्न।
अहिलेका जनप्रतिनिधिबाट आफ्नो भुँडी भर्ने र जनताको नाममा मजाले नगदमा चर्ने काम बाहेक केही भएको छैन र अब छानिएर हो कि तानिएर आउनेहरुबाट पनि हुने केही होइन भनेपछि त्यत्रो खर्च गरेर केही काम छैन भन्नेहरुको बकवास सुनेर केही काम छैन। त्यसो भएर अब चुनिएर आउनेहरुबाट पनि नगदमा चर्ने र आफ्नै भुँडी भर्ने बाहेक अरु कुनै काम नहुने पक्का छ भन्ने जान्दाजान्दै पनि गठबन्धनको अन्योलको चिन्हमा छाप लगाउन जनता आतुर छन् रे भनेर नेताहरु ढुक्क भएर हिँडेको हल्ला सुन्न पाउनुपनि अहिलेको लागि राम्रो खबर हो।
Facebook Comment