पशुपतिनाथलाई पनि नछाेड्ने ?

डिसी नेपाल
५ वैशाख २०७९ ६:५२

आज बिश्‍व सम्पदा दिवस। बिश्‍व सम्पदालाई स्मरण र सम्मान गर्ने दिन। भ्याए पुछ्ने, टल्काउने र सिंगार्ने दिन। नभ्याए सम्पदा रक्षा सम्मानको लागि अन्तस्करणदेखि पुकार गर्ने दिन । त्यही प्रार्थना र पुकार गर्नको लागि यो आलेख पस्किएको छु।

राष्ट्रिय सौन्दर्यता

मातृभूमिले बिश्‍व सम्पदाको माला लगाएकी छन्। अझ सगरमाथालाई हेर्ने हो भने, त्यो नेपालको मात्र होइन बिश्‍व कै टोपी हो। श्रीपेच हो। बिश्‍वको त्यो दुर्लभ पूंजिको हामी केबल पहरेदार मात्र हुँ। अझ वास्तविक मालिकहरु स्थानीय बासिन्दा हुन्। कति भाग्यमानी हामी सबै। चितवन राष्ट्रिय निकुञ्‍ज अर्को बिश्‍व सम्पदा। एकसिङ्गे गैंडाको मुलघर। पाटेबाघलगायत असंख्य जैविक विविधताको खानी।

धन्य, यी दुवै बिश्‍व सम्पदा नेपाली सेनाको हातमा छन्। यिनको रक्षा सम्मानलाई सेना अनवरत र अहोरात्र खट्टिएको छ। आफ्नो जीउ ज्यानको जोखिम मोलेर। ज्यानको बाजी लगाएर। कहिले सगरमाथा लगायत हिमाल सफाईको नाममा । कहिले गैंडा अनुगमन, गणना र उद्धार रक्षाका नाममा । साझा उद्देश्य एउटै छ।

बिश्‍व सम्पदा रक्षा गर्ने। सुन्दर शान्त बिशाल बनाइराख्‍ने। समृद्धिको मुहान फुटाउने। सलाम छ यो पवित्र उद्देश्यमा समर्पित नेपाली सेनालाई। अनि उसको छाता संगठन, कार्यकारी निकुञ्‍ज प्रशासनलाई। सम्मान छ प्रकृतिप्रेमी र संरक्षण प्रेमी स्थानीय समुदायलाई।

रक्षा सवाल

जग जाहेर छ यी दुई बिश्‍व सम्पदा नै अतिक्रमण र क्षयीकरणको मारमा परेका छन्। प्राकृतिक भन्दा मानव निर्मित दोषका कारण। मुलुकको पुनसंरचना र तहगत संरचनाको हानथापका कारण।  प्राकृतिक श्रोत साधन दोहन बिनाशमा तँछाड् मछाड्। मुनाफा बाँडफाँडमा सबै एकजुट र मरिहत्ते। स्वामित्व ग्रहण र रक्षा ड्‍यूटीमा भागा रे भाग्।

फोहोरले थिचेर पवित्र समगरमाथा गुम्सिरहेको छ। पासो, बिषादी र आहारको कमीले नेपालका प्रतीक गैंडा ठहरै मरेका मर्‍यै  छन्। नेपाली सेनालाई धर्मसंकट।
बिश्‍व सम्पदा लुम्बिनीको अतिक्रमण र व्यापार कथा सुनिनसक्नु छ। पशुपतिनाथको अतिक्रमण कथा झन् पुरानो र दर्दनाक छ। पशुपतिनाथमा जल चढ्ने धार्मिक पवित्र नदीको पवित्रता र अतिक्रमण कसरी बयान गर्नु ?

आयातित क्रान्ति। पाउण्ड डलरको बाइपँखी घोडा चढेर आएको क्रान्ति। मन्दिरका गजुर छैनन्। पुजारी छैनन्। गौशालाका गाई बाँकी रहेनन्। सिलालेख छैनन्। स्तम्भ, स्मारक, मुर्ती, हिटी छैनन्। सबै उडाइए। इतिहासमाथि प्रहार। धर्म संस्कृतिमाथि बज्रप्रहार। राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान माथि गोलाबारी। सम्पदाका सर्जकहरुको गर्धन छेदन।

चाँगुनारायण, स्वयम्भूनाथ र बौद्धनाथका दीर्घरोग र गहिरा घाउपनि मुख्यत अतिक्रमण नै हुन्।व्यापार र लुटपाट नै हुन्। चरम संरक्षण उदासिनता अर्को समस्या। बाँकी बिश्‍व सम्पदा काठमाण्डौ, पाटन र भक्तपुर दरबार स्क्‍वायरको अवस्था झन् नाजुक छ।

ती सम्पदाले संरक्षक, अभिभावक र रक्षक खोजिरहेका छन्। ७ वर्षदेखि टेकेको टेको र बैशाखी हटाईदेउ भनेर गुहार गुहार मागिरहेका छन्। टेको लगाएका ठाउँबाटै हराइरहेका छन्। लुटिरहेका छन्। बिदेश चोरी निकासी भइरहेका छन्।

यो हो हाम्रो घरभित्रको आन्तरिक कथा। सम्पदाको वास्तविक पीडा। हाम्रो आफ्नो ताल र हैसियत सम्पदामाथि यस्तो लाचारी र निकृष्ट छ। अरुले औंला ठड्‍याएको र सचेत पारेको सहन नसक्ने हामी गोर्खालीको चरित्र छ। तर सत्य कसरी स्वीकार नगर्नु ? बिश्‍व सम्पदाको कन्तबिजोग छ। तसर्थ, बिश्‍व सम्पदालाई बिश्‍व सूचीबाट हटाइनु अगाडि हाम्रो आँखा कान खोलिनु जरुरी छ । आजको दिनले हामीलाई साबधान, सतर्क र जबाफदेही बनावस्।

पाठ सिकौं

५ वर्ष अगाडि चिनलाई घुमि घुमि हेरें। सम्पदाहरुको खानी। म्युजियमहरुको खानी। रक्षा सम्मान उच्च। समृद्धिको मुहान।  ग्रेटवाल पैसा छाप्‍ने मेशिन रहेछ। सम्पदाहरुको गौरवभाव उस्तै। म खुशी र हर्षले गद्‍गद्‍ भएँ।

एकजना मेरा प्रोफेसरले रहस्योद्घाटन गर्नुभयो। ‘संस्कृतिको धरोहर भत्कियो रे। धेरै प्राचिन सम्पदा मासिए रे। सांस्कृतिक क्रान्तिले कुरुप बनायो रे। त्यही संस्कृति पुनरप्राप्ती (रिस्टोरिङ) को महाअभियानमा रहेछन् त्यहाँका नेता र जनताहरु।’ कुरा सुनेर म स्तब्ध भएँ। आफ्नो मुलुकको उही हबिगत याद आयो।

आयातित क्रान्ति। पाउण्ड डलरको बाइपँखी घोडा चढेर आएको क्रान्ति। मन्दिरका गजुर छैनन्। पुजारी छैनन्। गौशालाका गाई बाँकी रहेनन्। सिलालेख छैनन्। स्तम्भ, स्मारक, मुर्ती, हिटी छैनन्। सबै उडाइए। इतिहासमाथि प्रहार। धर्म संस्कृतिमाथि बज्रप्रहार। राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान माथि गोलाबारी। सम्पदाका सर्जकहरुको गर्धन छेदन। नेपालको प्रतीक ज्युँदो गैंडाको नाक छेदन। मातृभूमिको शिर (लिपुलेक) छेदन।

हजारौं नागरिकको हत्या। गरिब देशको पूर्वाधार ध्वस्त। अर्काको डिजाइन। अरुको गोटी। पराइको लगानी। बाह्‍य प्रभाव। आज हामी अलपत्र परेका छौं। गन्तव्यहीन अवस्थामा छौं। सम्पदा जस्तै समग्र मुलुक अस्तित्व रक्षाको संकटबाट गुज्रिरहेको छ। भियतनाम, अफगानिस्थान, युक्रेन-रुसबाट पाठ सिकौं।

सम्पदा संरक्षणमा बाह्‍य सहयोग र संघको मुख ताकेर मात्र बस्‍नु हुँदैन। स्थानीय सरकारले असीम अधिकार र बजेटको सदुपयोग गरेर आ-आफ्ना सम्पदाहरुको रक्षा कल्याण सम्मान गर्नुपर्दछ। हरेक नागरिक सचेत र जिम्मेवार भई सम्पदा रक्षामा स्वस्फूर्त स्वयंसेवा तथा योगदान भरेर राज्यलाई सघाउनु पर्दछ।

क्रान्ति, द्वन्द्व, युद्धले ध्वस्त पारेको संस्कृति सम्पदा उठन सक्तैन। नयाँ सम्पदा बन्दै बन्दैन। र, त्यसको मूल्य मान्यता नै हुँदैन। तसर्थ, प्राचिन सबै (धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक) सम्पदाहरुको रक्षा सम्मान कल्याणमा ध्यान दिउँ। किनभने ती बहुमूल्य सम्पदाहरु हाम्रा ईतिहासका आत्मा हुन्। हाम्रा ऐना हुन्। भावी पिढीलाई युनिभर्सिटी हुन् । पर्या-पर्यटनको आँखाको नानी जस्तै आकर्षण केन्द्र हुन् । सु-संस्कार र शान्तिका प्रतीक हुन् । र, समृद्धिका मुहान हुन्।

नजिर प्रस्तुत

यो आलेख तयार पार्नुअघि किर्तिपुर पुगें । तालु टल्काएर सम्पदा खोजें। १ जना स्विस पर्यटक भेटें। उनी तालुमा हात लगाएर निरास अवस्थामा स्तुपा बाहिर भर्‍याङमा बिश्राम गर्दै थिए। मैले शुभदिन नमस्ते भन्दै समस्या छ कि, केही सहयोग गर्न सक्छु कि ? भनेर बिनम्रसाथ कुरा राखेँ। पर्यटक ले सुनाए- ‘खोई मैले ३० वर्ष अगाडि देखेका ती सुन्दर सम्पदाहरु, पोखरीहरु र शान्ति ? मानिसको विजय। सम्पदाको पराजय।’

भावुक भएर ऐतिहासिक मन्दिरहरु परिक्रमा लगाएँ। घरहरुले च्याप्पिएका। पसलले बेरिएका। पुराना शिलालेख मार्वल र ग्रेनाईटले बिस्थापित भएका। १ लाख चन्दावालाहरुले आफ्नो नामको शिलालेख यत्रतत्र टाँसेर सम्पदालाई कुरुप बनाएका। पोखरीहरु कंक्रिटले छोपेका र सुकिसकेका।

यो एउटा सानो ताजा प्रतिनिधि नजिर मात्र। काष्ठमण्डपको मूर्ती काण्डको उजुरी अर्को ताजा नजिर। नयाँ रुप, स्वरुप र परिवर्तन किन? बजेट सिध्याउन। भ्रष्टाचार गर्न। नीतिगतदेखि धार्मिक, सांस्कृतिक भ्रष्टाचारको पोको भो यहाँ नखोलौं। बरु सबैले आजका दिनमा आँखा कान खोलेर सम्पदा रक्षाको अभियानमा आफूलाई समर्पित गराउँ।

सुझाव

पूर्व राष्ट्रपतिको चुरे, सम्पदा र समग्र सम्पदा संरक्षणको पहल र प्रयास सह्रानीय थियो। त्यसले निरन्तरता पाइरहोस्। वर्तमान राष्ट्रपतिको सम्पदा रक्षा सम्मानको पहलकदमी झन् बेजोड देखिन्छ। यो राष्ट्रिय प्राथमिकताको सन्देश पनि हो। यसबाट सकरात्मक अपेक्षा राख्‍न सकिन्छ कि हाम्रा सम्पदाहरु छिटो उठ्ने छन्। चम्किने छन्। र, तिनको भविश्य उज्वल छ।

सम्पदा संरक्षणमा बाह्‍य सहयोग र संघको मुख ताकेर मात्र बस्‍नु हुँदैन। स्थानीय सरकारले असीम अधिकार र बजेटको सदुपयोग गरेर आ-आफ्ना सम्पदाहरुको रक्षा कल्याण सम्मान गर्नुपर्दछ। हरेक नागरिक सचेत र जिम्मेवार भई सम्पदा रक्षामा स्वस्फूर्त स्वयंसेवा तथा योगदान भरेर राज्यलाई सघाउनु पर्दछ।

असली सम्पदा संरक्षणमा स्थानीयको अगुवाई र बटम्-अप-एप्रोच कामयावी हुने छ। द्वारिका होटलले प्रदर्शन गरेका सम्पदा संरक्षणको निजी पहल र प्रयास कदरयोग्य छ । निजी क्षेत्रको लागि मननयोग्य छ।

१० बिश्‍व सम्पदाको नमूना संरक्षण गरौं। संभावित र प्रश्तावित सम्पदाहरु पनौती, तिलौराकोट, मुक्तिनाथ, गोरखा दरबार, रामग्राम, खोकना, लो-मान्थाङ्ग, बज्रयोगिनी साँखु, किर्तिपुर, रिषिकेस रुरु, नुवाकोट दरबार, रामजानकी मन्दिर, तानसेन दरबार, जुम्लाको सिंजा भ्याली र दैलेखको भुर्ती मन्दिरको अतिक्रमण र बिगार हटाएर चम्काउने, टल्काउने र बिश्‍वलाई नमुना देखाउने प्रण गरौं । त्यही राष्ट्रिय संकल्पले आजको दिनको उद्देश्य पूरा हुने छ । प्राचिन नेपालको गौरव रक्षा हुने छ।

जय बिश्‍व सम्पदा दिवस ।

(लेखक संरक्षणकर्मी हुन् र स्वर्गको सेवा पुस्तकका लेखक हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *