दक्षिण कोरियामा कसरी एउटै मानिसको तीन वटा उमेर हुन्छ
बीबीसी। ”तपाईँको उमेर कति भयो?” यो एउटा सामान्य प्रश्न हो जसको स्पष्ट उत्तर हुन्छ। तर दक्षिण कोरियामा भने यो प्रश्नको जवाफ त्यति सहज छैन। दक्षिण कोरियामा जन्मिने बित्तिकै शिशु एक वर्षको भएको मानिन्छ।
नयाँ वर्ष लागेसँगै उनीहरूको उमेर थप एक वर्ष बढ्छ। त्यसको अर्थ डिसेम्बर महिनामा जन्मेका बच्चाहरूको केही दिनपछि ज्यानुअरीमै दुई वर्षका हुन्छन्।
तर उमेरको हिसाब गर्ने यो कोरियाली विधि चाँडै परिवर्तन हुनसक्छ किनभने राष्ट्रपति निर्वाचित युन सुङ-न्यूलले शताव्दीऔँ पुरानो गणना विधि हटाउनका लागि पहल गरिरहेका छन्। बाँकी विश्वमा जस्तै उमेर गणना गर्ने विधि अपनाउन नयाँ व्यवस्थाले खोजेको युन सुङ-न्यूलसँग काम गरिरहेका एक अधिकारीले बताएका छन्।
उनका अनुसार उमेर गणना गर्ने फरकफरक तरिकाका कारण “पटकपटक अलमल” हुने गरेको छ भने “अनावश्यक सामाजिक र आर्थिक लागत”मा पनि यसको भूमिका रहेको छ।
नयाँ प्रस्तावलाई केहीले अँगाले जस्तो देखिन्छ तर यो साँच्चै कार्यान्वयनमा आउने विषयमा भने विज्ञहरूले संशय व्यक्त गरेका छन्। कोरियामा उमेर गणना गर्ने तीन वटा विधि छ। सन् १९६२ यता आधिकारिक रूपमा उक्त देशमा अन्तर्राष्ट्रिय प्रणाली नै प्रयोगमा छ।
जसमा सम्बन्धित व्यक्तिको जन्म मिति गणना गरिन्छ। कानुनी परिभाषा अनि प्रशासनिक कामहरूमा पनि यसैलाई मान्यता दिइएको छ। दक्षिण कोरियामा उमेर गणना गर्ने अर्को पनि तरिका छ जसमा शिशु जन्मँदा उसको उमेर शून्य मानिन्छ र प्रत्येक वर्ष ज्यानुअरी १ तारिखमा उमेर बढ्छ।
यो तरिकाले हेर्दा सन् २०२० को डिसेम्बर महिनामा जन्म लिएका बालक सन् २०२२ को ज्यानुअरीमा दुई वर्षका भइसकेका हुन्छन्। जबकि सामान्यतया त्यस्ता बच्चा अन्यत्र सन् २०२२ को डिसेम्बर महिनामा मात्रै दुई वर्षका हुन्छन्।
र त्यहाँ अर्को ”कोरियन एज” अर्थात् उमेर गणना गर्ने कोरियाली विधि पनि छ। यो तरिकालाई सबैजसो कोरियालीहरूले प्रयोग गर्छन्। यो विधि अनुसार जन्मँद एक वर्ष उमेर मानिन्छ र जन्ममिति जुनकुनै भए पनि नयाँ वर्षको दिन उमेर बढ्छ।
यी विधिहरूका आधारमा हेर्दा सन् १९९५ को डिसेम्बर ३० तारिखमा जन्मिएका प्रख्यात के-पप साङ्गीतिक समूह बीटीएसका कीम ते-छयोङको उमेर कोरियाली उमेर अनुसार २८ वर्ष हुन्छ, अन्तर्राष्ट्रिय रूपमा गरिने उमेरको गणना अनुसार २६ वर्ष हुन्छ अनि कोरियामा प्रयोग हुने अर्को आधिकारिक प्रणाली अनुसार २७ वर्ष हुन्छ।
केहीका लागि यो एक सामान्य अङ्क मात्रै हुनसक्छ। तर दक्षिण कोरियामा उमेरलाई निकै गहन रूपमा लिइन्छ। ”दक्षिण कोरियालीहरूका लागि सामाजिक परिप्रेक्ष्यमा कसैको नाम थाहा पाउनु भन्दा पनि उ आफू भन्दा उमेरमा जेठो छ वा छैन भन्ने कुरा पत्ता लगाउनु महत्त्वपूर्ण मानिन्छ,” कोरिया विश्वविद्यालयस्थित कोरियन ल्याङ्ग्वेजेज एन्ड लिटरेचर विभागका प्राध्यापक सीन झी-योङ्ले भने।
“सम्बन्धित व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषय महत्त्वपूर्ण मानिन्छ र त्यसको गर्दा उनलाई दिनुपर्ने सम्मान वा सम्बोधन गर्दा प्रयोग गरिने शब्द आवश्यक ठानिन्छ।”
कोरियामा उमेर गणना गर्ने परम्पराको उत्पत्ति चीन र एशियाका विभिन्न भागहरूमा भएको हो। तर उक्त परम्परा अनुसार उमेर गणना गर्ने चलन दक्षिण कोरियामा मात्रै रहेको विश्वास गरिन्छ।
”विश्वव्यापीकरणले गर्दा कोरियालीहरू अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको उमेरबारे थप सचेत बनेका छन्,” हान्झोम विश्वविद्यालयमा कानुन तथा नीति विषयका एक जना प्राध्यापक किम युन-जुले भने।
“यसले युवाहरूमा प्रभाव पारेको छ किनभने उनीहरू (गणनाका फरक प्रणाली) का कारण आफूहरूलाई हाँसोको पात्र बनाइने गरेको ठान्छन्।” त्यसबाहेक उमेर गणना गर्ने प्रणालीले दक्षिण कोरियालीहरूलाई अन्य प्रभाव पनि पारेका छन्।
उदाहरणका लागि डिसेम्बरका जन्मिएका बच्चालाई विद्यालयमा बेफाइदा हुने र परिणामस्वरूप जीवनभर हानि हुने भन्दै चिन्तित केही अभिभावकले जन्मदर्ता नै ढिला गर्न खोज्छन्।
महामारीकै बेला पनि खोप वितरण गर्नका लागि योग्यता तय गर्ने कुरामा स्वास्थ्य निकायहरूले कहिले अन्तर्राष्ट्रिय विधि त कहिले कोरियाली उमेर विधि प्रयोग गर्दा धेरै समस्या उत्पन्न भएपछि विश्वव्यापी रूपमा अपनाइने विधि प्रयोगमा ल्याउन माग गरिएको थियो।
एकै हिसाबले उमेर गणना गर्ने विधि कार्यान्वयनमा ल्याउने प्रयास दक्षिण कोरियामा गरिएको यो नै पहिलो पटक भने होइन। सन् २०१९ र सन् २०२१ मा दुई सांसदले यस्तै खाले विधेयक प्रस्तुत गरेका थिए तर त्यसलाई कोरियाको संसद्ले कानुन बनाउनका लागि अनुमोदन गरेन।
प्रशासनिक दृष्टिकोणबाट प्रस्तावसँग सहमत भए पनि नयाँ विधिले कोरियाली समाजका लागि के अर्थ राख्छ भन्नेमा विज्ञहरू विभाजित छन्।
दाङकुक विश्वविद्यालयस्थित ओरियन्टल स्टडीज रिसर्च सेन्टरका एक जना वरिष्ठ सोधकर्ता छाङ यु-सुङ कोरियन एज परम्पराको प्रतिबिम्ब रहेको ठान्छन्।
Facebook Comment