व्यंग्य : एकै ड्याङका मुला

डिसी नेपाल
११ वैशाख २०७९ ६:३८

आफ्नो मन परेको नेताहरुलाई आफ्नो ठाउँको मुख्य आसनमा बसालेर आफूलाई चाहिने सबै सुविधाहरू प्राप्त गर्ने उद्देश्य साथ पाँच बर्ष अगाडि भोट खसालेर आएका जनताहरू दंग छन्।

यसपालि दलहरू मिलेर गठबन्धन गरेका हुनाले यसबाट को को चन्दन हुने गरि पिसिने हुन् र को को मतदातासित रिसिने हुन् वा विरोधीको जितले ठन्डा भएर चिसिने हुन् मत परिणाम नआइ थाहा हुने कुरै भएन। बालकोटे गठबन्धन र पँचतत्व गठबन्धन जुनमा भोट हाले पनि जित्ने एउटाले मात्र हो र दुबै थरी राजनीतिक पात्र हो।

जसले जिते पनि र जसको भविष्य बिते पनि जनताले पाउने एउटै कुरा हो। भोट हालेर जिताउँदैमा ठूलो भाग हात पर्ने र नहालेर बिताउँदैमा केही लछारिने वा उत्तानो परेर पछारिने केही छैन।

भोट हाल्ने पनि जनता नहाल्ने पनि जनता। भोट नखसालेसम्म मात्र उम्मेदवारले नमस्कारको मुद्रामा हात जोडेर बिन्ती गरी राख्ने र भोट खसाली सकेपछि जनताको गिन्ती सकिने पक्का छ। केही दिन उम्मेदवारले मिलेसम्म कुप्रो परेर दाँत देखाउँदै नमस्ते गरेर हिँडेपनि मतदान पछि जनता आफ्नै औकातमा आउँछ र नेताले पनि भोट माग्दा बाँगिएको कुप्रो ढाड सोझ्याएर हिँड्न पाउँछ।मतदान अघिसम्म जनताले खाई पाई आएको नमस्कार त मतदान सकिनासाथ ठ्याप्पै बन्द भएर चमत्कार जस्तो लाग्छ।

बालकोटे वा पँचतत्व जसलाई भोट खसाले पनि जनतालाई केही फरक नपर्ने कुराको हरक अनुभवी जनताले निर्वाचन घोषणा भएको समयदेखि नै गर्न पाएका छन्। यसपालि पहिलेभन्दा बढी पालिकाहरुमा बालकोटेको स्थानीय सरकार बन्ने र त्यो सरकारले त्यहाँ विकासको गोरेटो खन्ने निश्चित छ भनेर उनीहरु कुर्लेको अनि सोही अनुसार उनीहरुको लहर उर्लेको देख्दा उनीहरूले भनेको सही नै हो कि जस्तो लाग्छ।

बालकोटेको गठबन्धनले चुनाव जितेर स्थानीय पालिकाहरुमा सरकार बनाएमा केही वर्षभित्रै लोकतन्त्र मासिने र देश कहिल्यै उठ्न नसक्ने गरी प्रतिगमनको खाल्डोमा भासिने भन्ने पँचतत्व गठबन्धनकोे भनाइ पनि ठीकै हो कि जस्तो लाग्छ। दुबैको कुरा सही भए पनि भोट एउटा मात्रै हाल्न पाइने हुँदा यसमा पाइला चाल्न दोधार भएकै अवस्थामा केहीले मतदान कता गर्ने भन्ने निर्णय गरिसके र केही चाहिँ अझ थप दोधारमा परिसके। हामी जनताले भोटको लागि कता हालौं कता हालौं भनेर दोमन गर्ने र आफ्नोे अधिकार प्रयोग गर्नमा पछि पर्ने कुरै हुँदैन।

एक अर्कालाई नरमपन्थी वा चरमपन्थी भनेर दोषारोपण गर्दै मतदाता भड्काउने कोशिस गरे पनि खान नपाए गरम पन्थी र खान पाए आँखा चिम्लेर खाने वेशरम पन्थि हुन् यिनीहरू । त्यही भएर चुनावको घोषणापत्रमा कसले के लेख्यो र कसले देश बनाउन कस्तो सपना देख्यो भनेर सोच्नु अनि एक अर्का विरुद्धको पिरो टर्रो छुद्र खालको गाली सुनेर आफ्नोे दिमाग घोच्नु बेकार नै छ।

भोट बालकोटे कामरेड पक्ष वा पँचतत्व पक्ष जसलाई हालेपनि र आँखा चिम्लेर छाप लगाई मतपेटिकाभित्र फालेपनि हुन्छ। यिनीहरूको नाम मात्र फरक हो र कामचाहिँ एउटै हो। चुनावमा भोट खसाल्ने बेलासम्म अनेक दोष लगाएर एक अर्कालाई थला बसाल्ने कोसिस गरे पनि यिनीहरूको व्यवसाय र पेसा एउटै हो। यी दुईमध्ये जसको बुई चढे पनि चुनाव पछि गलत ठाउँमा सुइ लगाएर जनतालाई भुइँमा थेचार्ने पक्का छ।

गएको दशकौंदेखि देशलाई चुसेका र राष्ट्रिय ढुकुटीको भित्री भागसम्म घुसेका यिनीहरू जुन पन्थी वा जुन वादी भनिएपनि यही चुनावसम्मलाई मात्रै मिलेका वा बाँडिएका मात्रै हुन्। चुनावपछि नतिजाबाट आउने सिट अनुसार जो हिट भए पनि वास्तवमा यी सबै माथिल्लो स्तरका चिट हुन्। अहिले यता र उता भनेर बाँडिए पनि र चुनावको स्वार्थले भाँडिए पनि भोलि भागबन्डाको अवस्था आएपछि अहिले एक अर्का विरुद्ध देखाएको डन्डा आफूले पाउने भाग अनुसार ठन्डा भइहाल्छ।

अरू सबै कुरामा खटपट गरे पनि मिलेर र मिलाएर खानेकुरामा झटपट कुरा मिल्न नसके यिनीहरूलाई ज्यादै छटपट पर्ने हुनाले सबैतिर लटपट पारेर खान थालिहाल्छन्। यिनीहरूले चुनावमा भाग लिनुको मुख्य उद्देश्य नै यही भएकाले हार वा जितबाट जनताको माग पूरा गर्न भन्दा पनि अनुहारमा जत्रो दाग लागेपनि आफूले खाने पाउने ठाउँ पाउनु नै यिनीहरूको पहिलो माग रहेको छ।

एक अर्कालाई नरमपन्थी वा चरमपन्थी भनेर दोषारोपण गर्दै मतदाता भड्काउने कोशिस गरे पनि खान नपाए गरम पन्थी र खान पाए आँखा चिम्लेर खाने वेशरम पन्थि हुन् यिनीहरू । त्यही भएर चुनावको घोषणापत्रमा कसले के लेख्यो र कसले देश बनाउन कस्तो सपना देख्यो भनेर सोच्नु अनि एक अर्का विरुद्धको पिरो टर्रो छुद्र खालको गाली सुनेर आफ्नोे दिमाग घोच्नु बेकार नै छ।

यिनीहरू कोही भन्दा कोही कम छैनन्। यिनीहरूको अभिवादनमा फरक छ, झन्डामा फरक छ, चुनाव चिन्हमा फरक छ, उम्मेदवारमा फरक छ, भाषण गर्ने शैलीमा फरक छ, प्रचार प्रसार गर्ने तरिकामा फरक छ, चन्दा उठाउने तरिकामा फरक छ, बाहिर हेर्दा बोल्ने तरिकामा फरक छ तर भित्री चाहना, उद्देश्य, कार्यशैली र खुलेआम गर्ने भ्रष्टाचारको तरिकामा कुनै फरक छैन।

यसपालि केही नयाँ अनुहारहरू पनि उम्मेदवारको रूपमा आउने र मतदाताहरूको घर दैलोमा खुबै धाउने छन्। खाने खुवाउने ठाउँमा नपुगेसम्म यिनीहरू निकै आदर्शवादी कुरा गर्न मन पराउँछन्,यदि त्यहाँ पुगे भने पुरानोले यिनीहरूलाई पनि ढुकुटीमा चराउँछन् र आफूलाई पनि महान् भ्रष्टाचारीमा दर्ता गराउँछन्।

भ्रष्टाचार गरी अकुत आर्जन गर्ने मौका हात नपरुन्जेलसम्म मात्रै मान्छेले आदर्शवादी विचार पाल्छन्, बजेट हसुर्ने मौका पाएपछि आदर्श सादर्श फाल्छन्, भेटेसम्म भ्याउन थाल्छन् र पुरानालाई समेत माथ गरेर सफलतातर्फ कदम चाल्छन्।

अनेकतिरबाट ठगानी गरेर भए पनि चुनावमा भएको लगानी उठाउनै पर्‍यो। चुनाव जितियो भने लगानी उठ्ने ग्यारेन्टी भएपनि हारेर बितियो भने केही अन्य उपाय लगाउनुपर्ने र अदृस्य शक्तिहरूलाई जगाउनुपर्ने हुन्छ। जिते त ठीकै छ हार्‍यो भने दिल्ली देखि सात समुन्द्र पारिसम्मकाले खिल्ली उडाउँछन्।

आन्तरिक उठ्ती पुठ्तीबाट जुटेको स्रोत, सात समुद्र पारीदेखि कार्यकर्ता र हितैषीहरूले जम्मा गरेर पठाएको स्रोत, उत्तरबाट विभिन्न च्यानल मार्फत प्राप्त स्रोत, दक्षिणबाट प्राप्त स्रोत आदि आदिलाई आफ्नोे हातमा परेपछि र आफूले खर्च गरेपछि त आफ्नै भन्न परिहाल्यो।

चुनावमा त्यो खर्च भएर मासिएपनि र चुनावको नतिजा नासिएपनि अनि त्यसमा कोको भासिएपनि त्यसै माया मार्न त हुँदै भएन नी । टिकट अरूको, स्रोत अरूको, भोट अरूको भएपछि आफ्नोे त हार वा जित मात्रै हो। जित भए त निकै पुस्तासम्म हिट हुने भयो। हार भयो भने चाहिँ सबैतिरबाट मार खाने र अर्को चुनावबाट मात्र पार हुने हुनाले निकै वर्षसम्म अप्ठ्यारोमा परिन्छ।

यसपालिको चुनावमा जनताले पुरानो आस्वासन पूरा नगरी थप आस्वासन सहित फेरि चुनावमा आएकोमा धेरै सवाल जवाफ गरेर मुन्टो फर्काएको हुनाले चुनावको नतिजाले पनि कम्मर मर्काएको हुन सक्ने हुनाले यसैलाई विरोधीहरूले ठूलो मुद्दा बनाएर चर्काएको र पुरानो फोश्रो आस्वासनबाट मात्र भोट पाईंदैन भनेर भोटरहरूले समेत थर्काएको हुनाले पुराना मैं हुँ भन्नेहरू पनि धर्मराएको अवस्था रहेको देखिन्छ।

चुनाव भन्दैमा र जनतालाई सर्वोपरि भनेर गन्दैमा उम्मेदवारले पनि के गर्न सक्छन् र? देश यही हो, दलहरू यिनै हुन्, नेताहरू यिनै हुन्, उम्मेदवारहरू यिनै हुन् र मतदाताहरू पनि यिनै हुन्। सबैले सबैलाई राम्ररी चिनेका छन् र मौका पर्दा सबैले सबैलाई किनेका छन्। कसैले कसैलाई धाक लगाएर नाक फुलाउनुपर्ने र चिनाउनको लागि गाउँ गाउँ डुलाउनुपर्ने कुनै आवश्यकता नै छैन।

यस्तै भएपनि जनताको काम भोट खसाल्ने, नेताको काम आफूले जित्ने थिति बसाल्ने र दलको काम आफ्नो मान्छेलाई चुनाव जिताएर राष्ट्रिय ढुकुटीसम्म पसाल्ने मात्रै हो। विभिन्न समयमा भएका र हुँदै गएका राजनीतिक परिवर्तन यसैको लागि हो। परिवर्तन पनि नेताले मात्रै ल्याएका हुनाले अहिले सबैतिर उनीहरूले नै भ्याएका हुन्।

जनताको त यसमा खासै भूमिका छैन। जुलुसमा हिँड भनेर नेताले भनेपछि जुलुसमा हिँडे। नारा लगाउ भनेपछि नारा लगाए। सुरक्षाकर्मीको पिटाई र गोली खाउ भनेपछि खाए। सहिद बन भनेपछि सहिद बने। भोट हाल भनेपछि भोट हाले। हामीलाई जिताउ भनेपछि जिताए।

त्यही जीतको आडमा नेताहरूले सबैतिर बिताए र यस्ता नेताहरूले अझ आफ्नोे लागि केही गर्लान् कि भन्ने झिनो आसाले गर्दा जनताले भोट खसालेर नेताहरूकै हित चिताए। परिवर्तन नै नेताहरूले मात्रै गरेको हुनाले उनीहरू नै मजाले ढुकुटीमा चरेकोमा जनताको भन्नु केही छैन। आफूले कमाएको आर्जनमा मजाले आम्दानी हुन सक्ने जति सबै ठाउँ आफैले समाएको र जनतालाई चाहिँ सधैंभरि आस्वासनका पोका मात्रै थमाएको एक हिसाबले ठीकै पनि हो।

निर्वाचन सकिएपछि जसको जमानत हरण भए पनि र चुनावमा हारेर उम्मेदवारहरूको सपनाको मरण भए पनि जित्नेले माथिकोे शरण परेर उसले चलाएको रिमोट अनुसार चल्ने हुनाले कसको भाग्य फल्ने, कसको उम्मेदवार ढल्ने र कसको उम्मेदवार गल्ने भन्ने सित जनतालाई त्यति चासो भए जस्तो देखिन्न।

चुनाव जितेर जुनसुकै गठबन्धन वा पन्थीले पालिका हातमा लिए पनि त्यहाँको भत्ता खाएर माथिल्लो स्थानबाट आउने र समय समयमा आवश्यकता अनुसार पाउने निर्देशन बमोजिमको काम गर्ने मात्रै हो। त्यही भएर पालिका संचालनको लागि खासै दिमाग चलाउन नपर्ने र जनताको लागि कुनै किसिमको विकास निर्माण फलाउन नपर्ने भएपछि मूर्ख वा अनपढ जस्ताले जिते पनि केही मतलब हुने कुरै आएन।

निर्वाचन सकिएपछि जसको जमानत हरण भए पनि र चुनावमा हारेर उम्मेदवारहरूको सपनाको मरण भए पनि जित्नेले माथिकोे शरण परेर उसले चलाएको रिमोट अनुसार चल्ने हुनाले कसको भाग्य फल्ने, कसको उम्मेदवार ढल्ने र कसको उम्मेदवार गल्ने भन्ने सित जनतालाई त्यति चासो भए जस्तो देखिन्न। गठबन्धन,वादी, पन्थी, स्वतन्त्र वा चुनाव अवधीभरिको लागि एक अर्कामा पोइल गएर गाँसिएका र स्वार्थ प्रेरित भएर कसिलो जस्तो देखिने गरी टाँसिएका जसले जिते पनि र जसले हारे पनि जनताको लागि खासै केही हुने होइन।

त्यही भएर चुनावी सभामा कुनै तरिकालेपनि नीति सिद्धान्त बिचार आदि ठ्याम्मै नमिल्ने पँचतत्वको गठबन्धन र बालकोटे कामरेडको गठबन्धन वा अन्य दल तथा स्वतन्त्र जे नाम दिए पनि भविष्यमा यिनीहरूको सबैतिरबाट हाम गर्ने नै उद्देश्य र नीति हो। चुनावी सभामा भकभकाएर नबुझिने गरी अर्ती उपदेश दिएर धर्ती हल्लाउन खोजे पनि, अनेक खाले उखान टुक्कामा जोडेर र कुरालाई चाहे अनुसार मोडेर हाँस्यकलाकारहरुको रोजिरोटि समेत हरण हुने तरिकाले गफ दिए पनि, कुम हल्लाउँदै र आँखा नचाउँदै आफूले गरेको जघन्य अपराधलाई वैधता दिन र घन्टैपिच्छे कुरा फेरेर जनताको समर्थन लिन खोजे पनि यिनीहरू र यिनीहरूको मतियारहरूले जनतालाई आफू शक्तिमा उक्लिने हतियार मात्रै बनाउने हुनाले यिनीहरू सबै एकै ड्याङका मूला हुन्।

त्यसैले जसलाइ छानेपनि वा जसलाइ आप्mनो मानेपनि र जसले कुरा मिलाएर आफूतिर तानेपनि एकै ड्याँगका मुला जुन छानेर र स्वाद मानेर खाएपनि असर एउटै हो। केहि,कतै,कुनै फरक हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *