लमजुङमा एक उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

डिसी नेपाल
१४ वैशाख २०७९ ०:२९

लमजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा उम्मेदवारी दिएका एक जनाविरुद्ध दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।

जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए । उनले भने, “कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङको दाबी विरोध उपर उजुरी आएको छ ।” केही महिना अघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा केश परेको थियो ।

सो विरुद्धमा अदालतमा परेको मुद्दा देखाएर उहाँले दाबी विरोध उपरको उजुरी दिएका छन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने उनले बताए।

उक्त कतिलालाई अदालतले एक महिना कैद र रु १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत काफ्लेले बताए । जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ । जिल्लामा विभिन्न पदका लागि एक हजार १४७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *