चलचित्र ‘लभ स्टेशन’ चैत एकबाट देशभरिका हल हलमा

डिसी नेपाल
४ पुष २०७५ ४:१०

काठमाडौं । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ चैत १ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ।

यस अघि यो फिल्मलाई फागुनको अन्तिम तेस्रो साता वा चैतमा रिलिज गर्ने भनिएको थियो। यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोविन्द शाहीले बुधबार लभ स्टेशनको रिलिज मिति घोषणा गर्दै यसलाई १ चैतमा रिलिज गर्नुको कारणबारे भने, ‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो।’

हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेशनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि उनले बताए। चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायाँकन चाँडै नै गरिनेछ।यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो। चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन्।

हाल अष्ट्रेलियामा रहेका अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन्। अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए। लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *