पत्रकार महासंघ रसुवाका सचिवसहित तीन पत्रकार चुनावी मैदानमा

डिसी नेपाल
२५ वैशाख २०७९ १६:४१

रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।

महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका-१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका-६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् ।

रसुवामा पाँचवटा पालिका छन् । जसमा २७ वटा वडा छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । निर्वाचनमा चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदका लागि निर्वाचन हुनेछ । जसमा पाँचजना निर्विरोध भइसकेका छन् । तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *