किसानको आफ्नै उत्पादन, आफ्नै बजार

डिसी नेपाल
२६ वैशाख २०७९ १०:२८

झापा। देश चुनावी चटारोमा छ। उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ। उम्मेदवार घर–घरमा पुगेका छन्। तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ। कृषिक आफ्नै काममा मस्त छन्।

गौरादह–८ की सुगवती राजवंशी वर्षभरि सिजनअनुसारको खेती गर्छिन्। यसपटक उनले आठ कठ्ठामा काउली लगाएकी थिइन्। ६ कठ्ठामा साग, परवल, भेन्डीलगायतका तरकारी लगाएकी छिन्। उनको परिवार कृषि पेसाले नै चलेको छ। विशेष गरेर उनी तरकारी खेती गर्छिन्। राज्यले उनको खेती देखेको छैन। तर, आफ्नै बलबुताले खेती गरिरहेकी छन्। ‘चुनावमा जसलाई जिताए पनि उस्तै हो। हामी किसानको समस्या जहाँको त्यहीँ हुन्छ,’ उनी भन्छिन्, ‘भोट माग्न त आउँछन् । तर, हामी आफ्नै काममा व्यस्त छौँ। जितेपछि अनुदान पनि आफ्नै मान्छेलाई दिन्छन्।’

उत्पादन गरेका कृषिउपज विचौलियालाई दिन्नन्, रनजवंशी। ग्रामीण र गुद्री बजारमा आफैँ लगेर बिक्री गर्छिन्, उनी। अर्थात् उनको आफ्नै उत्पादन र आफ्नै बजार छ। ‘गाउँमा किन्नेलाई दिँदा त आधा पनि भाउ दिँदैनन्। त्यस्रले बजारसम्म आफैँ लान्छु,’ उनी भन्छिन्। उनका बजार गौरीगञ्ज र गौरादह हो। ‘गौरीगञ्ज हप्तामा दुईपटक लाग्छ। गौरादह हप्तामा दुईपटक लाग्छ। म यही दुईवटा बजारमा लान्छु,’ उनी भन्छिन्, ‘व्यापार पनि राम्रो भइरहेको छ।’ तरकारी उत्पादनले उनको परिवार राम्ररी चलेको छ। ‘परिवार चाहिँ राम्ररी चलाउन सकेको छु, उनी भन्छिन्।

गौरादह–७ की नेहमती राजवंशी आफैँले उत्पादन गरेको कृषिउपज आफैँ बजारसम्म ल्याउँछिन्। यसरी आफ्नो उत्पादन आफैँ बजारसम्म ल्याउँदा केही नाफा हुन्छ। यसपटक उनले तीते करेला उत्पादन गरेकी छन्। तर, यसपटक करेलाको मूल्य घटेको छ। भारतीय तरकारीले बजार ढाक्दा नेपाली कृषक मारमा छन्। ‘पहिला एक सय रुपैयाँ किलोसम्म विक्री गर्थ्याैँ। यसपटक मूल्य नै छैन। ३० रुपैयाँदेखि ४० रुपैयाँ केजीसम्म बिक्री गर्नुपरेको छ। बजारमा धेरै भएर पनि हो। इन्डियाबाट आउने तरकारी सस्तो भएर पनि होला,’ उनले भनिन्।

विश्वेश्वरप्रसाद मेहेताले गौरीगञ्जमा एक बिघा तरकारी खेती गरेका छन्। उनी गौरादह र गौरीगञ्जको स्थानीय बजारमा तरकारी आफैँ बिक्री गर्छन्। तर, विगतको तुलनामा नाफा कम हुने गरेको उनी बताउँछन्। ‘मल भनेको बेला पाउँदैन। इन्डियाबाट ल्याउँदा मल पनि महँगो पर्छ। तर, तरकारीको मूल्य बढ्दैन,’ उनी भन्छन्, ‘भारतबाट आउने तरकारीले हामीलाई मर्कामा पारेको छ। उता मल पनि सस्तो हुन्छ। त्यसकारणले सस्तोमा बेच्दा पनि नाफा हुन्छ। तर, हाम्रो त्यस्तो हुँदैन। खेती गर्दा खर्च धेरै लाग्छ। तर, खर्च उठाउन पनि मुस्किल पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *