अमेरिकामा चुनाव र ह्यारी भण्डारीभित्रको राजनैतिक चेत
मान्छे समाजबाट उब्जेको एउटा प्राणी हो । समाज भनेकै विभिन्न प्रकारका सोच, विश्लेषण, संस्कृति, जातजाति, खानपिन आदिले कसिएको एउटा डल्लो हो। जहाँ राम्रा-नराम्रा, साना विचारका ठूला विचारका, असल, भ्रष्ट, घातकी, पातकी, धनी गरिब आदि आदिले बनेको भकुन्डो हो समाज। भकुण्डोरूपी समाज समयानुसार घुमिरहन्छ र घुम्नु आवश्यकता पनि हो। जसलाई परिवर्तन भन्ने गरिन्छ।
मान्छेले समाज छोडेर भिन्न बस्न सक्दैन। कति राम्रा, अलिकति नराम्रा पनि हुन्छन्। कति नराम्रामा अलिकति राम्रोपन मिसिएको हुन्छ। सबै राम्रैराम्रा त कोही नराम्रै नराम्रा भन्ने बिरलै हुन्छन्। भनौँ यस्तै मिसमासले समाज बनेको हुन्छ वा यस्तै समाजले मान्छेको बानी निर्धारण गर्छ।
अब नेताका बारे केही बोलौँ। नेतालाई पनि त्यही समाजले बानाउने हो। त्यही समाजले चिनाउने हो। शिक्षा दिने हो, सकेको। समाजजस्तै नेता पनि उस्तै हुन्छन् र हुनुपर्ने हो। अहिलेको अवस्थामा विपी र महात्मा गान्धीको कुरा म गर्दिनँ। गणेशमानजीलाई पनि आफ्नै श्रीमती र छोरा मात्र बोकेको आरोप समाजले लगाएको थियो । समाजले कस्तो नेता बनाउँछ भन्ने कुरा नेपालको राजनैतिक परिवेशलाई हेर्दा पनि भयो।
तथापि नेपालमै जन्मेर विश्वको कुनै पश्चिमा मुलुक अझ भनौँ अमेरिका पसेपछि ती नेता कस्ता हुन्छन् वा देखिन्छन्? तिनीहरूले त्यो समाजमा के के गर्न सक्छन्? भनेर नाम दिन मिल्ने एउटा दह्रो उदाहरण हुन् “एच बि भण्डारी” अर्थात् “हीरबहादुर भण्डारी” वा “ह्यारी भण्डारी।”
तेईस वर्षकै उमेरमा स्कुलको प्रिन्सिपल भइसकेका ह्यारीले त्रिभुवन विश्वविद्यालयबाट दुई विषयमा मास्टर्स गरेका छन्। हालै मात्र अमेरिकामै भाषा, साहित्य र संस्कृति विषयमा मेरिल्याण्ड विश्वविद्यालयबाट विद्यावारिधिसमेत हासिल गरेका ह्यारी सन् २००५ सालमा अमेरिका बसाइ सरेका हुन्।
उनमा राजनीतिको चेत त छ नै उनी नेपाली भाषा र साहित्यमा पनि कलम चलाउँछन्। कविता र समीक्षा पनि उस्तै बेजोड लेख्छन् उनी। पर्वत जिल्लाको तात्कालीन थापाथाना गाविस र हालको फलेबास नगरपालिकामा जन्मिएका ह्यारीले शङ्करपोखरीस्थित सरकारी स्कुल त्रिभुवन माध्यमिक विद्यालायबाट स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) पास गरेका हुन्।
आफूलाई मनपरेको विषयमा साह्रै गहिरो अध्ययन गरेर मात्र हाम फाल्ने बानी भएका उनी अमेरिका छिर्नेबित्तिकै पुन: शिक्षक पेसामा लागे। टाउसनस्थित कम्युनिटी कलेजमा शिक्षक पेसा सुरु गरे उनले। अनुभवी साथीहरुसँग बरोबर सल्लाह लिने उनले सथीहरुकै सल्लाहअनुसार शिक्षक सङ्गठनमा उमेद्वारी हाल्ने निर्णय गरे र सफल पनि भए।
अमेरिका कम्युनिटी कलेज शिक्षक सङ्गठनको उपाध्यक्ष बने। यसले उनलाई ठूलो हौसला दियो र उनी आफ्नो जिम्मेवारीप्रति चिन्तित बने। अमेरिकामा पनि नेपालीले केही गर्न सक्छन् भन्ने लाग्यो उनलाई । यसैलाई उनले अमेरिकामा आफ्नो पहिलो राजनैतिक फड्को मानेका छन्।
आफ्नो कार्यक्षेत्रमा अति मेहेनेत र निडरताका साथ अगाडि बढ्ने स्वभाव भएका उनी अमेरिकाको युथ डेमोक्रेटमा प्रवेश गरे। अमेरिकाको युथ डेमोक्रेटमा पदीय जिम्मेवारी लिन उमेरले ३६ वर्षभन्दा कम उमेर हुनपर्ने हुन्छ। उनी त्यतिवेला ३५ वर्षका थिए । अर्को विशेष कुरा युथ डेमोक्रेटमा पदीय जिम्मेवारी लिन धेरै प्रतिस्पर्धा पनि हुन्छ। भाग्यको कुरा पनि हो।
अमेरिकामा पार्टीभित्र कसैले लिइरहेको पद खोस्ने र हतोत्साही बनाएर फाल्ने चलन छैन । उसले गरुन्जेल वा चाहना राखुन्जेल उसैलाई लड्न दिने चलन छ। स्मरण रहोस् अमेरिकामा जहाँ पार्टीको जुन पक्कड छ त्यहाँ कमजोर नेतालाई इच्छा राखेकै भरमा उठ्न दिँदैनन् पनि।
समयले साथ दिएको पनि हो क्यालिफोर्नियामा भएको युथ डेमोक्रेटकोमहाधिवेशनमा सचिव पदको जिम्मेवारी लिन सफल भए । यतिवेला उनलाई ठूलो चिठ्ठा परेझैँ लाग्यो । तर उनी सफल हुनुमा उनको मेहेनतको फल हो यो भन्छु म । मलाई सम्झना छ, उनले यी दुवै फड्कोमा मसँग विषेश सल्लाह गरेका थिए । प्राय: उनी नयाँ फड्कोहरूमा मसँग पनि सल्लाह लिने गर्छन्।
मलगायत धेरै साथीहरुको सल्लाह र हौसलाले सधैँ सफल पनि हुँदै गएका छन् । जिन्दगीका अर्थपूर्ण, समाज र नेपालीहरुसँग पनि जोडिने खालका निर्णयहरू सल्लाह र सुझावबाटै निर्णय गर्नु उनको एउटा सफल राजनीतिज्ञ हुनुको परिचय पनि हो । तन, मन, धन सबैपक्षबाट केही साथीहरुले नि:स्वार्थ सहयोग पनि गरेका छौँ।
एक दिन उनले फोन गरेर लामो कुरा गरे र भने- “म अमेरिकाको मूल राजनीतिमा होमिन्छु। डेमोक्र्याट पार्टीको नेतृत्वको रूपमा खडा हुन्छु ।” यसो भनिरहँदा उनी निश्चित रूपमा ‘के भनिरहेको छु ?’ भन्ने कुरामा पक्का थिए । धरमरो थिएन उनको भनाइ।
मैले- “हुन्छ र गर्न पनि पर्छ । लाग्नुहोस् । मबाट सकेको सहयोग हुनेछ” भनेपछि उनलाई थप बल मिलेझैँ भयो । परिवार र वरपरका छिमेकीहरुको सहयोग त छँदै थियो। बाल्टिमोर काउन्टीको टाउसन क्षेत्रमा एउटा पूरानो लेजिस्लेचरले रिटायर्ड हुने कुरा गरेपछि उनैको पनि सल्लाह लिएर पार्टीबाट छनौट हुन केही चन्दा सङ्कलन गरे र उमेद्वारी दिए।
अमेरिकाभित्रका धेरै शहर र जिल्लाहरूमा अवस्थित धेरै साथीहरू र संस्थाहरूले तन मन र धनले सहयोग गरे । अमेरिकामा पार्टीभित्र कसैले लिइरहेको पद खोस्ने र हतोत्साही बनाएर फाल्ने चलन छैन । उसले गरुन्जेल वा चाहना राखुन्जेल उसैलाई लड्न दिने चलन छ । स्मरण रहोस् अमेरिकामा जहाँ पार्टीको जुन पक्कड छ त्यहाँ कमजोर नेतालाई इच्छा राखेकै भरमा उठ्न दिँदैनन् पनि।
धेरै भोटर क्याम्पिङ र सिग्नेचर, चन्दा, पुराना नेताको सपोर्ट नभई पार्टीभित्रै पनि लड्न पाउँदैनन्। सबै काम भरोसालायकको भएमा मात्र एउटा इच्छाधारीले पार्टिभित्र चुनाव लड्न सक्छ र उक्त चुनावमा निर्वाचन अयोगले पक्ष-विपक्षको राष्ट्रिय चुनावजस्तै गरेर पार्टीभित्रका प्रतिस्पर्धिहरूमध्ये बढी मत ल्याउनेलाई निर्वाचित घोषणा गर्दछ।
यस चुनावमा पनि आम जनचासो हुने हुँदा ठूलो प्रतिस्पर्धा भई सरकारीस्तरकै चुनाव लडेसरह हुन्छ । सेलेक्ट म्यान (गासस) टाउन म्यानेजर वा सिटीका मेयर (नेपालमा नगरपालिका वा गाउँपालिका अध्यक्षजस्तै), स्टेट्का गभर्नर, तल्लो सभा वा उपल्लो सभा सांसद, ह्यारी लडेको पदजस्तो जिल्ला सांसद (लेजिस्लेचर) होस् वा सबैभन्दा उपल्लो पद राष्ट्रपति होस् सबै पदमा लड्न प्रथमतः पार्टीभित्रको प्रतिस्पर्धा जितेर आउनुपर्छ । प्रशस्त चन्दा सङ्कलन गर्नुपर्छ।
जनताबाटै चन्दा उठाउनुपर्छ र त्यसको पनि सिमित हुन्छ । एकै जनासँग धेरै चन्दा लिएर नेता बेचिन पाउँदैन। चन्दा नगदमा लिन मिल्दैन। हिसाब अति पारदर्शी हुनुपर्छ। आफूले चन्दा लिने वा लिएका व्यक्तिहरूको विवरण निर्वाचन आयोगले मागेमा तुरुन्त दिन सक्नुपर्छ। अनावश्यक खर्च वा शीर्षक नमिल्ने खालका खर्चहरु गर्न पाइन्न । चुनावमा प्रत्यक्ष खटिएका कर्मचारीलाईबाहेक खानपिन वा मोजमस्ती भोज दिन पाइँदैन।
यी आदि कुरा र बाधा अड्चनलाई छिचल्दै ह्यारी अगाडि बढे । तर पहिलो अन्तर पार्टीको चुनावमा उनले हारे । हामी धेरै दुःखी भयौँ । बस्टनलगायत धेरै शहरका दाताहरुले फेरि अर्को रौनियार आयो पनि भने। योभन्दा केही वर्षअगाडि वाशिङ्टन स्टेट्का सांसद पदका लागि उठ्ने तयारी गरेका उमेद्वार मिस्टर रौनियारले जीत सुनिश्चित छ भनेर अमेरिकाभरिका नेपाली मुलुकेहरूलाई उत्साहित बनाए र रातबेरात फोन गरेर यति ‘थप्न पर्यो, म अलिकति पछाडि छु, थोरै पुगेन’ भन्दै फोन गरेर बबन्डर मच्चाए । पैसा पनि निकै उठ्यो।
तर उनले पार्टीभित्रकै प्रतिस्पर्धीहरुसँग हारे । म पनि दुई-चार कल भेट्ने नेपालीमा परेको थिएँ । तर चुनावको नतिजा निकै लाजमर्दो आयो । निकट्तम प्रतिद्वन्दी भन्न पनि लाज हुने गरी मत प्राप्त गरे । म यस आलेखमा मतको सङ्ख्या खोल्दिनँ । तर सहयोगीहरूलाई समेत फोन गरेर धन्यवाद वा प्रयास विफल भयो पनि भनेनन् उनले। सुनिन्थ्यो, अहिले उनी नेपाली राजनीतिमा लाग्दै छन् रे ! भगवान् जानून् ।ह्यारीले भने झिनो मतले हारे । उनले ढुक्क भएर फोन गरे सबैलाई र “म अर्को चुनावलाई पर्खिने छु।” भने ।
अर्को चुनावमा ह्यारीले जिते । पार्टीको पनि र लेजिस्लेचरको बाहिरी चुनाव पनि । राम्रै मतले जितेर उनी तीन लेजिस्लेचरमा दुई डेमोक्र्याट र एक रिपब्लिकनले थन्क्याएको तीन जनामा दोस्रो धेरै मत ल्याएर जित्ने पहिलो साउथ एसिएन लेजिस्लेचर बन्न पुगे । अमेरिकी राजनीतिक ओहोदामा पुग्ने नेपाली मूलका पहिलो र यति ठूलो व्यक्ति पनि बने ।
यद्यपि तयारी त्यति सजिलो थिएन । उनको घर, उनका छिमेकीहरूका घर, उनको चुनाव प्रचारको लागि भाडामा लिइएको अफिस चुनावमय भएको थियो । कोही ब्यानर बनाउँदै देखिन्थे त कोही प्लेकार्डहरु लौरोमा अड्काइरहेका थिए। उनका आमा-बा, श्रीमती सङ्गीता, साना दुई छोरा-छोरी, भाइहरू त खानपिनसमेत छोडेर प्लेकार्ड बनाउन र घरघर ह्यारीसँग हिँड्न व्यस्त थिए।
लाग्थ्यो, एउटा भव्य विवाहको वा यस्तै कुनै ठूलो कार्यक्रम आउँदैछजस्तो भएको थियो त्यो पुरै टाउसन एरिया । ह्यारी कतिसम्म तागत लगाउँछन् चुनावका लागि वा कति चिन्तित छन् भन्ने उनको लगनशीलताले देखाएको थियो । नेपालमा जस्तो कार्यकर्ता लिएर आमसाभामा भाषण ठोकेर जथाभावी बोलेर चुनाव जित्न सकिँदैन अमेरिकामा। धेरै साथीहरू चोक-चोकमा प्लेकार्ड बोकेर सबै सवारी साधनहरूलाई हात हल्लाइरहेका थिए।
अरु उमेद्वारको भन्दा ह्यारीको चहलपहल उच्च थियो र जनताको चासो पनि उच्च थियो । यसले हाम्रा कार्यकर्तालाई उत्साहित बनाएको थियो । जताततै ह्यारीमय भएको देखेर हामीले जीत सुनिश्चित मानेका थियौँ । तर कता कता ‘चुनाव हो भन्न सकिन्न’ भन्ने पनि लाग्थ्यो ।
ह्यारी शिक्षक भएकोले उनको मूल नारा शिक्षाको विशेष विकासमा थियो र आम जनसमुदायले यसलाई समर्थन गरेका थियो। दिनभरको चुनावको दौडधूप र झमझम पानीको बाबजुद पनि ह्यारीको नथाक्ने बानी, साथीहरूको सहयोग र सेता, काला, एसियन आदि जनताको मतले ह्यारीले चुनाव जितेको खबर त्यही साँझ आयो । चुनावमा जितेका दुवै र हारेको एक सभासद केही कार्यकर्ता समर्थकहरुसँगै भाषण र खानपिनपश्चात् आ-आफ्ना घर फर्के।
सबै नेपाली र नेपालीको संस्कार, रितीरिवाज, परम्परा, र मुख्यतः भाषालाई अमेरिकाको सेतो घर (ह्वाइटहाउस) मा वैधानिकतवरले प्रवेश गराउने व्यक्तिको रूपमा दरिए, ह्यारी ।
एकै दिनमा सबै गर्न सक्ने जादुको छडी त कोसँग हुन्छ र ! तर उनी हरेक क्षण नेपाल र नेपालीका लागि चिन्तित रहेका हुन्छन्। हरेक भेटमा, हरेक छलफलमा, मिडियाहरुमा उनले यस्तोचिन्ता व्यक्त गरेका हुन्छन्- ‘नेपाली समाजलाई कसरी पहिलो दर्जामा लाने ?’ यस्तै कुरा गरिरहन्छन्।
अमेरिकाको मेरिल्यान्ड राज्यको कानुन बनाउने र सदनबाट पास गर्ने, जनतासँग प्रत्यक्ष भेटेर समस्या बुझ्ने काम गर्दछन् उनी । निरन्तर त्यस्ता कानुनहरुको अवसर पाए नेपाली भाषा, साहित्य, संस्कृतिलाई टेवा पुर्याउने खालका कानुन पास गर्न जोड गर्छन् ।
नेपाली संस्थाहरूलाई सक्दो तन, मन, धन र सरकारी व्यवस्थाबाट मिलेसम्मको सहयोग जुटाइदिन्छन् । जस्तै, नेपाली संस्कृति झल्काउने गरी निर्माण गरिएका विभिन्न संरचनाहरू र यहाँस्थित सँस्था बाना र नेपाली मन्दिरलाई जुटाएको लाखौँ डलर सहयोगको उदाहारणहरू ताजा नै छन् ।
वर्षको तीन-चार महिना संसदको काम चल्छ । त्यसपछि भने उनी आफ्नो काम ‘पढाउने पेसा” मा फर्कन्छन् । सदन चल्दा आएको भत्ताले उनलाई वर्ष दिन टार्न पुग्दैन । अतः कलेजका विद्यार्थीलाई पढाउन पुग्छन् ह्यारी । उनले जितेको त्यो पद सामाजिक काममा पर्छ र त्यसमा तलब होइन बैठकभत्ता मात्र हुन्छ।
नेपालका नेतालेजस्तो हात मार्ने विचार उनी सोच्न पनि सक्दैनन् । कुनै ठकेदारसँग चन्दा लिएर उसको ठेक्का पास गर्न यहाँको कानुन र समाजमा परम्परा छैन । अरुले गरेको सिकेर गर्ने न हो । त्यो यता चल्दैन । जे भए पनि ह्यारीको अमेरिकन राजनीतिमा हुने विकास भनेको नेपाली अमेरिकनहरूको पनि विकास हो ।
कस्ता छन् त ह्यारीका दिनचर्या ?
ह्यारीमा मैले पूर्ण सफल राजनेताको गुण देखेको छु र उनी समाजचिन्तक पनि हुन् । उनी व्यवहारिक पनि छन् । कोही घरमा आउँदै छ भने उनी ‘खाना खाने गरी आउनू’ भनी अनुरोध गर्छन् र खाना खाने गरी आएका पाहुनालाई आफू नखाइ कुरेर बस्छन् । ह्यारीकी श्रीमती सङ्गीता भण्डारी पनि हाँसेर सबैको स्वागत गर्छिन् झिँजो नमानी ।
घरमा आएका नेपालीलाई स्वागत गर्न उनी दैलो वा पिँढीसम्म पुग्छन र प्रथमतः ‘यात्रा कस्तो रह्यो ? घरमा सबैलाई सन्चै छ ?’ भनेर सोध्ने गर्छन् । बाँकी गफ नेपाली राजनीति र नेपाल देशबाट सुरु गर्छन् उनी । नेपाली राजनीति र अमेरिकन राजनीतिका विषयमा तुलनात्मक विश्लेषण गर्छन् ।
नेपालमा ठूलो राजनैतिक चिन्तक थिएनन् उनी तर पनि प्रजातन्त्र र बहुदलीय व्यवस्थाप्रति आस्था राख्थे उनले । तर नेपालको राजनीतिलाई नजिकबाट हेरेका भने थिए । उनको परिवारिक पृष्ठभूमिमा पनि जिल्ला र गाँउस्तरको राजनीतिमा होमिएका ठूला बा र दाजूभाइहरु थिए ।
उनी छक्क पर्छन्, हाल नेपालको राजनीतिज्ञहरुको अवस्था र कार्यशैली देखेर । प्रजातन्त्र आएको यत्रा वर्षहरू बितिसक्दा पनि नेपालको हालत देखेर, कानुन र अदालतहरुको काम गर्ने तरिका देखेर, मन्त्रीहरू प्रधानमन्त्रीको कार्यशैलीमा विकास नभएको देखेर दुःखी र चकित पनि देखिन्छन् । गरिबहरुरूको अवस्थाका कुरा बारम्बार निकाल्छन उनी ।
खाना खाइरहँदा पनि संस्कार परिवर्तन, नेपालको दिगो विकासको योजना बनाइरहन्छन् । अनि केहीबेर अमेरिकन राजनीतिका कुरा गर्छन् । ‘नेपाली समाज कति टाढा छ अमेरिकन राजनीतिमा ! कसरी मुख्य राजनीतिमा नेपाली छिर्न सकिन्छ ? छिरेर के फाइदा छ ?’ उनी एसियन ककस को कुरा पनि थप्छन् ।
‘हाल आफूले के गर्दैछु ?’ भन्ने विवरण सुनाउँछन् र अमेरिकन राजनीतिका बारेमा बुझाउँछन् । यी सबै कुरा समय र मान्छे हेरेर पनि फरक पर्दा हुन् । तर म छक्क पर्छु, उनमा भएको ऊर्जा देखेर ! उनी काम गरेर थाक्दैनन् । नेपाली समुदायमा परेको सहयोग गर्न, जुनसुकै अफिस वा जेसुकै होस् वा अदालत नै किन नहोस् त्यहाँ विनाहिचकिचाहट पुगेर सहयोग गर्छन् । जुनसुकै राज्य होस् मर्दापर्दा ह्यारीको सहायोग पुगेकै हुन्छ ।
सबैभन्दा ठूलो कुरा उनी कसैको कुरा काटेर समय बर्बाद गर्दैनन् । खानपिन पार्टी र अर्थहीन समारोहमा बसेर नचाहिने गफमा भुल्दैनन् । उनी सधैँ समाजिक र राजनैतिक चिन्ताका समसामयिक विषयमा कुरा गर्छन् । रक्सी, चुरोटलगायतका दुर्व्यसनबाट टाढा छन् उनी ।
तर मजाको कुरा, कुनै पाहुनाले पिउन र रमाइलो गर्न चाहे भने घरमै पनि व्यवस्था मिलाइदिन्छन् । उनीहरूसँग बसेर समाज र राजनैतिक चर्चा परिचर्चा गर्दै रमाइलो मसिएको पनि पाइन्छ । डान्स क्लब, बार रेस्टुरेन्टमा बस्ने वा लामो छुट्टी लिएर बस्ने समय छैन उनीसँग । श्रीमती र छोराछोरी लिएर सायदै लामो ड्राईभ वा विदा जालान् ।
पाहुनालाई बिदा गर्दा ‘मैले केही गर्न सक्छु यहाँ र यहाँको परिवार वा यहाँ बसेको संस्थाको लागि ?’ भनेर सोध्ने उनको बानी रहेको छ । छुट्ने वेलामा बाहिरसम्म आएर बडो आदरपूर्वक बिदा गर्छन् । परिपक्व चेतना बोकेको एउटा सफल राजनीतिज्ञजस्ता छन् उनी ।
नेपाली राजनीतिको इतिहासमा विश्वेश्वर कोइरालाको यस्तै बानी थियो। आफूलाई भेट्न आएका पाहुनाप्रति । यसरी हेर्दा पनि ह्यारी एक कुशल राजनीतिज्ञ हुन् । अमेरिकी राजनीतिमा नेपाली मूलका दोस्रो विश्वेश्वरप्रसाद कोइराला हुन् भन्दा अतिशयोक्ति नहोला उनलाई ।
हरेक देशका राजनीतिज्ञहरूको बानी फरक-फरक हुन्छ र नेपालको त कुरै नगरौँ । मैले माथि नै भनेको छु- “के नेपाली समाजमा पनि ह्यारीजस्तै कुशल नेता र समाजमुखी राजनीतिज्ञ हुन सक्लान् ? कि नेपाली समाजले उनीजस्तालाई आफ्नै जाँतोमा पिस्थ्यो ?” समाज अनुसार व्यक्तिहरूको बानी फरक हुन्छ ? यतिवेला एउटा नेपाली उखान भन्न मन लाग्यो- ‘कुनै भेडी करले ब्याउँछन् त कुनै भेडी रहरले ब्याउँछन् ।’ के समाजले आफूजस्तै बनाउँछ त सबैलाई ? यस्ता कुराले मलाई टोकिरहन्छ।
उनी लेजिस्लेचर वा कंग्रेसम्यान मात्र नभई मेरिल्याण्ड राज्यको गभर्नर, संसद हुने तयारीमा छन् र हुन पनि धेरै समय छैनझैँ लाग्छ । उनी रोकिनेवाला पनि छैनन् । अमेरिकामा जन्म नलिएका आप्रवासीहरुले लिन सक्नेसम्मको राजनैतिक पद लिएर नेपालीको शिर उच्च पार्न सक्छन् भन्नेमा म निश्चित छु ।
मेरिल्याण्ड मात्र हैन अमेरिकाभरिका नेपालीहरुको चाहना र समर्थनका केन्द्रबिन्दु बनेका छन् ह्यारी । उनलाई देश-विदेश सबैतिरबाट सहयोग सल्लाह मिल्नुपर्छ र मिल्ने छ भन्ने विश्वास गर्दछु । नेपालमा पनि हाल राजनैतिक चर्चा भइरहेको छ ह्यारीको। दलहरुमा र संसदमा समेत ।
माओवाद बोकेका प्रचण्डका बारे अमेरिकामा एउटा रमाइलो र भन्नै पर्ने प्रसङ्ग- कुनै नेपालीबाट अदालतमा उजुरीको आपत खेप्नुपर्दा अमेरिकन प्रशासनले समात्ला कि भन्ने डरले अचानक ह्यारीको शरण लिन मेरिल्याण्डको संसद पुगेका थिए, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीलाई साथमा लिएर, प्रचन्ड ।
संसदमा बसिरहेका ह्यारी र केही अरू लेजिस्लेचरहरूसँग फोटो खिचेर प्रचण्डपुत्रीले फेसबुकमा यसरी पोस्ट्याएकी थिइन् “प्रचन्डले मेरिल्यान्णको राज्या सभालाई सम्बोधन र सभाले उनलाई गरेको सम्मान” यो समाचारमा सत्यता थिएन। योभन्दा अगाडि ह्यारी र दाहाल परिवारको व्यक्तिगत परिचय सयद थिएन ।
हाल ह्यारीले दुई वर्षे कार्यकाल सकेर फेरि बाल्टिमोर काउन्टीबाट कंग्रेसम्यान लड्दै छन् । उनलाई डेमोक्र्याट पार्टीबाट सहमति मिलिसकेको छ । फेरि हामी सबैको सहयोग चाहिएको छ । हामीले हाम्रो पहिचान बढाउन पनि उनलाई सहयोग गर्नुपर्दछ ।
यो सहयोग ह्यारीको स्वार्थको लागि भन्दा पनि नेपालीलाई विश्वभर फैलाउनको लागि हो। जो व्यक्ति व्यक्तिगत स्वार्थि नभई सामाजिक स्वार्थि हुन्छ त्यो व्यक्ति समाजको हुन्छ, देशको हुन्छ । अनि ऊ देश, समाजबाट संरक्षित हुन्छ र हुनु पनि पर्छ । ह्यारी भण्डारीलाई अझ धेरै शुभकामना !
Facebook Comment