व्यंग्य : छलछामको भर, हारिने डर

डिसी नेपाल
७ जेठ २०७९ ७:१०

यसपालिको स्थानीय निर्वाचनमा स्थानीय भन्दा पनि राष्ट्रिय वा शिर्ष तहका नेताहरु बढी चिन्तित, सक्रिय र तल्लिन भएर लागेको, जनताका आवश्यकताका कुराभन्दा एकअर्कालाई जानेसम्मको गालिगलोजको लागि जागेको, जनतालाई रिझाएर वा खुसी बनाएरभन्दा धम्की दिँदै भोट मागेको र बिद्रोही वा बागी उम्मेदवारहरुको सामना गर्न नसकेर आतेपाते भाषण गरेर भागेको जस्ता रमाइला दृश्य हेर्न पाउँदा मतदाताहरु आनन्दित भएका छन्।

जनताका आवश्यकताका एजेण्डा, नयाँ कार्यक्रम, नयाँ सोच, नयाँ अनुहार, नयाँ दृष्टिकोण आदि केही नभएपनि भोट आफ्नालाई नै हाल्न धम्कीसहितको अनुरोध गरेर निर्वाचन पछि साबिक बमोजिम रद्दीको टोकरीमा फाल्न उद्यत भएजस्तो देखिएपनि कुरा त्यसो होइन भनेर सबैले आफैं जान्न र नेताहरुको भनाइलाई मान्न पर्छ।

उहाँहरुले भने बमोजिम भनेकै उम्मेदवारलाई नजिताए देश भारी दुर्घटनामा जाने र आफ्नो खाइपिइलाई अर्कैले खोसेर लाने अनि यसैगरि अर्कोले लामो समयसम्म बाँडीचँुडी खाने भएकोले यस्तो कार्य असल जनताले गर्नै हुँदैन भन्ने शिर्ष नेताहरुको भनाइलाई मनन गरिदिएर उहाँहरुको लुटेर र कुटेर खाने परम्परागत अधिकारलाई हनन गरिदिन हुँदैन।

देश र जनताको तत्कालीन आबश्यकतालाई मध्यनजर राखेर गरिएको गठबन्धनले सबैको आवश्यकता पूरा गर्ने कुराको बारेमा नचाहिँदो भ्रम छरिएको र जे जसरी हुन्छ आफन्तलाई जिताउन अघि सरिएको अनि यो गठबन्धन पुरै स्वार्थले भरिएको र सबैथोक बिर्सेर एकाघरवालालाई जिताउन अपहत्ते गरेर मरिएको भन्ने अर्काथरिले फैलाएको हल्लातिर पटक्कै ध्यान दिन हुँदैन भन्ने जनताले बुझिसके।

स्वघोषित महान नेता भनेर प्रख्यात खुमलटारे कामरेडकी छोरीले एक कार्यकाल खाइसकेको र त्यहाँबाट के कति शुभलाभ गर्न सकिने रहेछ भनेर राम्ररी चाल पाइसकेको भरतपुर महानगर पालिकामा अर्कोलाई लाभ उठाउन दिन त हुँदै हुँदैन भन्ने सबैको ठम्याइ छ।

स्वघोषित महान नेताको छोरीले जहाँबाट उम्मेदवारी दिने र बिजय माला लिने इच्छा गर्छिन् त्यहाँको मैदान खाली गराएर उनको सदिच्छा पूर्ति गरिदिन अघि सरि दिनै पर्ने गठबन्धनमा गाँसिएका र यस्तै बाँडीचुँडी खान टाँसिएका शिर्षहरुको बाध्यतालाई असल जनताको नाताले सबैले सकारात्मक तरिकाले लिइदिन पर्छ।

उहिले उहिलेका शासकहरुका छोरीहरुको पुतलीको बिहेमै करोडौँको दाइजो दिइन्थ्यो र सेवकहरुलाई पारिश्रमिक दिन नसकेको समयमा त्यही रकमबाट सबैले बर्षौँसम्म तलब लिइन्थ्यो भन्ने खासगरि मुगल सम्राटहरुको इतिहासमा पढ्न पाइन्छ। त्यसलाई हेरिकन त बिचरी स्वघोषित महान नेताको छोरीको हकमा यो त केही पनि होइन।

एउटा जाबो मेयरको पदको लागि स्वघोषित महान नेताको स्वघोषित महान बिकास प्रेमी छोरीको चित्त दुखाउने कार्य ज्यादै निन्दनीय अन्तरगत पर्ने निश्चित छ। यही कुरालाई भित्री मनदेख नै मनन गरेर बहालवाला र पुर्व गरि आधा दर्जन जति सरकार प्रधानहरुको साथै सत्र पल्ट सरकार प्रधान पड्काउन खोज्दापनि त्यसलाई छड्काउन नसक्ने बरिष्ठ नेतासमेत लागेर छोरीलाई फेरि त्यही कुर्सीमा अड्काउन लागि परेको देख्दैमा उनको महत्व कति रहेछ भनेर नबुझ्ने मुर्खहरुको कुनै औषधि भएजस्तो देखिँदैन।

दलहरुले गर्नै पर्ने काम गरेको र यसैबाट देशको चौतर्फी समुन्नती र बिकास निश्चित छ भन्नेमा ढुक्क परेको अनि यस्तैयस्तै काममा अघि सरेको देख्दा शिर्ष नेताहरुलाई अरुले जेसुकै भनेपनि वा जेजस्तो स्तरमा गनेपनि जनता चाहिँ दँग छन्।

गरिब भन्दा गरिब र सामान्य भन्दा सामान्य मान्छेले समेत आफ्नी प्यारी छोरीको इच्छा पूरा गर्न हरसम्भब प्रयास गर्छ भने स्वघोषित महान नेता भएर त्यतिपनि नगरे के को स्वघोषित महान नेता? भन्नेपनि पर्न सक्ने हुनाले त्यती त सबैले बिचार गरिदिन पर्छ नि। सबैले एक्लाएक्लै निर्वाचनमा उत्रेर सबैले अत्यधिक बहुमत पाउने र भनेकै ठाउँबाट जितेर आउने पक्का हुँदा हुँदैपनि देश र जनताको लागि नगरी नहुने देखेर गठबन्धन गरेर त्यसैको निर्णय अनुसार उनलाई त्यहाँ उठाइएकोमा कसैलेपनि बिरोध गर्नु कसैलेपनि बागी बन्न र उम्मेदवारी दिन मिल्दैन भनेर धेरै अगाडिदेखि भन्न थालेकोमा एकथरि अप्रजातान्त्रिक खाले प्रजातन्त्रबादीहरुले उम्मेदवारी दिएपछि गठबन्धन हल्लियो अनि पुरै गठबन्धन समस्याको भुमरीमा डल्लियो।

उम्मेदवारी दिनै नमिल्ने उर्दि हुँदाहुँदै उम्मेदवारी दिने अक्ष्यम्य अपराध गरेकोमा उम्मेदवार लगायत त्यसका प्रस्ताबक र समर्थक समेतलाई साधारण सदस्य समेत नरहने गरि दलबाट निष्काशन गरेको जनतालाई एकदम सहि कदम हो भन्ने लागेको छ। अनुशासनहिनहरुलाई गर्न पर्ने नै त्यही हो। माथिकालाई अनुशासनले भन्दापनि गठबन्धनले बाँधेको र उनिहरुले एकअर्कालाई अकल्पनिय लेनदेन मार्फत मित्रता साँधेको हुन्छ भनेर बुझ्न पर्छ।

उहिले जंगबहादुरका सात भाइ र धिर शमशेरका सत्र भाइ छोराहरुले अँग्रेजहरुको चरम चाकडीबाट आफ्नो आसन जोगाएर आफ्नो इच्छा अनुसार हुकुमी शासन चलाएकै झल्को आउने गरी गठबन्धनका पँचतत्वले पनि बिदेशीको तलुवालाई स्वादिष्ट हलुवा मानेर पुज्दै र उनिहरुको डरले छपक्क रुझ्दै अनि यही नै साँचो अर्थको प्रजातन्त्र हो भनेर बुझ्दै त्यस्तै हुकुमी शैलीको लोकतन्त्र हो कि प्रजातन्त्रको राम्रो अभ्यासको थालनी गरेकोलाई सबैले ज्यादै रुचाएका छन्।

अहिलेको आबश्यकताुसमयको माग र जन चाहना पनि यहि भएकोले दलहरुले गर्न पर्ने काम नै यही हो। दलहरुले गर्नै पर्ने काम गरेको र यसैबाट देशको चौतर्फी समुन्नती र बिकास निश्चित छ भन्नेमा ढुक्क परेको अनि यस्तैयस्तै काममा अघि सरेको देख्दा शिर्ष नेताहरुलाई अरुले जेसुकै भनेपनि वा जेजस्तो स्तरमा गनेपनि जनता चाहिँ दँग छन्।

आफ्नो पालामा आफ्नो परिवारलाई नहेरे पछि कसले हेरिदिन्छ र पछि यसैगरि कसले टेरिदिन्छ भनेर अहिले नै सहयोग गर्न खोज्दा कसको के बिग्रन्छ र ? उसैपनि सबैले आआफ्नो पालामा परिवार बाहेक कसैको लागि केहि लछारेको र भाषण बाहेक अर्थोक केही पछारेको कसैलाई थाहा छैन।

सरकार प्रधान तथा बुढानिलकण्ठे सभापतिुस्वघोषित महान नेताबाट परिचित खुमलटारे कामरेड स्वघोषित महान नैतिकवान नेता कोटेश्वरे कामरेड सत्रसत्र पटक सरकार प्रधानको निर्वाचनमा भिडेर रेकर्ड कायम राख्दापनि सरकार प्रधान हुन नसकेका स्वघोषित अत्यन्त सिद्धान्तवादी बरिष्ठ नेता आदिका साथै अन्य भयँकर हेभिवेट नेताहरुले प्यारी छोरी उम्मेदवारको लागि भोट मागेकोभन्दा पनि उनलाई आफ्नो मत दिएर अनिवार्य रुपमा नजिताए देश दुर्घटनाले खत्तमै हुन्छ भनेर गरेको उद्घोषलाई सबैले गम्भिरतापूर्वक लिनै पर्छ र यसमा बिशेष ध्यान दिनै पर्छ।

देशको अति आबश्यक कतिपय महत्वपुर्ण बिषयलाई उतै छोडेर उनको लागि भोट माग्न त्यत्रा नेताहरु आउनु चानचुने कुरा हुँदै होइन भनेर नबुझ्दा धेरैले दुख पाउनु नौलो बिषय होइन। उहिले चन्दा नदिँदा खबर नदिँदा खान नदिँदा उनीहरुको डेट एक्स्पायर्ड बिचारलाई समर्थन नदिँदा, बिना कसुरको हत्यालाई जायज नमान्दा, हिँसा बलात्कार ठगी डकैती आदिलाई समर्थन नदिँदा धेरै अनावश्यक दुर्घटना बेहोर्न बाध्य जनताले भोट नदिँदा अझ परिस्कृत र उच्च तहको दुर्घटना बेहोर्नु कुनै नौलो बिषय नहुन सक्छ।

यी छोरीले बिगतमा मेयर हुँदा ज्यादै राम्रो काम गरेको हुनाले उनलाई दोहोर्याएर सोही पदको उम्मेदवार बनाएको र पुरै पँचतत्वले यसमा समर्थन जनाएको भन्ने जनतालाई उनिहरुको भब्य आमसभा पछि राम्ररी थाहा भयो। त्यो पदमा पाँच बर्ष बिताएको र फेरि त्यसैमा जम्न चिताएको मान्छेले गरेको काम सबैले देखेकै बिषय भएपनि त्यति बताउन त्यो स्तरका त्यति धेरै नेताहरु आएको इतिहासमै शायद पहिलो घटना हुन पर्छ ।

स्वतन्त्र रुपले आफ्नो इच्छा अनुसार मन लागेको र आफ्नो मन मष्तिष्कले मागेको उम्मेदवारलाई भोट दिन पाउने नैसर्गिक अधिकार हो भनेर संबिधानले भनेकै भएपनि श्री ३ महाजका नवरुप शिर्ष नेताहरुले घोषणा गरेपछि संबिधानका त्यस्ता काम नलाग्ने सबै धाराहरु आपसेआफ निस्किृय हुने बिशेष ब्यवस्था भएको जनताले थाहा पाएकै रहेनछन्।

नत्र दिल र दिमागमा रुख बोकेर, त्यसैमा भोट दिनुभनि दलको बिधानमै तोकेर लेखेको भएपनि योभन्दा अघिपनि यसैगरि उर्दी ठोकेर हँसिया हथौडामा मतदान गर्न लगाउँदा लोकतन्त्र गणतन्त्र प्रजातन्त्र र प्राप्त उपलब्धिहरुका साथै आफैंले लेखेको अत्यन्त समाबेशि संबिधानले समेत जितेको सबैले देखेकै हुन्।

त्यति गर्दापनि बिरोध गर्न सक्नेहरुलाई गणनास्थलबाट जबरजस्ति धपाउने र अत्यन्त जँगली तरिकाले मतपत्र चपाउने अति शानदार काम गरेर झिनो अन्तरले जितेर मेयरको कुर्सीरुपी जन्तर भिरेको सम्झेर यसपाली पनि त्यही मन्तर प्रयोग गर्न खोज्दा प्रजातान्त्रिक दलका केही काम नलाग्ने र अनेक कारबाहिको धम्की दिँदा पनि नभाग्ने जमातले बेकारमा टाउको दुखाइ बनाइ दिएका हुन्।

दलको माथिल्लो तहमा रहेका कसैलाईपनि बिधानले छुन हल्लाउन र कारबाही गर्न नसक्ने हुनाले खाइपाइ आएको कुर्सी जोगाउन र अफ्ना नजिकका सहितलाई सत्ताको आनन्द भोगाउन गठबन्धनको साहारा नलिए भ्रष्टाचार रुपी आहारा लिनदिन नमिल्ने भएकोले समस्या समाधानको एउटा उपाय त खोज्नै पर्‍ याे।  त्यही भएर भित्री मनले नमान्दा नमान्दैपनि गठबन्धनमा अल्झिएर बसि रहँदा स्वार्थ बाझ्न थालेपछि यसैमा बल्झिएर लड्ने अबस्था आउन धेरै समय लाग्दैन कि जस्तो देखिन्छ।

गठबन्धनले तार्ने भन्दापनि निर्वाचन पछि असहयोग भयो भन्ने दोषारोपणले गठबन्धनलाई नै मार्ने सम्भावना समेत हुनाले आफ्ना उम्मेदवारले हार्ने कल्पनापनि गर्न हुँदैन। दल अर्कै, चुनाव चिन्ह अर्कै, बिचार सिद्धान्त अर्कै, आदर्श र मान्यता अर्कै, नेता अर्कै हुँदापनि जबरजस्ती अर्कैलाई मतदात गरेकै हुनपर्छ नत्र देश नै दुर्घटनामा पर्छ भनेको संसारमै शायद पहिलो लोकतान्त्रिक अभ्यास होला। यसलाई पनि गिनिज रेकर्डमा लैजाने प्रयास गर्ने हो भने गठबन्धनका शिर्ष नेताहरुले उचित पुरस्कार नपाउने कुरै छैन।

गठबन्धनका शिर्षहरुले यत्रो लोकतान्त्रिक उर्दी जारी गरेर स्वघोषित महान नेताकी छोरीलाई भारि मत सहित जिताउन जोड गर्दागर्दै एकथरि रुखवालाहरुले समेत उम्मेदवारी दिएर मैदानमा उत्रेको र यस्ता नगण्य झिनामसिना कार्यकर्ताहरुको उम्मेदवारीबाट स्वघोषित रुपमा संबिधानभन्दा धेरै माथि रहेको गठबन्धन लुत्रेको देख्दा सबैलाई अचम्म लागेको छ।

स्वार्थसहित शक्ति प्राप्त हुन्छ भने जहिले जोसुकैसित गाँसिने र लपक्कै भएर टाँसिने स्वघोषित महान नेताको राजनीति नै छोरीको हारले नासिने अनि उठ्नै नसकने गरी भासिने हो कि भनेर भित्रभित्र दंग पर्ने बिरोधीहरुलाई ढंग पुर्याएर बिरोध गर्न अझैपनि स्वघोषित महान नेताले अर्ती उपदेश दिइरहेकोमा समर्थकहरु दँग छन् रे भन्ने सुनिन्छ। देशैभरि गर्ने भनिएको र यो नै निर्वाचन जित्ने बलियो अश्त्रमा गनिएको गठबन्धनका शिर्ष नेताहरुको अन्यत्रपनि गठबन्धनले राम्रो गर्न सकेको छैन रे भन्ने हल्ला चलेको छ।

सरकार प्रधानको आफ्नै जिल्लामा बागि उम्मेदवारले बिकराल समस्या खडा भएको छुस्वघोषित महान नेताका अन्यत्रका उम्मेदवारहरुको बिरुद्ध प्रशस्त असहयोग भइरहेको हल्ला छ, स्वघोषित नैतिकवान कामरेडको जिल्लामा पनि गठबन्धनलाई कसैले टेरपुच्छर लगाएका छैनन् रे, अरु गठबन्धनवालाहरुको पनि अबस्था त्यस्तै छ रे भन्ने हल्ला भएपनि अन्यत्रकालाई खासै वास्ता नगरेर सबैजना स्वघोषित महान नेताको छोरीलाई जिताउन र अन्यत्रकालाई बिताउन किन ज्यान फालेर लागिपरेका होलान् भन्ने धेरैलाई थाहा छैन।

तर उनले हारिन् भने सम्पूर्ण देशको साथै लोकतन्त्र प्रजातन्त्र गणतन्त्र संबिधान र उहाँहरुले ल्याएको भनिएका सबै उपलब्धिहरुले एकैचोटि हार्ने भएकोले यति महत्व दिइएको रहेछ भन्ने जनताले भर्खरै जानकारि पाएका छन्।

यसै सिलसिलामा अत्यन्त माथिल्लो तहको शिक्षाबाट दिक्षा लिइसकेकी सरकार प्रधानकी अर्धांिगनीले आफ्नो बौद्धिक क्षमताको ज्यादै राम्रोसित प्रदर्शन गर्ने शिलशिलामा भोटको लागि मात्रै आफ्नो सम्झेको गृहनगरिमा सारै राम्रो र सारगर्भित अभिब्यक्ति दिने कार्यमा अरु दल वा समुहले मेयर जितेको ठाउँमा सुको बजेट नदिने घोषणा गरेर उनकै घरको ढुकुटीबाट बजेट निकालेर उनकै तजबिजमा बाँड्ने चिज नै बजेट हो भन्ने सन्देश दिएर मतदाताहरुलाई आकर्षित गरिछन्।

त्यसैको निरन्तरतामा आफ्नो गाउँको बाटो राम्रो बनाउने र बागीलाई हराउन प्रतिबद्धता जनाउने हो भने प्रशस्त बजेट ल्याइदिने गफपनि दिन भ्याइछिन्। त्यस्तै कतैबाट आउने र आफूले सित्तै पाउने कोटा आएमा पाँच छ जनालाई सित्तैमा मलेसिया पठाइदिने आश्वासन दिएर र यसैबाट आफ्नो उम्मेदवारले जित्ने बिश्वास लिएर आइछिन्।

यसबाट माथिल्लो तहका राजनीतिज्ञहरु कतिसम्म भुइँफुट्टा र टपरटुइँया राजनीति गर्ने रहेछन् भन्ने जान्न र यस्तैलाई सबल नेतृत्व मान्न अनि यसैबाट देशको सर्वाँगिण उन्नती प्रगति हुन्छ भनेर ठान्न सबैजना तयार भएको पाउँदा उनकोपनि हर्षको सिमाना छैन रे भन्ने सुनिन्छ।

यता निर्वाचनको प्रचार प्रसारमा अत्यन्त सकृय रहेका स्वघोषित समृद्धिवाला बालकोटे कामरेडले चुनावको प्रचार प्रसारभन्दापनि गठबन्धनवाला महान से महान नेताहरुको खोइरो खनेर हाँस्यरसको ओइरो लगाएर र त्यसैमार्फत मतदाताहरुलाई आफ्नो पक्षमा जगाएर अनि बिरोधी जति सबैलाई जमानत जफत सहित भगाएर अरु धेरै बर्ष शासन गर्ने आसनमा बस्ने उद्घोष गरेको सारै राम्रो देखिएको छ। यिनी गठबन्धनको घोर बिरोधी भएपनि यिनकोपनि गठबन्धन भइरहेको र मनको डर लुकाउन ताइनतुइको क्यारिकेचर गइरहेको सबैलाई थाहा छ।

अहिले जसले जति गफ छोडेपनिुआफ्नो क्षमता अरुकोभन्दा धेरै छ भनेर भाषणलाई जता मोडेपनि वा मेरो उम्मेदवारले जसरी भएपनि निर्वाचन जित्नै पर्छ भनेर टाउकै फोडेपनि जनताले गठबन्धन भित्रका वा गठबन्धन बाहिरका जे नाम दिएका भएपनि सबै दलहरुलाई राम्ररी चिनिसकेका छन्।

आफ्नो उम्मेदवारले हार्‍याे  भने कोहि देश ठूलो दुर्घनामा जान्छ भनेर धम्की दिने, कोही अरुले जितेमा बजेट दिन्न भनेर धम्की दिने, कोही हाम्रोले हार्यो भने खाइपाइ आएको र अपुतालीमा पाएको सरकार छोड्नपर्छ त्यसैले हामिले भनेकालाई जसरी पनि जिताउन पर्छ नभए कारबाहि गरिन्छ भनेर धम्की दिने, कोही गठबन्धनवालालाई भोट दिँदै नदिनु भनेर नम्र भाषामा धम्की दिने गरेको देख्दा र सुन्दा जनता अलमलमा परेका देखिन्छन्।

एकअर्कालाई गालि गरेर तालि खाने बाहेक कसैको भाषणपनि काम लाग्ने खालको छैन। जनताको उन्नति, प्रगति, जनजिविका, जनताका दैनिक आबश्यकता पुरा गर्ने बिषय, जनताको चाहनाहरु पूरा गर्ने बिषयहरु, स्वास्थ्य शिक्षा रोजगारी कृषि आदि बिषयका ठोस योजना कसैसित पनि भएको देखिँदैन। सबै दलहरुको स्टाइल हेर्दा सबैको एउटै र उस्तै छ। सबैको प्रचार प्रसारको तरिका हेर्दा उहि छलछाम जालझेल र तालमेलको भर् अनि यति गर्दापनि हारिने डर् बाहेक अरु केही छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *