संघीय चुनावमा वाम एकताको सम्भावना कति ?
काठमाडौं। स्थानीय तहको निर्वाचन सकिएसँगै नेपालको राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ। एमाले–माओवादी सम्बद्ध केही नेताहरुले वाम एकताको बहस उठाएका छन्।
माओवादी एमाले र एकीकृत समाजवादी भित्रका केही नेताहरुले वामएकताको पक्षमा पुनः छलफल गर्दै बिगतको तिक्तता र बिभाजनको समीक्षा गर्न थालेका छन्।
केही दिन अगाडि पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी संघ र प्रदेशको निर्वाचनमा वाम एकता गर्ने भन्दै एमालेसँगको एकता नजिकिएको संकेत गरेका थिए।
यस्तै एमालेका नेता घनश्याम भुसालले पनि वामएकताको चर्चा गरिरहेका छन्। आगामी संघ र प्रदेशको निर्वाचनमा वामशक्ति नै एक भएर निर्वाचनको सामना गर्ने भुसालले बताउँदै आएका छन्। उनी स्थानीय निर्वाचन भन्दा अगावै वाम एकता गरिनुपर्ने अडानमा रहेका थिए।
नेकपा (माओवादी केन्द्र) का नेता बर्षमान पुनले समेत वाम एकताको पक्षमा आफू रहेको औपचारिक रुपमा बताइरहेका छन्। उनले कांग्रेससँगको एकताले स्थानीय निर्वाचनमा तुलनात्मक रुपमा केही सिट बढेपनि कार्यकर्ता र जनताहरुमा नकारात्मक प्रभाव परेको भन्दै वाम एकताको चर्चा गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल वाम एकता नहुने संकेत गरेका छन्। स्थानीय निर्वाचनको परिणाम आएसँगै उनले यही गठबन्धनलाई संघ र प्रदेशको निर्वाचन सम्म लैजाने घोषणा गरिसकेका छन्।
एमाले भित्रका दोश्रो तहका नेताहरु वाम एकताको पक्षमा रहेको र अध्यक्ष केपी शर्मा ओली र बिष्णु पौडेललगायतका केही नेताहरुलाई दबाब दिएको घनश्याम भुसालले स्वयम सार्वजनिक गरिसकेका छन्।
एमालेका भीम रावल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङलगायतले पार्टी भित्र ओलीकै कारण चुनावमा सोचेजस्तो परिणाम नआएको भन्दै वाम एकतामा जोड दिएका छन्।
माओवादी भित्र जनार्दन शर्मालगायतका नेताहरु एमालेसँग एकता गर्नै नहुने र यही गठबन्धनलाई निरनतरता दिने अडानमा रहेका छन् भने बर्षमान पुन लगायतका अन्य नेताहरु फेरि वाम एकता गर्नुपर्ने अडानमा रहेको माओवादी भित्रै चर्चा हुने गरेको छ।
पछिल्लो निर्वाचनको परिणाम माओवादीको लागि सोचेजस्तो आएतापनि मित्र शक्तिहरुबीचको एकता नै श्रेयष्कर हुने हुँदा वाम एकता गर्नुपर्ने कतिपय नेताहरुको मत रहेको माओवादीका नेता तथा सांसद गजेन्द्रबहादुर महत बताउँछन्।
एमालेका र माओवादीका दाश्रो तहका नेताहरु हिजोका तिक्ततालाई बिर्सेर पुनः वाम एकतालाई सार्थक बनाउने तयारीमा रहेको उनले बताएका छन्।
नेता महतले अबको संघीय र प्रदेशको निर्वाचनमा वाम एकता गरेर निर्वाचनमा होमिनुपर्ने बताउँदै आएका छन्। उनले सार्वजनिकरुपमा कांग्रेससँगको गठबन्धन भन्दा कम्युनिष्टहरु बीचको गठबन्धन नै जनता र कार्यकर्तामाझ सकारात्मक सन्देश जाने भन्दै वाम एकताको पहल थाल्ने बताउँदै आएका छन्।
नेता महतले आगामी संघ रप्रदेशको निर्वाचनमा वाम एकता नै हुने डिसी नेपाललाई बताए। उनले अहिलेको चुनावले माओवादीको सिट संख्या केही मात्रामा बढेपनि जनता र कार्यकर्ताको चाहना वामएकता नै रहेको उनको भनाइ छ।
माओवादीका बहुमत नेता तथा कार्यकर्ताहरु वामउकताको पक्षमा रहेको उनले जिकिर गरे। अध्यक्ष प्रचण्डले यही गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म लैजाने बताइरहेको बेला उनले भने पार्टीका बहुसंख्यक कार्यकर्ताहरु वामएकताको पक्षमा रहेको दाबी गरे।
माओवादी र एमालेकै नेताहरुको पहलले पुनः वाम एकताको बहसले प्रधानता पएको छ। आगामी निर्वाचनमा एमाले माओवादी संयुक्त मोर्चा बनाएर निर्वाचनमा होमिने तयारीमा एमाले माओवादीका दोश्रो तहका नेताहरु रहेको उनले जनाएका छन्।
माओवादी र एमालेको पुनः एकता या गठबन्धनको संकेत कांग्रेसले पाएसँगै कांग्रेसका केही नेताहरु बिच्किएको माओवादी नेता तथा सांसद महत बताउँछन्। उनले भने,‘पछिल्लो स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलयै नै कांग्रेसमा संशय थियो कतै कम्युनिष्टहरु मिल्छन् की भन्ने अहिले त्यस बिषयले बहसको रुप लिएपछि उहाँहरुमा थोरै सन्त्रास आउनु अन्यथा होइन।’
बिगतको एकता असफल भएसँगै बढेका अविश्वासले पुनःएकताको सम्भावनालाई बलियो बनाउला र? भन्ने प्रश्नमा नेता महतले भने, ‘हिजोको असफलता र कमजारीबाट नै पाठ सिकेर अगाडि बढ्ने हो। हिजो दुई नेताहरुको मिलिमतोमा मात्रै एकता गरियो तर अब बैचारिक र राजनैतिकरुपमा प्रष्ट भएर कार्यकर्ताकोबीचमा नै एकता हुनुपर्छ। अहिले दुबै पक्षबाट समीक्षा भएको छ। दोश्रो तहका नेताहरु सकारात्मक हुनुहुन्छ तर शिर्षतहमा नेताहरुबीच औपचारिक छलफलको बातावरण बनाउन दोश्रो तहका नेताहरुले दबाब बढाउँदै लगे सम्भव छ भन्ने हाम्रो निश्कर्ष छ।’
उनका अनुसार एमालेका अधिकांश नेताहरु अझैपनि वाम एकताको पक्षमा रहेका छन्। पछिल्लो सम्बाद र सहकार्यको लागि वातावरण अनुकुल बन्दै गएको महतको भनाइ छ।
माओवादी एमाले एकताको लागि भने औपचारिक प्रस्ताब भने नभएको उनले बताए। बिस्तारै अनौपचारिक ढंगले युवा नेताहरुबीच छलफल र हिजो गरिएको एकता किन दिगो हुन सकेन भन्ने बिषयमा समीक्षात्मक छलफल चलिरहेको र त्यसमा दुबै दलका कतिपय नेताहरु सकारात्मक रहेको तर त्यसले अहिले मुर्तरुप नलिएको महतले बताए।
Facebook Comment