‘पाँच कुरा, बालेन र हर्कराजको जीत गर्यो पूरा’
काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना एकाध बाहेक सक्किएको छ । काठमाडौं महानगरपालिकामा बालेन साह, धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमालले स्वतन्त्र भएर जित्नुलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ । राजनीतिक शक्ति त्यसमा पनि पाँचदलिय गठबन्धनलाई समेत चुनौती दिंदै स्वतन्त्र उम्मेदवारलाई जिताउनुको पछाडी कसको भूमिका रहेको छ भन्ने खोजी भइरहेको छ ।
हुनत काठमाडौं, धरान र धनगढीमात्र होइन, जुम्लाको चन्दननाथ, महोत्तरीको बर्दिवास, धनुषाको जनकपुर लगायतका स्थानमा राजनीतिक पार्टीले उम्मेदवार नबनाउँदा बागी भएर स्वतन्त्र उठ्नेहरुले पनि जीत हासिल गरेकाले यसलाई फरकढंगले विश्लेषण गरिदैछ ।
बालेन साहले जित्नु र हर्कराज राईले जित्नुमा धेरै सन्दर्भ फरक फरक भएपनि पाँचवटा सन्दर्भभने मिल्नेजुल्ने खालका छन् । जसलाई ‘पाँचकुरा बालेन र हर्कराजको जीत गर्यो पुरा’ भन्न सकिन्छ ।
सर्वसाधारण मतदाताहरु राजनीतिक पार्टीको नेता र कार्यकर्ताहरुबाटै पिडित थिए, रुष्ट थिए, हेर्दाहेर्दै अकुथ सम्पत्ति कमाएको नजिकबाट देखेका थिए । दलभित्रको लुछाचुडी, बजेटको लुछाचुडी गर्ने प्रबृत्तिका नेता कार्यकर्ताबाट आजित भएका मतदाताहरुले दलको सेखी झार्नकै लागि स्वतन्त्र उम्मेदवारलाई मतदान गरे ।
पहिलो कारण सर्वसाधारण मतदाताहरु राजनीतिक पार्टीको नेता र कार्यकर्ताहरुबाटै पिडित थिए, रुष्ट थिए, हेर्दाहेर्दै अकुथ सम्पत्ति कमाएको नजिकबाट देखेका थिए । दलभित्रको लुछाचुडी, बजेटको लुछाचुडी गर्ने प्रबृत्तिका नेता कार्यकर्ताबाट आजित भएका मतदाताहरुले दलको सेखी झार्नकै लागि स्वतन्त्र उम्मेदवारलाई मतदान गरे ।
दोस्रो कारण स्वतन्त्र उम्मेदवार स्वयंले पाँच दश बर्ष अघिदेखि नै मेयर बन्ने सपना देखेर सामाजिक काम गरिरहेका थिए । बालेन साहले र्यापमार्फत राजनीतिक पार्टी र नेताको कमी कमजोरीलाई उजागर मात्र गरेका थिएनन् । उनले हेलो नेपाल नामक गैरसरकारी संस्था र अन्य यूवाहरुको ग्रुपहरु मार्फत २०७२ को भुकम्प पिडितहरुलाई र कोरोनाको कहरको बेला व्यक्ति, परिवार, समुदाय र सिंगो समाजको हीतमा काम गरिरहेका थिए । यसले उनको सामाजिक सम्बन्ध यूवाहरुमार्फत काठमाडौं महानगरपालिका भित्र फैलिएको थियो । हर्कराज राईले धरानको खानेपानी समस्या, स्वास्थ्य, शिक्षा, सुरक्षाका समस्यालाई बारम्बार उठाएर मतदाताको मन जितिरहेका थिए । जसले तटस्थ मतदाताहरुले काठमाडौं र धरानमा लौरो चिन्हलाई रोजे ।
तेस्रो कारण भनेको राजसंस्थाका समर्थकहरु, राष्ट्रियतालाई मूल आधार बनाएर हिड्न चाहनेहरुको जमातले यस पटक सक्दो स्वतन्त्र उम्मेदवारलाई नै छनौट गरेका छन् । केही विश्लेषकहरुले राजाका पक्षधरहरुले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको नभनौ भन्ने तर्क दिन्छन् । तर, ती विश्लेषकहरुले के बुझ्नु पर्दछ भने स्वतन्त्रबाट जित्ने चाहे बालेन साह हुन् चाहे हर्कराज राई वा गोपाल हमाल तीनै जनाले राजाको विरोध गरेको देखिदैन । नभए अब पनि ‘क्रशचेक’ गर्न भएपनि यी तिनैजना मेयरसंग बुझौं, के उनीहरुले बिकल्पको रुपमा राजसंस्थालाई कुनै स्वरुपमा ल्याउने अबाजको पक्षमा छन् कि विपक्षमा ?
चौथो कारण प्रचण्डले आइतवार संसदमा भनेजस्तै धरान र काठमाडौंका मेयरहरुले विशिष्ट संकल्प लिएर आएका छन् । जुन नागरिकलाई मन परेको थियो । अरुमा त्यस्तो संकल्प थिएन । काठमाडौं र धरानको मेयरले शक्तिकेन्द्रहरुको पछि नलागेर नमुना बनेर देखाउँदा राजनीतिक पार्टीहरुलाई समेत त्यसबाट सिकाई हुने अवस्था सृजना हुन्छ ।
पाँचौ कारणमा विदेशमा रहेका नेपालीले आआफ्नो घर, आफन्त, साथीलाई फोन गरेर स्वतन्त्र उम्मेदवारलाई भोट दिन अभिप्रेरित गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल अहिले मान्छे बेच्ने र मालसमान किन्ने देश हो रुपमा परिचित भएको बताएका थिए । हो, त्यही भएर पनि विदेशमा काम गर्न गएका नेपालीहरुको रोजाईमा बालेन साह र हर्कराज राई परेका हुन् ।
अभियानकर्मी मधु कार्कीले हर्कराज राई र बालेनको विजयले जनताहरुको स्वाभिमानले वास्तविक ‘जस्टिस’ पाएको बताएकी छिन् । कार्कीले हर्कराज राईको भाइरल भएको फोटोमा हातमा नलागेका सर्टको बटमले साधारण जीवन उच्च बिचारको कथनलाई सही न्याय दिदै लुटिएको विकास र समृद्धि जनताको स्पर्षमा फर्काउन अघि बढ्दैछ भन्ने देखाएको बताएकी छिन् ।
साच्चिकै भन्नु पर्दा अब जनप्रतिनिधि हुनका लागि फलानो पार्टीमा यति बर्ष सदस्य बनेको र यतिबर्ष जेल बसेको वा आन्दोलनमा टायर बालेको, ढुङ्गा हानेको वा निर्वासित जीवन विताएको भनेर हुँदैन । ती कुरालाई जनप्रतिनिधि बन्ने आधार बनाउने काम राजनीतिक पार्टीहरुले तत्काल रोक्नु पर्ने सन्देश स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुको जीतले देखाएको छ ।
राजनीतिक पार्टीहरुले कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिमसम्म एक्किन गरिसकेका हुँदैनन् । यस्तोमा स्वतन्त्र उम्मेदारी दिन चाहनेले पाँचबर्ष अघिदेखि नै आफ्नो पहिचान बनाउन समाजिक समस्यामा साथ दिएर अघिबढीरहेका हुन्छन । तर राजनीतिक पार्टीमा भने सूर्यमूखी फुलजस्तो कार्यकर्ताहरु नेतालाई हेरेर बस्छन् । यो प्रबृत्तिको अन्त्य गर्न कम्तिमा दुईबर्ष अघि नै आगामी दिनका लागि कसलाई जनप्रतिनिधि उठाउने भन्ने पहिले नै एक्किन गर्नु पर्दछ । यसले उनीहरुलाई समाजमा घुलमिल गर्न र सामाजिक समस्यालाई बुझेर त्यसको पक्षमा पैरवी गर्न प्रशस्त समय मिल्दछ । मतदाताहरु हिजो आज कुनैपनि काम उधारोमा आवश्वासनका भरमा राजनीतिक पार्टीले गर्दैन भन्ने मानसिकतामा पुगेकाले नगदमा परिणाम खोज्दछन् । यसका लागि राजनीतिक पार्टीले उम्मेदवार उठाउने प्रक्रियामा परिवर्तन ल्याउन आवश्यक छ ।
विशेष गरेर नेपाली कांग्रेसमा तन्नेरी पुस्ताको मानिसलाई ढोका लगाएर चारतारे कहिलेदेखिको भनेर भनिरहँदा समस्या आएको हो । अर्थात यत्रो लामो समय यतिबर्षको सदस्यता भनेर अहिले पनि चलाउने हो भने मतदाता त जहाँपनि जान सक्ने अवस्था सृजना भएको छ । मतदातालाई कसैले लगाम लगाउन सक्दैनन् । अर्कोतर्फ पार्टीभित्रको अन्तरघातले पार्टीका उम्मेदवारहरुलाई धेरै स्थानमा समस्या भएको पनि पाइन्छ ।
सोसल मिडियाले दक्षिण एशियामै निर्वाचनलाई प्रभाव पारेको छ । यो बर्ष स्वतन्त्रलाई जीताउन समेत सोसल मिडियाले काम गरेको छ । सोसल मिडिया स्वतन्त्रको पक्षमा बढी उपयोग भएको हो की ? गणतन्त्रलाई लुटतन्त्र, चोर तन्त्र, ठगतन्त्र भन्नेहरुले राजनीतिक पार्टीलाई सबक सिकाउनका लागि पनि स्वतन्त्रको पक्षमा उभिएको देखिएको छ ।
पुराना नेताहरु रिटायर्ड हुनै चाहदैनन् । हामी तेसै नेता भएका हौ, सडकमा आन्दोलन गरेर, ढुङ्गा हानेर, तोडफोड गरेर, सामन्तहरुलाई मारेर, प्रहरी सेना मारेर नेता भएका हौं भन्दै धेरै संघर्ष गरेर आएका नेता हौं, हामीलाई चानचुने ठान्न मिल्दैन भनेर कयौ कम्युनिस्ट नेताहरूले अन्तर्बार्तामा भन्ने गरेको पाइन्छ । यसले पनि नागरिकहरु आजित भएर राजनीतिक पार्टीको सिद्धान्तले अब खान, लाउन र सुरक्षित बस्न दिंदैन भन्ने बुझेरै मतदाताहरु स्वतन्त्र प्रति आकर्षित भएको देखिन्छ ।
दर्जनौ बिदेशीले लेखेका पुस्तक घोकेर कण्ठ गरेका पार्टीका नेताहरुलाई देशको माटो सुहाउँदो सिद्धान्त बनाउने फुर्सद छैन । उनीहरुले बोल्न पाउँदा घण्टौसम्म फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्ती, माओले गरेको क्रान्ती र कैयौं बिदेशी नेताको आत्माकथा र जिबनी फलाक्छन् । जुन कुरा नयाँ पुस्तालाई मन नपरेको हो कि भन्ने स्वतन्त्रको विजयले उजागर गरेको छ ।
दर्जनौ बिदेशीले लेखेका पुस्तक घोकेर कण्ठ गरेका पार्टीका नेताहरुलाई देशको माटो सुहाउँदो सिद्धान्त बनाउने फुर्सद छैन । उनीहरुले बोल्न पाउँदा घण्टौसम्म फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्ती, माओले गरेको क्रान्ती र कैयौं बिदेशी नेताको आत्माकथा र जिबनी फलाक्छन् । जुन कुरा नयाँ पुस्तालाई मन नपरेको हो कि भन्ने स्वतन्त्रको विजयले उजागर गरेको छ ।
नेपालका नयाँ पुस्ता अंग्रेजसँग पुर्खाले सिन्दुलीगढीमा लडेको, जीतगढीमा लडेको , नालापानीमा भएको युद्ध, देउथलको युद्ध जस्ता सयौं ठाउँमा पुर्खाले लडेको युद्धलाई सुन्न बुझ्न चाहन्छन् । स्थानीय लोकगाथा, परम्परा, रितिरिवाज, धर्म संस्कृति, चाडपर्व, उत्सवहरुको संरक्षण र प्रबर्धन गर्न चाहन्छन् । आफ्नो पहिचान स्थापित गर्न चाहन्छन् । त्यसैले जो राष्ट्रप्रति बफादार छ, जो विदेशीको हली होइन उसलाई नागरिकले चाहेका छन् । विदेशीको इशारामा हिड्ने भनेर पहिचान भएका नेताहरुको निर्देशन जनतालाई अस्वीकार गरेको देखिन्छ । त्यसैले स्वतन्त्रको जीत भएको हो भन्न सकिने आधारहरु छन् ।
अबका दिनमा राजनीतिक पार्टीले नयाँ नयाँ समाजसेवा गर्ने स्वभावकालाई उम्मेदवार बनाउने होडबाजी गर्नु पर्ने त छ नै, त्योभन्दा उत्तम आफ्नै नेता, कार्यकर्ताहरुलाई समुदायको सेवामा वा स्थानीय सवालमा काम गर्न लगाएर मतदाताको मन जित्ने अभियान थाल्नु नै श्रेयकर हुन्छ । नेता र कार्यकर्ताहरुले आफूलाई जनसेवकका रुपमा रुपान्तरण गर्न चाहेनन् भने नागरिकहरुका लागि गणतन्त्र सिनो जस्तै गन्हाउन थाल्ने छ । यसले ल्याउने परिणाम राजनीतिक पार्टीका लागि दुःखद हुनेछ । गणतन्त्रलाई अझ गन्हाउने बनाउनका लागि संसदमा पूर्वप्रधानमन्त्रीहरु घण्टौ जुहारी खेली राख्ने हो की आपसमा मिलेर नेपाल सुहाउँदो समाजवादको खाका कोरेर समुदाय केन्द्रित विकासमा ध्यान दिने हो ? जे गर्ने हो छिट्टै गरिहाल्नु पर्ने स्थिति सृजना भएको छ ।
हैन भने अब नयाँ संविधानमा भएका समावेशी र समानुपातिक कुरालाई २०४७ सालकै संविधानमा समावेश गरेर त्यसको पुर्नजीवन दिने प्रयास गर्नेहरुको अग्रसरता फेरी पनि बढ्ने अवस्था सृजना हुँदैछ ।
Facebook Comment