व्यायामको उचित समय महिला र पुरुषका लागि फरक
न्युयोर्क। व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ। प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन्। तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ।
अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपर्युक्त हुन्छ। यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए। अध्ययनअनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ। भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने अनुसन्धानकर्ताहरू बताउँछन्।
न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो। सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शरीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो।
दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायायम गरेका थिए। दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको थियो।
अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए। साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए। बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो।
स्किडमोर कलेजका स्वास्थ्य र मानव शारीरिक विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक प्राध्यापक डा. पल अर्सेरियोले भने, ‘व्यायामको लागि उत्तम समय भनेको तपाईंले यसलाई गर्न र आफ्नो तालिकामा फिट गर्न सक्ने उत्तम समय हो। ’
अनुसन्धान समूहले बिहानकोे तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो। त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायाममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्धयनमा उल्लेख छ।
Facebook Comment