बाबर आजम र विराट कोहली एउटै टिमबाट खेल्ने !
![बाबर आजम र विराट कोहली एउटै टिमबाट खेल्ने !](https://www.dcnepal.com/wp-content/uploads/2022/06/untitled_65-sixteen_nine.webp)
काठमाडौं । अर्को वर्ष भारत र पाकिस्तानका खेलाडी एउटै टिमबाट खेल्न सक्नेछन् । वास्तवमा एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एफ्रो-एसियालाई पुन: सुरु गर्न चाहन्छ र यसलाई २०२३ मा आयोजना गर्ने योजनामा छ। यदि सबै ठीकठाक रह्यो भने, भारत र पाकिस्तान बाहेक, अफगानिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरू एसियन इलेभेनबाट खेलेको देखिन्छ।
एफ्रो एसिया कप क्रिकेटको इतिहासमा दुई पटक मात्रै आयोजना भएको छ । सन् २००५ मा तीन खेलको एकदिवसीय शृङ्खला खेलिएको थियो भने सन् २००७ मा भएको प्रतियोगितामा तीन एकदिवसीय बाहेक एउटा टी–२० पनि खेलिएको थियो । जहाँ पहिलो सिजन १–१ को बराबरीमा सकिएको थियो । दोस्रो सिजनमा एसियन इलेभेनले चारै खेल जितेको थियो ।
एसीसीका कमर्शियल एण्ड इभेन्ट्सका प्रमुख प्रभाकरन थानराजले फोर्ब्सलाई भने, “हामीले क्रिकेट बोर्डबाट पुष्टि गर्न बाँकी छ। हामी अझै श्वेतपत्रमा काम गरिरहेका छौं र यसलाई दुवै बोर्डमा बुझाइनेछ। तर हाम्रो योजना एसियाली इलेभेन बनाउने हो। हामीले भारत र पाकिस्तानबाट उत्कृष्ट खेलाडीहरू जोड्नुपर्छ। योजनालाई अन्तिम रूप दिएपछि, हामी विज्ञापन र प्रसारणकर्ताको लागि बजारमा जान्छौं।’
प्रमुख कार्यकारी समितिका सदस्य दामोदरले भने, ‘यस खाडललाई पुरा गर्न र खेलाडीलाई सँगै खेलेको हेर्न मन लाग्छ । म पक्का छु कि खेलाडीहरूले पनि यो होस् भन्ने चाहन्छन्। राजनीतिलाई यसबाट टाढा राखौं। पाकिस्तान र भारतका खेलाडीलाई एउटै टोलीमा हेर्न पाउनु राम्रो कुरा हो ।’
कमजोर कूटनीतिक सम्बन्धका कारण भारत र पाकिस्तानबीचको द्विपक्षीय शृंखला अझै आयोजना हुन सकेको छैन । पछिल्लो पटक दुई देशबीच द्विपक्षीय शृंखला सन् २०१२-१३ मा भएको थियो, जब पाकिस्तानले भारत भ्रमणमा तीन एकदिवसीय र दुई टी–२० खेलेको थियो।
पाकिस्तानले एकदिवसीय शृंखला २–१ ले जितेको थियो भने टी–२० शृंखला १–१ को बराबरीमा पुगेको थियो । सन् २०२२ को टी–२० विश्वकपमा भारत र पाकिस्तानका टोली फेरि एकपटक आमनेसामने हुँदैछन् ।
Facebook Comment