पोखरामा आज रोपाईं महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने
पोखरा। आज १५ असार। राष्ट्रिय धान दिवस। पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो। कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ।
सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो। आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए।
‘पोखराको पर्यटनमा सिजन र अफसिजन थियो। ब्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम घुम्न योग्य बनाएका छौं,’ उनले भने, ‘रोपाईं महोत्सवको महत्व पोखरामा झन् बढी छ। यहाँ विदेशी पर्यटकहरु नै सहभागी हुन्छन् ।’ रोपाईं महोत्सवबारे अध्ययन समेत सुरु भैसकेको छ। हरेक वर्ष विदेशी विद्यार्थीहरुले नेपालको रोपाईं संस्कारबारे अध्ययन गर्न १५ असारका दिन पोखरा आउने गरेका छन्।
खेतीयोग्य जमिनकाे संरक्षण, कृषिलाई व्यावसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास लिइएको छ। महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुनेछन्। प्रतियोगितामा पहिलो हुनेले ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन्। पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ।
Facebook Comment