ब्याटिङ चल्दा ओन्टारियोविरुद्ध नेपालको सहज जित
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ। आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी-२० खेल खेलेको हो। २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।
ओन्टारियोका भरुण सेहदेबले ५० रन बनाए। यस्तै, कप्तान नरेश बुढाऐरले ४१ रनको योगदान गरे। नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले समान विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल योगफल बनायो। नेपालका रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले। आक्रामक ब्याटिङ गरेका रोहितले ३१ बलमा अविजित ७१ रन बनाए। दीपेन्द्रले २७ बलमा ५४ रन जोडे।
यस्तै, पवन सर्राफले ३७, देव खनालले २०, आदील आलमले १० रन बनाए। ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले समान १ विकेट लिए। यसअघि पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग टुअन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ। त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ।
नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ।
Facebook Comment