रारा तालमा पुग्यो बिजुली

डिसी नेपाल
२१ असार २०७९ १०:३६

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएको छ। कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित् विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो। अब जलविद्युतगृहबाट उत्पादित विद्युत् २४सै घण्टा आपूर्ति हुनेछ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत् आपूर्ति पाएका छन्।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ। प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए।

‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पुर्‍याउन सफल भएका छौं,’ यादवले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *