विराट कोहलीले टि-२० विश्वकप गुमाउन सक्ने !

डिसी नेपाल
२३ असार २०७९ १५:२०

काठमाडौं । भारतका पूर्व कप्तान विराट कोहलीका लागि केही राम्रो भइरहेको देखिँदैन । विगत तीन वर्षदेखि खराब फर्ममा रहेका कोहलीलाई अर्को ठूलो झट्का लाग्न सक्छ । मिडिया रिपोर्टका अनुसार भारतीय टोली व्यवस्थापन र चयनकर्ताहरूले विराट अब टी-२० टोलीको मध्यक्रममा फिट नभएको महसुस गरेका छन्।

अबको १० दिनमा इंग्ल्याण्डमा दुई टी–२० र एकदिवसीय सिरिज खेलिनेछ । यस्तो अवस्थामा इंग्ल्याण्डविरुद्ध उनको ब्याट चल्न सकेन भने उनी टोलीबाट बाहिरिनेछन् । मिडल अर्डरका लागि कोहलीभन्दा राम्रो विकल्प ऋषभ पन्त, श्रेयस अय्यर, दिनेश कार्तिक र दीपक हुड्डा हुन सक्ने व्यवस्थापनको बुझाइ छ।

टी–२० टोलीमा स्थान दिने विषयमा टिम व्यवस्थापन र चयनकर्ता स्पष्ट छैनन् । टोलीका शीर्ष खेलाडी रोहित शर्मा, ऋषभ पन्त र हार्दिक पाण्ड्या वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजमा सहभागी हुनेछन्, तर विराटले इंग्ल्याण्डविरुद्धको शृङ्खलामा राम्रो प्रदर्शन गरे मात्रै उनलाई मौका दिइनेछ । यदि त्यसो हुन सकेन भने उनले टी–२० टिम र विश्वकप टिमबाट पनि बाहिरिनुपर्ने हुनसक्छ ।

टोली व्यवस्थापनको यो निर्णयले कोहलीको टी–२० करियर खतरामा पर्न सक्ने सङ्केत दिएको छ । बुधबार वेस्ट इन्डिज भ्रमणका लागि छनोट भएको टोली एकदिवसीय सिरिजका लागि मात्र हो । यस्तो अवस्थामा कोहलीको प्रदर्शन इंग्ल्याण्ड विरुद्धको सिरिजमा देखिने स्पष्ट छ । वेस्ट इन्डिज भ्रमणको कमाण्ड शिखर धवनलाई दिइएको छ । योसँगै रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह जस्ता अनुभवी खेलाडीलाई आराम दिइएको छ ।

पछिल्लो दुई वर्षदेखि क्रिकेट मैदानमा औसत प्रदर्शन गर्दै आएका विराट कोहलीको ब्याट आईपीएल–१५ मा पनि शान्त रह्यो । कोहलीले सिजनका १६ खेलमा २२.७३ को औसतमा ३ सय ४१ रन मात्र बनाउन सकेका छन् । सन् २००९ पछि यो पहिलो पटक हो जब कोहलीले आईपीएल सिजनमा २५ भन्दा कम औसतमा रन बनाएका थिए। टोलीको कप्तानी छोडेपछि ब्याट्सम्यानको रुपमा मात्र खेल्ने विराटले आईपीएल–१५ को दुवै नकआउट खेलमा राम्रो प्रदर्शन गरेनन् ।

यो वर्ष विराट कोहलीले २ टी–२० खेल मात्र खेलेका छन् । यस क्रममा उनको ब्याटबाट ३४.५० को औसतमा ६९ रन निस्केको छ । २०२१ मा भने टी–२० क्रिकेटमा विराटको ब्याट राम्रो चलेको थियो । उनले भारतका लागि १० खेल खेले र ७४.७५ को प्रभावशाली औसतमा २९९ रन बनाए।

टीम इंडियाका प्रशिक्षक राहुल द्रविड वेस्ट इन्डिज भ्रमणपछि विश्वकपका लागि पूर्ण रूपमा फिट हुने टोली चाहन्छन्। यस्तो अवस्थामा फास्ट बलर मोहम्मद शमीको स्थान पनि टी–२० टोलीमा पक्का भएको छैन । उनको स्थानमा अर्शदीप सिंहलाई मौका दिन सकिन्छ ।

वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृङ्खलाका लागि भारतीय टोलीमा शिखर धवन (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, सूर्यकुमार यादव, श्रेयस अय्यर, इशान किशन (किपर), सञ्जु सामसन किपर), शार्दुल ठाकुर, युजवेन्द्र चहल, अक्षर पटेल, आवेश खान, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज, अर्शदीप सिंह छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *