कविता : अग्नियोद्धा अर्थात…

डिसी नेपाल
७ साउन २०७९ १०:१६

रगतको रङ
र पसिनाको रङले
एउटा मान्छे बन्छ !

पसिनाको मैलो र रगतको रातो रङले
चेतनाको मूल फुटाउँछ
र चेतनाले एउटा मान्छे बन्छ !

रगतको रङले
एउटा आकाश खोज्छ
पसिनाको रङले
एउटा अस्तित्वको नदी खोज्छ
अनि एउटा मान्छे बन्छ !

पहाडहरु
भ्रम र भ्रान्तिमा अग्लिएर
अनगिन्ती
जिब्रोहरु
आँखाहरु
खुट्टाहरु
हातहरु खोस्छन्
र निरङ्कुशताको बिम्ब उभिन्छन्
त्यही निरङ्कुशताभित्र
असख्य मानिसका हाँसो र सपनाको
अग्निहोत्र चलिरहन्छ !

रगत र पसिनाको रङ चिन्न थाले पछि
एउटा मान्छे बनिन्छ !

आँखाभरी रगतको गाढा रङ भरेर
मनभरी आगोको भविश्य बालेर
जब तिमीले
रगत र पसिनाको रङ पढायौं
त्यस पछि त हो
मलाई पूर्वक्षितिजको लालिामा
अनि पश्चिम क्षितिजको गोधूली प्रिय लाग्न थालेको !

पूर्व र पश्चिमका क्षितिज
प्रिय लाग्न थाले पछि
जीवन एउटा मान्छे बन्छ !

जब मान्छेहरु अग्ला पहाड बन्छन्
वस्तीमा एउटा निरङ्कुश वादल उड्छ
जब मान्छेहरु पहिरो बन्छन्
वस्तीमा क्रन्दनकको हुरी चल्छ
जब मान्छेहरु बाढी बग्न थाल्छन्
वस्तीमा सपनाहरु बग्न थाल्छन्
तिमीले यसरी
मान्छेका रुप र स्वरुपहरु पढाए पछि त हो
मैले मान्छेमा भिन्नता देख्न थालेको !

तिमीले दिएको चेतनाको प्रकाशले
मेरा आँखा घामजस्ता बनेका छन्
तिमीले दिएको आँटले
मेरा खुट्टा इस्पात बनेका छन्
तिमीले सिकाएको विद्रोहले
मेरा मुठ्ठी हथौडा बनेका छन् !

बिडम्बना
तिमीले छोडेका लालयोद्धाहरु
पहडा
पहिरो
बाढी
बनेर असमान र निरङ्कुश दौडिएका छन् !

मेरो अग्नियोद्धा अर्थात पुष्पलाल
तिमीले छोडेको आगो फुक्न
मैले आज पनि छोडेको छैन् !

रगतको रङले
एउटा आकाश खोज्छ
पसिनाको रङले
एउटा अस्तित्वको नदी खोज्छ
अनि एउटा मान्छे बन्छ!

(नेपाली कम्युनिस्ट राजनीतिका स्वप्नद्रष्टा पुष्पलालमाथि समर्पित )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *