बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लिन्छन् नियमविपरीत सुविधा

डिसी नेपाल
९ साउन २०७९ १३:४९

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ। गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ।

तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सवारी साधन प्रयोग गरे पनि प्रचलित ऐनविपरीत यातायात सुविधा लिने गरेका हुन्। नियमविपरीत यातायात सुविधा भन्दै गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष दुबैले मासिक १२ हजार रुपैँयाका दरले रकम बुझ्ने गरेका हुन्।

अध्यक्षले ग १ झ ३७४ नम्बरको स्कारपिओ र उपाध्यक्षले बा २१ च ३६८६ नम्बरको बोलेर गाडी प्रयोग गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए। उपाध्यक्ष गुरुङले प्रयोग गर्ने बोलेरो गाउँपालिकाले मासिक भाडामा लिएको हो। अध्यक्ष भट्टले प्रयोग गर्ने गाडी भने गाउँपालिकाले खरिद गरेको हो।

नियमविपरीत यातायात सुविधा लिएको कुरा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले पनि औंल्याएको छ। ‘कार्यालयमा गाडी रहेको तथा आवश्यकताअनुसार नियमित रुपमा एक गाडी भाडामा समेत लिएको अवस्थामा यातायात सुविधा भनि रकम भुक्तानी दिनु नियमसम्मत देखिएन’, महालेखाको प्रतिवेदनमा लेखिएको छ।

दोहोरो पर्नेगरी यातायात सुविधाबापत गाउँपालिकाले भुक्तानी दिएको दुई लाख ८५ हजार एक सय २० रुपैँया बेरुजु देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *