आर्थिक वर्षको सुरुमै योजना बनाएर समयमै सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन् । उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढङ्गले गर्न निर्देशन दिँदै कर्मचारी व्यवस्थापनका सम्बन्धमा समस्या नआउनेगरी मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।
कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत् भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताए ।
प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरूका लागि उदाहरणीय हुनुपर्ने धारणा व्यक्त गरे । समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Facebook Comment