काठमाडौं क्षेत्र नम्वर एक : प्रकाशमान र रबीन्द्रमा कसले बाजी मार्ला ?

सम्भव सिंह ठकुरी
२३ साउन २०७९ १४:०१

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन १०४ दिन बाँकी रहँदा काठमाडौं क्षेत्र नम्वर एकको चुनावी प्रतिस्प्रर्धाबारे अनेक अड्कलबाजी भइरहेको छ। सो क्षेत्र प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको निर्वाचन क्षेत्र पर्दछ।

काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका रहेको यो क्षेत्र पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन्।

तीन पटकसम्म यही क्षेत्रबाट निर्वाचित सिंह र अघिल्लो निर्वाचनमा उनै सिंहसँग झिनो मतान्तरले पराजित मिश्रनै आगामी निर्वाचनको लागि बलियो उम्मेदवारका रुपमा हेरिएको छ।

हालसम्म दुबै नेताहरुले आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा सार्वजनिक नगरेपनि दुबै नेताहरु सोही क्षेत्रबाट उठ्ने निकष्टस्थहरु बताउँछन्।

मिश्र निकट एक नेताका अनुसार पनि अहिले नै यो क्षेत्र त्यो क्षेत्र भनेर घोषणा नगरेको तर क्षेत्र नम्वर एकमा नै उम्मेदवारी दिने सम्भावना धेरै रहेको जानकारी दिए।

उता सिंह पनि तीन पटकसम्म यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले नै निर्वाचन क्षेत्र छाड्ने कारण नभएकाले सोही क्षेत्रबाट नै उम्मेदवारी दिने उनी निकष्टथ नेताहरु बताउँछन्।

संघीय राजधानीको क्षेत्र नम्वर एक शिक्षित र प्राज्ञिक मतदाता भएको स्थानको रुपमा पनि हेरिन्छ। त्यसैले अब हुने निर्वाचनकोे परिणामलाई चासोका साथ हेरिएका छ।

२०७४ सालको निर्वाचनमा ८ सय २१ मतको झिनो मतान्तले सिंहले मिश्रलाई पराजित गरेका थिए। सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गर्दा मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरेका थिए।

तर निर्वाचन पश्चातको यो पाँच वर्षे अवधिमा सिंह र मिश्र दुबैको राजनीतिले नयाँ आयामहरु सृजना गरेको छ। सिंह कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बने पनि कुनै लोकप्रिय मत ल्याउन सकेनन्।

महाधिवेशन हुन १ साता बाँकी रहँदासम्म शेरबहादुर देउवाबाट कांग्रेस चल्न नसक्ने र त्यसको लागि पार्टीमा रुपान्तरण हुनुपर्ने बताउँदै आए पनि सभापतिमा देउवालाई समर्थन गर्न पुगेपछि उनको राजनीतिक निर्णयमा विभिन्न टिकाटिप्पणी भयो। सभापतिमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो।

पहिलो चरणमा देउवा,कोइराला, सिंह र बिमलेन्द्र निधिले प्रतिस्पर्धा गरेका थिए। तर कांग्रेसको विधान अनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा पहिलो मत पाउने देउवा र दोस्रो मत पाउने कोइरालाबीच प्रतिस्प्रर्धा भएको थियो।

त्यसपछि नेपाली राजनीतिको ‘लौहपुरुष’ उपनामले चिनिएका गणेशमान सिंहको पुत्र भएपनि बुबाको लिगेसीलाई आत्मसाथ गर्न नसकेको भनेर गैरकांग्रेसी र कांग्रेसप्रति शुभेक्षा राख्ने आमशुभेच्छुकबाट आलोचित हुन पुगे।

त्यस्तै यो बीचमा मिश्रको राजनीतिले पनि नयाँ मोडहरु लिएको छ। पाँच वर्ष अघि नयाँ व्यक्ति र नयाँ सोचका साथ बीबीसी नेपाली सेवाको प्रमुखको जागिर छोडेर राजनीतिमा होमिएको मिश्रको वेग्लै ‘क्रेज’ थियो। तर अहिले उनी यो व्यवस्थाप्रति नै विमति राख्दै लोकतन्त्रसहितको राजसंस्था, संघीयता खारेजी र हिन्दु बौद्ध राज्यको पक्षपातीका रुपमा देखिएका छन्।

उनी खुलेरै देशमा राजसंस्थाको आवश्यक्ता र संघीयताको खारेजीको एजेण्डा लिएका छन्। उनले यो विषयमा बिचारभन्दा माथि देश नामक पुस्तक पनि चाँडै सार्वजनिक गर्ने बताउँदै आएका छन्।

मिश्रको राजनीतिको यो एजेण्डामा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। त्यतिमात्र नभएर यो बीचमा उनले पार्टीको अध्यक्षबाट राजीनामा दिएर पार्टीको क्रियाशील सदस्यमात्र रहेको पनि बताउँदै आएका छन्।

त्यसैले सिंह र मिश्र कसले बाजी मार्छन्। त्यसको अनुमान गर्न गह्रो छ। तर गत बैशाखमा भएको स्थानीय तहको मत परिणामलाई आधारमान्दा विवेकशील साभाmले पाएको मतभन्दा कांग्रेसको धेरै गुणा माथि रहेको छ।

महानगरको १०, ११, २९ र ३१ नम्वर वडाहरु रहेको यो निर्वाचन क्षेत्रमा ३१ बाहेक अन्य तीन वटा वडामा कांग्रेसले जित निकानलेको छ। ३१ नम्वर वडामा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

यसरी यो ४ वटा वडामा खसेको दलगत मतलाई आधार मान्ने हो भने एमालेको भन्दा कांग्रेसको झिनो मतान्तरले लोकप्रिय देखिएको छ।
कांग्रेसले ९ हजार ८ सय ९५ मत प्राप्त गरेको छ भने एमालेले ९ हजार ५ सय ४१ मत प्राप्त गरेको छ।यो अन्तर भनेको ३५४ मतले कांग्रेस अगाडि रहेको छ।

तर २०७४ सालको निर्वाचनमा एमाले र माओवादीबीच बामपन्थी गठबन्धन हुँदा बामपन्थी उम्मेदवार अनिल शर्माले सिंह र मिश्रको तुलनामा निकै कम मत प्राप्त गरेका थिए। शर्मा सिंह र मिश्रको प्रतिस्प्रर्धामै आउन सकेनन्।

तेस्रो मत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाएको छ। राप्रपाले १ हजार ३ सय ७६ मत प्राप्त गरेको छ। त्यस्तै सत्ता घटक नेकपा (माओवादी केन्द्र) ले १ हजार १ सय ५९ मत प्राप्त गरेको छ।

मिश्रको पार्टी विवेकशील साझाले भने जम्मा १ सय ४१ मत मात्र प्राप्त गरेको छ। तर रोचक कुरा के छ भने यो क्षेत्रमा लोकप्रिय मत कांग्रेस, एमालेको भएपनि स्थानीय तहको प्रमुखमा भने सबै वडाबाट महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले पाएका थिए। साहले सबै वडाबाट कांग्रेस र एमालेको उम्मेदवारभन्दा धेरै मत पाएका थिए।

साहले ९ हजार ६ सय ७४ मत प्राप्त गर्दा कांग्रेसबाट उम्मेदवार बनेकी सृजना सिंहले ६ हजार ५ सय १७ मत र एमालेबाट उम्मेदवारी दिएका केशव स्थापित ४ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए। स्मरण रहोस् सृजना सिंह उनै प्रकाशमानकी धर्मपत्नी हुन्।

सृजनाको उम्मेदवारी प्रकाशमानको राजनीतिक प्रतिष्ठासँग जोडेर पनि हेरिएको थियो। तर प्रकाशमानको अथक प्रयास बालेनले तोडिदिए।
काठमाडौंको यो क्षेत्रमात्र नभएर समग्र महानगरको वडामा कांग्रेसको बहुमत रहेको छ। तर सृजनाको हार र बालेनको उदयले प्रकाशमानलाई राजनीतिक धक्का भएको पनि विश्लेषण गरिन्छ।

यो क्षेत्र अधिकांक्ष नेपालको पूर्वी क्षेत्रबाट आएका नयाँ बस्तीका रुपमा परिचित छ।मतदाताहरुको सर्वेक्षण गर्दा पनि यहाँ धेरै ‘डेमोक्रयाटिक’मतदाता रहेको पाइन्छ। यहाँ नेवारी समूदायभन्दा अन्य समुदायको बाहुल्य देखिन्छ।

त्यसकारण प्रकाशमानले महाधिवेशनमा गरेको निर्णयले शेखर कोइरालाप्रति सहानुभूती राख्ने कांग्रेसी र गैरकांग्रेसीहरुले उनलाई मत दिन गाह्रो रहेको विश्लेषण भएको छ। त्यसैले बालेनले पाएको स्वतन्त्र मत मिश्रको पक्षमा पर्र्यो भने प्रकाशमानका लागि यो निर्वाचन निकै महँगो पर्ने विश्लेषण भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *