भौतिक शान्ति र परा-भौतिक शान्ति

डिसी नेपाल
२७ साउन २०७९ ८:४३

शान्ति समस्टिगत रुपमा आनन्द हो जहाँ मानिस सधैं रमाइरहेका हुन्छन्। शान्ति कसरी मिल्दछ र कस्तो कस्तो कर्म गरेपछि शान्ति र मुक्ति मिल्दछ भन्ने विषयको खोजमा हजारौँ बुद्धिमान, सन्त महन्त र योगीहरू हिडिँरहेको पाइन्छ।

शान्तिका लागि शान्तिका पुजारी र साधकहरु अनेक मन्त्र, अनेक पाठ, गीत र भजन संसारको सामुन्ने प्रस्तुत गरिरहेको पनि पाइन्छ। यसका साथै अनेक शान्ति कुन्ज र बाटिकाहरु पनि निर्माण भएका छन्।

यो भौतिक संसारमा सारा जीबनको सबैभन्दा अहम बाधक बिषय भनेको अशान्ति, पीडा चिन्ता र दुःख नै हो। समयको अन्तरालमा सबैले महशुस गर्ने विषय जीबन ब्यर्थ छ भन्ने बोध नै हो। तर जीवनको खास अर्थको बोध नहुनेहरुलाई नै अशान्तिको पीडा हुन्छ, जसमा कुनै रस, आनन्द नृत्य र संगीत हुँदैन र जीबन नीरस बनेर झण्डै जीउँदो लाश सरह बन्दछ।

तसर्थ त्यो कुन मार्ग हो जसले मानिसलाई शान्ति मिल्दछ। जीवन किन अशान्तिको विकल्प अशान्ति नै बनी पुनरावृत्ति भइरहेको छ?्र यो बास्तबमा अशान्त मनको उद्वेग मात्र हो जहाँ मानिस सबैतिर अशान्त देख्दछन् र सबै भूमिमा रहे गरेका दृश्य र कर्मदेखि अशान्तको महसुश गर्दछन्। यस्तो मानिसको दुखद तरंगलाई परिबर्तन गरी जीवनालाई शान्त रुपमा हेर्न सबै भन्दा पहिले आफू शान्त बन्नु नितान्त आवस्यक छ।

मनलाई शान्त बनाउन मनमा सर्वप्रथम शान्त मनोभाब जागृत गर्नु अत्यन्त आवस्यक छ। यस्तो अशान्तको कारणको रुपमा रहेका तरंगका अंगहरु लोभ, मोह, छलकपट, रिस राग, द्वेष र घमण्ड जस्ता मनका काला रौँ का जगल्टालाई कपाल मुण्डन गरी पूर्णतया त्याग, तपस्या, दया र करुणाको लहर तलामा हजारौं पटक डुबुल्की मारी आफूलाई निष्काम कर्म क्षेत्रमा लगी सबैलाई सम्मोहन गर्न सक्नु नै शान्ति प्राप्तिको मूल अभ्यास हो।

यो शान्ति प्राप्ति गर्नका लागि कुनै भौतिक संसार त्याग्नु पर्दैन किनकि यो पनि संसार भित्रकै एकअर्को आकर्षक संसार हो। यसै भित्रबाट नै आफ्नो मनलाई वातानुकुल परिबेशमा नियन्त्रित गरी सधैं शान्तिका कुरा, काम, सोच र बिचारको आयातबाट आफूलाई हरदम अभ्याश गराइरहने हो भने यसबाट अन्तत शान्ति नै आउने र पाउने हो।

शान्ति प्राप्तिका लागि शान्त वातावरण जति आवस्यक पर्दछ, त्यतिनै स्थान र संगतको आवस्यकता पर्दछ चाहे त्यो देशको राजनीतिमा होस्, अर्थनीतिमा होस् र समाजको धर्म संस्कृति र परम्परा नै किन नहोस्।

यस्ता हरेक मानवीय पक्षका वातावरणमा निष्काम कर्म गर्दै लैजाने हो भने शान्ति आफ्नै अगाडि पछाडि यत्र तत्र पाउन सकिन्छ यो लैकिक संसारमा। तर यी सब कुरा एक मानिसको एक शान्त मनले मात्र कुनै प्रभाब पार्दैन। यो प्रथमतः व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट सारा राष्टिीय र अन्तर्राष्ट्रिय जगतमा छाउनु पर्दछ।

अस्थिर, अशान्त, लोभ दुष्कर्म र कुचालले चलेको राजनीति, अर्थनीति र व्यभिचारले गाँजिएको नेपालको मौलिकताले पूर्णतया धर्म निष्ठा र परम्परामा आउँदै गरेको ह्रास र क्षयिकरणको कारण आज हाम्रो देश नेपाल सर्वत्र अशान्त बनी तड्पिरहेको छ। तसर्थ देश चलाउने शाखारू आफैं शान्त छैनन्। कसैको अनुहार पनि हँसिला छैनन्।

हेरौं हेरौं र पछाडि लागौं जस्ता कोही पनि छैनन्। उनीहरुमा शान्तिको मनोभाब र कर्मठता प्राय शून्य छ। मनमा निष्काम कर्मको भाबना र तरंग छैन। कर्मशील छैनन्। यस्तो स्थितिमा सारा तीन करोड नेपाली जनताले शान्ति कसरी पाउने? यो कल्पना भन्दा बाहिरको कुरा छ।

बिबेक हराएका शासक बर्गहरुबाट देशले शान्ति पाउन नेपालीले अब सक्दैनन्। यसकालागि देशले नयाँ शक्ति, नयाँ सोच, नयाँ जोस जाँगर र नयाँ बिचार भएका शिक्षित युवा वर्गको अपेक्षा देशले राखिरहेको छ। जसको निष्काम कर्म र बिबेकले देश र देशबासीमा छिट्टै शान्ति आउने कुरा निश्चय छ, भौतिक रुपमा।

भौतिक शान्तिको सट्टामा एक व्यक्ति बिशेषले आफ्नै मनमा शान्ति ल्याउने हो भने सर्वप्रथम आफू सत्कर्ममा लाग्नु पर्दछ जसबाट चित्त र मन शुद्ध हुन्छ। शुद्ध चित्त वा मनबाट मानिसमा सन्तोष पैदा हुन्छ जसबाट मन स्थीर रहन्छ र त्यसबाट अन्तत पाउने शान्ति नै हो।

तसर्थ मोह, वासना, राग र लोभलाई हटाइ कर्मज्ञान, भक्ति र समर्पणमा आफ्नो मन लगाउने हो भने यसबाट महाज्ञानको ढोका खोलिइ झण्डै तेश्रो आँखा पनि खुल्दछ जसबाट शान्तिको साथ साथै मुक्ति पनि मिल्दछ। तर अरुको भरमामात्र, अरुको लहलहैमा मात्र घुमिरहनेहरुको भित्र मनमा भएको आफ्नो ईश्वर हाँस्दैन र नाच्दैन।

जबसम्म मानिसको चित्तमा ईश्वर छमछम नाच्दैन, शब्द ब्रम्हको नादको महसुस हुँदैन र फेरि शब्द ब्रम्हको नाद नभई ज्ञान र बुद्धिको मेल पनि हुँदैन जुन बिना मानिस कर्दम बन्न सक्दैन। यसको अभावमा मानिस फेरि मोहजालको दलदलमा फसी मानिसले न शान्ति पाउँदछ न त उही हरिहरको दर्शन नै। अतः शान्तिको लागि तल्लिन नभई शान्तिको खाली कर्मकाण्ड मात्र गर्नेहरुलाई मृत्यु पश्चातमात्र शाश्वत शान्ति (रेस्ट इन पिस ,रिप) मिल्दछ भन्ने विषय निर्विवाद छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *