महिला कति प्रतिशत ?

डिसी नेपाल
२८ साउन २०७९ ६:४५

एकाएक मेरा दिमागमा एउटा उरन्ठ्यौलो जिज्ञासा जन्मियो कि हाम्रो यो समाजमा महिलाकोे हिस्सा कति प्रतिशत? यो प्रश्न मेरा वरिपरि घुमिरहन्छ सधैँ। किनकि म मेरा जीवनभरि श्रद्धेय महिलाकै वरिपरि छु। महिलाबिना पुरुषको अस्तित्व मात्र नहुने कुरा होइन कि बरु पुरुषस्वरूपको कल्पना गर्न पनि सकिन्न।

मैले समाजमा महिलाको स्थान कति प्रतिशत भनेर प्रश्न राखिरहँदा जनसङ्ख्याको गणनालाई आधार मानेको होइन। त्यो त थोरबहुत आधा होला। अलिकति बढी होला वा कम होला। यो गणनाको हिसाब गर्न त सजिलो पनि होला। तर त्यसले समाजमा महिलाको अस्तित्वको प्रतिशतलाई फरक पार्ने होइन।

हुनतः सङ्ख्यात्मक हिसाबलाई आधार मानेर महिलालाई आधा आकाश भनिएको होला। तर मैले महिलाको प्रतिशतको मापन गर्न प्रचलित समाजमा महिलाको अस्मिता, अस्तित्त्व र भूमिकाको रूपलाई आधार मान्ने प्रयत्न गरेको छु।

म इतिहास–संस्कृतिको विद्यार्थी हुँ। धर्म-परम्परा-खान्दानको गौरव (घमण्ड ?) बुझेको मान्छे हुँ। म जन्मेको, बढेको तथा पढेको परम्परागत खान्दानी आदर्श बोक्ने आम नेपाली समाजमै हो। त्यस कारण नेपाली समाजका विकासका रूपहरू मेरा आँखा अगाडि नै सललल बगिरहेका छन्।

इतिहासका पानामा समाज विकास हुँदा महिला तथा पुरुषको अवस्थाका बारेमा पनि थोरबहुत जानकारी पाएकै हो। ती क्षणदेखि लिएर वर्तमान नेपाली राजनीतिक समाजसम्म आइपुग्दा एक खाले बोध मैले स्वाभाविक रूपले गरेकै छु। यो आलेख अनुसन्धान होइन। यसलाई निजी बोध ठानिदिँदा हुन्छ।

मैले यहाँ प्रयुक्त गरेको समाज विकासको धारणाको आधार ईश्वरीय सृजना होइन। म पूरापूर समाज विकासको वैज्ञानिक ऐतिहासिक विकासवादको दर्शनलाई पछ्याउँदै छु। यो दर्शनअनुसार मान्छे जङ्गली अवस्थाबाट समाज विकासका चरणहरू पारगर्दै आजको अवस्थामा आएको हो। यो कुनै एकै दिन वा एकै सय वर्षको कुरा होइन। हजारौँ वर्ष लगाएर मान्छेले परिवार, समाज तथा सभ्यताको विकास गरेको छ। यसमा समयका कैयौँ चरणहरू लागेका छन्।

मान्छेले जङ्गली अवस्थाबाट पहिलो चरणको सभ्यतामा प्रवेश गर्दा समूह बनाएर बस्न थाल्यो। त्यो समूहलाई कबिला नामाकरण गरिएको छ। कबिला युगमा आमा नै कबिलाको नाइके, वंशको अधिकार तथा हर्ताकर्ता थिइन्। किन भने त्यो बेला सन्तानको बाबु टुङ्गो लाग्दैनथ्यो। तर आमा भने टुङ्गो नलाग्ने कुरा थिएन।

यौनानन्दका कारणले पुरुषहरू महिलाका वरिपरि स्वाभाविक रूपले घुम्थे। महिलालाई खुसी पार्न प्रयत्न गर्थे। त्यस कारण त्यो समाजमा आमा नै देवी, आमा नै पालक, आमा नै जन्म दिने, कर्म दिने, पालनपोषण गर्ने र शक्तिशाली वंश दिने संस्था थियो।

समाज विकासको त्यो प्रारम्भिक चरणमा आइपुग्दा मान्छेको सभ्यतामा महिलाको स्थान, उत्तरदायित्व, अधिकार र अस्तित्व, अस्मिता शतप्रतिशत थियो। त्यसैलाई मातृसत्तात्मक समाज भनिएको हो।

तर समाज विकासको यो गति सधैँ एकै नास चल्न सकेन। तिनताक कबिलाहरू एक अर्कामा युद्ध गर्दथे। युद्धको आदेश तथा युद्ध व्यवस्थापन महिलाले नै गर्थिन्। पुरुष युद्धमा जान्थे। सिकार खेल्न जान्थे। पुरुषसँग महिला पनि युद्धमा जान्थे। पुरुष अलि धेरै बलको काम गर्दथे। कबिला-कबिला बीचको युद्ध जितेर अर्को कबिलाबाट महिला तथा पुरुषलाई बन्दी बनाएर ल्याइन्थ्यो। बन्दी महिला तथा पुरुषलाई नेल ठोकेर कैद गरिन्थ्यो।

पुरुष बन्दीलाई तल्लो तहको निजी नोकरको दर्जामा राखिन्थ्यो। नमानेमा कोर्राले हिर्काइन्थ्यो। यसले कालान्तरमा सामाजिक सभ्यतामा दासप्रथाको जन्म दियो। महिला कैदीलाई नाककान छेडेर डोरीले बाँधेर खाँबोमा बाँधिन्थ्यो। हातमा हत्कडी लगाइन्थ्यो। खुट्टामा नेल ठोकिन्थ्यो। त्यो भनेको महिला नभागून भन्ने आशय थियो।

यो सबै महिला नाइकेकै आदेशमा हुन्थ्यो। कबिलाप्रमखकै आदेशमा हुन्थ्यो। यही क्रममा महिलालाई बन्दी बनाएर ल्याउने आफ्नो कबिलाको युद्ध सरदारलाई पुरस्कार स्वरूप बन्दी महिलालाई निजी रूपमा प्रयोग गर्न दिने गर्न थालियो। यो भनेको महिला बन्दीलाई दिइएको यौन सजाय थियो।

यो निजी श्रीमती बनाउने प्रक्रियाबाट बाबुको टुङ्गो लाग्न थाल्यो। यो पद्दति यतिसम्म विकास भयो कि शनैशनै मातृसत्ताबाट समाज पुरुषसत्तामा रूपान्तरण हुन थाल्यो। यो अवधीमा महिलालाई नाककान छेडेर, नेल हत्कडी लगाएर राख्न थालियो।

यो चलन सुधारिएर गए पनि सिम्बोलिक रूपमा महिलाले लाउने गहनामा रूपान्तरण भयो। त्यो गहना लगाउने चलनलाई धार्मिक तथा सामाजिक प्रचलनले गौरवको लेपन दिए। यसरी समाजमा शतप्रतिशत भूमिका निर्वाह गर्ने महिलाको अवस्था तल झर्‍याे।

शनैशनै समाजको विकास हुन थाल्यो। महिलाको अवस्था झन् कमजोर हुन थाल्यो। निजी श्रीमती राख्ने परिपाटीले गर्दा पुरुषले बहुबिहे गर्न थाले। महिलाको नचिनिने पतिप्रथाको चलनमा अवरोध भयो। यसप्रकारले महिलाको अवस्था निकै दयनीय बन्न थाल्यो।

महिलालाई भोगबिलास तथा निजी सम्पत्तिसरह मान्न थालियो। समाज विकासको यो खण्डको सभ्यताले महिलालाई अवला भनी व्याख्या गर्‍याे। श्रीमतीलाई दासीको दर्जा दियो। यो कुरा पुष्टि गर्न अनेकौँ शास्त्रहरूको निर्माण भयो। ती शास्त्रले महिलामा कमजोर मानसिकता हालिदियो।

महिलाको सुरक्षा पुरुषले गर्नु पर्छ भन्ने मान्यता स्थापित गरिदियो। यसरी समाजमा पुरुषसत्ता स्थापना भयो। यो पुरुषसत्ताले समाजमा परम्परा, सभ्यता, खान्दान वा संस्कृतिका रूपमा जरो गाड्यो।

इतिहासको यो कालखण्डमा महिलाहरूले शालीन विद्रोह त गरे। ज्यान जोखिममा राखेर महिलाले विरोध गरे। तर पुरुषसत्ताले त्यसलाई दमन गर्ने काम गर्‍याे। यहाँनेर एउटा कुरा प्रस्टहुनु जरुरी छ कि पुरुष भन्नु र पुरुषसत्ता भन्नु अलग कुरा हो। पुरुष भन्नु व्यक्ति हो। व्यक्तिको समूह हो। तर पुरुषसत्ता भन्नु दर्शन हो। समाज व्यवस्थापनको एउटा आधार हो।

तर पनि महिलाले गरेका विद्रोहबाट पुरुषसत्ताले बाध्यभएर सुधारिनुपर्ने अवस्था आयो। त्यसपछि पुरुषसत्ताले श्रीमती महिलालाई अर्धाङ्गिनी मान्ने परिपाटी चलायो। यसैअनुसार सामाजिक शास्त्रका सिद्धान्तहरू बने। गौर गरेर हेर्‍याे  भने पुरुषलाई अर्धाङ्ग कमै भनिन्छ। यो शास्त्रीय दर्शनले पुरुष शतप्रतिशत र महिला आधा भन्ने अर्थ बोक्छ। याने कि पुरुष पूर्ण र महिला खण्ड हो भन्ने गुप्तदर्शन बोक्छ।

यो अर्धाङ्गिनी भन्ने सिद्धान्त स्थापना गर्नका लागि पनि महिलाले विद्रोह गरेका छन्। अर्धाङ्गिनीभन्दा पहिले त महिलालाई दासीको हैसियत थियो। दासीको अवस्थाबाट अर्धाङ्गिनी हुनुलाई अहिले पनि समाजले गौरव महसुस गर्छ।

वर्तमानकालको नेपाली समाज भनेको यही खण्ड हो। पुरुषसत्ताका विरुद्ध आवाज उठाउने र आफ्नो अस्तित्वको रक्षा गर्ने भनिएको छ। त्यो भनेको दासीको अवस्थाबाट मुक्ति र अर्धाङ्गिनीको दार्शनिक आधार प्राप्ति हो। तर समाजमा प्रचलित रहेका परम्परा, प्रचलन, सभ्यता तथा संस्कृतिको परिधिभित्र बसेर खोजिने महिला अस्तित्वको अधिकार पूर्ण हुन सक्दैन।

यो कुरा बुझेको पुरुषसत्ताले सामाजिक रूपमा महिलालाई अर्धाङ्गिनी, आधा आकाश र गृहिणीको पदवी दियो। र, कालान्तरमा राजनीतिक रूपमा ३३ प्रतिशत आरक्षण दिने प्रलोभनयुक्त राजनीतिक नारा अगाडि सारेको छ। यद्यपि व्यवहारमा समाजका हरेक पक्षमा ३३ प्रतिशत स्थान अझै पाएका छैनन्।

लेखिएको यो कुरा प्राप्त गर्न पनि महिलाले अझै आन्दोलन गर्नु परिरहेको छ। अझै चेतनशील भनिने महिलाले यो ३३ प्रतिशतको अबधारणाभन्दा परतिर गएर ५० प्रतिशत भन्ने माग पनि उठाएका छन्। बाहिरबाट हेर्दा यो नारा प्रगतिशील देखिन्छ। महिलाले जनसङ्ख्याको हिसाबमा प्रतिनिधित्व खोजेको देखिन्छ। यसले समाजमा महिलाको पूर्ण स्वतन्त्रता दिन्छ भन्ने पनि गरिन्छ।

तर मेरा विचारमा यो अर्धाङ्गिनी वा पचास प्रतिशत वाला सिद्धान्तले पनि समग्र महिलाको अस्तित्व र अस्मिताको हित गर्दैन । रक्षा गर्दैन। सम्भव छैन। यसमा पनि तिनै परम्पराको धङधङी बोकेका कथित शिक्षित वा अगुवा भनिएका सुबिधाभोगी महिलामात्र समावेश हुने हो।

तिनै पनि समाजमा आफ्नो अस्तित्व र अस्मिताका लागि परजीवी नै हुन्छन्। यो विकास भनेको पनि पुरुषसत्ताकै विकसित रूप हो। यसबाट समग्र महिलाको कुनै हित सम्भव छैन। राजनीतिक रूपमा ५० प्रतिशत भनिए पनि यो पक्ष समग्र महिलाको अस्तित्व, उत्तरदायित्व तथा अधिकारको प्रसङ्गमा ल्याउने हो भने प्रतिशत मै आउँदैन।

यो दर्शनले महिला मात्र होइन, पुरुष पनि पीडित भएका छन्। किनभने पुरुषसत्ताको परम्परागत मानसिकता र महिला विद्रोहको अनावश्यक ठाउँमा स्वच्छन्दताले वर्तमान नेपाली समाज दुःखी छ।

महिला आन्दोलन आधा आकाश प्राप्तिको रूपमा होइन, शतप्रतिशत ठानेर अघि बढ्नु पर्छ। भौतिकरूपमा शतप्रतिशत, मानसिकरूपमा शतप्रतिशत, अस्तित्वका रूपमा शतप्रतिशत। अस्मिताका रूपमा शतप्रतिशत। यसरी महिलाले शतप्रतिशतका लागि आन्दोलन गर्दा प्रचलित सामाजिक परम्परा, कथित मूल्यमान्यता तथा धर्म-संस्कार-प्रचलनले अबरोध पुर्याउने कुराकाबारेमा भने पूर्वमान्यता राख्नु जरुरी हुन्छ।

यस्तो किन भइरहेको छ? किन हुन्छ यस्तो कुरा? यसो हुनुका केही सामाजिक, सांस्कृतिक तथा सभ्यताका कारणहरू छन्। यो अर्धाङ्गिनी र पचास प्रतिशतवाला फर्मुला नै गलत छ। फर्मुला नै गलत भएपछि समस्या समाधान हुने सम्भावना नै रहन्न। यद्यपि मान्छे वास्तवमा आफू उभिएको धरातललाई नै ठीक ठान्छ।

यो धरातल उसको अध्ययन, चेत र परिवेशमा निर्भर हुन्छ। हुनतः संसारका महिलाहरूले अहिले पनि भोग्दै आएका विसङ्गतिका तुलनामा नेपाली महिलाहरूले प्राप्त गरेको उपलब्धि भने राम्रो छ। खास गरेर कथित उपल्लो जात मानिने आर्य बाहुन क्षेत्री परिवारमा भन्दा मङ्गोल सभ्यतामा महिलाको स्थान उच्च छ। तुलनात्मक रूपमा उनीहरू गरिब हुन पनि सक्लान्। तर स्वतन्त्र छन्। गरिब हुनु र स्वतन्त्र हुनु दुई बेगल कुरा हुन्।

उनीहरूमा महिलाको अस्तित्वको प्रतिशत उच्चकुलीनभन्दा बढी छ। सहज पुनरविवाह छ। यौनआचरणका कुरा तुलनात्मक रूपमा उच्चकुलीन ठान्ने बाहुनक्षेत्री कुलमा धेरै कठोर छ। यो यौनआचरणलाई जीवनकै आचरण मान्ने बुझाइले महिला कहिल्यै पनि माथि उठ्न सक्दैनन्। त्यस कारण वर्तमान महिला आन्दोलनले सही बाटो अबलम्बन गरेको प्रतित हुँदैन।

यहाँहरूले मलाई प्रश्न गर्दै हुनुहुन्छ कि यसको समाधान के? यसको समाधान भनेको बुझाइको कुरा हो। आधा अङ्गवाला फर्मुलाका आधारमा बुझ्नु भयो भने आधा भनेको पूर्ण होइन भन्ने बुझिन्छ। त्यस कारण समाजमा हरेक मान्छे पूर्ण हुन् भन्ने फर्मुलाको विकास गर्नुपर्छ। हरेक महिला व्यक्तिगत रूपमा नै पूर्ण हो। भौतिक, मानसिक, अस्तित्व तथा अस्मिताका हिसाबमा नै पूर्ण हुन्। हरेक पुरुष व्यक्तिगत रूपमा नै पूर्ण हो। याने कि शतप्रतिशत हो।

एउटा उदाहरण दिन्छु-दुई सग्ला ५ का नोट हालेर बनायो भने त्यो १० रुपियाँ हुन्छ। १० रुपियाँ भन्नु जीवनको सम्बन्ध हो। त्यहाँ ५ को नोट पनि सग्लो हुन्छ। शतप्रतिशत हुन्छ। तर हामीले विकास गर्न खोजेको सभ्यता तथा महिला आन्दोलनले सग्लो ५ को नोटकोे कल्पना गर्दैन। बरु दसको नोटलाई च्यातेर आधाआधा बनाउँछ। अर्धाङ्ग/अर्धाङ्गििनी बनाउँछ । परिणाम त्यो न दस रुपियाँको सुन्दर नोट हुन्छ, न पाँच रुपियाँको सग्लो नोट हुन्छ।

अहिलेको हाम्रो समाजको पुरुष तथा महिलाको अवस्था अझ खासगरी लोग्ने.स्वास्नीको सम्बन्ध भनेको त्यही च्यातिएको १० को नोटको टुक्रा जस्तो हो। टेप लगाएर चलायो, फेरि फुस्किहाल्छ। हो वर्तमान नेपाली समाज त्यही नोटको च्यातिएको टुक्रालाई स्वतन्त्रता, समानता तथा अस्तित्व ठानिरहेछ। दुईवटा ५ का नोटहरू आफ्ना केही महत्त्वपूर्ण स्वार्थले जोडिएर १० रुपियाँ बनेको भन्ने तथ्य नमान्दा अहिलेको महिला आन्दोलन धरापमा परेको छ।

त्यस कारण महिला आन्दोलन आधा आकाश प्राप्तिको रूपमा होइन, शतप्रतिशत ठानेर अघि बढ्नु पर्छ। भौतिकरूपमा शतप्रतिशत, मानसिकरूपमा शतप्रतिशत, अस्तित्वका रूपमा शतप्रतिशत। अस्मिताका रूपमा शतप्रतिशत। यसरी महिलाले शतप्रतिशतका लागि आन्दोलन गर्दा प्रचलित सामाजिक परम्परा, कथित मूल्यमान्यता तथा धर्म-संस्कार-प्रचलनले अबरोध पुर्याउने कुराकाबारेमा भने पूर्वमान्यता राख्नु जरुरी हुन्छ।

आन्दोलनका क्रममा तीसँग जुध्नु बान्छनीय हुनजान्छ। ती त्यति सजिलै परिवर्तित हुनेवाला होइनन्। यसको तात्पर्य समाजविग्रह होइन, समाजलाई अग्रगमनतिर लैजाने हो। समाजलाई वैज्ञानिक तरिकाले अगाडि लैजाने हो। महिलाले शतप्रतिशतका लागि विचार, व्यवहार र कर्ममा आन्दोलन उठाउनु पर्छ जस्तो लाग्छ मलाई।

यो मेरो नितान्त व्यक्तिगत विचार हो। मेरो चेतले मलाई अह्राएको कुरा हो। यो कुरामा पाठक महानुभावहरू सहमत हुनै पर्छ भन्ने छैन। सहमत हुनुभयो भने म खुसी हूँला, त्यो अर्कै कुरा हो। असहमत हुनुभयो भने पनि म यहाँको विचार, चेत तथा सोचाइलाई श्रद्धा गर्छु। नमन गर्छु। आखिर संसारको एउटा सानो जीव न हौँ हामी। यो पृथ्वी सबैको साझे त हो। साझे पृथ्वीमा साझा अस्तित्वको कुरा मात्र त हो। त्यसो त संसारमा अनेकौँ विचार आइरहन्छन्। गइरहन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *