व्यंग्य : भोट खसाल्ने, कुर्सीमा बसाल्ने

डिसी नेपाल
२८ साउन २०७९ ८:०८

नयाँ संबिधान बनेर लागू भएपछि संसदीय चुनाव सकिएको र उम्मेदवारद्वारा भयंकर आकार प्रकारका आश्वासन बकिएको पनि पाँच बर्ष बितिसकेछ।

आवधिक निर्वाचनको ब्यबस्था अनुसार जनताले फेरि आफ्नो अमूल्य भनिएको र बिभिन्न दानहरु मध्ये संसारमै सबैभन्दा महत्वपूर्ण दानमा गनिएको मतदान गरेर आफूमाथि शासन गर्ने शासक आफैं छान्ने,उनिहरुलाई बसिबसी बजेट भोजन गर्ने कुर्सीमा लुछाचुुडीको लागि आफैं तान्ने,यसभन्दा अगाडि ति उम्मेदवार र तिनको दलले गरेका कामहरु सर्लक्कै बिर्सेर तिनका सबै कुरा आफैं जान्ने अनि चुनाव अघिका एकदुइ दिन रक्सी र मासुभात खाएको भरमा आँखा चिम्लेर स्वस्तिक छाप हान्ने मतदाता भएपछि उम्मेदवार नेताहरु ढुक्क भएर हिँड्नु सामान्य नै हो।

अगाडिको चुनाव जितेर सँघिय र प्रदेश सँसदमा छिरेका अनि बिभिन्न बिभाग र समितिहरुको जिम्मेवारि भिरेका माननियहरुले आफूले बाचा गरे अनुुसार नै जनताका काम गरेर राम्रोसित गुन तिरेका हुनाले यसपालिपनि आफैंले जित्नेमा मख्ख परेको सुन्दा जनता त्यसै त्यसै दंग भएका छन्।

अघिल्लो चुनाव पछि गाउँगाउँमा सिंहदरवार पुर्‍याएका नेताहरुले अबको चुनाव पछि घरघरमा सिंहदरवार लैजाने र अघिल्लो चुनाव पछि जस्तै यसपालिपनि उहाँहरुले बोलेका कुरा चुड्किको भरमा पूरा भैजाने निश्चित नै छ। साबिक झैं यो चुनावमा पनि सकभर नयाँ अनुहारलाई आउन, उम्मेदवार भएर भोटको लागि जनताका अगाडि धाउन र दलबाट टिकट पाउनसमेत नदिइ पुराना, अनुभवी र खप्पिस उम्मेदवारलाई नै मौका दिएमा जनता नेता र अन्य सबैलाई सजिलो हुने थियो भन्ने आम धारणालाई गलत भन्न मिल्दैन।

चुनाव भनेपछि र दह्रो प्रतिष्पर्धा हुने बिषयमा गनेपछि सबैतिर रमाइलो हुनु स्वाभाविक नै हो। तर अहिलेको चुनावमा पहिलेको चुनाव भन्दा बढी रमाइलो हुने भयो भनेर यसमा चासो राख्ने र यसको भरपुर मजा चाख्ने जमातलाई अझ बढी रमाइलो हुने निश्चित छ।

यसपालि मतदान गर्ने मतदातालाई भोट खसाल्ने र संसदमा पसाल्ने ब्यक्तिको छनौट गर्नभन्दा पनि दलहरुलाई आफ्नो आधिकारिक उम्मेदवार छान्न अनि आफ्नो उम्मेदवारलाई जिततिर तान्न ज्यादै मुश्किल पर्ने हो कि जस्तो पो देखिन्छ।

दलहरु एकअर्कासित प्रतिष्पर्धा गर्न भित्रभित्र डराउने गरेपनि प्रतिद्वन्दीलाई सजिलै हराउने भनेर आफ्नो समूहमा कराउने बाहेक अर्थोक गर्न हिचकिचाएको देखेर मतदाताहरुले चुनाव घोषणा हुनुभन्दा अगाडि देखि नै रमाइलो मानिरहेका र दलहरुको औकात खस्किँदै गएको भनेर जानिरहेका छन्।

अघिल्लो संसदीय चुनावमा स्वघोषित अति समृद्धिका हिमायती बालकोटे कामरेड र स्वघोषित महान नेता भनेर प्रख्यात खुुमलटारे कामरेडले बाम गठबन्धन गरेर प्रजातन्त्रको आधारभूत अर्थसमेत ठ्याम्मै नबुझेका सबैभन्दा पुरानो प्रजातान्त्रिक दलका सभापतिसमेत रहेका काकतालीमा सरकार प्रधान हुन पाएका बुढानिलकण्ठे सभापतिलाई चुर्लुम्मै डुबाएर झण्डै दुई तिहाइ बहुमत ल्याएका थिए।

स्वघोषित महान नेता खुमलटारे कामरेड बुढानिलकण्ठे सभापतिले भनेजति र भनेको क्षेत्रमा गठबन्धन गरेर चुनाव जिताउने र बालकोटेलाई बिताउने ग्यारेन्टी नगरे यताको गठबन्धन छोडेर अनि यताकासित नाता तोडेर बरु बालकोटेसित घाँटी जोडेर हिँड्नपनि सकिन्छ भनेर घुक्र्याउँदै हिँडेका छन्।

बोकाको मुुखमा ठूलो साइजको कुभिण्डो परेर घाँडो भएजस्तो भएर आफ्नै बहुमतको सरकार ढाल्ने, आफ्नै सगोत्रीलाई बालुवाटारबाट बाहिर फाल्ने र छँदाखाँदाको बलियो दललाई फुटाउन आफैं जोडदार कदम चाल्ने अनि आफ्नै दल आफ्नै सरकारका बिरुद्ध उजुरी हाल्ने ज्यादै प्रजातान्त्रिक लोकतान्त्रिक र गणतान्त्रिक प्रकृयाहरु अबलम्बन गरेर देश र जनताको लागि सारै परिस्कृत खाले गठबन्धन गरेर सरकार बनाएकोमा स्वदेशीहरु मात्रै होइन बिदेशीहरुपनि चकित परेका छन्।

सर्प, बिच्छी, भ्यागुुतो, न्याउरी मुसो, गंगटो, जुुका, जुम्रा, उडुस, उपियाँ, फट्याँग्रा, माकुरा, चमेरा आदि जस्ता बिभिन्न खालका स्वजिवी र परजिवीहरुको समूहहरु मिलेर, सम्पूर्ण मूल्य मान्यता सिद्धान्त आदर्श जस्ता हावादारी बिषयहरुलाई खर्लप्पै निलेर र यसैको आडमा देशका सबै ठाउँहरुको आर्थिक कुराहरुलाई चिलेर स्वाद लिँदै अनि गठबन्धनलाई धन्यबाद दिँदै बजेट बजाएकोमा जनता अति सन्तुष्ट देखिएका छन्।

अघिल्लो चुनावदेखि नै एक्लै चुनाव उठेर जित्न खोजे झुट फट्याइ र गफको भरमा चलेको राजनीतिक ब्यापार त्यसै बित्न सक्ने छर्लङ देखेपछि परजिवी बन्दै गरिएको गठबन्धन अब चुनावको अनिवार्य आवश्यकता नै भएर आएको छ।

सबै दलहरुमा अब गठबन्धन नगरे चुनाव जित्न सकिँदैन भन्ने ज्यादै राम्रो मनोबिज्ञानको बिकास भइसकेको हुुनाले यो मात्रै सरकारमा जाने सबैभन्दा बलियो निकास हो भन्ने भइसकेको छ। गठबन्धन गर्नको लागि कसैसित कसैको कुुनैपनि किसिमको मापदण्ड निकटता वा कुुनै किसिमको आधार चाहिँदैन।  चुनावमा फाइदा हुने र त्यसको आधारमा ठूलो कुर्सी छुने ब्यबस्था हुन सक्छ भने जोसितपनि गठबन्धन गर्न पाउँ भनेर रुने अबस्था आएको देखिन्छ।

को प्रजातान्त्रिक, को बामपन्थी, को उग्रवादी, को आतंकबादी, को प्रतिगामी, को पुुनरुत्थानवादी, को अग्रगामी, को बिदेशीका दलाल, को भ्रष्टाचारी, को ब्यभिचारी, को बलात्कारी, को अत्याचारी, को हत्यारा, को अपराधी, को सन्यासी, को स्वतन्त्र, को के को के आदि जस्ता बिशेषणहरुको कुुनै अर्थ छैन। टिकट मिल्छ र त्यसले जहाँबाट भएपनि नगद निल्छ भने कसैलाई कसैको कुनै मतलब छैन। सहकर्मी, सहधर्मी, सहकारी, शत्रु, मित्र, झगडिया आदि जे भए पनि केही फरक पर्दैन। खाली स्वार्थ मिल्नपर्छ र बाँडिचुँडी निल्नपर्छ। त्यति भए पछि सबैलाई पुग्यो।

बालकोटे कामरेड एक्लाएक्लै भिड्ने र बैशाखी नटेकी हिँड्ने तागत छ भने सिंगल सिंगल लड्न आओ भनेर लल्कार्दै सुुरुवाल भित्रका गोडा कामे पनि बाहिर नडराए जस्तो नाटक गरेर कुर्लिँदै र बातै पिच्छे थपडी मारेर खुसी पार्ने भजन मण्डलीको अगाडि फुलेर उर्लँदै बहुुमत ल्याएर देखाउने फर्मुला बताउँदै हिँडेका छन्।

स्वघोषित महान नेता खुमलटारे कामरेड बुढानिलकण्ठे सभापतिले भनेजति र भनेको क्षेत्रमा गठबन्धन गरेर चुनाव जिताउने र बालकोटेलाई बिताउने ग्यारेन्टी नगरे यताको गठबन्धन छोडेर अनि यताकासित नाता तोडेर बरु बालकोटेसित घाँटी जोडेर हिँड्नपनि सकिन्छ भनेर घुक्र्याउँदै हिँडेका छन्।

उता स्वघोषित अति नैतिकवान नेता कोटेश्वरे कामरेड पनि रोइ कराइ गरेरै भए पनि जतिसक्दो बढी कोटा हात पार्दै लोटा बोकेर हिँड्न पर्ने अबस्थाबाट पार पाउने दाउमा रहे जस्तो छ। गठबन्धनको जसपा र संजमो भन्ने स्वघोषित अत्यन्त लोकप्रिय दलहरुपनि सकेसम्म बढी संख्या लिने र गठबन्धनका अरु दलका मतदाताहरुको भोटबाट बिपक्षीलाई टक्कर दिने सोचकासाथ अघि बढिरहेका छन्।

गठबन्धनका अति पेशेवर राजनैतिक ब्यबसायीहरुको सिट बाँडफाँड गर्न र जे गरेर भएपनि आफू माथि पर्न अनि दल र ब्यक्तिको क्षमता भन्दापनि मन नलागि नलागि जबरजस्ती आफ्नो सिद्धान्तभन्दा बाहिरका मतदाताको भोटले जितेर तर्न अघि सरेका महानुभावहरु जोडजोडले त्यसमा लागि परेका छन्।

मोडालिटी बनाउने र त्यसमा सबैले प्रतिबद्धता जनाउने बिषयमा बैठक बस्दाबस्दा कोको कतिसम्म गनाउने हुन् त्यो त आउने समयले प्रष्ट पारिहाल्छ। मुुखले कसै गरेपनि नतोडिने र सानोतिनो समस्यामा नछोडिने गठबन्धन भनिएपनि स्वार्थ नमिलेमा उता जान्छु उता मिल्छु भनेर तर्साउने अनि पाइला पाइलामा बार्गेनिङ गरेर मागहरु बर्साउने स्वघोषित महान नेता स्वार्थ मिल्यो भने आफू जस्तो लचकदार नेता देशमै अर्को छैन भन्ने चर्को आवाज सहित जोसुकैलाई झर्को लागेपनि फाइदा पाइने समुहसित लपक्क टाँसिएर थपक्क संसदमा भित्रिने दाउमा सधैंभरि लागिरहकै हुन्छन्।

अरु सानातिना र झिनामसिना दलहरुपनि गठबन्धनको चक्कर खोज्दै हिँड्दा मतदाताबाट ठक्कर मात्रै हात लाग्ला भनेर भोट त ज्यादै गहिरो अक्करमा पो हुुने रहेछ भन्दै हिँडेका छन् रे।

स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरुले जितेको देखेर आफ्नो पेशा छोडेर सजिलै नगद फलाउने राजनीति जस्तो उत्पादन मूूल पेशामा आएका र सबै काम छाडि मतदाताकहाँ धाएका स्वतन्त्र पनि कुुनै दलसित गठबन्धन गरेर गाँसिन अनि कुनै नाम चलेकोसित टाँसिन पाए बिगतमा चुनाव जित्दै जनताको काममा दुख पाएका नेताहरुको भन्दा राम्रो कमाइ गरेर बाँकी जीवन रमाइ रमाइ बिताउन पाइन्थ्यो भनेर हिँडेका हुन् कि भन्नेहरुको कुरा सुन्न हुुँदैन।

यो चुनावमा भाग लिने सबै दलहरु आआफ्नै बलबुुतामा एक्लाएक्लै खडा भएर भोटको घडा भर्नेभन्दा रोएर कराएर घुुक्र्याएर तर्साएर धम्क्याएर फकाएर आदि जे गरेर हुुन्छ त्यही गरेर आफ्नो सिट पक्का मात्रै गर्न सके पनि हिट खाइन्छ र त्यति भएपछि जितेर संसदमा जाइन्छ भन्नेमा छन्।

देश र जनताको समस्या आबश्यकता चाहना आकाँक्षा भन्ने त अहिलेलाई चाहिने बिषय नै होइनन्। पहिले आफ्नो सिट पक्का गरेपछि मात्रै घोषणा पत्रमार्फत बिपक्षीलाई धक्का दिने सोचलाई अन्यथा लिन हुँदैन। जाबो जनताको बारेमा सोचेर र नचाहिने कुराले दिमागलाई घोचेर बस्ने फुर्सद निकाल्यो भने त नेता हुुँदै भइँदैन भन्ने अत्यन्त परिस्कृत र आधुनिक सोचाइ भए मात्रै वास्तबिक नेता हुुन सकिन्छ अनि ठाउँठाउँमा पुगेर सोही अनुसार बकिन्छ भनेर बेलैमा बुझ्न सक्नु असल र सफल नेताको सही परिचय हो भन्ने जनताले पनि राम्ररी बुझिसके।

एकथरी अबुुझहरु हरेक दलका स्वघोषित शिर्षहरुलाई हराउने अभियान नै लिएर जतासुुकै कराउने गर्दै हिँडेपनि नेताहरु उनिहरुसित डराउने कुरै आउँदैन। अभियानवालाले सामाजिक सञ्जालमा मात्रै हल्लाखल्ला गरेर नेताहरुको चुनाव जित्ने सुुत्रसहितको जञ्जालमा गडबड पार्न सकिन्छ भन्ने सोच नै कमजोर छ।

जनताले जे जस्तो तरिकाले सोचे पनि आफूलाई ज्यादै राम्रो नेता ठान्ने र आफ्नो काम बाहेक अरु सबैथोक जान्ने अनि जहाँ नगद देखिन्छ त्यहीँँ बाकटे हान्ने संस्कृतिकै बिकास गरिसकेका स्वघोषित शिर्ष नेताहरुलाई केही फरक पर्नेवाला छैन।

स्वघोषित शिर्ष नेताहरुको चुनाव जित्ने आधार यहाँ भए पो यताका सित डर हुुन्छ त। उनीहरुको आधार भनेपनि आड भरोसा भनेपनि वा अरु जेसुकै भनेपनि सिमापारि देखि लिएर सात समुद्र पारिसम्म भएकोले यताकासित न डर छ न भर छ। सबै उतैको शरण परेपछि यताका कसैले केही हरण गर्न नसक्ने पक्का भएकोले उतैको चरण पखाल्न बल गरेपछि यताको राजनीतिमा अकालको मरण हुँदै भन्ने अटल बिश्वासको साथ अघि बढेका स्वघोषित शिर्षहरुलाई कसैले हल्लाउन सक्दैन भन्ने उहाँहरुको कुरा सबैले बुझेका छन्।

त्यही भएर बाहिर एकअर्का बिरुद्ध कराएर सत्तोसराप गरे पनि भित्रभित्र यिनीहरुको मित्रबत सम्बन्ध कायम भएकोले कसैले चुनाव हार्ने जस्तो देख्यो भने कसैले प्रत्यक्ष रुपमा लागेर वा कसैले अप्रत्यक्ष रुपमा भोट मागेर र कसैले जायज नाजायज सहयोगलाई थाहा नपाए जस्तो गरी अदृश्य रुपमा जागेर भएपनि जिताएका उदाहरणहरु नभएका होइनन्।

केही समय अघिको सविधान सभाको दोश्रो चुनावमा स्वघोषित महान नेता खुुमलटारे कामरेडले कीर्तिपुुर र सिराहा दुुबै स्थानबाट हार्ने निश्चित जस्तो देखिएपछि उनैका स्वघोषित महान शत्रु दक्षिणी छिमेकीको निर्देशनमा अरु सबै स्वघोषित शिर्षहरुको जानकारीमै जानेसम्म र मिलेसम्मको तरिका अपनाएर सिराहाबाट जिताइएको र वास्तबिक जित्ने उम्मेदवारलाई बिताइएको भन्ने उसबेलाको तात्तातो खबरलाई जनताले चाहिँ पत्याएका थिएनन्। त्यसैले बाहिर झगडा गरेजस्तो गरेर जतिसुकै ट्याउँट्याउँ गरेपनि यिनीहरु अस्तित्व बचाउने आशीर्वादको लागि म्याउँम्याउँ गर्न पुग्ने तिर्थस्थलको ठेगाना एउटै हो।

अहिले पाँच बर्षे आवधिक निर्वाचनको ब्यबस्था गरिएको र यसबाट सबै समस्या समाधान हुुन्छ भनेर ढुक्क परिएकोमा सबैभन्दा पछुतो यिनै स्वघोषित शिर्षहरुलाई परेको छ रे भनेर एकथरिले आफ्नै आँखाले देखेको र आफ्नै कानले सुुनेको भनेर हल्ला चलाएका छन्। यस्तो पहिलेदेखि नै हुुँदै आएको हो। उहिलेपनि राजा र रानी मात्रै भएको कोठामा एकले अर्कोलाई यस्तो भनेरे भन्ने हल्ला खुब सुनिन्थ्यो।

यस्ता हल्लाहरु सुनिँदै आइएपनि र यस्ता हल्लाहरु चलिरहन्छन् भन्ने थाहा पाइएपनि यसपालि चाहिँ कुरो गहिरै हो कि जस्तो देखिन्छ। गठबन्धनवाला र अरुवालालाई पनि एकै किसिमको सकस परिरहेको भएपनि ठोस मेहनत नगरी आतेपाते तरिकाबाट टरिरहेकोमा यसपालि अलि फरक हो कि जस्तो देखिन्छ। गठबन्धनको आडमा बाँडिचुँडी खाइरहेका र त्यसैबाट सबैथोक पाइरहेका अनि अझ बढी कसरी हातलागि गर्ने भनेर धाइरहेका दलहरुमा नेता कार्यकर्ता र उम्मेदवारहरुको ब्यबस्थापन ठूलो चुनौतीको रुपमा रहेको छ।

अरु गठबन्धनलाई सरापेको भरमा र तिनीहरु गतिला होइनन् भनेर देखाएको डरमा जनतालाई भुुलाएर पाइने भोटको कृपाले दुुधको तरमा मुुख गाडौँला अनि सबै नगद आपसमा बाडौँला र बिरोधिको मतलाई भाडौँला भन्नेहरुपनि चानचुने छैनन्। हात मुख र पेटमा पद प्रतिष्ठा र पैसाको स्वाद गढिसकेका अहिले भएका सबै माननीयहरु फेरि जितेर नआए बाँकी जीवन बिताउनै नसक्ने अबस्थामा छन्।

चुनाव हारेर म चुनाव हार्नै नहुने स्तरको स्वघोषित ठूलो नेता हुुँ भन्दै बाहिर कराउँदै र राजनीतिबाट लगभग हराउँदै गएका पितृ बर्गका नेताहरुपनि चुनावमा टिकट लिएरै छेड्नेमा दृढ देखिन्छन्।

गठबन्धन सठबन्धन जे भएपनि आफ्नो निर्वाचन क्षेत्रमा अर्कोलाई कुुनै हालतमा नछोड्ने र अर्को चुनाव चिन्हमा भोट हाल्नोस् भनेर कुुनै हालतमा जनतालाई हात नजोड्ने अनि जबरजस्ती गरेमा बिद्रोह गर्न परेपनि आफ्नो बिचार कुनै हालतमा नमोड्ने अभिब्यक्तिहरु जताततै सुनिएपछि भित्रभित्र छटपटी परेपनि स्वघोषित शिर्ष नेताहरुले बाहिर चिन्ता देखाएका छैनन्।

यसको ब्यबस्थापनको लागि प्रजातान्त्रिक तरिका भन्दा तर्साउने धम्क्याउने लोभ्याउने घुुक्र्याउने र फकाउने ब्यबहारिक तरिकाले आफ्नो रोटी पकाउने पुरानै शैली अपनाएर राष्ट्रिय ढुकुटी र बिदेशबाट प्राप्त थैली प्रयोग मिलाउने साबिक तरिकाले नै सबैलाई भलो दिलाउने बिश्वास गरिएको छ।

संबिधान बनाउँदा आबधिक निर्वाचनको अबधि कमसेकम दश बर्ष राखेको भए संसारमै नभएको गतिलो कामको रेकर्ड राख्न सकेकोमा गर्ब र घमण्ड गर्न पनि पाइने र जनताको लागि माखोसमेत नमारिकन लामो समय बजेटमा चर्न पनि पाइने अनि सबैलाई देखाएर लाज शरम घिन सबैथोक पचाएर मजाले खाइने ब्यबस्था मिलाउन चुकेकोमा अलिअलि पछुतो परेको छ रे भन्ने हल्ला अहिले सुनेर केही काम छैन।

नेता कार्यकर्ता र उम्मेदवारहरुको ब्यबस्थापन मिलाउने र सबैलाई जित्ने गरी टिकट दिलाउने आश्वासन दिएर थामथुुम पार्दापार्दै अनि सबैलाई यसोउसो गरेर टार्दाटार्दै चुनाव आइहाल्ने हुुनाले यो चुनावमा जनताको लागि गर्दै नगरिने सबै कामहरु उल्लेख गरेर तयार पारिने घोषणा पत्र बनाउनै भ्याइएला जस्तो छैन। हुनत घोषणा पत्र जस्तो बनेपनि अलपत्र पर्ने जनता नै हो।

बिगत तिस पैँतिस बर्षसम्म कपि पेष्ट हुुँदै आएको घोषणा पत्र नै अहिलेसम्म बेष्ट ठहरिएकोले धेरै पटकको चुनावमा राम्ररी टेष्ट भइसकेका पुरानै चाउरिएका अनुहारहरुलाई राजनीतिबाट रेष्ट गराउने रे भन्ने हल्ला सामाजिक सञ्जालमा निकै देखिन्छ। सामाजिक सञ्जालमा रमाइलोको लागि बिरोधमा चिच्याउनेहरुलाई नै नेताहरुले आफ्नो पक्षमा घिच्याउने पक्का छ।

त्यही भएर जसले जतिसुकै खोकेपनि र जुनसुकै बिचार बोकेपनि वा आफ्नो टाउको भित्तामा लगेर ठोकेपनि चुनावबाट कुनै परिबर्तनको आशा राख्ने हतार गर्न हुँदैन। सबै त्यस्तै काम यस्तै भनेर चित्त बुझाउनु बाहेक अरु उपाय नभएकोले चुपचाप लागेर भोट खसाल्ने र स्वघोषित नेताहरुलाई उहाँहरुले रोजेको कुर्सीमा बसाल्ने बाहेक जनताले अर्थोक नसोचेकै राम्रो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *