गाईजात्रा प्रहसन : खरानी घसेका नेताहरुको बिगबिगी

डिसी नेपाल
१ भदौ २०७९ ११:०८

परम्पराको हिसावले गाईजात्रा सात दिन मनाइन्छ। तर यहाँ ३६५ दिन नै गाईजात्रा हुन्छ। देश र जनताप्रति इमान्दार राजनीतिज्ञ नभएपछि वर्षैभरी गाईजात्रा हुनु अनौठो पनि होइन। ‘मै लाऊँ, मै खाऊँ’ को सिद्धान्तबाट प्रेरित राजनीतिज्ञ मुलुकमा रहेसम्म यो गाईजात्रा अन्त्य हुने पनि देखिँदैन।

जब मानिसको मनस्थिति क्षिण हुन्छ, तब उ नेता, कार्यकर्ता र पत्रकार बन्छ। जब मानिसलाई हात मुख जोड्न समस्या हुन्छ, तब उ लेखक,कवि र साहित्यकार बन्छ। अनि मानिस केही गर्न नसक्ने अबस्थामा पुगेपछि उ हाँस्य कलाकार र व्यंग्यकार बन्छ र समाजलाई हँसाइ हँसाइ समाजको विकृतिलाई उजागर गर्छ।

जब बिद्यार्थी एसइई पास गर्दछ, ऊ बुवा आमाले दुःख गरी कमाएको घर जग्गा बन्धक राखेर वा बेचेर बिदेसिन्छ। विदेशमा बसेर धेरै दुःख सहेर कमाउँदै पढ्छ र कमाएको पैसा नेपालमै पठाउँछ।

रेमिट्यान्सको रुपमा राज्यले प्राप्त गर्ने सो रकमबाट कथित नेताहरुले महंगा र चिल्ला गाडी चढ्छन्। दुःख गरेर पढेर उ एमए, पीएचडी, डाक्टर र इन्जिनियर बनेपछि स्वदेशमै केही गर्ने उद्देश्यले प्रेरित भएर आफ्नै देश फर्किन्छ। यहाँ आएर केही गर्ने चाहना देशको राजनीतिक अवस्था र व्यवस्थाका कारण पूरा हुन नसक्ने देखिएपछि ऊ दिक्क हुन्छ।

अनि दाह्री र कपाल पालेर समाजमा भिन्न देखिन्छ। आफ्नो उद्देश्य पूरा हुने नदेखिएपछि उ दैनिक चिया, कफी र चुरोट पिएर विरक्तिन्छ। केही सिप नलागेपछि उ नेता बन्न पुग्छ।

सुरुमा कुर्ता सुरुवाल, त्यसपछि इष्टकोट देश डुबाउने नेताको पछि लाग्छ। र तीनै नेताको सिको गर्दै जनताका अगाडि आफूलाई नेताको रुपमा प्रस्तुत गरेर ठाँट देखाउन थाल्छ।

देशको अबस्था, नेताहरुको दुष्कर्म, ब्यबहार र शैली, बुद्धिजिबीहरुको मौनता, विद्यार्थी युवा वर्गको शुन्यता, शिक्षकको माइतीघरको जुलुस, वकिलहरुको सर्बोच्च घेराउ, महँगीको चरम मार र बिदेशी शरणार्थीहरुको नागरिकता लिने होडबाजी र बिशाल भारतीयहरुको लस्करको नेपाली नागरिकता पाउने आतुरता र सरकार पनि यसैमा मक्खपरी नागरिकता बाँड्ने जात्रामा सहभागी हुनु गाईजात्रा नभए के हो?

अनि सोझा सिधा जनतामाथि जालझेलको प्रपञ्च र पासो थापेर राजनीतिलाई गरी खाने पेशा बनाउँछ। हात र खुट्टा दुबैले देशको राष्ट्रिय ढुकुटीको दोहन गरी बिरामी र सुत्केरीको निउँमा करोडौंको सम्पत्ति कुम्ल्याउने र आफ्नो घर परिवालाई मात्र सुखभोग गराउने अनि गरीब जनताहरुलाई छिछि र दुरदुर गरी नाक खुम्च्याई हिँड्ने नेताहरुको हरेक दिनको गाइजात्रा कसले हेर्ने?

भष्म लेपन गरी अनेक बाद, बिबादका कुराहरु गर्ने र बोक्रा र फुस्रा आश्वासन जनतालाई बाँडेर माओवादको धज्जी उडाउने, लेनिनवादको बोकेदारी खुइल्याउने, मास्र्कवादको दाह्रीकपाल मुण्डन गर्ने र पुँजीवादको टुप्पी काटेर गिरी, पुरी भारतीय बनी स्थापित आदर्शलाई हिलोमा मुछी आफ्नै अनुहारमा लिपपोत गरी हिँड्ने यो गाईजात्रा हामी जनताले कतिसम्म हेर्ने?

यो २०७९ सालको मात्र नभइ बिगत ३० वर्षदेखिको गाईजात्रा यथावत रुपमा रहिआएको छ। राष्ट्रको अहम् बिषयको मुद्दामात्र बोकी त्यसको फैसलाको कुनै गुन्जाइस नै नराखी अरबौं भ्रस्टाचार र सयौं काण्डहरु मच्चाई आपसी झैझगडामा फसी राष्ट्रको हरेक विधालाई दलदलमा फसाउने नेताहरुको गाइजात्रा सधैं छ यो देशमा।

भ्रष्टाचार मौलाउँदै जाने, ऋणको भार बढ्दै जाने, जनता दिनानुदिन गरीब बन्दै जाने, देशका उद्योग कल कारखाना सबै बेचेर खाने, उद्योग नखोल्ने, रोजगारीको लागि आफ्ना युवा शक्तिलाई विदेश धकेल्ने र तिनीहरुबाट आर्जेको सम्पत्तिले आफूले आलिसान महल बनाउने, सयौं कार्यकर्ता पाल्ने र करोडौंको गाडी चढेर पचासौं वर्ष राजनीति गरी हिँड्ने प्रबृत्तिलाई नेताको गाईजात्रा नभने अरु के भन्न सकिन्छ?

लेखक साहित्यकारका कुरा गर्ने हो भने घरको रुखो सुखो खानेकुरा खाएर यही बिग्रेको राजनीति, अर्थनीति र समाजिकरणबारे व्यंग्य गरेर झन् निरुत्साहित बनाउने र समाधान बिनाको समस्यामात्र देखाई जनता भड्काउने,संसारको कुरा गरेर नेपाललाई झन् कमजोर बनाउने, देशमा बुद्धिजिबीमा गनिएका डाक्टर इन्जिनियरहरु विभिन्न खाले गलगाँड बोकी ठूल्ठुला कुरा र डेढ अक्कलका कुरा गरी देशलाई झुक्याइ रहने, नआवश्यक कुरा गरेर आफ्नो मन शान्त पारे ठूलै पद पाउँला भनेर ठूल्ठूला वक्तव्य दिने तर देश सधैं जस्ताको तस्तै रहिरहने, यो गाई जात्रा नभए अरु के हो?

यहाँ किसानले हरेक वर्ष मल बिऊ नपाउने, ब्यापारीले किसानबाट उखु लिने तर पैसा नदिने, किसानको पेटमा लात हान्ने र सधैं थिचिरहने, तस्करहरु भित्रभित्रै मोटो हुँदै जाने, भूमाफिया भित्र भित्रै नेताहरुलाई चुनाब खर्च जुटाउँदै हरेक कुरा आफ्नो पोल्टोमा पार्ने, ठेकेदारहरु विभिन्न टेन्डर हातपारी बर्षौंसम्म निर्माणका कामहरु रोक्ने र जताततै लथालिंग पार्ने यो गाईजात्रा नभएर के हो?

विद्यार्थीहरु यो देशको अबस्था र दुर्दशा देखेर अध्ययनार्थ विदेश पलायन हुने र बिदेशमै आफूलाई सक्षम बनाइ धाक जमाउने र देशमा लाखौँ भारतीयहरु र अन्य शरणार्थीहरु आएर स्थायी बसोबास गर्दा पनि सारा नेपाली निरीह प्राणी जस्तो चुप लागेर बस्नुपर्ने यो गाईजात्रा नभए के हो?

मुलुकको राजधानी काठमाडौं फोहोर पुरिन लाग्दासमेत सरकारमा बसेका दलका नेताले नै फोहोर व्यवस्थापनमा बाधा उत्पन्न गर्ने, खानेपानीको अव्यवस्थाले देश तीसौं वर्षसम्म पनि सुख्खा मरुभूमि जस्तो बनेको भन्दा जनता काकाकुल बन्दासमेत सरकारले समाधान नगर्ने यो गाईजात्रा नभए के हो?

सरकार र नगरपालिका सडकका फोहोर थुपार्न लागिपरेका छन्, हैजा र कोरोना देश आफैंले बढाउँदैछ। तर सरकार, नेता, शासक, बुद्धिजिबी, लेखक, पत्रकार र सर्सशाधारण जनता कोही नाक थुनेर हिँडिरहेका छन् भने कोही खित्का छोडी हाँसिरहेका छन् यो गाईजात्रा नभए के हो?

देशको अबस्था, नेताहरुको दुष्कर्म, ब्यबहार र शैली, बुद्धिजिबीहरुको मौनता, विद्यार्थी युवा वर्गको शुन्यता, शिक्षकको माइतीघरको जुलुस, वकिलहरुको सर्बोच्च घेराउ, महँगीको चरम मार र बिदेशी शरणार्थीहरुको नागरिकता लिने होडबाजी र बिशाल भारतीयहरुको लस्करको नेपाली नागरिकता पाउने आतुरता र सरकार पनि यसैमा मक्खपरी नागरिकता बाँड्ने जात्रामा सहभागी हुनु गाईजात्रा नभए के हो?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *