‘चलें नेपाल’को विजोक र ताल पर्यटन
विश्वका विभिन्न मुलुकहरूमा भएका प्राकृतिक वा मानव निर्मित तालहरू तथा सिमसार क्षेत्रले वातावरण संरक्षण र आर्थिक विकासका साथै पर्यटन व्यवसायमा ज्यादै सकारात्मक प्रभाव पार्ने गरेका छन्।
पर्यटनको राम्रो विकास भएका मुलुकहरूले ताल पर्यटनलाई निक्कै महत्वका साथ लिएका हुन्छन्। विभिन्न पोखरी, झरना, सिमसार क्षेत्र तथा तालहरू भएका क्षेत्रहरूमा चराचुरुङ्गीका साथै विभिन्न खालका जलचर र वन्यजन्तुहरूको बास हुने गर्दछ।
त्यस्तै पानी हुने वित्तिकै त्यस्ता क्षेत्रहरूमा विभिन्न प्रकारका वोट-विरुवा तथा वन-जङ्गल, घाँसे मैदान र यथेष्ट हरियाली पनि भेटिन्छ। यस्ता हरियाली र जलयुक्त स्थलहरू प्रायः अन्य सुख्खा क्षेत्रभन्दा रमणीय र केही मात्रामा ठण्डा पनि हुन्छन्।
यस्ता क्षेत्रहरूको उचित संरक्षणका साथ यिनको नजिकमा कृषिजन्य व्यवसाय गर्ने, व्यवस्थित वस्ती बनाएर बस्ने तथा पर्यटकहरूका लागि पनि होटल, रिसोर्ट तथा रेष्टुरेन्ट र संग्रहालयहरू बनाउन सके पर्यटन व्यवसायको राम्रो विकास हुनुका साथै स्थानीय जनताको जीवनस्तरमा पनि निक्कै परिवर्तन ल्याउन सकिन्थ्यो।
तालहरू खासगरी दुई प्रकारका हुन्छन्। एक थरी प्राकृतिक ताल हुन्छन् भने अर्का थरी मानव निर्मित। प्राकृतिक तालहरूले खोँच तथा चारैतिर पहाड तथा ढिस्काहरूले घेरिएका जमीनमा पानी जमेर प्राकृतिक रूपमा नै धेरै पहिलेदेखि सौन्दर्य छर्दै बसेका हुन्छन् भने मानव निर्मित तालहरूको निर्माण जलविद्युत उत्पादन, सिँचाई र खानेपानीको निम्ति गरिन्छ। यस्ता विशाल तालहरू विश्वका विभिन्न ठाउँहरूमा निर्माण भएका छन्।
विश्वका १० विशाल मानव निर्मित तालहरूमा जिम्बाब्वेको लेक कारिवा, रूसको लेक ब्राट्स्क, क्रास्नोयास्क र जेया रिजभ्वायर, घानाको लेक भोल्टा, क्यानाडाको म्यानीकौगान र रवर्ट बौरासा रिजभ्वायर र विलिस्टन लेक, भेनेजुएलाको लेक गुरी, मिश्र (इजिप्ट)को लेक नासेर पर्दछन्।
यस्ता मानव निर्मित तालहरूको निर्माण गर्न ठूलै धनरासी र समयको आवश्यकता पर्न जान्छ भने ठूला ठूला बाँध बनाएर पानी जमाउनको लागि ठूलै संख्यामा मानव वस्तीहरू स्थानान्तरण गर्नु पर्ने तथा यस्ता विशाल निर्माणले जैविक प्रणाली र वातावरणमा समेत ठूलो प्रभाव पर्न सक्ने भएकोले यस्ता आयोजनाको निर्माण गर्नु पुर्व धेरै प्रकारका अध्ययनहरूका साथै सर्वसाधारण र सरोकारवालाहरूसँग प्रसस्त अन्तक्रिया गर्नुपर्ने हुन्छ।
बेलायतका सार्वजनिक बसमा भ्रमण वर्ष सम्बन्धि विज्ञापन, भारतमा “चलेँ नेपाल” को नारा, काठमाडौँका सडकमा ठूला ठूला व्यानर र यतिका मूर्तिहरू राख्ने तथा डढेलोको चपेटामा परेको अष्ट्रेलियाको सिड्नी शहरमा पर्यटन मन्त्रीको नेतृत्वमा पर्यटन प्रवद्र्धनको झाँकी देखाउने वाहेक खासै केही भएको थिएन।
मानव निर्मित तालहरू विशाल बाँधहरूको निर्माण गरेर बनेका भएर तिनलाई भूकम्प तथा आतङ्ककारी गतिविधि र युद्धबाट समेत सुरक्षित राख्नु जरुरी हुन्छ। आजको समयमा प्रजातान्त्रिक मुलुकहरूमा यस्ता आयोजनाको विकास गर्न ज्यादै धेरै कठिनाईहरू व्यहोर्नु पर्ने हुन्छ।
खासगरी मानव पुनर्वासको व्यवस्था गर्न त्यति सहज हुँदैन। भौतिक रूपले पुनर्वास गराउन सम्भव भएपनि आफ्नो पुर्खौली थातथलो, धर्म र संस्कृतिलाई बिर्सेर मानिस हतपत अन्त जान चाहँदैन।
तर सबै प्रकारका अप्ठ्यारा परिस्थितिहरूको समाधानका उचित उपायहरू अवलम्बन गरेर यस्ता विशाल तालको निर्माण भएपश्चात भने यस्ता तालहरूबाट दीर्घकालीन फाइदाहरू पनि धेरै लिन सकिन्छ।
जलविद्युत र सिँचाईको साथ साथै यस्ता मानव निर्मित तालहरूलाई पर्यटकमैत्री बनाएर तिनमा शान्त डुङ्गा चलाउने, माछा पक्रने, चरा तथा माछा र डोल्फिनका प्रजातिहरूको अवलोकन गर्ने र तिनका समिपमा एकाध दिन बसेर शान्त तालको अवलोकन र हरियाली सहितको प्राकृतिक सौन्दर्यको आनन्द लिने कुरामा आन्तरिक र वाह्य पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ।
त्यस्तै दिनभरको घुमाईमा आउने पर्यटकहरूका सुविधा र मनोरञ्जनका अझ बढी साधनहरू यस्ता तालका वरिपरि उपलब्ध गराउन सके अझ राम्रो हुन जान्छ।
दक्षिण एशियाकै कुरा गर्दा पाकिस्तानका तार्वेला र मङ्गला बाँधले बनाएका विशाल तालहरू निक्कै रमणीय छन्। तिनबाट ठूलो मात्रामा विद्युत उत्पादन हुनुका साथै सो क्षेत्रको पर्यावरण विकासमा पनि ती तालहरूले ठूलो भूमिका खेलेका छन्।
इस्लामावादमा बनाइएको रावल तालको कारण त्यो सुख्खा क्षेत्रमा निक्कै हरियाली छाएको छ र सो क्षेत्रको अवलोकन गर्न वर्षेनी रावल लेकमा लाखौँ स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन्।
त्यस्तै भारतमा केरलाको भिमबनाथ ताल, महाराष्ट्रको शिवाजी सागर ताल, मध्य प्रदेशको इन्दिरा सागर ताल, गुजरात, महाराष्ट्र, राजस्थान र मध्यप्रदेशलाई छुने सर्दार सरोभर ताल, काश्मिरको वुलार ताल, उदयपुरको ढेवर ताल आदि धेरै मानव निर्मित तालहरु छन् भने उडिसाको चिलिका, लद्दाखको पाङ्गोङ त्सो, मणीपुरको लकटक, जम्मु-काश्मिरको वुलार, आन्द्रप्रदेशको कोल्लेरु, श्रीनगरको दल, कुमाउको नैनीताल आदि प्रख्यात प्राकृतिक तालहरू हुन् र यी तालहरूले भारतको पर्यटन विकासमा ठूलो भूमिका खेलेका छन्। कैयन् तालहरू त प्रख्यात वन्यजन्तु आरक्षहरूसँग नै जोडिएकाले तिनको महत्व त अझ बढी रहेको छ।
नेपालको कुरा गर्दा नेपालका तराई, पहाड र हिमालमा अवस्थित निक्कै सुन्दर प्राकृतिक तालहरूको आआफ्नो विशेषता छ। लुम्बिनीको २२५ हेक्टर क्षेत्रमा अवस्थित जगदीशपुर ताल आज चराहरूको आरक्ष (स्याङ्क्चुअरी)को रूपमा विकास हुँदै गएको छ।
यो ताल तथा यसको आसपासमा पाइने ४२२ प्रजातिका वन्यजन्तु तथा चराहरूमा चराको मात्र २९५ प्रजाति पाइन्छन् भने ४३ प्रजातिका माछा पनि पाइन्छन्।
यस क्षेत्रमा यही तालको कारण चराहरूको संख्या करिव २४,००० छ तथा यहाँ भारत र निक्कै टाढा टाढाका क्षेत्रबाट वर्षेनी पाहुना चराहरू आउने गर्दछन्। खासगरी लुम्बिनी क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई यो तालले आकर्षित गर्दै आएको छ।
नेपालमा सबैभन्दा ठूलो ताल सुदुरपश्चिम कर्णाली प्रदेश मुगु जिल्लाको उच्च पहाडी क्षेत्रमा ३,२०० मिटरको उँचाईमा अवस्थित रारा ताल हो। यो ताल साँढे १० वर्ग किलोमिटरमा फैलिएको छ। निक्कै मनोरम यो ताल भएको क्षेत्र हालसम्म पनि अति विकट क्षेत्रमा गनिन्छ।
कर्णाली प्रदेशकै अति उच्च क्षेत्र डोल्पामा अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। यसको गहिराई १३६ मिटरको छ। पोखराको फेवातालको अतिक्रमण, प्रदु्षण, भिडभाड, अव्यवस्थित निर्माण आदिबाट सिकेर अहिलेदेखि नै रारा तथा अन्य विकट ठाउँमा अवस्थित सुन्दर र मनोरम तालहरूको वातावरणमैत्री विकासको खाका कोर्नु र कार्यान्वयनमा ल्याउनु जरुरी छ।
हिमनदीको पानी भरिएर बनेको दोलखाको च्छोरोल्पा जस्ता तालहरू अति सुन्दर पनि छन् भने त्यस्ता तालहरूले पानीको चाप थाम्न नसकेर वा अचानक विशाल हिउँ पहिरोले गर्दा हिमनदीमा बाढी आएर तालमा खस्दा र भुकम्पले नराम्ररी प्रभाव पार्दा ताल भत्केर हुन सक्ने विशाल दैवीप्रकोपको समेत समयमा नै निदान गर्ने उपायहरूबारे सरोकारवालाहरूले सोच राखी रहनु पर्दछ।
नेपालको पहाडी तथा उच्च पहाडी क्षेत्रका रमणीय र ठूला तालमा ताप्लेजुङको टिम्बुङ पोखरी, इलामको माइपोखरी, भेडेटार पारी मोरङको राजारानी, भोजपुरको साप्ला पोखरी, संखुवासभाको गुफापोखरी, दोलखाको च्छोरोल्पा, रसुवाको गोसाईँकुण्ड, पार्वतीकुण्ड, काठमाडौँको टौदह, कास्कीको पोखरामा अवस्थित फेवा, रुपा, बेगनास, गण्डकीको घुन्चोक, पाल्पाको तालपोखरा, म्याग्दीको खयरताल, मनाङको तिलिचो, धुम्बा, काजिन, गङ्गापुर्ण, अछामको खप्तड र रामरोशन आदि तालहरू आफ्नो सौन्दर्यलाई पस्कन तयारी अवस्थामा रहेका छन्।
नेपालको तराई क्षेत्र अझसम्म पनि सबैभन्दा मलिलो र पानीको भण्डार भएको क्षेत्र भएकोले तराइका सबै जिल्लाहरूमा विभिन्न प्रकारका साना-मझौला ताल, पोखरी, तलाउ र सिमसार क्षेत्रहरू छन्।
यस्ता क्षेत्रहरूको उचित सम्वद्र्धन गरेर खासगरी कृषि तथा पर्यटन क्षेत्रको विकासको लागि यिनको सदुपयोग गर्न सके अति उत्तम हुने थियो। माथि नै उल्लेख गरे अनुसारको जगदिशपुर ताल पश्चिम तराईमा पर्दछ।
त्यस्तै चितवनमा धेरै वटा मझौला तथा साना तालहरू छन् र ती मध्ये कैयन् वन्यजन्तु आरक्षहरू भित्र पर्दछन्। त्यस्तै तराईका कैलालीको घोडाघोडी, कन्चनपुर, दाङ, रुपन्देही, नपलपरासी, महोत्तरी, बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, सर्लाही र झापामा पनि तालतलैया र पोखरीहरू धेरै छन्।
काठमाडौँ उपत्यकामा समेत प्राकृतिक र मानव निर्मित ऐतिहासिक पोखरीहरू निक्कै धेरै छन् भने कैयन् पोखरीहरू पुरेर वा सुकेर खेर पनि गएका छन् तथा तिनको ठाउँमा प्लटिङ गरेर घर बनाउने कार्य हुँदा पनि प्रशासन चुपचाप तमासा हेरेर बसेको अवस्था छ।
आजकल विभिन्न प्रदेशहरूले पहाड तथा तराई क्षेत्रमा अवस्थित सयौँ ठूला-साना पोखरीहरूको संरक्षण गरेर तिनमा पर्यटकहरूलाई आकर्षण गर्ने उपायहरू अवलम्बन गरीरहेका छन्।
पोखरीको संरक्षण हुने वित्तिकै त्यहाँ माछा तथा विभिन्न प्रजातिका जलचरहरू र वोट-विरुवाहरूको उत्पत्ति हुन थाल्दछ भने, चरा–चुरुङ्गी तथा अन्य जनावरहरूको आवत जावत पनि बढ्दै जाने रहेछ।
वास्तवमा भन्नै पर्दा पर्यावरणको विकासको निम्ति ताल, पोखरी र सबै खाले सिमसार क्षेत्रको ठूलो योगदान रहँदो रहेछ। तर तिनको संरक्षण, उपयोग र पर्यटक आकर्षणको निम्ति पनि ती क्षेत्रहरूमा पुग्ने वातावरणमैत्री सुलभ यातायातका माध्यमहरू र अन्य पूर्वाधारको विकास गरिनु पर्दछ।
नेपालमा मानव निर्मित तालहरू ज्यादै कम छन्। ती मध्ये कुलेखानी जलविद्युत आयोजनाको लागि जल भण्डारण गर्न बनाइएको जलाशय सबैभन्दा ठूलो हो। यो तालको विकाससँगै सो क्षेत्रको जलाधार संरक्षणको लागि पनि कैयन् आयोजनाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
आज कुलेखानी जलाशय क्षेत्रमा वनभोज गर्न, त्यहाँ पालिएका माछाको स्वाद लिन र एकाध दिन एकान्तमा बस्न धेरै मानिसहरू त्यता जाने गरेका छन्। लमजुङको मस्र्याङ्दी जलविद्युत आयोजनाको जलाशयले पनि एउटा सानो तालकै रूप धारण गरेको छ।
नेपालमा हालसम्म निर्माण भएका अधिकांश जलविद्युत आयोजनाहरू रन-अफ-द–रिभर मोडेलमा अर्थात् खोलाको पानी नहरबाट सिधै विद्युत उत्पादन गृहमा खसालेर विद्युत उत्पादन गर्ने खालका भएकाले जलाशयको निर्माण गरिरहनु पर्दैन।
तर निक्कै ठूला आयोजनाको निर्माण गर्दा र सुख्खा मौषमको लागि विद्युत आपुर्ति गर्न भने जलाशयसहितका विद्युत आयोजनाको निर्माण गर्नुपर्ने हुन्छ। यसरी बाँध बाँधी पानी जमाएर जलाशय निर्माण गर्दा धेरै मानिस विस्थापित हुने भएकाले खासगरी प्रजातान्त्रिक मुलुकहरूमा मानव निर्मित तालहरू निर्माण गर्ने प्रकृयामा अति नै धेरै जटिलता हुन्छ।
पानीको आपूर्ति र सुख्खायामको निम्ति पानी सञ्चय गर्न तथा वनजङ्गल र जमीनमुनी पानीको सतह घट्न नदिन र केही हदसम्म जलवायु परिवर्तनलाई न्युनीकरण गर्न बनाइने पुनर्भरण (रिचार्ज) पोखरीहरूले पनि पर्यटक आकर्षित गर्न सक्दछन्।
यस्ता कैयन् पोखरी त डुङ्गामा सयर गर्न मिल्ने खालका ठुला पनि हुन्छन्। पानीको समस्याका कारण सुख्खा हुँदै गएका क्षेत्रलाई हराभरा बनाउन र जङ्गली जनावर तथा चराचुरुङ्गीको बास स्थायी रूपमा बनाइ रहन पनि यस्ता पुनर्भरण पोखरीहरूले महत्वपूर्ण योगदान गरिरहेका हुन्छन्।
यस्ता ठूला र ताल जस्ता नै मनमोहक पोखरीहरू हाल मुलुकका विभिन्न ठाउँहरूमा खासगरी सामुदायिक वन क्षेत्रमा बनाउने होड नै चलेको छ। दोलखामा एक यस्तै पोखरीको निर्माण कार्य सम्पन्न भएको छ भने काठमाडौँको शिवपुरी डाँडाको वन क्षेत्रमा पनि एक पोखरीको निर्माण भइरहेको छ। यस्ता साना साना ताल रूपी पुनर्भरण पोखरीहरूले पनि आफ्ना उद्देश्यपूर्तीका साथै पर्यटन विकासमा समेत मद्दत पु¥याउँदछन्।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा भव्यताका साथ मनाउने निर्णय गरेको थियो। तर तयारी भने निकै कम। बेलायतका सार्वजनिक बसमा भ्रमण वर्ष सम्बन्धि विज्ञापन, भारतमा “चलेँ नेपाल” को नारा, काठमाडौँका सडकमा ठूला ठूला व्यानर र यतिका मुर्तिहरू राख्ने तथा डढेलोको चपेटामा परेको अष्ट्रेलियाको सिड्नी शहरमा पर्यटन मन्त्रीको नेतृत्वमा पर्यटन प्रवद्र्धनको झाँकी देखाउने वाहेक खासै केही भएको थिएन।
वास्तवमा कोभिड-१९ को महामारीले हाम्रो इज्जत जोगाइ दिएकै हो त्यतिबेला। तर आजको दिनसम्म पनि हामी फोहरमा राजनीति गरेरै बसेका छौँ, राजधानी लगायत वरपरका सम्पूर्ण सडक धुलो र खाल्डोले भरिएका छन्, नयाँ गन्तव्यहरू समेत पहिचान र विकास गर्न सकेका छैनौँ र भएका पुराना वन-जङ्गल मासेर विकास निर्माण गर्ने दरिद्र मनस्थितिमा छौँ।
हामीसँग भएकै हिमाल, पहाड, तराई, वन-जङ्गल, ताल-तलैया, मठ-मन्दिर, ऐतिहासिक भवन, दरवार, गढी र मौलिक कलाकृति, संस्कृति, जात्रा–पर्व र खानपानको माध्यमबाट नै हामी पर्यटन क्षेत्रको विकास गर्न किन चुकिरहेका छौँ, यो पनि अनुसन्धानको एक विषय नै बन्न पुगेको छ।
नेपालको पर्यटनलाई अझ विशिष्टिकरणको बाटोमा लैजाने हिसाबले हामीले ताल पर्यटनको साथसाथै पानीसँगै गहिरो सम्बन्ध भएको कृषि क्षेत्रका अति विशेष नगदेवालीहरू जस्तै चिया, कफी, अदुवा, अलैँची, अल्लो, जडीबुटी, अनाज, मह, स्याउ, तथा अर्गानिक खाद्य पदार्थहरूको अन्तर्राष्ट्रिय प्रवद्र्धनको सम्वाहकको रूपमा विकास गर्न सके यी वस्तुहरूले विकसित मुलुकहरूमा सिधा पहुँच पाएर हाम्रा लाखौँ लघु तथा साना किसान र सबै प्रकारका उद्यमीहरू समेत लाभान्वित हुने थिए।
पर्यटनका साथ साथै हाम्रा खास कृषि उत्पादनहरूको प्रवद्र्घन विश्वमा एकसाथ हुँदा दिगो बजारको पहुँच भएर मुलुकलाई आर्थिक रूपले निक्कै फाइदा पुग्ने थियो।
समुद्रसँग जोडिएका मुलुकहरूले समुद्र र यसका किनारमा हुने विभिन्न कृयाकलापहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेर पर्यटक भित्राई ठूलो धनराशी कमाउन सफल भएका छन् भने हामी भूपरिवेष्ठित मुलुक भएको हिसाबले हाम्रो मुलुकमा भएका नदीनाला र तालतलैयाको माध्यमबाट किन पर्यटक आकर्षित नगर्ने। त्यसैले पर्यटन प्रवद्र्धनका अन्य उपायसँगै ताल पर्यटनमा पनि केही समय र शक्ति खर्चेर हामीले यसको विकासमा केही काम गर्नै पर्दछ।
लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन् ।
Facebook Comment