मैले चिनेका प्रदीप गिरी
प्रदीप गिरी। जन्मः वि.सं. २००४ कार्तिक १६, मृत्युः २०७९ भाद्र ०४।
नेपालमा भित्र भित्र प्रजातान्त्रिक आन्दोलनको भुसे आगो सल्कन शुरु भएर वि.सं. १९९७ सालमा चार जना सपुतहरू मृत्युदण्डको सजाय सहित सहिद हुन पुगेका र धेरै जना जेल-नेलसहित आजीवन कारावासमा परेका तथा कैयन् व्यक्ति देश निकाला भएको करिव ६ वर्षपछि नेपालको तराईको सिराहा जिल्लाको सुशिक्षित गिरी परिवारमा एक अनौठो नक्षत्रको जन्म हुन्छ र उसको नाम घर-परिवारले प्रदीप राख्दछन्। पछि त्यही बालक नेपालको एक महान् समाजवादी, प्रखर वक्ता र अति सरल तथा विद्वान व्यक्तिको रूपमा देखा पर्दछ।
भारतको बनारस, पटना र कलकत्तामा ओहोर दोहोर गर्दै नेपालमा प्रजातान्त्रिक आन्दोलन छेड्ने दृढताका साथ निक्कै दौडधुप गरिरहेका एक अति अध्ययनशील तिछ्ण बुद्धिका युवा विश्वेश्वरप्रसाद कोइराला यस्तै बेलातिर भारतका दार्जिलिङ, देहरादुन, कलकत्ता, पटना, बनारस तथा अन्य क्षेत्रका नेपालीहरू-यी मध्ये धेरै नेपालीहरू नेपालबाटै उच्च अध्ययनको निम्ति भारत पुगेकालाई परिचालन गर्दै एक सशक्त राजनैतिक पार्टी खोल्ने सुरसारमा थिए।
आखिर यिनै अग्ला, पातला, सुकुमार, उम्दा पहिरनका पारखी, अति मेहनती र अध्ययनशील व्यक्तिकै पहलमा किशुनजी (कृष्णप्रसाद भट्टराई), प्रधानजी (गणेशमान सिंह), डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी तथा अन्य ५०० भन्दा बढी व्यक्तिहरूले कलकत्तामा भेला भएर नेपालमा क्रान्ति गरेर निरङ्कुश राणाशासनलाई ढाल्नुका साथै प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गर्ने दृढ अठोटका साथ २००३ सालमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामक पार्टीको स्थापना गरे।
शुरुमा यो पार्टीमा नेपालको कम्युनिष्ट पार्टीको स्थापना गर्ने पुष्पलालसहित धेरै व्यक्तिहरूको संलग्नता थियो। वी.पी. कोइराला तथा अन्य युवा नेताहरूले भारतीय स्वतन्त्रता संग्राममा पनि सक्रिय रूपले भाग लिने गरेकाले यिनको भेटघाट महात्मा गान्धी, सुभाषचन्द्र बोस, राहुल सांकृत्यायन, जवाहरलाल नेहरु, राममनोहर लोहिया, जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव, सम्पुर्णानन्द, एम.एन. रोय, पी.सी. जोशी आदिसँग हुन थाल्यो र यिनका भाषण र प्रवचनबाट यी सब नेपाली युवाहरू प्रभावित हुन थाले।
पुर्खौली सम्पत्तिबाट आफ्नो भागमा परेको सिरहाको १२ विगाहा जमिनमा उनले आश्रम बनाएका थिए। उनी महात्मा गान्धी, जयप्रकाश नारायण, रविन्द्रनाथ टैगोर, डा. अम्बेडकर, वी.पी. कोइराला तथा कृष्णप्रसाद भट्टराईबाट निक्कै प्रभावित थिए।
अङ्ग्रेजको विरुद्ध लड्ने क्रममा माक्र्सवाद र समाजवाद जस्ता क्रान्तिकारी दर्शनले पनि जरा गाड्दै गएकोले यी नेपालीहरू पनि बिस्तारै यस्ता सिद्धान्तहरूको सामिप्यमा आउन थाले। वी.पी. कोइराला त कलिलै उमेरदेखि माक्र्सवाद र समाजवादका ज्ञाता नै भइसकेका थिए र भारतका विद्वानहरूले उनको कदर गर्न पनि थालिसकेका थिए।
वि.सं. २००७ सालमा नेपालमा क्रान्ति गरेर राणाशासनको पतन भएर प्रजातन्त्रको शुरुवात भयो भनेको बेलामा प्रदीप गिरी ३ वर्षका थिए। राणाशासन त ढल्यो तर तिनै श्री ३ महाराज मोहनशमशेर प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री श्री मोहनशमशेर हुन पुगे।
वास्तवमा राजाको खोसिएको शक्ति मात्र फिर्ता भएको थियो २००७ सालमा। त्यसैले त्यसपछिको एक दशकसम्म निक्कै धरमर अवस्थामा नेपालको राजनीति चलेर बल्ल तल्ल आमचुनाव भएर बनेको नेपाली काङ्ग्रेसको दुई तिहाई वहुमतको सरकार पनि ढालेर राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रतिपादन गरे।
बिस्तारै तत्कालीन नेपालका धेरै जल्दा बल्दा नेताहरू एकापसमा लड्ने वातावरण बनेर कोही भारततिर पलायन भए भने कैयन् महत्वपूर्ण नेताहरू राजाकै साथमा हातेमालो गर्न पुगे। वी.पी. जस्ता चुनाव जितेर प्रधानमन्त्री बनेका व्यक्तिले जेल सजाय भोग्नु प¥यो।
आफ्नो कलिलो युवावस्थामा यो सब राजनीतिक उतार चढाव देखेका तथा नेपालको एक राजनीतिक घरानामा नै जन्मेका प्रदीप गिरी पनि आन्दोलित हुन पुगे।
उनका काकाहरू रुद्रप्रसाद गिरी र तुलसी गिरी पञ्चायती व्यवस्थाको समर्थनमा लागे पनि उनमा पिता मित्रलाल गिरी तथा जयनारायण गिरीहरूको प्रजातन्त्र प्रतिको आस्थाको प्रभावले गर्दा प्रजातन्त्र प्रतिको निष्ठा रहिरह्यो। तर पछि उनका पिता पनि पञ्चायतको स्थानीय तहको राजनीतिमा केही समय सहभागी हुन पुगे।
२०१७ सालताका नै एसएलसी परिक्षा उत्तिर्ण गरेर भारतको बनारसमा अध्ययनको निम्ति गएका प्रदीप त्यहाँको छात्र सङ्घको उच्च पदाधिकारी हुनुका साथै नेपालबाट निर्वासनमा गएर बनारसमा बस्न थालेका नेताहरूसँगको संगतले गर्दा प्रजातान्त्रिक र समाजवादी मूल्य र मान्यतामा अडिग रहेर अघि बढ्न थाले तथा यी विधामा निक्कै धेरै अध्ययन समेत गरे।
त्यहाँ बस्दा पत्रकारितामा लाग्ने अवसर पनि पाए, जसबाट उनको जनसम्पर्क बढ्नुका साथै लेखन विधामा उनी निपुण हुन थाले। अब उनी ठूला ठूला दर्शन छाँट्न सक्ने विद्वानहरूको अगाडि बडो ठाँटका साथ बोल्न सक्ने भइसकेका थिए।
यस्तै बेलातिर नेपालमा आउँदा उनी केही समय जेलमा पनि परे। पछि मुक्त भएर बनारस फर्केपछि २०२५ सालतिर भारत बसोबास गर्न थालेका वी.पी. कोइरालासँग ज्ञान प्राप्त गर्ने र सशस्त्र क्रान्तिको काममा जुट्ने मौका पनि पाए।
आफूजस्ता अध्ययनशील र विद्वत व्यक्तित्वसँग पनि डटेर बोल्न सक्ने उनको क्षमताबाट वी.पी. निक्कै प्रभावित भएका थिए र यी प्रदीपपछि आफ्नै पदचापमा हिँड्न सक्ने तथा धेरै नाम कमाउने कुरा पनि उनले कार्यकर्ताहरूलाई बताएका थिए रे। वास्तवमा नै प्रदीप गिरी वी.पी.कै प्रतिविम्व जस्ता थिए।
जनआन्दोलन ताका पनि उनी केही समय थुनामा परेका थिए। वी.पी. कोइराला जस्तै सन्त नेता कृष्णप्रसाद भट्टराईका पनि प्रिय पात्र थिए प्रदीप। तर उनी गिरिजाप्रसाद कोइरालाको भने कहिल्यै प्रिय हुन सकेनन्। बरु बेला बेलामा गिरिजाबाबु र उनका आफन्तबाट प्रदीप खेदिइरहन्थे।
भारतको राजधानी नयाँदिल्लीस्थित प्रसिद्ध जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका प्रदीप दिल्लीमा छँदा पनि माक्र्सवाद र समाजवाद बारे निक्कै राम्रा प्रवचन दिन सक्दथे।
आफू कहिल्यै कम्युनिष्ट पार्टीसँग सम्बद्ध नभएको भएपनि उनका राजनैतिक सहयात्रीहरू अधिकांशलाई पछाडि पारेर उनी माक्र्सवाद र समाजवाद बुझ्ने विद्वानका रूपमा चिनिन्थे। नयाँ दिल्लीमा छँदा नै मानव अधिकारवादी ऋषिकेश शाहसँग उनको सामिप्य बढेर उनले पनि मानव अधिकारको क्षेत्रमा धेरै काम गरेका थिए।
मेरा पिता गोविन्दप्रसाद लोहनीलाई माक्र्सवाद, समाजवाद र दर्शनशास्त्रका गुरु नै सम्झने प्रदीप उहाँसँग भेट्न र रात रात भर गफिन उहाँको निवासमा अक्सर आइरहन्थे २०४० को दशकतिर।
मेरा पिता पनि प्रदीप एक विलक्षण विद्वताका धनी भएको कुरा हामीलाई बेला बेलामा सुनाइरहनु हुन्थ्यो। भौतिकवादमा विश्वास गर्ने मेरा पिता र प्रदीप गिरीको उमेरमा झण्डै २० वर्षको फरक थियो तर दुवैजना एउटै उमेरका जस्ता र उस्तै विचारधाराका साथीजस्ता थिए।
केही वर्ष पहिले निक्कै वर्षपछिको भेटघाटमा प्रदीप गिरीले त्यतिबेला ९० वर्ष पुगेका मेरा पितालाई ‘यो उमेरमा इश्वर हुन्छ जस्तो लाग्दो रहेछ कि लाग्दैन रहेछ’ भनेर ठट्यौली स्वरमा सोध्दा मेरा पिताले ‘इश्वरको अस्तित्व हुँदै हुँदैन, आज जे भइरहेको छ, यो सब प्राकृतिक नियम मुताविक नै भइरहेको छ र मानिस मरे पछि फेरि पुनर्जन्म हुने वा इश्वरको समिपमा जाने भन्ने कुरा मानिसको कल्पना मात्र हो’ भन्दा प्रदीप गिरीले निक्कै खुशी भएर हाँस्दै ‘मैले त्यसै मेरो गुरु भनेको हो र ?’ भनेर मेरा पितासँग गला मिलेका र दुवैजना हाँसेका थिए।
२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भएर लागेका प्रदीपले सुधारिएको पञ्चायतको राष्ट्रिय पञ्चायत सदस्यमा लड्न समेत इच्छा व्यक्त गरेका थिए तर वर्गीय संगठनको खारेजी गर्न पञ्चहरूले नमानेको तथा पार्टीको झण्डा लिएर लड्न नपाउने जस्ता छेकबारले गर्दा प्रदीप र अन्य धेरै प्रजातन्त्रवादीहरू चुनाव लडेनन्।
तर खासगरी वामपन्थीहरूले सदनमा गएर विरोध गर्ने हेतुले आफ्ना प्रतिनिधिहरूलाई चुनाव मार्फत राष्ट्रिय पञ्चायतमा पठाएका थिए। यही बेला देखि पार्टीको नामको अगाडि ‘प्रतिवन्धित’ लेखेर काम गर्न पनि दिइएको थियो।
२०४२ सालको सत्याग्रहमा प्रदीप गिरी पुनः कारागार चलान गरिए। त्यस्तै जनआन्दोलन ताका पनि उनी केही समय थुनामा परेका थिए। वी.पी. कोइराला जस्तै सन्त नेता कृष्णप्रसाद भट्टराईका पनि प्रिय पात्र थिए प्रदीप। तर उनी गिरिजाप्रसाद कोइरालाको भने कहिल्यै प्रिय हुन सकेनन्। बरु बेला बेलामा गिरिजाबाबु र उनका आफन्तबाट प्रदीप खेदिइरहन्थे।
तैपनि उनको निरन्तर अध्ययन, उच्च विचार र वाक-प्रकाण्डताको अगाडि कसैको हेला र तिरस्कारले केही लछार्न सकेन। बरु उनले जति माक्र्सवाद, लेनिनवाद, समाजवाद, भौतिकवाद, दर्शन र वी.पी. बारेका स्तरीय पुस्तक प्रकाशन गर्न अन्य कसैले पनि सकेन।
विद्वान व्यक्ति आफ्नो विद्वताका कारण कसैसँग पनि नडग्ने तथा दृढ-संकल्पित भएर आफ्नै सुरमा हिँड्ने र स्वतन्त्र अभिव्यक्ति दिने भएकोले हो कि कुन्नि उनलाई धेरैले अराजक र हठी व्यक्ति पनि भन्ने गर्दथे।
२०५१ सालको मध्यावधि चुनावमा सिरहाबाट विजयी भएपश्चात उनले आफू प्राविधिकरूपले मात्र विजयी भएको तर बहुमत भने वामपन्थी र अन्य पार्टीले ल्याएकोले ज्यादा अहम् राख्ने ठाउँ नभएको कुरा व्यक्त गर्दा निक्कै सनसनी मच्चिएको थियो।
२०५६ सालको प्रतिनिधि सभाको चुनावमा सिरहाबाट लडेका उनलाई माओवादीले कुनै वाधा वा अपठ्यारो नपार्ने प्रतिवद्धता जनाएको थियो भन्ने पनि सुन्नमा आएको थियो र त्यतिबेला कृष्णप्रसाद भट्टराई स्वयम् पनि उनको चुनाव प्रचारमा गएका थिए।
आखिर उनको जित पश्चात उनले किशुनजीलाई माओवादीसँग वार्ता गर्न समेत निक्कै सघाएका थिए। २०६३ सालको दोश्रो जनआन्दोलनको सफलता लगत्तै शुरु भएको मधेश आन्दोलनलाई प्रदीपले समर्थन गरेर पुनः अराजकमा गनिए उनी।
त्यसपछि बनेको सम्बिधानले समेत मधेशको समस्या सम्बोधन नगरेको भनेर त्यसमा उनले हस्ताक्षर गरेनन्। विभिन्न समयमा मन्त्री हुने अवसर पाउँदा पनि उनी कहिल्यै सत्ताको नजिक बस्ने पक्षमा देखिएनन् भने जीवनभर अविवाहित रहेका उनले सादा पोशाक र खाना तथा सरल जीवनमा नै रहन मन पराए।
पुर्खौली सम्पत्तिबाट आफ्नो भागमा परेको सिरहाको १२ विगाहा जमिनमा उनले आश्रम बनाएका थिए। उनी महात्मा गान्धी, जयप्रकाश नारायण, रविन्द्रनाथ टैगोर, डा. अम्बेडकर, वी.पी. कोइराला तथा कृष्णप्रसाद भट्टराईबाट निक्कै प्रभावित थिए।
त्यसैले पनि आफूले स्थापना गरेको आश्रममा सकेसम्म धेरै समय व्यतित गरेर आम जनतासँग भेटघाट गर्ने, शान्त प्रकृतिको आनन्द लिने र समाजवादी अवधारणालाई धेरै से धेरै मानिसहरूमा पुर्याउने उनको अभिलाषा थियो।
प्रदीप गिरी राजनीति र दर्शनका मात्र नभई साहित्यका पनि ज्ञाता थिए । नेपाली, मैथिली, हिन्दी, उर्दू र पाश्चात्य साहित्यमा यिनले विशाल ज्ञान हासिल गरेका थिए। यस्ता साहित्यिक भेलाहरूमा उनी लामो समयसम्म बोल्न र विद्वानहरूलाई प्रभाव पार्न सक्दथे।
एकचोटी २०४० को दशकमा पाकिस्तानी राजदुतावासमा भएको उर्दू शायरी र मुशायराको कार्यक्रममा पाकिस्तानबाट आएका शायरहरूसमेत छक्क पर्ने गरी यिनले रातभर नै आफ्ना शायरी सुनाउनाका साथै उर्दू साहित्यको लामो प्रवचन दिएका थिए।
२०७७ सालमा मेरा पिताजीका अन्तिम दिनहरू ताका कोभिड महामारीको समेत वास्ता नगरी उनी उहाँलाई भेट्न मेडिसिटी अस्पताल पुगेका थिए। करिव आधा घण्टासम्म उनले उहाँको समिपमा बसेर अक्सिजन मास्कमा रहनु भएका मेरा पिताजीसँग भलाकुसारी गरेका थिए।
उनलाई देखेपछि मेरा पिताजी ज्यादै खुशी हुनुभएको थियो। त्यहाँबाट फर्कने बेलामा उनले ‘लोहनीजी तपाई ठीक भएर घर जानु हुनेछ, म घरमा फेरि भेट्न आउँछु। बरु कदाचित मृत्यु नै हुने अवस्था आयो भने तपाईँलाई डर लाग्छ कि लाग्दैन?’ भनेर हाँस्दै सोध्दा मेरा पिताजीले मुस्कुराउँदै टाउकोले ‘लाग्दैन’ भन्ने साउती गर्नुभएको थियो।
यो देखेर उनले हाँस्दै आफूलाई पनि जुनै बेला मर्न परे पनि डर नलाग्ने बताएका थिए। आखिर केही हप्ता पश्चात नै अप्रत्याशित रूपमा अचानक उनको घाँटीको क्यान्सर पत्ता लागेर उनी मुम्बईमा उपचारको निम्ति लगिए र मेरा पिताजीको पनि त्यो भेटको करिव एक महिना पछि देहावसान भयो।
प्रदीप गिरीले उहाँको स्मृतिग्रन्थमा आफ्ना अनुभव लेख्न पनि सकेनन् भने विगत केही हप्तादेखि अति सिकिस्त भएका उनको पनि मेडिसिटीको सोही सिसियु कक्षमा मेरा पिताजी सरी नै देहावसान भयो।
यसरी नेपालको माक्र्सवाद, समाजवाद, भौतिकवाद, दर्शन र साहित्यका मुर्धन्य दुई पिँढीका प्रकाण्ड विद्वानहरूले डेढ वर्षको अन्तरालमा यो धर्तीबाट बिदा भएर एक महाध्यायको अन्त नै हुन गयो। तर तिनले छाडेर गएका कृतिहरूबाट भने आउँदा पिँढीले धेरै कुरा सिक्ने कुरामा कुनै शंका छैन। हार्दिक श्रद्धाञ्जली।
मानव अधिकारवादी तथा राजनीतिज्ञहरूसँगको भेटघाटको अवसरमा फोटोको बायाँमा प्रदीप गिरी र अन्य तथा दायाँमा गोविन्दप्रसाद लोहनी, मार्सल जुलुम शाक्य र प्रकाश काफ्ले) (२०४६ साल)
लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।
Facebook Comment