धेरै जसो कस्लाई हुन्छ युरिक एसिड ?
काठमाडौं । पछिल्लो समय युरिक एसिड आम समस्या जस्तै बनिरहेको छ । य’रिक एसिडका पीडाबाट धेरै मानिसहरु गुज्रिरहेका छन् । के हो त युरिक एसिड < । युरिक एसिड रगतमा पाईने एक प्रकारको पदार्थ हो । या भनौं हामीले खाने खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट नै युरिक एसिड हो ।
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।
युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका अवस्थामा शरीरमा बिभिन्न समस्या उत्पन्न हुने गर्दछ । हाम्रो शरीरमा (मिर्गौला) ले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्नेभन्दा बढी पैदा हुँदा युरिक एसिड बढ्छ । कहिले काँहि इण्डोक्राइन रोग, क्यान्सर, केमोथेरापी आदिका कारण पनि युरिक एसिड बढ्छ ।
युरिक एसिडको मात्रा शरिरमा कति हुनु पर्छ ?:
पुरुष र महिलामा युरिक एसिडको सामान्य स्तर फरक–फरक हुन्छ । ३ सय ६० माईक्रो मोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटरसम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ । तर योभन्दा बढी भए स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने हुन्छ । पुरुषमा भने यो स्तर ४ सय माईक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ ।
कस्लाई धेरै जसो हुन सक्छ त यूरिक एसिड ?:
सामान्यतया यी व्यक्तिहरुलाई युरिक एसिड हुन सक्छ । जो अस्वस्थ्यकर खाना खान्छन् र शारीरिक परिश्रम गर्दैनन् । साथै कहिले काहीँ वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।
त्यस्तै जाँडरक्सी बढि मात्रामा सेवन गर्ने र धेरै प्रोटिनयुक्त खानेकुरा खानेलाई पनि युरिक एसिड हुने गर्दछ । यस्तै उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि युरिक एसिडको मात्रा बढ्ने गर्छ । मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि युरिक एसिड देखिने गरेको चिकित्सकहरु बताउँछन् ।
रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा युरिक एसिड बढ्ने गर्छ । यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गौला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि युरिक एसिड हुने गर्दछ ।
युरिक एसिड हुँदा देखिने लक्षणहरु:
युरिक एसिड एक्कासी बढेमा जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ । साथै हात तथा खुट्टामा घोचाई सहितको तिव्र पिडा हुने, पिसाब फेर्नमा कठिनाई हुने गर्छ । यस्तै मुख सुकेको अुनभव हुने, मन चञ्चल हुने, छाती, घाँटीमा जलन र पोल्ने हुने गर्दछ । युरिक एसिड बढ्दा निद्रा पनि कम लाग्ने गर्दछ ।
युरिक एसिडबाट बच्ने उपायहरु
–पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
– प्रोटिनयुक्त खानेकुरा सेवन नगर्ने ।
–रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले को सेवन नगर्ने ।
–नियमित व्यायाम गर्ने।
–धूमपान र मध्यपानबाट टाढै बस्ने ।
–गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने
–तौल नियन्त्रण गर्ने ।
युरिक एसिडबाट हुने दुखाइमा तत्काल के गर्ने:
युरिक एसिडबाट दुखाइ हुनेबित्तिकै कम गर्न दुखेको ठाउँमा तातोले सेक्न । दुई हात रगडेर हातको तातोले दुखेको भागमा सेक्ने । यो धेरै प्रभावकारी हुन्छ। यो एक पटकमा कम्तिमा २५ देखि ३० मिनेट दिनुपर्छ र समय भए जति पनि र जुनसुकै बेला गर्न सकिन्छ ।
साथै हत्केलाले सेक्न नसक्दा रबर ब्याग तताएर सेक्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा, सेकाइ धेरै तातो र चर्को हुनु हुँदैन । मन्द तातोले सेक्नुपर्छ । यसो गर्दा तत्काल हुने दुखाईबाट केही हदसम्म आराम पाउन सकिन्छ ।
Facebook Comment