लमजुङको जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

लमजुङ। जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ। दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए।
उनले भने डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरीएपनी आगमी केही साताभित्र दैनिक ८ देखि १० जनासम्मलाई सेवा दिइनेछ। अस्पतालमा जिल्ला अस्पताल लमजुङमा अहिले ६० बेड क्षमता छ। बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन्।
जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने मन्त्री अधिकारीले बताइन्। हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृगोला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ। जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो। कुनै पनि रोगका कारण मृगौलामा असर पर्यो भने जिल्ला अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ।
मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।
अब लमजुङ र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागि बाहीर जिल्ला जानुपर्ने बाध्यता हटेको छ। अब डायलाइसिस गराउनकै लागि काठमाडाैं लगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले मुक्ति पाउने भएका छन्। लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन्।
Facebook Comment