सपनामा हर्क

कपिल लोहनी 
१७ भदौ २०७९ ७:१२

‘ओहो अङ्कल, हजुर त धेरै वर्ष पछि देखिनु भयो त। तर जस्ताको तस्तै हुनु हुँदो रहेछ। कहाँ हुनु हुन्थ्यो यत्तिका वर्षसम्म?’

मेरो प्रश्न सकिँदा नसकिँदै उनले ‘म अनन्तको यात्रामा गएको थिएँ। बल्ल फेरि यहाँ फर्कें। तर नेपाल त कत्ति धेरै बदलिइ सकेछ। राम्रा नराम्रा सबै खाले विकास भएका रहेछन्। उचित तवरले विकास कार्य नभएकोले हचुवाको भरमा शहरीकरण, सडक सञ्जालको विकास र औद्योगिकरण जस्ता कार्य गर्नाले नदीनाला प्रदुषित हुनुका साथै चरम भूक्षय भएर पुरै वातावरण र प्राकृतिक सौन्दर्य नै खल्बलिँदै गएको रहेछ। हाम्रो पालामा बनेका पाँच विकास क्षेत्र पनि हटाइएछन्। यिनै भौगोलिक विभाजनका रेखालाई प्रदेश नामाङ्कन गरेको भए नै उत्तम हुन्थ्यो नि। घर बनाउने र बसाइसराइको होडबाजीले पुरै मुलुक नै प्लटिङ हुँदै गएको रहेछ र कृषि व्यवसाय त अब ओझेलमा पर्न थालेछ। मुलुकभरका युवाहरू वेरोजगारीका कारण विदेशिने क्रम पनि उच्च बिन्दुमा पुगेको रहेछ। विभिन्न ठाउँका जातजाति, धर्म, संस्कृति र रहनसहन सबै मासिन थालेको रहेछ। आधुनिकीकरण ठीक तवरले नगर्दा परम्परागत मूल्य र मान्यता सबै नासिँदै जान्छ। त्यही भइरहेको रहेछ यहाँ।’

कुरा थप्दै उनले भने, ‘अब त काठमाडौँ पनि कुरुप भएछ र यहाँ धान्नै नसक्ने गरी जनसङ्ख्या बढी सकेको रहेछ। राजधानीमा नै रैथाने र पहाडे नेपाली त अल्पसंख्यक पो हुँदै गइ सकेछन् त। त्यतिबेला मैले राजधानीलाई उपत्यका बाहिर सार्ने कुरा पनि सुझाएको थिएँ। मेरा कुराहरू त्यतिबेला भारी भए सबैलाई। के गर्नु र।’

‘अनि हजुरहरू महाराजगञ्जको पहिलेकै घरमा हो कि?’ भनेर मैले सोध्दा, ‘हो, हामी महाराजगञ्जको पहिले कै घरमा बस्दै छौँ अहिले। मेरा साथीहरू मलाई भेट्न त्यहाँ आइरहन्थे। स्वयम् राजा वीरेन्द्र आकस्मिक रूपमा मेरो त्यही घरमा बरोबर आउँदथे। तिम्रो पिता लोहनीजी पनि बित्नु भएछ, अब त आफ्ना मन मिल्ने साथीहरू पनि कि त यो धरती छोडेर गइसके वा बाँचेका पनि बुढ्यौलीले गर्दा घरैमा नै बस्न बाध्य भएका छन्, सम्झँदा दिक्क हुँदो रहेछ मन।’ भने उनले।

मोटरको हरनले झसङ्ग भएर उठ्दा मात्र थाहा भो कि डा. हर्क गुरुङलाई सपनामा पो देखेको रहेछु मैले। छक्क परेँ म। उनको वार्षिक तिथि पनि आउँदै छ घटस्थापनाको दिन, जुन दिन उनि र विश्वका निक्कै नाम चलेका भूगोलविद्हरू चढेको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटनाग्रस्त हुँदा सम्पूर्ण विशिष्ट यात्रु र चालक दलको दुखद निधन भएको थियो।

नेपालका ख्यातीप्राप्त भूगोलविद् तथा योजनाविद् डा. हर्क गुरुङको मुस्कुराइ रहेको बडेमानको तस्विर हाल पनि राष्ट्रिय योजना आयोगको सभाकक्षमा टाँगिएको छ। तर उनका विचार र सिद्धान्तको कदर कति गरिएको छ, त्यसको लेखाजोखा हुन भने बाँकी नै छ। वि.सं. २०४१ सालमा पूर्व प्रधानन्यायधीश रत्नबहादुर विष्टको अध्यक्षतामा गठित उच्चस्तरिय जनसङ्ख्या परामर्श दातृ समितिको सदस्यमा उनी, मेरा पिता गोविन्दप्रसाद लोहनी र अन्य केही विशिष्ट व्यक्ति पनि चयन भएका थिए।

सो समितिले तयार गरेको जनसङ्ख्या र बसाइसराइसम्बन्धी प्रतिवेदनले त्यतिबेला मुलुकको वौद्धिक जमातमा एक किसिमको सनसनी नै मच्चाएको थियो। पछि यही विषयमा डा. गुरुङले दिएका अभिव्यक्ति तथा आप्रवासीहरूलाई नेपाली नागरिकता दिनु भन्दा पहिले अमेरिकाको ग्रिन कार्ड जस्तै वर्क पर्मिट प्रदान गरेर निश्चित अवधिसम्म नेपालमा बसेर काम गरेपछि मात्र नागरिकताको लागि आवेदन दिन पाउने व्यवस्था गर्नुपर्ने कुराले उनी एकातर्फ निक्कै लोकप्रिय भएका थिए भने अर्कोतर्पm उनलाई हदैसम्मको सजाय यानी फाँसीसम्म दिनु पर्ने तर्क राख्नेहरू पनि निस्किएका थिए।

काठमाडौँको बढ्दो जनसङ्ख्याको कारण यहाँको वातावरण खस्कँदै जानुका साथै यहाँ खानेपानीको समेत अभाव हुने र यो उपत्यका छिट्टै कुरुप हुँदै जाने भएकोले यसलाई एक सांस्कृतिक राजधानीको रूपमा मात्र विकास गरेर नेपालको राजधानी चितवन जस्तो नेपालको सबै तिरबाट सुलभ तथा पानीको प्रचुरता भएको र भविश्यमा बिस्तार गर्न सकिने निक्कै फैलिएको स्थलमा स्थानान्तरण गर्नुपर्छ भनेर डा. हर्कले दिएको सल्लाहलाई राजा वीरेन्द्रले समेत सकारात्मक रूपमा लिएको भएता पनि सायद नेपालको आर्थिक विपन्नताले गर्दा होला सो कार्य सम्भव हुन सकेन। तर आज आएर उनले भनेको जस्तै अस्तव्यस्त र ज्यादै बाक्लो जनघनत्व भएको राजधानी बन्न पुगेको छ काठमाडौँ।

वास्तवमा आप्रवासन र नागरिकताको कुरा गर्ने वित्तिकै हाम्रो मनमा भारतबाट नेपालमा आउने आप्रवासीहरूको मात्र चित्र कोरिन्छ। यसो हुनुमा खुल्ला सिमानाका कारण भारत र नेपालका मानिसहरूको एक अर्काका मुलुकमा आवत जावत तथा बसोबास गर्ने संख्या अन्य मुलुकबाट आउनेको भन्दा ज्यादै बढी भएको भएर पनि हुनसक्छ। भारतबाटै वा अन्य मुलुकबाट आएर नेपालमा बसोवास गर्न चाहने नेपाली मूलका मानिस माथि पनि हाम्रो खासै नजर पर्दैन न नै भारत, वर्मा र भूटानबाट शरणार्थीको रूपमा आएका नेपाली मूलका मानिस माथि पर्दछ।

सन् १९४९ मा भारत र पाकिस्तान बेलायतबाट स्वतन्त्र हुने वित्तिकै दुई नयाँ देश बन्न पुगे। यसरी दुई मुलुक बन्नु भन्दा पहिले जन्मेर कम्तीमा वयस्क भएका मानिसहरूलाई विशाल भारत कै माया लाग्दथ्यो होला भने, उही संस्कृति र परिवेश भए पनि त्यसपछि जन्मेका भारतीय र पाकिस्तानीहरू आआफ्ना जन्मभूमिलाई नै माया गर्ने भएर निस्के। यही नै हो जन्मभूमिको सबैभन्दा ठूलो महिमा।

जो जहाँबाट आएका र जुनसुकै मूलका भएता पनि नेपालमा बसेर काम धन्दा गर्न चाहने र यहाँको नागरिकता लिन चाहने व्यक्तिहरूका लागि निश्चित कानुनी मापदण्डको निर्माण गरियो भने यो कुरा विवादित स्थितिमा रही रहँदैन। टाढा जानु पनि पर्दैन हामीले। यस्ता कुराको व्यवस्था सार्कका भारतलगायतका मुलुकमा के कसरी गरिएका छन् भन्ने कुराको मात्र अध्ययन गरे पनि पुग्दछ।

हर्कले सपनामा भने जस्तै बिहान व्यायामको लागि हिँड्दा काठमाडौँको सडकमा देखिने मानिसहरूमा ठेट पहाडे मानिस एकाध र अधिकांश दक्षिणी छिमेकी मुलुकबाट कामका लागि आएका वा उतैका मूलका नेपाली नै बढी देखिन थालेका छन् आजकल। हाम्रै घरको सडकका दुवैतिर पनि फलफूलदेखि किराना र मोवाइलदेखि चिया तथा औषधिका दोकानहरू अधिकांश भारतीय मूलका मानिसहरूद्वारा सञ्चालित छन् र ती मध्ये कैयन् नेपाली नागरिक पनि होलान्।

कहिलेकाहीँ तराईतिर घुम्न जाँदा भारतीय मूलका नेपाली तराईवासी नागरिकसमेत भारतबाट निरन्तर आउने मानिसको लर्को लागेकोले आफ्ना बसोवासका क्षेत्रमा निक्कै भिडभाड र असुरक्षा बढेको कुरा बताउँछन्। वास्तवमा मानिसले जहाँ कामको राम्रो अवसर पाउँछ, उतै बस्ने सोच राख्दछ। नेपालबाट पनि लाखौँ मानिसहरू भारत र अन्य मुलुकहरूमा कामको खोजी र शिक्षा प्राप्तीको निम्ति गए पछि उतै बस्ने कोशिश गर्दछन् र अधिकांशले त्यस्तो अवसर पनि पाउँछन्।

आज संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत तथा धेरै विकसित मुलुकहरूमा ठूलो सङ्ख्यामा विश्वभरका आप्रवासीहरू गएर बसोवास गर्न थालेकाले त्यहाँको जनसङ्ख्यामा रैथाने भन्दा बाहिरबाट गएर बसेका मानिसहरूको संख्या अधिक हुन थालिसक्यो।

तर प्रश्न के पनि उठ्छ भने, कुनै पनि मुलुकको रैथाने मानिस हुन त्यहाँ कति समय बसेको हुनुपर्दछ त? एकाध दशक अघि अमेरिकामा बसोवास गर्न गएका मेरा एक नातेदारले मलाई हालै मात्र भनेको कुरा सम्झन्छु।

उनिहरू त्यहाँ बसोवास गर्न आवश्यक कागजातहरू तयार गर्ने समयमा भन्दा आज निक्कै धेरै मानिसहरू त्यहाँ गएर बस्न थालि सकेकाले त्यहाँ ज्यादै भिड बढ्नुका साथै वेरोजगारी पनि बढेको छ अरे। तर मेरै तिनै नातेदारले अमेरिकामा बसोवास गर्ने अनुमति प्राप्त गर्ने बेलामा उनीहरू भन्दा केही अघि त्यहाँ बसोवास गर्न शुरु गरेका मानिसले पनि आफूहरू रैथाने र पछि आउनेहरू आप्रवासी भनेर चिन्ता गरेका थिए होलान्।

नेपालका अधिकांश पहाडमा बस्ने र आज रैथानेमा गनिएका म जस्ता मानिसहरू विगत ५-७ सय वर्ष वा सो भन्दा पनि अघिदेखि भारत, चीन तथा सुदुर र मध्यपूर्वबाट समेत आजको नेपालमा आएका भए पनि यहाँका त्यतिबेलाका रैथानेहरूसँग मिलेर नै बसेका हुन्।

लिच्छवी, मल्ल, शाह वंश तथा कुँवर राणाहरू आदि पनि कुनै न कुनै बेला हालको भारतबाटै नेपालमा आएर बसेका हुन्। त्यस्तै तिव्वतबाट विभिन्न समयमा नेपालमा आएर बसेका र रैथाने भइसकेका मानिसहरूको संख्या पनि नेपालमा कम छैन।

वास्तवमा बसाईँ सर्ने पहिलो पुस्तालाई आफू जन्मेको ठाउँ वा देश बढी प्यारो लाग्ने र त्यहाँको याद आइरहने भए पनि उनका सन्तान जो पछि नयाँ परिवेशमा जन्मे, उनीहरू पनि आफू जन्मेको र हुर्केको ठाउँलाई नै बढी माया गर्दछन्।

फिजी, मलाया, वर्मा, हङकङ, अमेरिका वा बेलायत जता जन्मेका नेपाली मूलका नागरिकलाई पनि सबैभन्दा पहिले आफ्नो जन्मभूमि कै माया बढी लाग्दछ भने त्यसपछि मात्र आफ्नो पुर्खाको थातथलो नेपालको माया लाग्दछ।

चिनियाँ र भारतीय नपुगेको मुलुक यो धर्तीमा कतै पनि छैन। तर ती मुलुकहरूमा जन्मेका चिनियाँ वा भारतीयलाई पनि सबैभन्दा पहिला आफ्नै जन्मभूमिको माया लाग्दछ, अनि मात्र उनले आफ्ना पुर्खादेखिको आर्जित संस्कृति र संस्कार तथा पुर्खौली मुलुकबारे धेरै जिज्ञासा राख्दछन्।

भृकुटी नेपालबाट तिव्वतमा बिहे गरेर जाँदा उनलाई त्यहाँ कति पट्यार लाग्थ्यो होला र आफ्नो जन्मभूमिको कति याद आउँथ्यो होला तर उनिबाट जन्मेका तिव्वती राजकुमार, राजकुमारीहरू भने ल्हासालाई नै आफ्नो जन्मभूमी मानेर उतै रमाएर बसेका थिए होलान्।

नेपालमा जन्मेका भारतीय, चिनियाँ तथा अन्य मूलका नेपालीहरू पनि यहीँको परिवेशमा हुर्के बढेको भएर उनिहरू आफ्नो मातृभूमि नेपाललाई नै माया गर्दछन्। नेपालका छिमेकी भारतीय र चिनियाँको त कुरै छोडौँ, रुसमा अध्ययनको निम्ति गएका नेपालीले विवाह गरेर ल्याएका रुसी पत्नीबाट नेपालमा जन्मे-हुर्केका नेपालीहरूमा समेत आफ्नी आमाको मुलुकको संस्कृति र धर्म विरासतमा आएको भए पनि उसको मन त नेपाली नै भइरहन्छ।

सन् १९४९ मा भारत र पाकिस्तान बेलायतबाट स्वतन्त्र हुने वित्तिकै दुई नयाँ देश बन्न पुगे। यसरी दुई मुलुक बन्नु भन्दा पहिले जन्मेर कम्तीमा वयस्क भएका मानिसहरूलाई विशाल भारत कै माया लाग्दथ्यो होला भने, उही संस्कृति र परिवेश भए पनि त्यसपछि जन्मेका भारतीय र पाकिस्तानीहरू आआफ्ना जन्मभूमिलाई नै माया गर्ने भएर निस्के। यही नै हो जन्मभूमिको सबैभन्दा ठूलो महिमा।

विकसित मुलुक वा अझै भन्नु पर्दा एउटा निश्चित प्रणाली र प्रकृया बनेको र त्यसको अक्षरशः पालना गर्ने मुलुकहरूमा आप्रवासीहरू आएर बसोवास गर्ने माहौलको लागि कानुन सम्मत बाटो अपनाउनु पर्दछ र सो मुलुकको आप्रवाशन सम्बन्धी सबै नीति नियमको पालना पनि सबै क्षेत्रबाट सधैं हुनुपर्दछ।

विश्वका अधिकांश मुलुकहरूमा पहिलो पुस्ताका आप्रवासीहरूलाई त्यहाँ बसोवास गर्ने र काम गर्ने अधिकार मात्र दिइएको हुन्छ भने, त्यसपछिको त्यहीँ जन्मेको पुस्ताले भने अन्य रैथाने सरह क्रमशः अधिकार प्राप्त गर्ने गर्दछन्। यसो गर्नुको प्रमुख कारण त्यहाँ जन्मेका मानिसहरूमा आफ्नो जन्मभूमि प्रति अगाध माया हुन्छ र तिनले जन्मभूमिको विरुद्ध कुनै खराब कदम उठाउँदैनन् भन्ने विश्वास र मान्यता हो।

संयुक्त राज्य अमेरिकाको ग्रिन कार्ड पाए पश्चात नागरिक समेत हुने अवसर पाएका पहिलो पुस्ताका व्यक्तिहरूले त्यहाँको राष्ट्रपतिको चुनावको लागि दावेदार हुन पाउँदैनन्। विद्वताका लागि निक्कै ख्याती कमाएका त्यहाँका परराष्ट्र मन्त्रीहरू हेन्री किसिन्जर र मेडेलिन अल्ब्राइटको जन्म अमेरिका बाहिर भएको कारणले गर्दा नै उनिहरू अमेरिकाका राष्ट्रपति हुन योग्य भएनन्।

तर उनका अमेरिकामा नै जन्मेका सन्तानले भने जुनै पनि उच्च पदमा रहन पाउँछन्। भारतमा राजिव गान्धीकी इटालियन मूलकी पत्नी सोनिया गान्धीलाई केही समय अघि भारतको प्रधानमन्त्री हुने अवसर प्राप्त भए पनि विपक्षीहरूको विरोधका कारण उनले पछि हट्नु पर्‍यो।

विश्वभर चलिआएको नागरिकता सम्बन्धी कानुनको अनुशरण नेपालले पनि गर्नु जरुरी छ। दक्षिण एशियाकै केही मुलुकहरूको कुरा गर्दा माल्दिभ्समा गैर मुस्लिमले माल्दिभ्सको नागरिकता पाउँदैन भने, माल्दिभियन नागरिकले विवाह गरेर ल्याएको मुस्लिम पत्नीले त्यहाँको नागरिकता प्राप्त गर्न पनि माल्दिभ्समा १६ वर्ष बसोवास गरेको र त्यहाँको राष्ट्रिय भाषामा पोख्त भएको हुनुपर्दछ।

भुटानी नागरिकता प्राप्त गर्ने आवेदनको निम्ति विदेशीले कम्तीमा पनि २० वर्ष भुटानमा व्यापार, कामकाज वा अन्य इलमको लागी पर्मिट लिएर बसेको हुनुपर्दछ र त्यहाँको राष्ट्रिय भाषामा पनि पोख्त हुनुपर्दछ। भारतकै कुरा गर्दा कुनै पनि भारतीयसँग विवाह गरेको व्यक्तिले भारतीय नागरिकताको निम्ति आवेदन दिन मात्र पनि त्यहाँ कम्तीमा ७ वर्ष बसोवास गरेको हुनुपर्दछ।

तर त्यस्ता व्यक्तिलाई अन्य आधारभुत सुविधाहरूको भोग गर्ने अधिकार भने दिइएको हुन्छ। भारतीय नागरिकता ऐनले दोहोरो नागरिकतालाई मान्यता नदिएको भएर भारतीय नागरिकता पाउने व्यक्तिले अर्को मुलुकको नागरिकता त्यागेको प्रमाण समेत पेश गर्नु पर्दछ। दोहोरो नागरिकताको हकमा पाकिस्तानी नागरिकले विश्वका १९ वटा मुलुकहरूको नागरिकता लिन सक्दछन्।

हाल नेपालमा पनि हजारौँ मानिसहरूले विभिन्न कारणले गर्दा नागरिकताबाट वञ्चित हुनु परिरहेको छ। यस्तो अवस्थाले गर्दा उनिहरूले नागरिकताको प्रमाणपत्र पेश नगरी प्राप्त गर्न नसकिने कैयन् आधारभुत सेवा र सुविधाबाट वञ्चित हुनु परिरहेको छ।

हामीले व्यावहारिक भएसम्म यस्ता व्यक्तिहरूले नागरिकता प्राप्त गर्न सक्ने कानुन तर्जुमा गरी शिघ्रातिशिघ्र नागरिकता वितरण गर्नु पर्छ भने नेपालीसँग विवाह गरेर नेपालमा बसोवास गर्ने व्यक्ति तथा यहाँ कामको सिलसिलामा बसोवास गरिरहेका व्यक्तिहरूको हकमा भने दक्षिण एशियाकै अन्य मुलुकमा जस्तै निश्चित अवधिसम्म बसोवास गरेर यहाँको मान्यता प्राप्त भाषा तथा संस्कृतिसँग परिचित भएको प्रमाण पेश गरे पश्चात मात्र नागरिकताको लागि आवेदन दिन पाउने प्रावधान हुनु पर्दछ। त्यतिञ्जेलसम्म अन्य सुविधा प्राप्त गर्नको निम्ति विभिन्न प्रकारका पर्मिटहरू प्रदान गर्ने व्यवस्था मिलाउनु पर्दछ।

दुई विशाल क्षेत्रफल तथा जनसङ्ख्या भएका देशबाट घेरिएको नेपालले एक स्वतन्त्र राष्ट्रको पहिचान जोगाएर राख्न पनि आप्रवासी नेपाली नागरिकका नेपालमा नै जन्मेका सन्तानले मात्र संवैधानिक पद प्राप्त गर्ने प्रावधान राख्नु जरुरी छ।

आज रैथाने नेपाली नेताहरूले नै मुलुकको अस्मिता जोगाएर राख्लान् कि नराख्लान् भन्ने भय पैदा भइरहेको बेलामा पहिलो पुस्ताकै आप्रवासीलाई विभिन्न महत्वपूर्ण सम्वैधानिक पद तथा संसद, न्यायालय र कार्यपालिका तथा राष्ट्रको सर्वोच्च स्थानमा पुग्ने अधिकार दिने हो भने नेपाल राष्ट्रको अस्तित्व नै मेटिन पनि बेर लाग्ने छैन र यस्तो फितलो प्रावधान आज हामीले अनुकरण गर्नु पर्ने अन्य मुलुकहरूमा पनि भेटिँदैन।

जहाँसम्म विदेशीहरूले नेपाली नागरिकता प्राप्त गरेर यहाँ  रैथानेहरू अल्पसङ्ख्यक हुँदै जाने हुन् कि भन्ने भय छ, त्यसले मुलुकको डेमोग्राफिक ढाँचा र संस्कृतिमा केही फरक पारे पनि मुलुकको सर्वाङ्गीण विकासमा भने खासै फरक पार्दैन।

सिंगापुरकै कुरा गर्दा त्यहाँ चिनियाँ, मलाया र तामिल जातिहरूको वाहुल्यता भएपनि ती सबै प्रकारका जातिहरू आआफ्ना संस्कारलाई जोगाएर र एक अर्काको कदर गरेर मिलेरै बसेका छन् र सबैले आफ्नो मातृभूमिको उत्ति नै माया गरिरहेका छन्।

यसै कारणले आज सिंगापुर एक विकसित राष्ट्रको पंक्तिमा उभिन सफल भएको छ। मानिसले जुन मुलुकमा जन्म्यो, हुक्र्यो र शिक्षा–दिक्षा पायो त्यही मुलुकलाई सबैभन्दा बढी माया गर्दछ। नेपालमा पनि आजसम्मको अनुभवलाई हेर्ने हो भने यहाँ जन्मे, हुर्केका तराई, पहाड वा हिमालका सबै थरी नेपालीहरूले आफ्नो मातृभूमि नेपाललाई उत्तिनै माया गरेकै छन्।

आज नेपालमा चर्चामा रहेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फर्काएकोमा सरकार र गठवन्धन पार्टीहरूले आफ्नो तौहिन भएको सम्झेर अहंकारका साथ त्यसलाई जस्ताको तस्तै अनुमोदन गरेर ठोस प्रकृयालाई मिचेर राष्ट्रपति कहाँ पठाउने तयारी गर्नु र सर्वोच्च अदालतले वनजङ्गल फाँडेर निजगढको विमानस्थल बनाउनु हुँदैन भन्ने निर्णयलाई जुङ्गाको लडाई सम्झेर हिटलरी पारामा अघि बढ्नु ठूलो त्याग र संघर्ष गरेर नेपालमा आजको प्रजातान्त्रिक प्रणाली ल्याउन योगदान पुर्‍याउने कुनै पनि पार्टी वा नेतालाई सुहाउँदो कार्य होइन।

यदस हामी विश्वेश्वरप्रसाद कोइरालाले भनेझैं विकास कार्यको योजना बनाउँदा ‘गाउँमा बस्ने गरीव किसानलाई सम्झनु’ भन्ने महान उद्गार र डा. हर्क गुरुङको फोटो योजना आयोगको सभा कक्षमा राखेर योजना तथा नीति निर्माण गर्ने प्रण गर्छौँ भने उनका विचारहरूलाई सँधै अङ्गिकार गर्न पनि हामीले सिक्नु पर्दछ।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *