पाकिस्तानी खेलाडीले भने भारत-श्रीलंका खेलमा श्रीलंकाको पल्ला भारी, बताए यस्तो कारण
काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी एसिया कप क्रिकेटमा आज भारतले श्रीलंकाको सामना गर्दैछ । आइतबार पाकिस्तानसँग पराजित भएपछि सुपर फोरको खेलमा भारतका लागि यो खेल जित्नु महत्त्वपूर्ण हुनेछ।
खेलअघि एक टिभी कार्यक्रममा पाकिस्तानका पूर्व कप्तान तथा अलराउन्डर मोहम्मद हफिजले आजको खेलमा श्रीलंकाको पल्ला भारी रहेको बताएका छन् ।
कार्यक्रममा हाफिजले भने, “पाकिस्तान भारत म्याचको मनोवैज्ञानिक प्रभावबाट बाहिर निस्कन निकै गाह्रो छ। धेरै खेलमा भारतसँग हारपछि अर्को खेलमा पाकिस्तानको प्रदर्शन राम्रो भएको छैन। सन् २०२१ मा विश्वकपमा पाकिस्तानले भारतलाई हराएको थियो। विश्वकपको अर्को खेलमा पनि भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।”
“मलाई लाग्छ यो खेलमा भारतमा मनोवैज्ञानिक दबाब हुनेछ। यो श्रीलंकाका लागि राम्रो मौका हुनेछ। यद्यपि यो खेलमा भारत फेभरेट जस्तो देखिन्छ तर हामी श्रीलंकालाई बेवास्ता गर्न सक्दैनौं।” मोहम्मद हफिजले भने कि यदि श्रीलंकाले टस जित्यो भने उसको पल्ला भारी रहन सक्छ।
दुबईमा जारी एसिया कपको पहिलो सुपर ४ खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको छ । मोहम्मद रिजवान र मोहम्मद नवाजबीचको उत्कृष्ट ७३ रनको साझेदारीमा पाकिस्तानले २० ओभरको खेलमा एक बल बाँकी रहँदै १८२ रनको लक्ष्य पछ्यायो।
टी–२० विश्वकप अर्को महिना अस्ट्रेलियामा हुँदैछ । यसअघि एसिया कपलाई वार्मअप प्रतियोगिताको रुपमा हेरिएको छ । सुपर ४ चरणमा भारत र पाकिस्तानले श्रीलंका र अफगानिस्तानसँग खेल्न बाँकी छ । शीर्ष दुई टोली फाइनलमा सेप्टेम्बर ११ मा भिड्नेछन्।
Facebook Comment