निबन्ध : भालेसिउर

खेमराज पोखरेल
२५ भदौ २०७९ ६:३३

म हुर्किएको समाजले मान्दैआएका ज्ञानी, दानी, गुणी मानिएका अग्रजले महिलापुरुषको स्वतन्त्रताका बारेको प्रसङ्गमा बारम्बार भन्नेगर्नु हुन्थ्यो–महिला र पुरुष कसरी बराबर हुन सक्छ र?, कुखुराको भालेको सिउर जहिले पनि पोथीकोभन्दा ठूलो हुन्छ। भालेको सिउर काटी पोथीमा थपिदिएर समान बनाउन सकिन्छ र?

ज्ञानी अग्रजको यो कुरा सुन्दा मभित्रको चिचिलो पुरुष आनन्दित भएको हुन्थ्यो। गौरवान्वित हुन्थेँ। गौरव मात्र गरेको भए त हुन्थ्यो, बरु घमण्ड गर्थेँ। दम्भ गर्थेँ। पोथी सिउरलाई दोस्रो दर्जा ठान्थेँ। किनकि समाजले मलाई त्यही सिकाएको थियो।

त्यही पढाएको थियो। त्यही बुझाएको थियो। पितृसत्तात्मक सोच थियो। यो सोचमा हजुरआमा, आमा, सानिमा तथा समग्र महिलाले पनि पुट दिन्थे। त्यही देखेको थिएँ । त्यही भोगेको थिएँ । त्यसैमा आनन्दित थिएँ।

तर जीवन सधैँ त्यही आनन्दमा चलेन। त्यही विचारले थेगेन। त्यो चेत टिकेन। समयका इन्द्रेणी रङमा सङ्घर्षका घर्षणले गर्दा जीवनका मान्यताहरू परिवर्तित हुन थाले। शनैशनै मेरा भाले सिउरवाला दम्भित मान्यता स्खलित हुन थाले। भए।

किनभने मैले बुझ्न थालेको थिएँ कि जन्मनेदेखि बाँच्ने क्रमसम्ममा अनेकौँ महिलाको प्रत्यक्ष साथ, सहयोग र माया पाएँ। त्योबिना मेरो जीवन सम्भव थिएन। मैले आफ्नै जीवनमा आफ्नै परिवारभित्र हजुरआमा, आमा, श्रीमती, छोरी र नातिनी देखेँ।

यसबाहेक फुपू, सानिमा, ठूलीआमा, माइजू आदि अनेकौँ आफन्त तथा समाजका महिला देखेँ। कक्षाकोठामा ज्ञानले युक्त गुरुमाहरू देखेँ। राजनीतिक मोर्चामा गोली खान तयारभएका नारी देखेँ। समाज परिवर्तनको मुद्दा बोकेर जीवन सुम्पेका समाजसेवी देखेँ। सहिद देखेँ।

जीवनका गल्छेँडामा विभिन्न प्रयोजनमा भेटिएका/चिनिएका महिला पनि देखेँ । विशिष्ट ज्ञानले सुसज्जित सहकर्मी महिला देखेँ। प्रेमिका देखेँ । ती सबै महिलाका मायालाई यति बेला म सम्झँदै छु।

सन्निकटता तथा महत्त्वका बारेमा सम्झँदै छु। एकएक गरेर सम्झँदै छु। किनकि ती महिलाको जीवनले एउटा सिङ्गो युगको असङ्गत परिवेशको प्रतिनिधित्व गथ्र्यो । यो मेरो पितृसत्तात्मक बुझाइमा आएको परिवर्तन थियो।

यही पृष्टफलकमा मेरा पाँच पुस्ताका महिलाको अवस्थालाई समाज विकासको मेरुदण्डमा राखेर हेर्ने प्रयत्न गरेको छु। यो प्रयत्न एउटा चिन्तन मात्र हो। यो प्रयत्न मेरो निजी हो। मेरो हो। मैले अनुभूत गरेको कुरा हो। त्यसैले यहाँहरूमा मेरो अनुभूतिलाई अनुभूत गर्ने वा नगर्ने विशिष्ट अधिकार कायम नै छ ।

अब मूल विषयतर्फ प्रवेश गर्छु । मेरी हजुरआमा म २५ वर्षकोहुँदा स्वर्गवास हुनुभयो। उहाँ सम्पन्न र खान्दानी मानिने भोजपुरको भुल्केका भट्टराई परिवारमा विसं १९५६ मा जन्मनु भयो। उहाँ जन्मेको परिवार खान्दानी बाहुन थियो। उहाँको आफ्नै बाबु तथा दाइभाइ जीवनदर्शन बुझ्ने बुझाउने घागडान पण्डित हुनुहुन्थ्यो।

तर मेरो हजुरआमा निरक्षर हुनुहुन्थ्यो। र पनि उहाँका जीवनआधार चल्ने दर्शन त्यही विभेदी पारिवारिक सामन्ती खान्दान थियो। उहाँको बोलीचालीमा त्यो कुरा प्रस्टिन्थ्यो। सगौरव भन्नुहुन्थ्यो-म त भुल्केका पं कर्नाखर भट्टराईकी छोरी हुँ।’

निरक्षर हुनुहुन्थ्यो तर कुलगौरवले वशीभूत हुनुहुन्थ्यो। तल्लो जात र माथ्लो जातको विभेद मन पराउने मात्र होइन, चुर्लुम्म हुनुहुन्थ्यो। महिला र पुरुषका बिचका विभेदमा रम्नु हुन्थ्यो। बाहुनले खान हुने/नहुने सबै उहाँका रुचिका विषय थिए। अनुशासन थिए।

सबै खाले अन्धविश्वास उहाँको जीवनदर्शन र ज्ञान थियो। घरभित्र र बाहिरका सबै काममा दखल राख्नुहुन्थ्यो। ज्यादै धेरै शारीरिक र मानसिक काम गर्नुहुन्थ्यो। तर घरको मालिक भने हजुरबुबा नै हुनुहुन्थ्यो। हजुरबुबाको चित्त नदुखाउने एक मात्र लक्ष्य हुन्थ्यो हजुरआमाको।

हजुरबुबाको खानपिन तथा लवाइखुवाइदेखि दुःखबिराममा ज्यादै ठूलो चासो लिनुहुन्थ्यो। हजुरबुबाले खाने स्वादकै खाना बनाउनु पथ्र्यो। हजुरआमालाई आफ्नो स्वादको कुनै मतलब हुँदैनथ्यो । हजुरआमाका नाममा एक धुर जग्गा पनि थिएन।

जति थिए सबै हजुरबुबाका नाममा थिए। २०३२ सालतिर नागरिकता बनाउन टोली घरघर पुग्यो। त्यो बेला जग्गा नाममा भएकाले हजुरबाको नाममा नागरिकता बन्यो। बुवाका नाममा बन्यो । तर हजुरआमाका नाममा नागरिकता बनेन।

नियमले नमिलेको होइन, ‘किन चाहियो नागरिकता?’ भन्ने दर्शनले काम गर्यो। हजुरआमालाई कुनै अधिकार चाहिएको थिएन। कुनै स्वतन्त्रता चाहिएको थिएन। सम्बन्ध केबल समर्पणमा थियो। पतिसमर्पण नै धर्म थियो। कर्म थियो। कुलिनता थियो। कुलबधुको द्योतक थियो।

हजुरबुबा छोटोछरितो र सजिलो लुगा लगाउनु हुन्थ्यो। हजुरआमा बाह्रहाते बेरेर घरधन्दा तथा मेलापात गर्नुहुन्थ्यो। घरको परिपाठ हजुरआमाले मिलाउनुहुन्थ्यो । निम्तो आउँदा हजुरबुबाको नाममा आउँथ्यो। समाजका कुनै पनि मान्छेलाई मेरी हजुरआमाको नाम थाहा थिएन। सरकारका कुनै रेकर्डमा मेरी हजुरआमाको नाम लेखिएन।

हामीले सोधेर हजुरआमाको नाम पत्ता लगाएका थियौँ- वेदमाया। तर हजुरबुबा र हजुरआमा जस्तो मिलेको जोडी मैले आज पर्यन्त कसैको देखेको छैन । अगेनाको डिलमा बसेर दुबै जना चिलिमको मुखमा तमाखु राखेर तान्नुहुन्थ्यो । तर पहिलो सर्का चाहिँ हजुरबुबाले नै लगाउनुहुन्थ्यो।

हजुरबुबाले नखाई खानुहुन्थेन । सँगै खाने चलन थिएन। तर असाध्य मिल्ती थियो। मिल्ती यस कारण थियो कि हजुरआमाले हजुरबुबामा आफूलाई विलिन गर्नुभएको थियो । हजुरबुबाभित्र अन्तरघुलित हुनुभएको थियो । शरीर दुई भए पनि एकाकार हुनुहुन्थ्यो। एकाकारको आधार समर्पण थियो।

यसको दार्शनिक आधार पति परमेश्वर सिद्धान्त थियो । परमेश्वरसँग केको विग्रह ? केको रिस ? केको अधिकार ? केको घुर्की ? यही सिद्धान्तका आधारमा जीवन मिलेको थियो । सायद अर्को उपाय पनि थिएन । भालेसिउरवाला दर्शनको अनुयायी भएको अवस्थामा योभन्दा अर्को कुरा पनि सायद हुन्नथ्यो होला।

अब मेरी आमाको कुरा । मलाई यस पृथ्वीमा लिएरआउने मेरी आमा मेरा लागि सबैभन्दा कीमति महिला हो । संसारका प्रायः सबै मान्छे जब आमाको प्रसङ्ग आउँछ, तब द्रवीभूत हुन्छन् । किनभने जन्म आमाले मात्र दिन सक्छन् । अरू कसैले दिन सक्दैनन्।

जन्मको मात्र होइन, आमाको मायाको पनि अन्य कुनै बस्तुसँग तुलना हुनसक्दैन । आमाको माया अनुपम हो । त्यसकारण आमा भन्नु संसारकै कीमति रत्न हो । अवर्णनीय हो । त्यसैले संसारमा आमाबारे धेरै गहन साहित्यको सिर्जना भएको छ। महिमा गाइएको छ।

मेरी आमा खोटाङ जिल्ला खाम्तेल गाउँकी दाहालकी छोरी हुनुहुन्छ। स्कुलबिनाको सामान्य साक्षर हुनुहुन्छ । समयकालमा आवश्यकताका कारणले आमाका नाममा नागरिकता बन्यो । हाम्रो अंशवण्डा हुँदा आमाका नाममा पनि जग्गा जबर्जस्ती राखियो । नत्र त आमा भन्नुहुन्थ्यो – यो जग्गाजिमिन मेरा नाममा नराख न हौ । म बूढाको बाटै खाइहाल्छु नि ।

आमालाई कुनै आर्थिक अधिकार चाहिएको थिएन । राजनीतिक अधिकारको त झन् मेसो नै थिएन । मैले पनि देखेँ कि आमाले त्यो बेलाको बुहार्तन झेल्नु नै भयो । खटनपटन खेप्नु भयो ।

हप्कीदप्की खेप्नु भयो । उर्वर जीवनभरि घरधन्दा छिमल्दै छोराछोरी नै पाइरहनु भयो । अचेल महिलाको बिहे गर्नलायक उमेर ३० भन्न थालिएको छ । तर मेरी आमाले त्यो उमेरसम्म त १० सन्तान पाइसक्नुभएको थियो ।

सुरुका प्रारम्भिक दिनमा भोट, अधिकार जस्ता कुराको कुनै हेक्का थिएन आमालाई । ‘के हो त्यो भनेको ?’ भन्नुहुन्थ्यो आमा । अहिले आमाको बैँक खाता पनि छ । जग्गा पनि छ । काम पनि सबै गर्नु हुन्छ । तर ती सबैको खास अन्तर्य मालिक बुबा नै हुनुहुन्छ । समय परिवर्तन भयो ।

बुबा मालिक भए पनि अब आमा आफ्नो हिस्सा खोज्नसक्नु हुन्छ । लाउने÷खाने कुरामा त्यति बन्धेज छैन । तर परम्परादेखि चलेर आएको मान्यताका कारणले चाहेर पनि बराबरीको अवस्था छैन । बुबा छरितो पहिरनमा बस्नुहुन्छ । तर आमाले भने फरिया नलपेटी जिन्दगी चल्दैन ।

फरिया लपेट्नु बाध्यकारी परिवेश त छैन, तर आमा कुनै हालतमा फरिया नलपेटी बस्न सक्नुहुन्न । यति मात्र होइन, फरिया नलेपेटेका महिला देख्दा गतिछाडा भन्न चुक्नु हुन्न । आमाको नाम सरकारी कागजमा दर्ता भएको छ । सरकारले दुर्गादेवी पोखरेल भनेर चिन्छ । तर पनि समग्र मालिक बुबा नै हुनुहुन्छ । यो कुरा पनि भालेसिउरकै दर्शन हो ।

अब पालो मेरी श्रीमतीको । मेरी श्रीमतीसँग मैले अहिलेसम्म पूरापूर ३९ वसन्त सँगै बिताएको छु । उनी खोटाङ सावा–कटहरेकी भट्टराईकी छोरी हुन् । झापा जिल्ला बैगुन्धुराकी भूमिपतिकी छोरी हुन् । खान्दानी हुन् । त्यसैले खान्दानी बन्धेजभित्र राखेर एसएलसीसम्म पढाइएको हो उनलाई ।

त्यो बन्धेजलाई सामाजिक सुरक्षाको नाम त दिइयो नै । सामाजिक आदर्शको लेपन त दिइयो नै । तर त्योभन्दा माथि पढाउनेभन्दा ‘एउटा पाल्नसक्ने वर खोजेर दिन पाए’ भन्ने सामाजिक मान्यताका आधारमा बिहे भयो । बिहे भएरआउँदा उनी ‘परम्परागत स्वास्नी’ को रूपमा प्रशिक्षित भएर आएकी थिइन् ।

खान्दानी परम्पराका हेपाइस् गर्ने सबै मान्यता बोकेरआएकी थिइन् । महिलाले भोग्नुपर्ने शारीरिक र मानसिक अन्धविश्वासलाई अनुशरण गरेरै आएकी थिइन् । जातीय र लैङ्गिक विभेदलाई आदर्श मानेर नै आएकी थिइन् ।

शनैशनै अर्धाङ्गिनी बनाउने परिवेश बन्यो । खान्दानी परम्पराका ती अन्धविश्वासका आदर्शहरू दिमागभित्र नपखालिए पनि व्यवहारमा भने ती धर्मराएर मर्न बाध्यभएका छन् । यसले उनको मनमा उथलपुथल बनाएको छ ।

उनको नाममा नागरिकता छ । पासपोर्ट छ । जग्गा छ । स्वाभाविक रूपमा पढेलेखेका छोरीहरूले बाबुआमा दुबैलाई समान हैसियतमा माया र व्यवहार गर्छन् । घरव्यवहारमा उनी निर्णयको मालिक पनि छन् । तर पनि उनी मेरो सहयोग खोज्छिन् । सहयोग होइन निर्णय खोज्छिन् ।

उनले त्योे मेरो निर्णय खोजेको कारण प्रथमतः माया नै होला भनेर व्याख्या गर्न पनि सकिएला । तर मायाभन्दा बढी मलाई मालिक बनाएको हो जस्तो लाग्छ । परम्परा, खान्दान, सामाजिक बन्धन आदिका कारणले उनी बाँधिएकी छन् । म उनलाई ‘तँ’ वा ‘तिमी’ सम्बोधन गर्छु । उनी मलाई ‘तपाईँ’ वा ‘हजुर’ सम्बोधन गर्छिन् ।

मेरा दिमागमा एउटा घटना आइरहन्छ । म अमेरिकाबाट फर्केको थिएँ सन् २००७ मा । अमेरिकामा बस्दा पाहुनालाग्दा पनि आफूले खाएको थाल आफैँ माझेर राखिदिनु पथ्र्यो । यो घटना मेरो सामन्ती खान्दानी नाकको पुरै स्खलन थियो । पुरुषदम्भको मैजारो थियो ।

अमेरिका बस्दा म यो भाँडा माझ्ने कुरामा बानी परेँ । किनभने आफूले खाएको भाँडा नमाझ्नेलाई अमेरिकी समाजले नराम्रो तरिकाले हेथ्र्यो । मलाई पनि भाँडा श्रीमतीले मात्र किन माझ्ने होला भन्ने लाग्नथालेकै थियो ।

नेपाल फिरेर मैले आफूले खाएको थाल आफैँ माझ्न खोजेँ । श्रीमतीले मेरो हातबाट थाल खोसेर रिसाएर भनिन् – के जात्रा गर्नुभएको ? अब म हुँदाहुँदै हजुरले थाल माझ्ने ? परिवारजनले मलाई के भन्छन् ? समाजले मलाई के भन्छ ?

मेरी श्रीमती कानुनीरूपले, पारिवारिकरूपले, वैचारिकरूपले मझैँ स्वतन्त्र छिन् । तर पनि सामाजिक घेरा यस्तो छ कि उनी सामन्तवादका खान्दानविशेष व्यवहारमा आनन्द मान्छिन् । म छोटा र छरिता लुगा लगाउँछु । उनी पनि त्यो लगाउन स्वतन्त्र छिन् । तर गर्मीमा पनि सुरुवालकुर्तामाथि सल ओढ्दा उनी मजा मान्छिन् ।

त्यो सल उनको सभ्यता भएको छ । अमेरिकाको बसाइ छ, तर उनी छोटो हाफप्यान्ट लगाउन कुनै हालतमा मान्दिनन् । अधिकार पूरै छ । सामाजिक, राजनीतिक तथा आर्थिक अधिकार मात्रले पनि नहुने रहेछ । विचार वा चेतमा नै परिवर्तन नआई हुनेवाला केही रहेनछ ।

मेरा तीन छोरी छन् । भन्नै परेन, ती मायाका खानी छन् । तिनले गरेको माया देख्दा लाग्छ विषयभोगको स्वर्ग यही हो । सन्तान सुखको ऐश्वर्य यही हो । त्यसैले सामन्ती तथा पुरातनपन्थी समाजले ‘तेरा छोरा छैनन् ?’ भनेर सोद्धा पनि मलाई फरक पर्दैन ।

‘कठै विचरा’ भनिरहँदा पनि ठाँगाले छुँदैन । बरु त्यही पुरातनपन्थी समाजले भने बिनाबित्थामा अमिलो खाएको चोसे र गन्हाउने अनुहार बनाएको देख्दा भने भित्रभित्र हाँस उठ्छ ।

तीनैवटा छोरीको बिहे भइसकेको छ । उनीहरू आफ्ना श्रीमान् श्रीमतीमा दोहोरो ‘तिमी’ सम्बोधन चलाउँछन् । नाममा आफू जन्मिएकै थर राखेका छन् । पढाइ पुगनपुग बराबर छ । कमाइ लगभग बराबर छ । दायित्त्वबोध बराबर छ । चुनौती बराबर छ । सम्बोधन बराबर छ ।

भातभान्सादेखि, घरधन्दादेखि जागिर वा अर्थोपार्जनसम्म बराबर हैसियत छ । बराबर कर्म छ । सामान्यतया पहिरन पनि उस्तैउस्तै छ । उनीहरूको जीवन म्युचुअल अन्डरस्ट्यान्डिङमा चलेको छ । म्युचुअल अन्डरस्ट्यान्डिङ भनेको समर्पण वा सम्झौता दुबै होइन । माया बराबर छ । अपार छ ।

लाग्दछ सायद पूर्ण स्वतन्त्रताको विन्दु भनेको यही हो । तर जब उनीहरू परिवारकातर्फबाट समाजमा देखापर्छन्, छोरीहरू ज्वाइँलाई ‘तपाईँ वा हजुर’ सम्बोधन गर्न थाल्छन् । त्यो एक छिन् मात्र हो । एक निमेष मात्र हो । एक छिन् समाजलाई आँखा छलेको मात्र हो । समाजलाई झुक्याएको मात्र हो ।

तर मलाई लाग्छ, त्यो एक छिन्को दर्शन भयङ्कर छ । त्यसको अन्तर्यले विभेदी समाजको झल्को दिन्छ । त्यो एक छिन् भनेको परम्परादेखि चलेर आएको पुरातनपन्थी विचारको अवशेष हो । भाले सिउरको मान्यता हो ।

त्यो जब्बर बलियो हुन्छ र हेर्दा दुरुस्त देखिए पनि महिलाको पूरापूर स्वतन्त्रता त्यसले खाइदिन्छ । अहिले सभ्रान्त ठानिने महिला जगत्ले खोजेको यस्तो खाले पूर्ण स्वतन्त्रता पनि भाले सिउरकै विकसित रूप हो ।

मेरा नातिनीहरू छन् । ती अमेरिकामा जन्मेका हुन् । जाहिर छ, अमेरिकामै बस्छन् । स्कुल जान्छन् । उनीहरू यति स्वतन्त्र छन् कि लिङ्ग बुझाउने कुनै पनि कुरा गर्न पाइन्न । किनभने उनीहरूले आफैँ ठूला भएपछि आफ्नो लिङ्गको तय गर्ने जमाना आइसकेको छ । वंश पनि सन्तानको स्वःइच्छाअनुसार बाबुको वा आमाको नाममा चल्ने प्रक्रिया सुरु भइसकेको छ । अबको युग भनेको छोरी पाउँदा, छोरी सधैँ छोरीमै सीमित हुन्छे भन्ने छैन ।

कुन दिन लिङ्ग परिवर्तन गरेर छोरा भएर देखापर्न सक्छे । आफ्नै छोरीले अर्काकी छोरीलाई बुहारी बनाएर ल्याउन सक्छे । आफ्नो छोरो अर्काको बुहारी हुन सक्छ । अर्काको छोरो बुहारी भएर आउन सक्छ ।

एक छिन् कल्पना गर्नुस् समाज विकासको यो खण्डमा आइपुगेको छ । यस्तो अवस्थामा आइपुग्दा के महिला के पुरुष ? को महिला, को पुरुष ? को ठूलो ? को सानो ? कसको सिउर ठूलो ? कसको सिउर सानो ?

यही धरातलमा बसेर एउटा घटना सम्झँदै छु । २०४२ सालतिरको कुरा हो । तिनताक म पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा पढाउँथेँ । प्राध्यापकको कमन रुममा बसिरहेको थिएँ । महिला प्राध्यापकहरू बात मार्दै हुनुहुन्थ्यो । एक जना विद्यावारिधि प्राप्त महिला प्राध्यापक भन्दै हुनुहुन्थ्यो – बाहिर जे जे भने पनि घरभित्र त स्वास्नीमान्छेको हैकम असुहाउँदिलो देखिन्छ ।

त्यो बेला मलाई लागेको थियो कि यति धेरै पढेका महिलाको त यस्तो विचार छ भने महिलापुरुष समानताको कुरा कहिले पूराहुने होला नेपालमा ? यो पितृसत्तात्मक सोचमा कहिले परिवर्तन आउने होला ?

तर अचेल म सोच्दै छु कि मैले लामो समयसम्म पालेको पुरुष हुनुको दम्भ सकिएको छ । मेरा आँखैअगाडि, मेरै वरिपरि मेरै महिला मित्र तथा आफन्तहरूले सानमा, मानमा, सौर्यमा, ज्ञानमा, दानमा, वलमा र बुद्धिमा मलाई उछिनेर धेरै पर पुगिसकेका छन् । यो मेरा लागि हर्षको विषयभएको छ ।

तर समाज भने अझै संस्कृतिको नाममा, जेन्डरको नाममा, चलाचलनको नाममा, सभ्यताका नाममा, सामाजिक व्यवस्थाका नाउँमा ‘भालेको सिउर ठूलो’ भन्ने मान्यताकापछाडि दगुरेको छ । पुरुष त दगुरेका छन् छन्, महिला पनि त्यही ‘भालेको सिउर ठूलो’ मान्यताका पछाडि भुलेका छन् ।

पितृसत्ता भनेको यही मान्यता हो । यो पितृसत्ताको मान्यतालाई वर्तमानमा पनि कथित पठित पुरुष तथा महिलाले पन्पाएका छन् । यही भाले सिउर ठूलो भन्ने पन्पाइका कारणले आज समाज गोजाङ्ग्रो हाँसो हाँसिरहेको छ ।

समाजले गोज्याङ्ग्रो दम्भ अझै छोडेको छैन । संसारले उल्याइरहेको छ त्यो मान्यतालाई । र पनि भालेको सिउर ठूलोको विशेष मान्यतामा दम्भित छ कथित पठित नेपाली समाज पनि । यो भने गम्भीर चासोको विषय हो कि नेपाली समाजले भालेसिउर कतिञ्जेल पाल्ने होला ?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *