कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी
खोटाङ । कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
११ सदस्यीय केन्द्रको उपाध्यक्षमा जिल्ला मालपोत कार्यालयका प्रमुख धर्मराज आचार्य, सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र राई र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका प्रमुख काजी बस्नेत चयन भएका छन् ।सदस्यमा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख उमेशकुमार मेहता, नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, स्वास्थ्य कार्यालय खोटाङका प्रशासकीय अधिकृत रबिन फुयाँल, नापी कार्यालयका प्रमुख मदन खत्री र पदेन सदस्यमा आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुवकुमार कार्की चयन भएका छन् । दुई सदस्य पछि थप गरिने कर्मचारी मिलन केन्द्रले जनाएको छ ।
संस्थाको मर्यादा र छविलाई उच्च बनाउँदै व्यावसायिक, निष्ठावान् र कर्तव्यपरायण बनाउँदै सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने कर्मचारी मिलन केन्द्रका नवनिर्वाचित अध्यक्ष रेग्मीले बताए ।
Facebook Comment