प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न सकिएनः मुख्यमन्त्री भट्ट

डिसी नेपाल
२४ भदौ २०७९ २२:२७

कैलाली । प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।

कैलालीको टीकापुरमा सुरु भएको नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा भए पनि धरातलीय यथार्थ भन्दा फरक भएका र प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न नसकिएको महसुस भएको बताए ।

नेपालमा राजनीतिक परिवर्तनसँगै गरिएका अपेक्षा पुरानै प्रशासनिक संरचनाका कारण सम्भव नभएको उनको भनाइ छ । नीतिहरू कार्यान्वयन गर्ने र प्रशासनिक कमजोरीका विषयमा बहस नभएको बताउँदै भट्टले थपे, “इमान्दारीपूर्वक शासन चलाउने कुराको पनि कमी भयो होला, भने जस्तै गर्न नसक्दा जनस्तरमा आलोचना र वितृष्णा बढ्दै गएको छ ।”

मुख्यमन्त्री भट्ट सङ्घीयता र सरकारका कामको परिणाम पाँच वर्षमै नआउने बताउँछन् । “सङ्घीयताका विषयमा अहिल्यै समीक्षा गर्ने समय भएको छैन । सङ्घीयता सहरमा भन्दा गाउँमा भेटिने गरेको छ”, उनी भन्छन्, “पहिले लाख बजेट नपाउने दुर्गम गाउँमा अहिले करोडौँको बजेट खर्च भइरहेको छ । यो उपलब्धि हो ।”

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले प्रदेश सरकारबाट जनताले धेरै आशा राखेको बताए। “यसअघि सरकारबाट भएका अलोकप्रिय काम सुधार गर्दै जान्छौँ । युवा जिम्मेवारीमा आउनुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने आवश्यकता छ”, मन्त्री रावलले भने, “टीकापुर विविध सांस्कृतिक समूहको साझा स्थल र शैक्षिक नगरीका रूपमा टीकापुर विकास भइरहेको छ ।”

कार्यक्रममा १८ देखि ४० वर्षसम्मका करिब हजार युवा सहभागी छन् । कार्यक्रममा नेपाल जेसिजका गैँडाकोटदेखि पश्चिम महाकालीसम्मका ३३ जिल्लाका ५५ वटा जेसिज, लेडिज जेसिज र जुनियर जेसिज सहभागी छन् । सम्मेलन शनिबार सकिनेछ । सम्मेलनले टीकापुर घोषणापत्र जारी गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *