प्रचण्डको रक्षाकवज मानिएका जनार्दन शर्मा किन बने आलोचक ?

यसरी भयो शर्माको अध्यक्ष प्रचण्डसँग खटपट

शरद रिजाल
२६ भदौ २०७९ ६:४९

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी चयन गरेको एक महिना नबित्दै उक्त पार्टी भित्रैबाटै असन्तुष्टि ब्यक्त हुन थालेको छ। माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माले आफूलाई चयन गरिएको उपमहासचिव पद अस्वीकार गरेसँगै माओवादीभित्रको असन्तुष्टि उजागर भएको हो।

उनले यही बुधवार पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा आफूलाई उपमहासचिवको रुपमा सम्बोधन नगर्न आग्रह गर्दै पार्टीको पुरानै संरचना अन्तर्गत संगठन बिभाग प्रमुखकै रुपमा रहेको सार्वजनिक घोषणा गरेका हुन्। उनले केही दिन अगाडिको पार्टीको कर्णाली प्रदेशको बैठकमा समेत आफू उपमहासचिव नरहेको सार्वजनिक गरेका थिए।

आठौं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म माओवादीमा पदाधिकारी चयन हुन सकेको थिएन। तीब्र रस्साकस्सीका बीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत भदौ ४ गते मात्र २१ सदस्यीय पदाधिकारी चयन गरेका थिए। तथापि चयन गरिएको उक्त पदाधिकारीप्रति माओवादी नेताहरुबाटै असन्तुष्टि प्रकट हुन थालेको छ।

गत बुधवारको कार्यक्रममा अर्थमन्त्री शर्माले आफूलाई चयन गरिएकोउपमहासचिव पद अस्वीकार गर्दै प्रचण्डको समेत आलोचक रहेको घोषणा गरे। उनले आफू नेतृत्वको रक्षक र आलोचक दुबै भएको भन्दै विद्यार्थी नेताहरुलाई समेत चाकडी होइन आलोचना गर्न हौसाएका थिए।

उनको उक्त अभिब्यक्तिको जवाफ दिने क्रममा प्रचण्डले नेता शर्माको संरक्षक र हुर्काउने अभिभारा आफूले निर्वाह गरेको र रक्षासमेत गर्दै आएको बताउँदै सार्वजनिक मञ्चमा शर्माको तुसलाई मेटाउने प्रयत्न गरेका थिए। माओवादी अध्यक्ष प्रचण्ड सामु नेता शर्माले ब्यक्त गरेको तुसले पदाधिकारी चयन प्रक्रियामा नेताहरुको गंभीर असन्तुष्टिका बाबजुद् चयन गरिएको तथ्यलाई पूर्णतया उजागर गरेको छ ।

माओवादी आनदोलनमा लागरे सुरुदेख नै अध्यक्ष प्रचण्ड निकट रहेका शर्मा जस्तो सुकै प्रतिकुल अबस्थामा समेत उनको साथ छाडेनन्। जनयुद्ध हुँदै शान्तीप्रक्रियामा समेत अध्यक्षको निकट रहेका उनी हालसम्म प्रचण्डकै विश्वासपात्रको रुपमा चिनिएका नेता हुन्।

माओवादीभित्र जहिल्यै पनि प्रचण्डको पक्षमा दृढतापूर्वक उभिएका नेता शर्मा यसपटक भने उनको आलोचकका रुपमा प्रकट हुन थालेसँगै माओवादीभित्र अनेकौं आशंका उत्पन्न हुन थालेको छ। उनको असन्तुष्टि हालको नयनियुक्त पदाधिकारीप्रति हो या आफ्नो आकांक्षाविपरीत महासचिव नबनाएको तिक्तता प्रकट गरेका हुन् भन्ने द्विुबिधा माओवादीभित्र छाएको छ।

विगत लामो समयदेखि माओवादी अध्यक्ष प्रचण्डको पक्षमा निरन्तर उभिँदै आएका शर्मा यस पटक महासचिवको तीब्र आकांक्षी थिए। जब उनको आकांक्षामाथि तुसारापात भयो तब शर्मा अध्यक्ष प्रचण्डप्रति चिढिएको माओवादीकै नेताहरु बताउँछन्।

प्रचण्डले अन्तिमसम्म शर्मालाई नै महासचिव बनाउने आश्वासन दिएका थिए। तर, जब भदौ ४ गतेको स्थायी समितिको बैठकमा उनले अन्य पदाधिकारीसहित महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरे त्यतिबेला नै शर्माले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए।

इच्छा विपरीते महासचिव चयन गरिएको प्रति बैठकमा उनले प्रचण्डको तीब्र आलोचना गरेको माओवादी स्रोतले बतायो। उनको असन्तुष्टिसँगै यो विषय सार्वजनिक रुपमा प्रकट नगर्न प्रचण्डले शर्मालाई सुझाएका थिए। तर त्यसको विपरीत शर्माले बुधबार विद्यार्थीको कार्यक्रममा प्रकट गरेका हुन्।

यसरी भयो शर्माको अध्यक्ष प्रचण्डसँग खटपट

माओवादी बिभाजित नहुँदै पार्टीभित्र अन्तरसंघर्ष चरम हुँदा सदैब शर्मा प्रचण्डको पक्षमा खरो रुपमा उत्रने गरोका थिए। माओवादीको हेटौंडा महाधिवेशनमा बाबुराम भट्टराई प्रचण्डको विरोध गर्दा मञ्चमै पुगेर उनलाई हटाउन प्रयत्न गरेका थिए।

बाबुरामलाई हटाउन खोज्दा बाबुराम निकट नेताहरुले शर्मालाई रोकेको माओवादीभत्र चर्चा हुने गर्दछ । प्रचण्डको रक्षाकवजको रुपमा प्रकट हुने शर्मालाई माओवादीमा प्रचण्डको विश्वास पात्र नेताको रुपमा शर्मा परिचित थिए।

यिनै जनार्दन शर्मा केही समयदेखि माओवादीले चयन गरेको नयाँ पदाधिकारीप्रति असन्तुष्टि जनाउँदै प्रचण्डको आलोचकको रुपमा प्रस्तुत हुन थालेका छन्। शर्माले गत पुषमा सम्पन्न माओवादीको आठौं महाधिवेशन लगत्तै पार्टीले सबै पदाधिकारी चयन गर्न प्रचण्ड सामु तीब्र दबाव दिएका थिए।

माओवादीभित्र शर्माले पदाधिकारी टुंग्याउन प्रचण्डसँग आग्रह गरेपनि उनलाई पदाधिकारी टुंग्याउन निकै असहज थियो। चीनमा उपचाररत नेता वर्षमान पुनको सहमति बेगर अगाडि बढ्न प्रचण्ड भने चाहँदैन थिए। यही बिन्दुबाटै शर्मा प्रचण्डसँग चिढिन थालेका हुन्।

अत्यन्त सकसपूर्ण रहेको दुई नेताहरुलाई ब्यबस्थापन गर्ने चुनौती प्रचण्ड सामु बिद्यमान थियो। उनी दुबै नेताहरुमध्ये एकलाई चिढाउनु पार्टीको लागि हितकर हुँदैन भन्नेमा प्रष्ट थिए। त्यसैको उपज पदाधिकारी चयन गर्न माओवादीले लामो समय लगाएको हो।

पुन र शर्मा दुबैले प्रचण्डसँग महासचिवको लागि दाबी गरेसँगै उनी महासचिव चयन गर्न असमर्थ थिए। दुबै नेता आफ्नो अडानबाट पछाडि हट्ने संकेत नपाएपछि उनले विकल्प खोज्न थाले। अन्तत उनी माओवादीकै पुराना नेता र कतिपय सन्दर्भमा पार्टीका संस्थागत निर्णयमा समेत फरक मत राख्दै आएका गुरुङलाई महासचिव चयन गर्न बाध्य भएका हुन्।

गुरुङ महासचिव चयन भएसँगै आफूलाई लत्याइएको अनुभुती गर्दै प्रचण्डसँग शर्मा रुष्ट भएका हुन्। अन्तिम समयसम्म शर्मा आफूनै महासचिव हुनेमा विश्वस्त थिए। प्रचण्डले उनलाई महासचिवमा चयन गर्ने विश्वास दिलाएको शर्मा निकट सा्रेत बताउँछ।

माओवादीका दोस्रो तहका प्रभावशाली नेताहरु शर्मा र पुन एक अर्कालाई पार्टीभित्रै प्रतिस्पर्धी समेत ठान्दछन्। उनीहरुबीच पाटीृको शक्तिशाली पद महासचिव बन्ने तीब्र होडबाजी बढेसँगै यी दुबैको ब्यबस्थापन थप चुनौतीपूर्ण ब्याप्त थियो। तर दुबैले एकले अर्कालाई नस्वीकार्ने कठिन अबस्था सिर्जना हुँदा प्रचण्डलाई महासचिव चयन गर्न असहज भएको यथार्थता माओवादी नेताहरु स्वीकार्दछन्।

यी दुबैलाई अन्य पदमा ब्यबस्थापन गदै अन्तिम विकल्पको रुपमा गुरुङलाई महासचिव बनाएका प्रचण्ड दुबै नेता आफूसँग चिढिएको समेत जानकार थिए। यद्यपि सार्वजनिक रुपमा त्यो प्रकट नहुनेमा उनी विश्वस्त थिए। महासचिवमा दाबी गरेका अर्का नेता पुन समेत वर्तमान पदाधिकारीप्रति असन्तुष्ट छन् तर उनले सार्वजनिक मञ्चमा प्रचण्डको आलोचना र आफूले प्राप्त गरेको उपमहासचिव पद भने अस्वीकार गरेका छैनन्।

प्रचण्डले पदाधिकारी चयनमा आफ्नो आकांक्षा विपरीत महासचिव चयन नगरेसँगै उनी प्रचण्डसँग चिढिएका थिए। प्रचण्डको आलोचकको रुपमा बुधवारको कार्यक्रममा शर्माले त्यही असन्तुष्टिको उपज उक्त अभिब्यक्ति प्रकट गरेको स्रोत बताउँछ।

माओवादीमा हालसम्म प्रचण्डविरुद्धमा फरक मत राख्ने नेताहरु प्रायजसो पार्टीबाटै बाहिरिएको दृष्टान्त छ। हिजो जनयुद्धकालमा होस् या शान्ति प्रक्रिया पछि प्रचण्डविरुद्ध राजनीतिक रुपमा फरक मत राख्ने र आलोचना गर्नेहरु पार्टीमा कोही पनि छैनन्।

शर्माको हकमा भने उनको आलोचना कुनै वैचारिक र राजनीतिक विषयमा असहमत भएर नभइ पद प्राप्ति नभएको कुण्ठा मात्र ब्यक्त भएको माओवादी निकट स्रोत बताउँछ। पछिल्लो शर्माको असन्तुष्टि प्रचण्डप्रति आलोचना वा विरोध नभई महासचिव पद प्राप्त नहुँदा प्रचण्डलाई घुक्र्याउँदै तुस मात्र ब्यक्त गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *